काठमाडौं । सरकारको निर्णयलाई संसदको माथिल्लो सदन राष्ट्रिय सभाबाटै उल्लंघन भएको छ । कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै बुधबार सरकारले सार्वजनिक भेला तथा बैठक बन्द गर्ने गरेको निर्णयलाई राष्ट्रिय सभाबाटै उल्लंघन भएको हो ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको आठौं बैठकले सार्वजनिक कार्यक्रमहरु गर्न बन्द गर्ने निर्णय गरेको थियो । बैठकले गरेको १५ बुँदे निर्णयको निर्णय नं. ३ मा भेला तथा बैठक गर्न बन्द गर्ने निर्णय गरिएको छ ।
निर्णयको ३ नं. बुँदामा भनिएको छ, ‘अत्यावश्यक कामका बाहेक आवतजावत, हिंडडुल नगर्ने, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टीप्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने ।’
राष्ट्रिय सभामा हाल ५८ जना सदस्य छन् । कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीसहितको पनि त्यहि अनुपातमै संख्या छ । तर, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको बैठकलाई नियमित जसरी नै बुधबार सञ्चालन गरेका छन् ।
बिहिबार १ बजेदेखि भएको बैठक नियमित कार्यक्रमसहित सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकले प्रधानमन्त्री केपि शर्मा ओलीको तर्फबाट कानूनमन्त्री शिवमाया तुम्बाहाम्फे प्रस्तुत गरेको अनुगमन तथा मुल्यांकन विधेयक,२०७६ पनि छलफलसहित पास गरेको छ । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले बैठक पुनः चैत्र ७ (भोली) बोलाएका छन् ।
राष्ट्रिय सभाको यसअघिका बैठकमा सदस्यहरुले समेत बैठक बन्द गर्न माग गरेका थिए । तर सामान्य अवस्था जस्तै तिमिल्सिनाले बिहिबार बैठक सम्पन्न गरे ।
के बैठक रोक्न नमिल्ने थियाे ?
बिहिबार सम्पन्न राष्ट्रिय सभाको बैठकमा आपतकालिन प्रस्ताव वा छलफलको विषय केहि थिएन् । बैठकमा सामान्य तथा नियमित बैठकहरु जस्तै कार्यतालिका बनाइएको थियो । सामान्य कार्यक्रमलाई हेर्दा बैठक बस्नु र नबस्नुमा त्यति भिन्नता छैन् । तर कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सरकारले नै गरेको निर्णयलाई भने बैठकले पूर्णं उल्लंघन गरेको छ ।
सरकारले पूर्वनिर्धारित गरेको एसईई तथा त्रिविका परीक्षासमेत स्थगित गरेको सन्दर्भमा डाकिएको सामान्य बैठक सभाको नियमावलीअनुसार सूचना टाँस गरेर स्थगित गर्न सकिन्छ । यसअघि पनि प्रतिनिधि सभा या राष्ट्रिय सभाका बैठक सूचना टाँस गरि स्थगित भएका अभ्यास छन् । प्रतिनिधि सभाले पनि कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बैठक स्थगित गरेको छ ।
प्रतिकृया लेख्नुहोस्: