काठमाडौं । क्षयरोगका लागि करिब एक शतक अगाडि अविष्कार गरिएको खोप काम आउन सक्ने भन्दै वैज्ञानिकहरुले कोरोनाभाइरसका लागि परीक्षण गर्ने तयारी गरेका छन् । वैज्ञानिकहरु स्वास्थ्य कार्यकत्र्तासँगै सर्वसाधारणलाई शिघ्र राहत दिलाउन यसप्रकारको परीक्षणमा जुटेका हुन ।
क्षयरोग विरुद्ध प्रयोग हुने बैसिलस कालमेट्ट–गुइरिन (बीसीजी) खोप अझै विकासशील राष्ट्रहरुमा ब्यापक रुपमा प्रयोग हुँदै आएको छ । वैज्ञानिकहरुले बीसीजी खोप क्षयरोगभन्दा वृहत्तरुपमा काम गर्ने विश्वास व्यक्त गरेका छन् । खोपले शिशु मृत्युदरमा कमी ल्याएको छ । श्वासप्रश्वास सम्बन्धी संक्रमणमा समेत बीसीजी खोप प्रभावकारी देखिएको छ ।
विज्ञहरुका अनुसार खोपले भाइरस, ब्याक्टेरिया र परजीवीको संक्रमणलाई पहिचान गरी प्रतिरोधात्मक क्षमता बलियो बनाउने काम गरेको छ । बीसीजीको खोपले कोरोनाभाइरस संक्रमण तीब्र हुनबाट जोगाउने काम समेत गर्ने केही प्रमाण फेला परेको छ । केही महिनाभित्रै गरिने प्रयोगशाला परीक्षणपछि मात्रै उक्त प्रमाणलाई थप पुष्टि गर्नेछ ।
अष्ट्रेलियाका मेलबर्नका केही वैज्ञानिकहरुले बीसीजी खोपबारे हजारौं चिकित्सक, नर्स, श्वासप्रश्वास थेरापिस्ट र अन्य स्वास्थ्य कार्यकत्र्तामा थप अनुसन्धान र अध्ययन सुरु गरेको छ । सुरु गरएिको नियन्त्रित परीक्षण कोरोनाभाइरस संक्रमितमा कत्तिको प्रभावकारी हुने निक्र्योल गर्नेछ ।
मेलबर्न विश्वविद्यालयमा शोधकत्र्ताको रुपमा कार्यरत परीक्षण योजनाका प्रमुख योजनाकार समेत रहेका निजल कर्टिसले उक्त खोप रामवाण नै हुने कसैले विश्वास गरेको छैन् । यद्दपी संक्रमितमा खोप लगाएपछि छिट्टै निको भई काममा फर्किनसक्ने विश्वासका साथ परीक्षण अगाडी बढाइएको उल्लेख गरे ।
डा. मिहै जी नेटाले नेदरल्याण्ड्समा एक हजार जना स्वास्थ्य कार्यकर्तामा दश दिन अघि नै प्रयोगशाला परीक्षण सुरु गरिएको बताउँछन्। बोस्टनका स्वास्थ्य कार्यकत्र्तामा समेत प्रयोगशाला परीक्षण सुरुवात गर्न तयारी गरिएको मासासुट्स अस्पतालका संक्रामक निर्देशक डा. डेनिस फौस्टमनले बताए ।
“मानवमा परीक्षण प्रयोगशालाबाट हामीले बलियो तथ्याङ्क पाएका छौं, मुसामा हैन”– डा .फौस्टमन बताउँछन् । खोपले भाइरल र परजीवीको संक्रमणबाट सुरक्षा गरेको देखिएको भन्दै डा. फौस्टमनले परीक्षणबाट उत्साहित रहेको बताए।
बीसीजी खोपको अव्यवहारिक इतिहास छ । करिब दुई शताब्दी अघि नै यो खोप विकास गर्ने सुरुवात भएको थियो । डा. अल्बर्ट कालमेट्ट र डा. कमिली गुएरिनले खोपको १९ औं शताब्दीको सुरुवातमा अन्वेषण गरे । गाईवस्तुलाई संक्रमित बनाउने माइकोब्याक्टेरियम बोभिसबाट यस खोपको विकास गरिएको छ ।
सन् १९२१ मा पहिलोपटक मानवमा बीसीजी खोपको प्रयोग गरियो । दोस्रो विश्वयुद्धपछि उक्त खोपको प्रयोगले ब्यापकता पायो । विकासशील राष्ट्रहरुमा बीसीजी खोप अझै दश करोड बालबालिकामा वर्सेनि प्रदान गरिदै आएको छ ।
बीसीजी खोपको विशेष लक्ष्य छ, क्षयरोग । तर प्रमाणले विशेष लक्ष्य बाहेक पनि यस खोपले काम गर्ने देखाएको छ । भाइरल बुखार, श्वासप्रश्वास सम्बन्धी संक्रमण र शरीरको प्रतिरोधी क्षमतालाई मजबूत बनाउन बीसीजी खोपले काम गरेको वैज्ञानिकहरुले बताएका छन् ।
सन् २०११ मा गायनामा दुई हजार ३२० जना बालबालिकामा गरिएको एक परीक्षणमा कम वजन भई जन्मेका बालबालिकाको मृत्यु दर घटेको पाइयो । त्यसैगरी अर्को परीक्षणले संक्रामक रोगबाट हुने मृत्यु दरमा समेत ४० प्रतिशतले कमी आएको पाइयो ।
त्यसैगरी, २५ वर्षसम्म ३३ राष्ट्रका एक लाख ५० हजार बालबालिकामा गरिएको परीक्षणले श्वासप्रश्वास सम्बन्धी जोखिम बीसीजी लगाएका बालबालिकामा ४० प्रतिशतले घटेको देखियो ।
वृद्धमा गरिएको परीक्षणले भने श्वासप्रश्वास सम्बन्धी माथिल्लो अङ्गमा हुने संक्रमण दर घटाउने देखिएको छ । बीसीजी खोपको लक्ष्यबाहेकको क्षेत्रमा सकारात्मक प्रभाव देखिएको जनाउँदै विश्व स्वास्थ्य संगठनले पनि अझै बढी परीक्षणका लागि अनुमति दिएको छ । यद्दपी विशेषज्ञहरुले भने बीसीजी खोप कोभिड–१९ विरुद्धको खोप हुन नसक्ने प्रष्ट्याएका छन् ।
एजेन्सीकाे सहयाेगमा गोरखापत्र दैनिकले तयार गरेकाे सामाग्री
प्रतिकृया लेख्नुहोस्: