काठमाडौं । भारतसँग नेपालको खुला सीमाना थिएन भने सायद यतिवेला नेपालका कोरोना संक्रमितको संख्या लगभग शून्य पनि हुन सक्थ्यो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - किनकी हवाई मार्गबाट आएका संक्रमित एक व्यक्तिबाहेक सबै निको भइसकेका छन् । सीमा बन्द तथा लकडाउनपछि भारतबाट आएका व्यक्तिहरूबाटै नेपालमा तीव्र गतिमा कोरोना फैलिइरहेको छ । शनिबारसम्म कोरोना संक्रमितको संख्या पाँच सय ९१ पुगेको छ ।
आइतबार कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन घोषणा भएको दुई महिना पुगेको छ । दुई महिनाको अवधि पुग्दा संक्रमितको ग्राफ बढिरहेको छ । १ जेठयता मात्र तीन सय ४१ जनामा संक्रमण देखिएको छ ।
त्यसअघि संक्रमितको संख्या दुई सय ४३ मात्र थियो । नयाँ संक्रमण बढ्नुको कराण आन्तरिक संक्रमणभन्दा भारतबाट आएकाहरू हुन्न्। लकडाउन प्रभावकारी भए पनि सीमा व्यवस्थापन असफल हुँदा नेपालमा पनि कोरोना महामारी हुने जोखिम देखिएको छ ।
भारतबाट २० हजार भित्रिए
चैतको सुरुवातदेखि छिमेकी देश भारतमा संक्रमित बढेसँगै सीमानाका र अन्तर्राष्ट्रिय उडानका लागि सरकारलाई दबाब परेको थियो । तर, सरकार केही दिन पर्ख र हेरको रणनीतिमा बस्यो । ९ चैतमा बल्ल सीमा र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरियो । त्यसको दुई दिनपछि लकडाउन कार्यान्वयन गरियो ।
समयमै लकडाउन गर्दा देशभित्र संक्रमण फैलन त पाएन, तर खुला सीमानाको व्यवस्थापनमा असफल हुँदा अहिले कोरोनाको संक्रमण तीव्र गतिमा फैलँदै गएको छ । नेपालमा अहिले संक्रमितमध्ये ९० प्रतिशत भारतबाट सडकमार्ग हुँदै आएका छन् । कतिपय लकडाउनअघि नै आएका थिए भने धेरैजसो संक्रमित लकडाउनपछि भित्रिएका छन् ।
सीमा बन्द भएयता भारतबाट करिब २० हजार भित्रिएको गृह मन्त्रालयको आन्तरिक रिपोर्ट छ । धेरैलाई लामो समय दशगजा क्षेत्रमा क्वारेन्टाइनमा राखेर भित्र्याइएको छ । उनीहरूको परीक्षणसमेत नगरी घर जान दिइएको छ । लुकिछिपी आएका ४० भन्दा धेरैमा संक्रमण देखिएको छ ।
जसले ठूलो जोखिम देखाउँछ । लुकिछिपी आउने क्रममा पक्राउ परेकाहरूलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्दा उनीहरूमा संक्रमण देखिएको छ । यसरी लुकिछिपी छिरेको ठूलो संख्या राज्यसंयन्त्रको सम्पर्कमा छैन । उनीहरूबाट संक्रमण फैलने जोखिम छ ।
भारतबाट आएकाहरूलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्ने व्यवस्था गरे मात्र नेपालमा कोरोना नियन्त्रण हुनसक्ने जनस्वास्थ्यविज्ञहरू बताउँछन् । तर, दुई महिनाको अवधिमा पनि क्वारेन्टाइन बनाउनेलगायत तयारी पूरा गर्न नसक्दा भारतबाट पछिल्लो हप्ता छिरेकाहरूबाट खासगरी प्रदेश सुदूरपश्चिम र कर्णाली प्रदेशमा जोखिम देखिएको छ ।
गृहको असफल सीमा सुरक्षा योजना
गृह मन्त्रालयले भारतसँगको सीमा सुरक्षालाई चुस्त बनाउन समयमा रणनीति बनाएर कार्यान्वयन गर्न नसक्दा यसरी संक्रमण बढेको हो । चैतको सुरुदेखि नै सीमा बन्द गर्नुपर्ने अवस्था देखिएको थियो । तर, गृहले त्यसका लागि कुनै रणनीति बनाएन ।
९ चैतदेखि सीमा बन्द भयो, तर १८ सय ८० किलोमिटर सीमामा जम्मा करिब चार हजार सशस्त्र प्रहरी खटिएका थिए । सुरक्षाकर्मीको उपस्थिति कमजोर भएको मौकामा भारतबाट ठूलो संख्यामा नेपाल भित्रिए । पछि, पहाडका जिल्लामा खटिएका सशस्त्र प्रहरीलाई सीमामा खटाइयो । तर, उनीहरूलाई स्रोतसाधन पर्याप्त दिइएन । जसकारण भारतबाट छिर्ने क्रम रोकिएन ।
गृहले सशस्त्र प्रहरीले सम्हालेका कतिपय जिम्मेवारी नेपाली सेनालाई दिएर सीमामा सशस्त्र प्रहरीको संख्या बढाउनेबारे पनि छलफल गर्यो । तर, यो प्रस्ताव मन्त्रिपरिषद्सम्म गएन । त्यस्तै, पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री तथा नेताहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई समेत फर्काएर डिउटीमा खटाउन सकेन । गृहमा अनुभवी टिम नहुँदा त्यसको असर सीमा व्यवस्थापनमा देखिएको छ ।
अस्त व्यस्त कन्ट्याक्ट ट्रेसिङ
कोरोना नियन्त्रणको महत्वपूर्ण काम संक्रमित व्यक्तिहरूसँग भेटघाट भएका व्यक्तिहरूको पत्ता लगाई परीक्षण गर्नु हो । संक्रमितको संख्या थोरै हुँदा कन्ट्रयाक्ट ट्रेसिङ केही प्रभावकारी देखिए पनि पछिल्लो समय अस्तव्यस्त हुँदै गएको छ । ट्रेसिङको काम कसले गर्ने भन्नेमा अलमल देखिन्छ ।
कतिसम्म भने यससम्बन्धी प्रस्ट कार्यविधि समेत बनाइएको छैन । यसको मुख्य जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई छ । तर, पर्याप्त स्रोतसाधन र जनशक्तिको अभावमा महाशाखाको ट्रेसिङ प्रभावकारी हुन सकेको छैन ।
उपत्यका बाहिर मात्र होइन, भित्रै कतिपय ट्रेसिङको काम हुन सकेको छैन । काठमाडौंका नक्साल, मैतीदेवी तथा कपन क्षेत्रमा देखिएका संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङ प्रभावकारी नभएको भन्दै सांसद गगन थापाले समेत केही दिनअघि सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरेका थिए ।
सेना र प्रहरीले समेत ट्रेसिङको काम गर्दै आएका छन् । तर, एकीकृत संयन्त्र बन्न सकेको छैन । ट्रेसिङ र परीक्षण पनि सुस्त छ ।
प्रतिकृया लेख्नुहोस्: