रुपन्देही । भारतमा लकडाउनमा केही खुकुलो भएसँगै रोजगारीका लागि गएका नेपाली स्वदेश आउने क्रम तीव्र रूपमा बढेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - यसैक्रममा बुधबार सुनौली नाकाबाट पाँच सय नेपालीलाई प्रवेश दिइएको छ । स्वदेश प्रवेश गर्ने नेपालीले भारतीय क्वारेन्टाइनमा २५ दिन पूरा गरेका छन् ।
स्वदेश भित्रिएकामध्ये सिद्धार्थ नगरपालिकाले स्थापना गरेका क्वारेन्टाइनमा दुई सय ७० र तिलोत्तमा नगरपालिकाका क्वारेन्टाइनमा दुई सय ३३ जनालाई राखिएको छ ।
बेलहिया नाकामा दैनिक सयौं नेपाली आउने गरेका छन् । अझै करिब दुई हजार नेपाली सीमानाकामा रोकिएका छन् । स्थानीय तहहरूसँग समन्वय गरेर प्रवासी नेपालीलाई प्रवेश गराइने भएको छ ।
स्थानीय प्रशासनले प्रक्रिया पूरा गरेर बुधबार करिब एक हजार नेपालीलाई स्वदेश ल्याउने तयारी गरेको थियो । तर, क्वारेन्टाइन अभावमा पाँच सयलाई मात्र प्रवेश गराइएको हो ।
तीन दिनअघि रुपन्देहीका सबै स्थानीय तहका जनप्रतिनिधिसँग भएको छलफलमा स्थानीय तहले स्थापना गरेका क्वारेन्टाइनमा भारतबाट आएका प्रवासी नेपालीलाई ल्याएर राख्ने सहमति भएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले सीमा नाकाबाट नेपाली ल्याउने प्रक्रिया केही दिन ढिला हुने बताए । ‘सबै तयारी सकिएको थियो, अन्तिममा क्वारेन्टाइन अभाव भयो, थप क्वारेन्टाइन व्यवस्थापन गरेपछि दुई–तीन दिनभित्र ल्याइनेछ,’ उनले भने ।
रुपन्देहीमा बुधबारदेखि सुरक्षामा थप कडाइ गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा रहेका गाउँपालिका र नगरपालिकामा सहज रूपमा आवतजावतमा रोक लगाइएको छ । अन्य दिन विभिन्न काममा हिँड्ने गरिए पनि बुधबार भने पूर्ण रूपमा कडाइ गरिएको थियो ।
दशगजामा रोकिएका ७० भन्दा बढी नेपाली नवलपरासी भित्रिए
नेपाल–भारत सीमा दशगजामा रोकिएकामध्ये ७० जनाभन्दा बढी नेपाली पश्चिम नवलपरासी प्रवेश गरेका छन् । सुस्ता गाउँपालिकाले उनीहरूलाई प्रवेश गराएको हो । बुधबार स्वदेश प्रवेश गरेका ७० भन्दा बढी नेपालीलाई सुस्ता गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ ।
देश छिर्ने आसमा सीमामा बस्दै आएका प्रवासीलाई नेपाली र भारतीय बस्तीका स्थानीयले खाना खुवाउँदै आएका थिए । उनीहरूको अवस्था नाजुक हुँदै गएपछि नेपाल भित्र्याइएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।
भारतमा छिटपुट रूपले रेल र सरकारी बस चल्न थालेपछि विभिन्न सहरमा रहेका नेपालीहरू घर फर्कन दशगजामा जम्मा भएका थिए । कोरोनाको सुरक्षा सतर्कताअन्तर्गत दुई देशको नाका सिल भएका कारण सयौँ नेपाली दशगजामा अड्किएका हुन् । उनीहरू सुस्ता, गुठी प्रसौनी, गेर्मी, भुजहवालगायत सीमावर्ती क्षेत्रमा बस्दै आएका थिए ।
नवलपुरमा पनि संक्रमणको जोखिम बढ्यो
पूर्वी नवलपरासीमा भारतबाट २१ जना आएका छन् । बौदीकाली गाउँपालिकाका १५, कावासोती नगरपालिकाका दुई र देवचुली नगरपालिकाका एकजना छन् । त्यसैगरी तनहुँको घिरिङ गाउँपालिकाका तीन जना छन् ।
उनीहरू रुपन्देहीको नाकाबाट लुकेर नेपाल छिरेको बताइएको छ । पूर्वी नवलपरासी प्रवेश गरेका २१ जनालाई क्वारेन्टाइनमा राखिएको र दुई दिनपछि उनीहरूको स्वाब संकलन गरेर कोरोना जाँच गरिने नवलपुरका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए । भारतको बनारसबाट आएका उनीहरूसँगै नवलपुरमा कोरोना संक्रमणको जोखिम बढेको छ ।
प्रतिकृया लेख्नुहोस्: