मानव स्वास्थ्य समस्याको रुपमा पहिचान र परिभाषित भएको भाइरसको नाम हो कोरोना भाइरस (कोभीड-१९) । सन् २०१९ डिसेम्वर २९ का दिन चीनको हुवे प्रान्तको बुहान शहरमा देखिएको यो रोग वैश्विक माहामारीको रुपमा फैलिरहको छ । विश्वका २१२ भन्दा बढी मुलुकमा अनियन्त्रित हिसाबले फैलिएको यस रोगको कारण दुई लाखभन्दा बढी नागरिकले ज्यान गुमाईसेका छन् भने झण्डै ३० लाख मानिस संक्रमित भइसकेका छन् । यसै क्रममा करिव ६ लाख संक्रमितहरु उपचार पछी निको भएर आफ्नो घर पनि फर्किएको तथ्यांक सार्वजनिक भएको छ ।
विश्व स्वास्थ्य संगठनको अनुसार आजसम्म यो भाइरसको उपचारका लागि प्रमाणित औषधी, भ्याक्सीन तथा निश्चित उपचार विधि भेटिएको छैन् । स्वयम विश्व स्वास्थ्य संगठनको सहकार्य र विभिन्न मुलुकको पहलमा वैज्ञानिकहरु भ्याक्सिनको खोज, अनुसन्धान र परिक्षणमा लागिरहेका छन् । संक्रमितहरुमा देखिएको लक्षणको आधारमा अहिले (सिम्टम्याटिक ट्रिटमेन्ट) उपचार र साथसाथै अनुसन्धानसमेत गरिरहेका छन् । अर्कोतिर कोरोना भाइरस विश्वभर फैलिरहँदा फरक- फरक भूगोल र हावापानीमा रहेका भाइरस संक्रमितहरुमा फरक-फरक लक्षणहरु देखिएका छन् भने साइलेन्ट कोरोना (लक्षण नै नदेखिने प्रकृति) झनै घातक रुपमा प्रस्तुत भएको छ । यसैले कोरोना माहमारिको विश्वव्यापी व्यवस्थापन/निर्मूल कसरी गर्ने भन्नेसँगै आ-आफ्ना देशको/हाम्रो सन्दर्भमा (मातहतका प्रदेश, जिल्ला, महानगर र गाउॅंसमेत) नागरिकहरुको रक्षा कसरी गर्ने भन्नेमा लागिरहेका छन् । अहिलेको प्रमुख तथा प्राथमिक आवश्यकता पनि यहि हो ।
अहिले व्यवस्थापन भए पनि संक्रमित एवं भूगोल विशेषमा पटक-पटक दोहोरिने हो कि भन्ने शंकाबाट विश्व मानव समुदाय चिन्तित भइरहेको छ । कोरोना रोग लाग्न नदिन, समुदायस्तरमा फैलिन नदिन र समयमा नै माहामारी नियन्त्रणमा लिनको लागि विश्वव्यापी रुपमा लकडाउनको विधि अवलम्वन गरिएको छ । विश्व स्वास्थ्य संगठनको अपिल, कोरोना प्रभावित पहिलो देश चीनले अपनाएको लकडाउन कोरोना विरुद्धको सफल सुरक्षा कवच पनि भनिएको छ । अहिले विश्वमा कोरोना प्रभावित प्राय: सवै मुलुकले लकडाउनको साहारा लिएर कोरोना नियन्त्रण गर्न अभ्यास गरिरहेका छन् । यो विधि पनि रणनीतिक विधि भएकोले अवलम्वन गर्दै अनुसन्धान गर्दै गरेको अवस्था देखिन्छ ।
समग्रमा कोरोना रोगको प्रकृति, लक्षणहरु, लक्षणका आधारमा प्रयोग भएका औषधी र उपचार विधि (सिम्टम्याटिक ट्रिटमेन्ट)को प्रभावकारिता, संक्रमितले विगतमा लिएका भ्याक्सिनहरु, उसको उमेर, सामाजिक/सांस्कृतिक अवस्था, शिक्षा र स्वास्थ्यसम्बन्धि सचेतना, भौगोलिक अवस्थिति र हावापानीको प्रभावजस्ता विषयमा अध्ययन तथा अनुसन्धान केन्द्रित रहेको छ । आशा गरौं औषधी/भ्याक्सिन बन्नेछ, सफल उपचार विधि तय हुनेछ, माहामारी नियन्त्रण हुनेछ र मानव जातिको तत्कालको लागि संरक्षण गर्न यस क्षेत्रमा लागेका सबै-सबैलाई सफलता मिल्ने नै छ ।
प्राणी र वनस्पतीसहितको सिंगो पर्यावरणलाई सन्तुलित अवस्थामा बचाई राख्नको लागि पनि हामीले धेरै काम गर्न जरुरी छ । अहिलेको विश्वव्यापी भयावहको अवस्थाबाट गुज्रेको मानव जातिको संरक्षण पहिलो र प्राथमिक कर्तव्यका रुपमा स्विकार गर्न जरुरी छ । कोरोना रोग (कोभिड-१९)विरुद्ध अग्र पंतिमा रहेर काम गर्ने डाक्टर, नर्स, प्यारामेडिकल स्टाफहरु सहित सुरक्षा कर्मीसँगै औषधि/भ्याक्सिन तथा उपचार विधि र उपकरणहरुको खोज/अनुसन्धान र उत्पादनमा लाग्नेहरुलाई हार्दिक सलाम गर्नुपर्दछ । कोरोना माहामारीविरुद्धको यो महाअभियानमा राज्य सञ्चालनको र समाजमा विभिन्न भूमिकामा रहेका आम नागरिकहरुले पनि आ-आफ्नो ठाउँबाट जे-जे सकिन्छ (आर्थिक/भौतिक, नैतिक, बौद्धिकलगायत) योगदान दिन जरुरी छ । संसारमा यो क्रमको सुरुवात भएको छ र अझै उत्साहित रुपमा चल्ने विश्वास गरिएको छ ।
मानव स्वास्थ्यसँग सम्वन्धित विश्वव्यापी माहामारी रोग विगतमा पनि आएको पाईन्छ । स्पेनिस फ्लु, विफर, हैजा, सार्स, एच. आई. भि. एड्स आदी रोगबाट पनि संसारभरमा लाखौं करोडौं नागरिकले ज्यान गुमाईसकेको मानव जातिले अहिलो कोरोना रोग (कोभिड १९) का विरूद्ध लकडाउनको अश्त्रमार्फत संघर्ष गरिरहको छ । जसरी कोरोना रोग (कोभिड-१९) विश्वभर तिव्र गतिमा फैलिएको छ, त्योभन्दा धेरै गुणा बढी गतिमा विश्वभरका लाखौं जात-जाति र भाषा-भाषिका नागरिकहरुबीच ‘लकडाउन’ शब्दले आफूलाई विस्तार र परिचित गराएको छ ।
नेपालको सन्दर्भमा पनि त्यस्तै भएको छ । जुनसुकै जाति वा भाषि होस उसले ‘लकडाउन’ भन्छ र अभ्यस्त हुन खोज्दछ । म फेरी पनि भन्न चाहान्छु अहिलेको सन्दर्भमा यो ठिक छ र जरुरी पनि । तर, मैले बुझेको के हो भने यो तात्कालिक रणनीतिक अश्त्र हो । संधैका लागि हैन् र सम्भव पनि छैन् । यो त अहिलेको सन्दर्भमा कोरोना रोग फैलिन नदिने उद्देश्य प्राप्त गर्नका लागि केही समयको लागि प्रयोग र अनुसन्धान गरिएको अश्त्र हो । हामीले चाहेर, नचाहेर, विकल्प नपाएर वा यो महामारिको सन्त्रासमा नभ्याएर आजसम्म लकडाउनलाई नेपाली भाषामा के भन्छन् भन्ने तर्फ सोंच्न सकिएन होला । सम्पूर्ण बन्द भन्ने वा यस्तै यस्तै अर्थ लाग्न सक्छ त्यस तर्फ हैन् अब के भन्न हुन्छ वा सकिन्छ यता तर्फ म लैजान चाहान्छु ।
वर्तमान सन्दर्भमा कुनै विचारमार्फत बहश पनि त माहामारीविरुद्ध मानव जातिको हितमा सहयोग हुनसक्छ । मेरो विचारमा र जीवनको पहिलो पटक ३४ दिनसम्मको निरन्तर लकडाउनको अनुभव गर्दाखेरी लकडाउनलाई हामीले नेपाली भाषामा लुकतन्त्र भन्न सकिने तर्क उपर छलफल गर्नअनुरोध गर्दछु । हुन त राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र मात्र हैन् कर्मचारी तन्त्र, भ्रष्टतन्त्र, उदारवादी अर्थतन्त्रलगायत तन्त्रसंग जोडिएर विविध अर्थ लाग्ने शब्द नेपाली भाषामा र शब्दकोषमा प्रशस्त भेट्न सकिन्छ ।
म जोड्न चाहान्छु कि कोरोना रोग (कोभिड-१९)को कारण मानिसले हजारौं वर्षबाट विकास गरेको सामाजिक/सांस्कृतिक मुल्यमान्यता, जीवनपद्धति, आर्थिक तथा उत्पादन प्रणाली, खानपानलगायतका दैनिनदिनको गतिविधिहरुलाई त मानव जीवनको रक्षार्थ विश्वव्यापी रुपमा प्राय: सम्पूर्ण बन्द (टोटल लकडाउन) गर्न हामी बाध्य भयौं । हामीलाई लागिरहेको छ, कोरोना रोग नियन्त्रण हुन्छ, निर्मूल हुन्छ त्यो नभएपनि लकडाउन खुल्छ र हामी पुरानै जीवनमा फर्कन्छौं । बाँकी रहेका कामलाई पुरा गर्छौं, नमिलेका हिसाब किताब मिलाउॅंछौं ....यस्तै उस्तै त हो नि सक्कि गयो । हो, यहिँनेर छ बुझ्नुपर्ने चुरो कुरो र सोँच्नु पर्ने विषय छ ।
हामीले चाहेको पुरानो अवस्था (कोरोना माहमारी पहिलाको अवस्था) होकी वैकल्पिक नयाँ जीवन व्यवस्था ? माथि पनि सन्दर्भ आयो कि विभिन्न नाम र विशेषता भएका माहामारी रोग त पहिले पनि आएका रहेछन् र भविश्यमा पनि पक्का आउॅंछन् । त्यसैले अहिलेको कोरोना माहामारीबाट बँच्दै लकडाउनको विकल्पको रुपमा लुकतन्त्रमा अभ्यस्त वन्नेतर्फ लागौं ।
के हो लुकतन्त्र ?
सामान्य अर्थमा मानिसहरुको भीड, अनावश्यक चहलपहलबाट जोगिएर आफ्नै बासमा रहनु वा लुक्नु भनेर बुझ्न सकिन्छ । लकडाउनको व्यवस्थित र दीर्घकालिन मानव जिवनपद्धति लुकतन्त्र हो भने लुकतन्त्रको संक्षिप्त रुप लकडाउन हो । लुकतन्त्रमा पृथ्वी र यसको पर्यावरणलाई घर र आज जसलाई घर भनिएको/मानिएको छ त्यसलाई बास भनेर परिभाषा गर्दछ । लुकतन्त्र कोरोना रोग पछि विश्वव्यापी मानव जातिको लागि नयाँ र वैकल्पिक जीवन पद्धति हो, यो राजनीतिक प्रणाली हैन् । लुकतन्त्रमा एउटा विश्वव्यापी आचार संहिता हुन्छ जसको पालना सबैले गर्नुपर्दछ । संहिता पालना गराउने निकाय हुने नै भयो । यो एक वैश्विक प्रणाली हो । लकडाउन त मात्र रणनीतिक (अल्पकालिन) अश्त्र हो भने लुकतन्त्र एउटा सिंगो अत्याधुनिक जीवन प्रणाली हो । त्यसैले, घर (पृथ्वी र यसको पर्यावरण) सबै हिसाबले सुरक्षित र बास भूकम्पमैत्री, आरामदायी तथा सुविधा सम्पन्न (लुकतन्त्र मैत्री) हनुपर्ने मान्यता राख्दछ ।
लुकतन्त्रमा घर सम्पूर्ण रुपमा सुरक्षित रहेको प्रत्याभूती नहुँदासम्म बासभित्र बस्ने, खाने, आराम गर्ने, सक्रिय तथा रचनात्मक जिवन, बाहिरी समाजसँग भरपर्दो प्रबिधिमार्फत सम्पर्क समन्वय, नियमित तर फरक र उर्जाशिल जीवन चलिरहेको हुन्छ । यो प्रणालीले मानव निर्मित आजसम्मका कतिपय मुल्यमान्यताहरुलाई अस्विकार गर्दछ र कतिपय नयाँ जीवन शैली अप्नाउन बाध्य गर्दछ । लुकतन्त्र यस्तो जीवन प्रणाली हो जहाँ उसको घर परिवार (पृथ्वी र यसको पर्यावरणलाई घर र सिंगो प्राणीजगतलाई परिवार) मानेको हुन्छ । सुबिधासम्पन्न, सुरक्षित बासमा मनपरेको साथीसँग उसले दिन रात बिताउॅंछ । यो अवस्था समझदारिका आधारमा जीवनभर वा आबधिक पनि हुन सक्दछ । मानव जाति र प्राणीहरुबीच मित्रवत सम्वन्ध विकास हुँदै जानेछ । प्राकृतिक स्रोत राज्यको मातहत, सन्तुलित उपयोगको अधिकार व्यक्तिमा हुनेछ ।
लुकतन्त्रमा पशुपालन, कृषि र औधोगिककरण युगका अवशेषहरु अन्तिम अवस्थामा गुज्रेका हुनेछन् तर डिजिटल वेस्ड लाइफ र सन्तुलित क्यालोरीयुक्त क्याप्सुल तथा उपचार प्रणाली पनि एक चिप्स वहुआयामिक उपचार हुनेतर्फ अग्रसर भएको हुनेछ । यस तन्त्रमा भौतिक विकासको सन्दर्भमा ठूला-ठूला राजमार्ग, पानी जहाज, हवाई जहाजलगायत भवनहरुमा कम ध्यान दिँदै सानाभन्दा साना र बहुउपयोगी वस्तु उत्पादनमा जोड दिइने गरिन्छ । सुरक्षा र जम्बो प्रसाशनिक झन्जट र खर्च कम हुन्छ । समग्रमा घर, परिवार, समाज र राष्ट्रियताको अलग परिभाषा गर्दछ र विश्वव्यापी मानव चेतनाले ‘एक विश्व एक हृदय (मुटु)’ (वान वल्ड वान हट) को धारणामार्फत सञ्चालित हुनेछ । भनिन्छ, प्राणी जगतमध्ये मानव जाति रुपान्तरणको संक्रमणमा संघर्ष गरिरहेको छ ।
प्राकृतिक तथा मानवीय कारणले छोटो समयमा धेरै परिवर्तनहरु भएका छन् । पल्लो महिनालाई वल्लै महिनाले जनाउॅंछ भने जस्तै लुकतन्त्रका कतिपय काम कारबाही र मानिसका बानी र व्यवहारहरुबाट अभ्यास भइरहेका छन् । तिनलाई हामी लिपिवद्ध गर्दै, व्यवस्थित हुँदै र अभ्यस्त हुँदै जाने मात्र हो ।
पछिल्लो समय विश्वभरमा संयुक्त परिवारबाट एकांकी परिवार, लिभिड टुगेदर, सके विवाह नै नगर्ने, विवाह गरे बच्चा नजन्माउने, जन्माए १/२ मात्र जन्माउने, एक्लै बस्न रुचाउने प्रवृतिको द्रुत विकास भएको छ । यहाँ ‘माई लाइफ माई रुल‘ को धारणाले पनि प्रसय पाएको देखिन्छ । स्याटेलाइट सिष्टम, अटोमेटिक तथा रोवर्टिक प्रणालीहरु, टेलिभिजन, ई-करेन्सी, फोन/मोबाइल, स्मार्ट ग्याजेटहरु, इन्टरनेट, ई-कमर्स, ई-बैंकिग, इमेल, अनलाइन विजनेशलगायत थप परिस्कृत प्रविधिको विकास र विस्तार, सवै लुकतन्त्रका प्रारम्भिक पुर्वाधारहरु हुन् ।
यि तमाम प्रविधि र प्रणालीले मानव जातिको परम्परागत जीवनलाई द्रुत गतिका साथ रुपान्तरण गरेको छ, गर्न जरुरी छ । तर बिडम्वना परम्परागत जीवन पद्धति र उत्पादन प्रणालीको पट्यारलाग्दो हजारौं बर्षको श्रृंखलाको ह्याङ्ग ओभरको परिणाम आज विश्वका विभिन्न देशका साशक, प्रसाशकहरु बासलाई घर सम्झे, सिंगो प्राणीजगत र पर्यावरण (वास्तविक घर)लाई वेवास्ता गर्दै, नितान्त बाउआमा, श्रीमान्-श्रीमति र छोराछोरीलाई परिवार सम्झे र सिंगो जीवन एक थान (बास) घर (उनीहरुको बुझाईमा), सिमित सुविधा र एउटा नीजि परिवारको लागि वास्तविक घर (सिंगो पृथ्वी र यसको पर्यावरण) विनाश गर्न उद्दत रहेकोले नै प्राणी जगतमा विनासको कालो बादल मडारिएको छ ।
पृथ्वीको पर्यावरणमा रहेका अन्य प्राणी र वनस्पतीको जन्म, जीवन र मृत्यु तथा विनाश एवं अस्तित्वका बारेमा दशांससम्म पनि अध्ययन हुन सकेको छैन् । यी सबै दायित्वको लागि अबको मानव चेतना लुकतन्त्रले परिभाषित गरेको घर परिवारको अबिभावकत्व निर्वाह गर्न सक्षम रहनु पर्दछ ।
(लेखक नेपाली संविधानसभा सदस्य तथा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य हुन्)
प्रतिकृया लेख्नुहोस्: