म अहिले पोखरामा छु । अहिले लेकसाईड शुन्य जस्तै छ । लेकसाईडका सडकहरु खाली छन् । फेवातालमा डुंगामा शयर गर्ने मान्छेहरु छैनन् । अहिले लेकसाईडका होटल तथा रेष्टुरेण्टहरुमा पर्यटकहरु छैनन् । पर्यटन व्यवसायी घाम तापेर बसेका देखिन्छन् ।
अहिले पर्यटन व्यवसायी निकै निराश स्थितिमा पुगेको मैंले महसुस गरें । नेपालको पर्यटन क्षेत्र चिनियाँहरुले धानेका थिए । नेपाल आउने पर्यटकमध्ये अधिकांश चिनियाँ हुन्थे । तर चीनबाट आउने जाने कुरा बन्द भएसँगै अवस्था यस्तो बनेको हो ।
पर्यटन क्षेत्रमा देखिएको यस्तो अवस्था गम्भिर प्रकृतिकै छ । यसको असर होटल रेष्टुरेण्डसँग मात्र सिमित छैन् । यसको असर थुप्रै क्षेत्रमा परेको देखिन्छ । पर्यटन उद्योगसँग जोडिएका अन्य संरचनामा यसको सिधा प्रभाव परेको छ । ट्राभल एजेन्सी, ट्रेकिङ्ग एजेन्सीसँगै यसको असर पर्यटन क्षेत्रसँग जोडिएका अन्य कृषिजन्य उद्योगहरु पनि परेकाे देखिन्छ । यसको असर विस्तारै समग्र अर्थतन्त्रमाथि पर्ने देखिन्छ ।
समस्याभन्दा त्रास र गलत प्रचार बढि
कोरोना चीनबाट आएको हो । जहाँ अहिले कम हुँदै गएको छ । त्यसको प्रभाव त निकै छ तर जुन दरमा त्यसको फैलावट थियो त्यो निकै कम भएर गएको छ । केहि मानवीय क्षति पनि भयो तर त्यसको असर सबैभन्दा बढि मनोवैज्ञानिक रुपमा पर्न पुग्यो । त्यसको प्रत्यक्ष प्रभाव चीनबाट नेपाली ल्याउने सन्दर्भमा देखिएको थियो ।
चीनबाट ल्याइएका १८० जना नेपालीलाई कहाँ राख्ने भन्ने विषय निकै बहसमा आयो । खरिपाटीमा राख्ने कुरा हुँदा त्यहाँका स्थानीयले निकै विरोध गरे । उनिहरुले नेपाल ल्याइएका नेपालीप्रति निकै घृणा गरेको देखियो । भक्तपुरका सांसदले संसदमा उभिएर खरिपाटीमा राखिए आन्दोलन नै गर्छौंसम्म भने ।
राखिसकेपछि कतिपयले ठाउँ छोडेको विषय पनि आयो । यो भनेको समस्याभन्दा त्रास बढि हो । अहिले नेपालीभर यसको त्रास बढेको छ ।
त्रासले समस्या
यसको प्रभाव तत्कालै यति उति भयो या हुन्छ भनेर यकिन गर्न सकिन्न । तर यसको असर विस्तारै देखिन थालेको छ । अहिले पर्यटन क्षेत्र सुस्ताएको छ । नेपाल घुम्न आउने धेरै विदेशीहरुले आफ्नो बुकिङ्ग रद्द गरेका छन् । जसको यकिन तथ्य पछि आउला तर अहिले भने बजारै शुन्य बनाएको छ ।
यो रोग एक प्रकारको भाइरल हो । यसको प्रभाव कति समयसम्म रहन्छ भन्ने यकिन गर्न सकिन्न । यसकाे समस्या १/२ महिनामै पनि जान सक्छ । तर यस्तै रहिरह्यो भने आर्थिक संरचनाहरु भने निकै संकटतिर पुग्न सक्छन् । धेरै होटलहरुलाई रेस्क्यू गर्नुपर्ने अवस्था बन्न सक्छ । काेराेनाकाे कारण उनिहरुले आफ्नो ऋण समयमा भुक्तान गर्न नसक्दा उनिहरुकाे संरचना नै धिताे लिलाममा जाने अवस्था बन्न सक्छ ।
स्तरयुक्त होटलहरु थपिने क्रम बढिरहेको बेला र अझ होटलहरुको माग बढिरहेको बेला त्यस्तो अवस्था आए त्यसको सन्देश एकदमै गलत जाने हुन्छ । त्यसले लगानीकर्ताहरुलाई निकै निराश पनि बनाउँछ ।
भूकम्पभन्दा कति डरलाग्दो ?
स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति हो । जसको कारण मानिसहरु जोखिम मोल्न चाहँदैनन् ।
चीनमा रोग पत्ता लगाउने चिकित्सककै ज्यान गयो, इरानमा सांसदको मृत्यु भयो । रोगले ठुलादेखि साना सबैलाई छोडेको छैन् । त्यसकारण स्वास्थ्यसँग मानिसले जोखिम मोल्न चाहँदैनन् । स्वास्थ्यसँग जोडिएको कारण यसले अरु क्षेत्रलाई असर गरेको हो ।
तर हामी त्यति धेरै निराश भईहाल्नु हुँदैन् । यो भूकम्प गएको बेला जस्तो हुँदै होइन् । त्यतिबेला त पराकम्प पनि बेला–बेलामा आईरहन्थ्यो । केहि समयसम्मै त्यसले समस्या निम्त्याएको थियो । यो भाइरल भूकम्पको पराकम्प जस्तो हुँदै होइन् ।
भूकम्पको बेला त लगत्तै हामीले नाकाबन्दीको मार खेपेका थियौं । भूकम्प र नाकाबन्दी एकसाथ हुँदा हामीले ठूलो क्षति व्यहोरेका हौं । यो त केहि समय रहने भाइरल हो । उस्तै परे एक महिनामै जान सक्छ । हो अर्थतन्त्रका केहि संरचनामा तत्काल समस्या पार्ला तर यसले धेरै ठूलो क्षति बनाउँछ भन्ने मलाई लाग्दैन् । हामी यसलाई हेरेर निराश हुनुहुन्न ।
मनोवैज्ञानिक त्रासलाई हटाउनु पर्छ
अहिले समस्याभन्दा त्रास बढि छ । मनोवैज्ञानिक रुपमा फैलिएको त्रासलाई राज्यले तत्कालै सम्बोधन गर्नुपर्ने देखिन्छ । तर हाम्रोमा राज्यका संरचनाले झन् त्रास फैलाएको जस्तो परेको छ । राज्यले तुरुन्त यसको प्रभाव यस्तो पर्छ, जोगिन यसो–यसो गर्ने भनेर जनतालाई सुसुचित गर्नुपर्छ । सबै नागरिकलाई यसबारे जानकारी दिनुपर्छ ।
कोरोना संक्रमित भेटिएमा तत्कालै त्यहिअनुसार सुरक्षित उपचार प्रक्रिया अपनाउनु पर्दछ । अहिले हाछ्युँ आउँदा पनि म त संक्रमित भएँ भन्ने भ्रम छ, यसलाई चिर्नुपर्छ ।
सार्वजनिक ठाउँमा जाँदै नजाऔं भनेर प्रचार गर्नुभन्दा व्यक्तिगत सरसफाई, सावधानी अपनाउन सचेतना दिनुपर्ने देखिन्छ ।
चीनमा रोग लागेका मध्येमा करिब ५ प्रतिशतको ज्यान गएको भन्ने तथ्यांक आएको छ । जनाइएअनुसार ती ५ प्रतिशत व्यक्ति अन्य रोगबाट संक्रमित भएको र एकदमै प्रौढ उमेरका थिए । त्यसकारण यी विषयलाई सरकारले जनतामाझ स्पष्ट पार्न आवश्यक छ । त्यहाँ संक्रमित अधिकांश रोगमुक्त भएर घर फर्किएका छन् । यसबारे सबैलाई बुझाउन आवश्यक छ ।
तर, जनताको स्वास्थ्य पहिलो प्राथमिकता
सुरक्षाको प्रबन्ध त गर्नैपर्छ । नगर्दा झन् यसले अन्य समस्या निम्त्याउन सक्छ । चीनपछि अन्य केहि देशमा यसको फैलावट आक्रामक छ । सजग रहनु त आवश्यक नै छ । तर खतरा कुन तहसम्म जान्छ पहिचान गर्न आवश्यक छ । खतराको लेबल उच्च छ भने योजना त्यहिअनुसार नै बनाउनु पर्छ ।
तर अर्को महत्वपूर्णं विषय मानवीय क्षतिभन्दा अर्थतन्त्रमा पुग्ने क्षतिलाई कम आंकलन गरिनुपर्छ । आर्थिक समृद्धि भनेकै जनताको लागि हो । जनता नै सुरक्षित रहेनन् भने त्यो समृद्धि के काम ? त्यसकारण पहिलो प्राथमिक जनताको सुरक्षा हो ।
(क्षेत्रीसँगको कुराकानीमा आधारित)
प्रतिकृया लेख्नुहोस्: