काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली मिर्गौला प्रत्यारोपणको लागि सोमबार साँझदेखि त्रिवि शिक्षण अस्पतालमा छन् । उनको भोली (बुधबार) मिर्गौला प्रत्यारोपण गरिने कार्यक्रम छ ।
१३ वर्षअघि फेरेको मिर्गौलाले काम गर्न छोडेपछि उनले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका हुन् । फेरेको मिर्गौलाले काम गर्न छोडेपछि उनले गत कात्र्तिकदेखि त्रिवि शिक्षण अस्पतालको मनमोहन सेन्टरबाट डायलासिस गराउँदै आएका थिए । डायलासिस प्रक्रिया पनि दिर्घकालिन खालको नभएको हुँदा उनले दोस्रो पटक मिगौला प्रत्यारोपण गर्न लागेका हुन् । ओलीले दोस्रो पटक आफ्नै भान्जी नाताकी एक महिलाबाट मिर्गौला ग्रहण गर्दैछन् ।
मिर्गौला लिन ओलीले किन रोजे आफन्त ?
ओलीलाई १२ वर्ष अघि पनि आफ्नै भाईबुहारी नाताकी अन्जना घिमिरेले मिर्गौला दिएकी थिइन् । उनले अहिले पनि आफ्नै भान्जी नाताकी समीक्षा संग्रौला ज्ञवालीबाट मिर्गौला लिँदैछन् ।
मिर्गौला दान गर्न र ग्रहण गर्न चिकित्सकीय हिसाबले मिल्नुपर्ने भएपनि कानूनी व्यवस्थामा जटिलता हुँदा ओलीले आफ्नै आफन्त खोजेका हुन् । कानूनी व्यवस्थामा आफ्नै आफन्त नातासम्बन्ध देखाउँदा अङ्ग दान गर्न र ग्रहण गर्न सहज छ । यदि आफ्नै आफन्तबाट त्यो सम्भव नभए कानूनी प्रक्रिया निकै झंझटिलो छ । प्रधानमन्त्री ओलीलाई कानूनी प्रक्रियाले नरोक्ने भएपनि उनले सहजता तिर जान आफ्नै आफन्त खोजेका हुन् ।
प्रधानमन्त्री जस्तो व्यक्तिलाई कानूनी रुपमा समस्या नपर्ने भएपनि अन्यलाई भने कानूनी जटिलताले निकै समस्या बनाउँदै आएको छ ।
के छ नेपालको कानूनमा अङ्गदानसम्बन्धी व्यवस्था ?
कानूनी जानकारहरु नेपालमा अङ्गदानसम्बन्धी कानूनी व्यवस्था एकदमै झन्झटिलो हुँदा धेरै बिरामीले समस्या पाउँदै आएको बताउँछन् । कानून विद्हरुले जनाएअनुसार अङ्गदानसम्बन्धी कानूनी झमेलाको कारण वर्षेनी विभिन्न समस्याका रोगीहरुले ज्यान गुमाइरहेका छन् ।
नेपालमा कानूनी हिसाबले मानव अङ्ग खरिद–बिक्री बर्जित छ । कानूनी व्यवस्थामा खरिद–बिक्रीलाई बर्जित गरिएको कारण पनि अङ्ग एकबाट अर्को व्यक्तिले लिन पनि जटिल छ ।
कानूनी व्यवस्थामा बिरामीको नातेदार वा नजिकको मान्छेले सहज रुपमा अङ्ग दिन सक्छ । तर नातेदारभन्दा बाहिरको व्यक्तिबाट अङ्ग लिने दिने कुरा निकै झन्झटिलो छ ।
मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध)ऐन, २०५५को दफा १४ (क) (१)अनुसार अङ्ग दानको लागि बिरामीको नजिकको नातेदार हुनुपर्ने अथवा नातेदारभन्दा बाहिरको व्यक्ति भएमा लिखित सहमतिको आधारमा एकले अर्कोलाई दिन सक्ने उल्लेख छ ।
तर कानूनी व्यवस्थामा सहमतिमा अङ्ग दान दिन र ग्रहण गर्न मिल्ने उल्लेख भएपनि सम्बन्धिन निकायबाट स्वीकृत लिनुपर्ने अर्को प्रावधान पनि छ । कानूनी व्यवस्थामा अङ्गदान दिन र लिन सहमत हुँदाका बखत सम्बन्धित निकायबाट स्वीकृति नभए अङ्ग लिन दिन पाईँदैन् ।
मष्तिष्क मृत्यु भईसकेको सम्बन्धित चिकित्सकले घोषणा गरेको खण्डमा व्यक्तिको अङ्ग लिन दिन सकिन्छ । तर त्यस्तो अवस्थामा पनि मृतक व्यक्तिले मृत्यु अगावै मञ्जुरी दिएको हुनुपर्ने उल्लेख छ ।
यसबारे ऐनकोे दफा १६ मा अङ्गदान दिन व्यक्तिले गरेको मञ्जुरीबारे उल्लेख गरिएको छ । मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५को दफा १२ मा अङ्ग प्रत्यारोपण समन्वय समितिको बारेमा कानूनी व्यवस्था छ । उक्त समितिबाट अङ्ग लिन दिन स्वीकृति लिनुपर्ने हुन्छ ।
कानूनी व्यवस्थाभन्दा बाहिर गए यस्तो छ कारबाही
यदि कानूनी व्यवस्थालाई अवलम्बन नगरी अङ्ग लिने दिने काम भएमा उक्त काम अपराध भएको ठहर गरि त्यहि अनुसार कानूनी सजायँ हुने उल्लेख छ । मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५को परिच्छेद–५ मा यस्तो कार्य गर्ने व्यक्तिलाई दण्ड सजायँ के–कस्तो हुने बारे उल्लेख छ ।
परिच्छेद–५ को दफा २४ अनुसार कानूनी व्यवस्थालाई लत्याउँदै अङ्ग लिने दिने कार्य गरेमा पाँच वर्षसम्म कैद र पाँच लाखसम्म जरिवाना गरिने कुरा उल्लेख छ । साथै स्वास्थ्य संस्था बाहेक अन्यबाट गरिए १ वर्ष कैद सजायँ र एक लाख थप जरिवाना गरिने उल्लेख छ ।
अङ्ग झिकिएको व्यक्तिको तीन महिनाभित्र मृत्यु भएमा कानूनी व्यवस्थाअनुसार अपराध ठहर गर्दै सो कार्यमा सहभागि सबैलाई जन्मकैद हुने उल्लेख छ । साथै मतियारको रुपमा भूमिका खेल्ने व्यक्तिलाई अभियुक्तलाई हुने सजायँको आधा सजायँ हुनेछ ।
प्रतिकृया लेख्नुहोस्: