काठमाडौं । सरकारले कोभिड क्लिनिक भनेर तोकेका अस्पताल मात्रै काठमाडौं उपत्यकामा ६ वटा छन् । तर, शनिबार एक संक्रमितले अस्पतालमा भर्ना नपाएर सात घन्टा एम्बुलेन्समै बिताउनु पर्यो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - दिउँसो ३ बजे एम्बुलेन्समा पाटन अस्पताल पुगेका ती संक्रमितलाई राति १० बजे बल्ल दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा भर्ना गरिएको छ ।
सर्लाही घर भएका ती संक्रमित एक साताअघि भारतको महाराष्ट्रबाट फर्किएका थिए । नेपाल प्रवेश गरेपछि टेम्पोमा घर जानेवेला सप्तरीमा उनी दुर्घटनामा परे र खुट्टा भाँचियो । उपचारका लागि काठमाडौं आएका उनी कुलेश्वरस्थित राजधानी अस्पतालमा भर्ना भएका थिए ।
शल्यक्रिया गर्नुअघि अस्पतालले गरेको स्वास्थ्य जाँचमा उनमा कोरोना पोजेटिभ देखियो । त्यसपछि राजधानी अस्पतालले उनको शल्यक्रिया नगरी शनिबार दिउँसो पाटन अस्पताल रेफर गरेको थियो ।
एम्बुलेन्समा पाटन पुगेका उनीसँगै दुई जना कुरुवा पनि थिए । अस्पताल प्रशासनले बेड खाली नभएको भन्दै बाहिरै कुर्न आग्रह गरेपछि बिरामी सात घन्टा अस्पतालको पार्किङमा एम्बुलेन्सभित्र बस्न बाध्य भए । राति १० बजे मात्रै पाटन अस्पतालले बिरामीलाई केएमसी अस्पतालमा रेफर र्गयो ।
सरकारले काठमाडौं उपत्यकामा कोरोनाको उपचारका लागि पाटन अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान केन्द्र, सशस्त्र प्रहरी अस्पताल, काठमाडौं मेडिकल कलेज र त्रिवि शिक्षण अस्पताललाई तोकेको छ । यी अस्पतालमा एक सय ८७ आइसोलेसन बेड छन् ।
राजधानी अस्पतालले समन्वय नगरी संक्रमितलाई पठाउँदा घन्टौँ एम्बुलेन्समै बस्नुपरेको स्पष्टीकरण पाटन अस्पतालले दिएको छ । ‘उताबाट समन्वय नै नगरी पठायो । हामीकहाँ आइसोलेसन बेड ६ वटा मात्रै छन्, ती सबै भरिएका कारण संक्रमितलाई तत्काल भर्ना गर्न सकिएन,’ अस्पतालका निर्देशक डा। विष्णु शर्माले भने ।
शर्माका अनुसार त्यसबीचमा बिरामीलाई राख्न अन्य अस्पतालसँग सम्पर्क गरिएको थियो । तर, सम्पर्क गरिएका अधिकांश अस्पतालले लिन आनाकानी गरे । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालले ‘हड्डी फ्याक्चर केस’ नलिने बतायो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले शल्यक्रियासम्बन्धी सेवा नभएकाले भर्ना गर्न नसकिने जानकारी गरायो ।
सरकारले इन्जुरी भएका कोरोना संक्रमित बिरामीका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताललाई तोकेको छ । पाटन अस्पतालले त्यहाँ पनि सम्पर्क गरेको थियो । तर, शिक्षण अस्पतालले भर्नाका लागि आवश्यक तयारी नभएको भन्दै लिन नमानेको पाटन अस्पताल स्रोतले बतायो ।
केही सीप नलागेपछि पाटन अस्पतालले एम्बुलेन्समै कुरिरहेका संक्रमितबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएको थियो । मन्त्रालयको पहलमा राति १० बजे उनलाई केएमसीमा पठाइयो ।
मन्त्रालयले बनाएको इन्सिडेन्ट कमान्ड कन्ट्रोल ९आइसिएस० संयोजक डा। गुणराज लोहनीले संक्रमितलाई केएमसी पठाइएको बताए । कलेजकी प्रिन्सिपल डा। चन्दा कार्कीले पनि मन्त्रालयले सम्पर्क गरेर कोरोना संक्रमित बिरामी पठाएको बताइन् ।
दुई कुरुवा पनि सात घन्टा एम्बुलेन्समै
संक्रमितसँगै दुई कुरुवा पनि सात घन्टासम्म एम्बुलेन्समै बस्न बाध्य भएका छन् । अस्पतालको लापरबाहीले उनीहरू पनि जोखिममा परेको एम्बुलेन्सचालकले बताए ।
‘मैले त पिपिई लगाएको छु, खोल्न मिल्दैन । पानी समेत नखाई बसेको छु, तर कुरुवाहरू मास्क पनि पुरानो देखिने लगाएर बस्नु भएको थियो,’ उनले भने, ‘अहिले थोरै संक्रमित देखिएका वेला त अस्पतालहरूको हालत यस्तो छ भने भोलि केही हजार संक्रमित देखिँदा के हुने हो रु’ एम्बुलेन्स चाकलले भने ।
प्रतिकृया लेख्नुहोस्: