वाईसीएल नेपाल र युवा संघ नेपाल दुवै सङ्गठन एक भैसकेपछि राष्ट्रिय युवा संघ नेपाल गठन भैसकेको छ । दुई सङ्गठनबीचको एकता प्रक्रियासँगै केन्द्रीय समितिको निर्माण र केन्द्रीय समिति मातहतमा रहनेगरि तल्लो समितिहरुको गठनको काम पनि लगभग अन्तिम अवस्थामा पुगेको छ । युवा शक्तिलाई वैचारिकरुपले सशक्त बनाउन तथा उनीहरुमा भएको क्षमतालाई पूँजीकृत गर्न राष्ट्रिय युवा संघले जिम्मेवारी लिएको छ । तसर्थ, युवाहरुलाई एकताको मालामा उन्दै समाज र राष्ट्रप्रति जिम्मेवार बोध गराउन सङ्गठनिकरुपले अनुगमन वा निगरानी गरेर रचनात्मक बनाउने दिशामा अघि बढिरहेको छ । सङ्गठनका विभिन्न संरचनाहरुलाई चलायमान बनाउन योजना निमार्णदेखि निर्देशन दिने वा निगरानी गर्नेजस्ता कार्यहरु केन्द्रीय समितिले गर्दै आइरहेको छ ।
सङ्गठनिकरुपले राष्ट्रिय युवा संघ एकीकरणको पाटोमा आइसकेको छ । विशेषतः माउ सङ्गठन नै एकीकरणको पाटोबाट अर्को मोडमा उभिसकेको अवस्थामा मातहतका सङ्गठन फरक रहन सक्दैन । माउ पार्टीको एकीकरणपछि गठन भएको राष्ट्रिय युवा संघमा केही प्राविधिक कठिनाइहरु देखिएका छन् । उक्त कठिनाइ विधिमाभन्दा पनि मानवीय स्वभाव वा प्रवृत्तिका कारण देखापरेको छ । दुई फरक राजनीतिक सङ्गठनको बीचमा एकता प्रक्रियासँगै निर्माण भएको नयाँ सङ्गठनमा संयोजक र सह–संयोजकको व्यवस्था गरिएको छ । दुई पार्टीको समायोजनपछि नयाँ बनेको पार्टी संरचनाले पनि संयोजक र सह संयोजकको व्यवस्थालाई अन्तिम मानेको छ ।
पार्टी सङ्गठनले स्वीकार गरेको व्यवस्था बमोजिम राष्ट्रिय युवा संघ विधिमा चल्नु पर्नेमा सतहमा देखिने गरि केहि समस्याहरु बाहिरिएको छ । यस्तो परिस्थिति निर्माण हुनुमा विशेषतः संयोजक र सह–संयोजकको व्यवस्था गरिएको विषयलाई विधिवत ढङ्गले बुझ्न नसक्नु नै हो । सह–संयोजकको भूमिका भनेको संयोजकको अस्तित्वलाई सबै कोणबाट स्वीकार गर्नु नै हो । साङ्गठनिक पद्दतिअनुसार संयोजकको हस्ताक्षर आधिकारिक र मान्य हुन्छ । समायोजन पछि संयोजक र सह–संयोजक दुवै पात्र एउटै सङ्गठनमा भए पनि फरक भूमिकामा रहन्छन् भन्ने सर्वमान्य सिद्धान्तलाई स्वीकार गर्न आवश्यक छ । यो सिद्धान्तलाई स्वीकार गर्ने हो भने सङ्गठनभित्र रोइलो गर्न बच्चापन हुनजान्छ ।
सबैलाई थाहा भएकै कुरा हो, एकता पछि आफ्नो–आफ्नो हैसियत र जिम्मेवारी टुङ्गो लागेको छ । अर्थात्, अब राष्ट्रिय युवा संघ नेपाल सङ्गठनिकरुपले विधान र विधिमा चल्न थालिसकेको छ । विधिअनुसार चलन थालेकोले नै तल्लो इकाइहरुमा पनि सोहीअनुरुप जिम्मेवारी तोकिएको छ ।
सङ्गठन विधिमा हिँड्न थालेकोले अब काठमाडौंको गल्ली वा चोकमा रुँदै कराउँदै हिँड्नुको कुनै औचित्य छैन । यसले त समय बर्बाद गर्छ नै दुनियाँको हाँसोको पात्र पनि भइन्छ । राजनीति गर्नेले यसरी जोकर हुन सुहाउँदैन । अब, यसको निकास भनेको सह–संयोजक कमरेडले नियमले दिएको जिम्मेवारी पूरा गर्नुमात्रै हो । संयोजकलाई असहयोग गर्नेतिर लाग्ने हो भने पार्टीको उद्देश्यमाथि प्रहार हुन जान्छ । त्यसैले सहयोग गर्ने दिशातिर अघि पाईला चाले पार्टीले लिएको जिम्मेवारी पूरा गर्नमा सहयोग पुग्नेछ ।
व्यक्तिगत रोइलो गर्नेहरुले माउ पार्टीको कार्यविधि राम्रो अध्ययन गरे पनि निकासतर्फ जान सकिन्छ । माउ पार्टीमा भएको सहमतिअनुसार अहिले पार्टीमा आधिकारिकरुपले दुई अध्यक्ष छन्। यो कार्यविधिमा स्वीकार गरिएको लिखत हो । सम्भवतः अर्को व्यवस्था नभएसम्म यो परिस्थिति विद्यमान रहन्छ । महत्वपूर्ण परिस्थिति वा अन्तर्राष्ट्रिय परिवेशलाई ध्यानमा राख्दै देश, जनता र सङ्गठनलाई एकताको मालामा बाध्न अध्यक्षद्वय कमरेड प्रचण्ड र केपी कमरेडलाई पार्टीमा जिम्मेवारी दिइएको छ । हस्ताक्षर गर्ने हैसियत दुवै अध्यक्षमा बराबर निहित छ ।
साथै, समान हैसियत दुई अध्यक्षलाई दिइएको छ । दुई फरक पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुनुभन्दा अगाडिको यो नै विषेश सहमति हो र दुवै अध्यक्षको सहमति पनि हो । यस्तो परिस्थितिमा पार्टी महासचिवले दैनिक विषयवस्तुको जानकारी तथा कामकारबाहीलाई अघि बढाउने जिम्मेवारी पाएको छ । दुई पार्टीबीचमा भएकोजस्तै कार्यविधि संयोजक र सहसंयोजकको हकमा एउटैरुपमा लागू हुन्छन् त ? यही कुरालाई विवाद गर्न चाहनेहरुले मनन् गर्न सक्नुपर्छ ।
एकता भेलामा प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र अध्यक्ष कमरेड प्रचण्ड प्रमुख अतिथि थिए । सार्वजनिकरुपमा भएको कार्यक्रमलाई आप्mनो अनुकलताअनुसार विवादमा ल्याउनकोलागि बङ्ग्याउनु हुन्न। त्यही एकता भेलामा सम्मानित तथा विदाई हुने साथीहरुलाई मञ्च दिने कि नदिने भनेर झिकिएको विवादले विवाद गर्न चाहनेहरुको चरित्रकोबारेमा स्पष्ट पारेको छ ।
सङ्गठनलाई विधिमा सञ्चालन गर्दै अगाडि बढाउने हो । सङ्गठन सञ्चालनको अन्तरवस्तु वा पद्दतिको बारेमा पनि सङ्गठनमा बस्ने साथीहरुले बेलामौकामा अध्ययन गरे स्वज्ञानको उन्नति भएर जान्छ । सङ्गठनभित्र कुनै सवालहरुप्रति आपत्ति भए सङ्गठनिक पद्दतिबाटै आन्तरिक रुपमा छलफल गरेर हल खोज्नु पर्छ । स्वविवेक प्रयोग गरेर सङ्गठनको समस्या हल गर्ने सोंंच गैरराजनीतिक संस्कार हो । आफ्नो कमान्डर हुँदाहुँदै कमान्डभन्दा बाहिर गएर सङ्गठनमा क्षति पुग्ने गरि अभिव्यक्ति दिने संस्कृति राम्रो होइन ।
सङ्गठनमा रहेकाहरु कमान्ड, कन्ट्रोल, कम्युनिकेशन, कोअपरेशन, कलेक्टिभ र अफेन्शिभ भएर बस्न सक्नुपर्छ । यो बेला सङ्गठनलाई बलियो बनाउन सेल, टोल, वडा, गाउँपालिका, नगरपालिका, जिल्ला, प्रदेशतिर एकता भेला गर्ने समय हो । सङ्गठनमा रहेकाहरुलाई प्रशिक्षण दिने समय हो । सरकारले गरेका राम्रो कामलाई नागरिकमाझ स्थापित गर्ने समय हो । किनकि, राष्ट्रिय युवा संघ नेपाल हजारौं युवाहरुको आशाको केन्द्र हो ।
(लेखक भुजेल पुर्ववाईसीएल नेपालका केन्द्रीय सचिव हुन् ।)
प्रतिकृया लेख्नुहोस्: