काठमाडाैं । कोरोनाका शंकास्पद व्यक्तिहरुलाई राख्न बनाइएको क्वारेन्टिनको अवस्थाबारे सरकारले अनुगमन थालेको छ । स्थानीय तह तथा अन्य निकायले बनाएको क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे सरकारले स्थलगत अनुगमन तथा सहजिकरण थालेको हो ।
शनिबार मध्यान्ह पशुपतिको धर्मशालामा निर्मित क्वारेन्टिनको सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले अनुगमन गरेका थिए । विदेशबाट आएका व्यक्तिहरु तथा शंकास्पद अन्य व्यक्तिहरुलाई कोरोना रोगबाट संक्रमण हुन नदिन सरकारले बनाएको ‘क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन कार्यविधि अनुसार’ मापदण्ड पूरा भए नभएकोबारे जानकारी लिन स्थलगत अनुगमन शुरु गरिएको मन्त्री मानन्धरले जानकारी दिए ।
पशुपतिको धर्मशालामा चारतारे स्तरको क्वारेन्टिन तयारी अवस्थामा रहेको पनि मन्त्री मानन्धरले जानकारी दिए । क्वारेन्टिनमा ३५ बेड तयारी अवस्थामा रहेको र थप ३५ बेड निर्माणको तयारी अन्तिम चरणमा रहेको छ ।
मन्त्रिपरिषद्को गत चैत्र १६ गतेको बैठकले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई अनुगमन र सहजीकरणको जिम्मेवारी दिएको थियो । पशुपतिको धर्मशालामा रहेको क्वारेन्टिनमा एक पटकमा ७० जनाको व्यवस्थापन गर्न सकिनेगरी तयारी भएको र सरकारले आवश्यक सबै सहजिकरण गरिरहेको मन्त्री मानन्धरले जानकारी दिए ।
सरकारले नागरिकको जीवन रक्षाका लागि हर तरहको प्रयास जारी राखेको बताउँदै मन्त्री मानन्धरले सरकारको योजनामा आम नागरिकले साथ दिएको भन्दै खुसी व्यक्त गरे । मन्त्री मानन्धरले जनताको जीवन रक्षाका लागि सरकारले सबै तयारी पुरा गरेको बताउँदै देशभरका क्वारेन्टिनमा मापदण्ड अनुसारकै सुविधा दिलाईने प्रतिवद्वता जनाए ।
मन्त्री मानन्धरले आपत्कालिन अवस्था आइपरे पूर्व तयारीस्वरुप देशभर व्यवस्थित क्वारेन्टिन निर्माणलाई तिब्रता दिइएको बताउँदै उनले उपत्यकाको सवालमा भइरहेको तयारीबारे भोलिसम्ममा अनुगमन सक्ने जानकारी दिए ।
भोलि ललितपुरको स्टाफ कलेज र अन्य केही स्थानको क्वारेन्टिनको अवस्थाका बारेमा स्थलगत अनुगमन गर्ने मन्त्री मानन्धरले जानकारी दिए । सम्भावित संक्रमितका लागि निर्माण गरिने क्वारेन्टीनमा सबै सुविधा कायम गरिने बताउँदै मन्त्री मानन्धरले यसका लागि सबैको सहयोग आवश्यक भएको बताए ।
भोलि उपत्यकामा तयारी अवस्थामा रहेका र निर्माण गर्न सकिने स्थानको अवलोकन पश्चात् प्रतिवेदन तयार पारी आवश्यक थप व्यवस्थापनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाइने मन्त्री मानन्धरले जानकारी दिए ।
सहरी विकास मन्त्रालयका सचसचिव नवराज प्याकुरेलले उपत्यकाका क्वारेन्टिनको वास्तविक अवस्था र मापदण्ड अनुसार निर्माण भए नभएका बारे अनुगमन शुरु भएको जानकारी दिए । क्वारेन्टिन विश्व स्वास्थ्य संगठनले तोके बमोजिम तथा नेपाल सरकारले तय गरेको मापदण्ड अनुसारकै रहेको पशुपति क्षेत्र विकास कोषका निर्देशक डा धनश्याम खतिवडाले जानकारी दिए ।
अनुगमनको पूर्वसन्ध्यामा शुक्रबार सहरी विकास राज्यमन्त्री मानन्धरले काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, १८ वटै नगरप्रमुख तथा नेपाली सेनाका क्वारेन्टाइन व्यवस्थापनमा खटिएका पृतनापतिसँग छलफल गरेका थिए ।
प्रतिकृया लेख्नुहोस्: