पछिल्लो समय विश्वव्यापी रुपमा कोरोना भाइरसले सन्त्रास छाइरहेको बेला यसको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव नेपालमा पनि परिरहेको छ । यसै सन्दर्भमा सहरी क्षेत्रबाट गाउँ फर्क अभियान सुरु भएको छ । स्कुल कलेजहरु लामो समयका लागी बन्द हुनु, खाद्यान्न अभावको संकेत देखिनु, आर्थिक मन्दिको अवस्था सिर्जना हुनुले मानिसलाई गाउँ फर्क अभियान तर्फ डोर्याएको हो । कोरोना भाइरसको प्रभाव देखिनु आफैमा खराब भएपनी दुःखद र अप्ठ्यारो अवस्थामा आफ्नो मातृभुमी सम्झेर फर्किनुपर्ने अवस्थालाई केहि हदसम्म सकारात्मक लिन सकिन्छ ।
मानिसहरुले व्यवस्थापन गर्न नसकेको अवस्थामा प्रकृतिले व्यवस्थापन गर्न बाध्य हुने प्राकृतिक नियमलाई कोहि कसैले चाहेर पनि रोक्न र छेक्न सक्दैन । समय समयमा हुने प्राकृतिक विपत्तिहरु जस्तैः भुकम्प ,बाढि,डेङ्गुजस्ता महामारीले बस्नको लागी योग्य ठाँउ पहाड र हिमाल हुन भन्ने सन्देश प्रवाह गरेको छ । उपत्यका र तराई क्षेत्र कृषि उत्पादनको हिसावले उपर्युक्त तथा हिमाल र पहाड मानव बसोबासको हिसाबले उपर्युक्त ठाउँ हो भन्ने सन्देश नेपाल एकीकरणको समयमै पृथ्वीनारायण शाहले बताइसकेका थिए ।
भूकम्प आए गाउँ, कुनै मन्दी लागे गाउँ, महामारी लागे गाउँ, चाडपर्व आए गाउँ, फेरी किन घमण्ड गर्छ्न मानिसहरु शहरमा यति तले घर यति आना जग्गा छ भन्दै ? खुशी अनि आपत विपतमा सम्झिने त गाउँ नै रहेछ ।
तत्कालिन प्रधानमन्त्री नेता मनमोहन अधिकारीले सञ्चालन गरेको ‘आफ्नो गाउँ आफै बनाउँ’ भन्ने अभियान आजको दिनमा पनि समय सान्दर्भिक बनेको छ । हामी बाल्यकाल जीवन बिताइरहेको बेला तराई, मधेस खेतीपातीको लागी योग्य ठाउँ हो, त्यसैले आवासिय हिसाबले पहाड नै उपर्युक्त छ भन्ने प्रचलन आज ठिक विपरीत दिशातर्फ लम्किरकेको छ । तर आज मानिसहरु क्षणिक भौतिक सेवा तथा सुबिधाको लागी हिमाल र पहाडलाई खाली बनाएर खेतियोग्य जमिन बझाएर तराई र उपत्यकामा बसाई सरिरहेका छन् । जुन आफैंमा प्राकृतिक नियम विपरीतको कार्य हो । त्यसैले जतिपनी दाजुभाइ तथा दिदिबहिनीहरु गाउँ फर्किसक्नु भएको छ र फर्किने सुरमा हुनुहुन्छ भने गाउँमै स्वरोजगार कसरी बन्ने ? हाम्रा बाझिएका जमिनहरुको व्यवस्थापन कसरी गर्ने ? भन्ने विषयमा बहस चलाउनु आवश्यक छ ।
सुविधा सम्पन्न अस्पताल भएको राजधानी र ठुला–ठुला सहर छोडेर मातापिताको काख र जन्मघर सुरक्षित लाग्दो रहेछ । अनि हामी सबैमा महसुस भएको छ र व्यवहारमा सबैको परिवर्तन आएको छ । हात खुट्टा धुने, सफा हुने, भिडभाडमा नजाने , धेरै मानिस जम्मा नहुने, माक्स लगाउने जस्ता राम्रा बानीहरु पनि हामीलाई यहि महामारीले सिकाएको छ । स्यालको खेदाइमा चल्लाहरुले माउको पखेटामा घुस्रिएर आफुँलाई सुरक्षित महसुस गरेजस्तै कोरोनाको सन्त्रासले मानिसहरु पुर्खाले जोरेको र हाल बाँझिएको जग्गा र जन्मघरलाई सम्झिएर गाउँघर फर्किने अवस्था बनेको छ ।
महामारीकै कारण दिनहुँ जम्मा भइ गफ गर्ने, एक जनाले कुनै काम गर्दा मानिसहरु जम्मा भइ हेरेरै दिन बिताउने हामी नेपालीहरुको बानी सुधार्न पनि पक्कै भूमिका खेल्नेछ । पंक्तिकार शहरमा बसेर कमाउनेलाई कमाइको केहि हिस्साले जन्मस्थान सिगार्ने काममा खर्च गर्न अनुरोध गर्दछ । ‘भत्केको घर पोतौ, बाँझिएको जमिन जोतौं’ भन्ने सन्देश पनि यहि महामारीले दिएको छ ।
प्रतिकृया लेख्नुहोस्: