काठमाडौं । कान्ति बाल अस्पतालको दोस्रो तला । आइसियू, एनआइसियू, पिआइसियूजस्ता अत्यावश्यक सेवा दिइने यो तलाको आइसियू बेड सधैँ भरिभराउ हुन्छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ-बेड पाउन पनि कतिपय अवस्थामा मुस्किल हुन्छ । तर, लकडाउन भएयता भिड केही कम भए पनि कोरोना संक्रमणको जोखिम भने बढेको छ । प्यासेजभरि मान्छे देखिन्छन् । परैबाट शौचालय गन्हाउँछ । पानी धमिलो भएको कुरुवाको गुनासो छ । अस्पतालका आन्तरिक समस्या त छँदै छन्, त्यसमा पनि कोरोना संक्रमणको त्रास अलि धेरै नै छ ।
बाराको टांगिया बस्तीकी चिनिमाया न्यासुर कान्ति बाल अस्पताल बस्न थालेको २० दिन पुग्यो । साढे तीन वर्षको उनको छोरालाई मेनेन्जाइटिस भएको डाक्टरले बताएका छन् ।
‘उपचारको बीचमा जे पनि हुन सक्छ भनेका छन् । सुरुमा भरतपुर अस्पताल लग्यौँ । त्यसपछि काठमाडौं ल्याएका हौँ,’ उनी भन्छिन्, ‘खान बस्न नै समस्या भएको छ । हामी तीनजना छौँ । कुरुवा कोठामा कोचाकोच हुन्छ । कोरोना सर्ने डरले त्यहाँ जाँदैनौँ ।’
सर्लाही बरहथवा घरकी अहिल्यादेवी झा १७ दिने नातिसहित कान्ति अस्पताल पुगेको डेढ साता नाघ्यो । ३ जेठमा बच्चा जन्मिँदा स्वस्थ नै थियो । सर्लाहीकै सिसौटिया स्वास्थ्य चौकीले घर लैजान स्वीकृति दिएपछि बच्चालाई घर लगियो ।
तर, दुई दिनपछि शिशुको मुटुमा समस्या देखिन थाल्यो । ‘यहाँ आएदेखि प्यासेजमै सुत्छौँ । झुलहरू ल्याएका छौँ,’ झा भन्छिन्, ‘चिसो भुइँमा सुत्केरीलाई समस्या देखिन्छ कि भन्ने डर छ, तर अर्को ठाउँ पनि त छैन ।’
मान्छेको आवतजावत बढी हुने अस्पतालमा अझै कोरोनाका लागि सावधानी नअपनाइएको कुरुवाहरूको गुनासो छ । परैबाट गन्हाउने शौचालयले सुत्केरी र बच्चाको स्वास्थ्यमा समस्या ल्याउने उनीहरू बताउँछन् ।
‘शौचालय फोहोर छ, गन्हाउँछ,’ कोटेश्वर बस्ने सरिता निरौला भन्छिन्, ‘पानी धमिलो छ । माथिल्लो तलामा महिला र पुरुषका लागि शौचालय भए पनि सुत्केरीका लागि सजिलो हुनेखालको छैन ।’ उनले कोठाबाटै ल्याएको खाना खाने गरेकी छिन् । तर, केहीका लागि भने त्यो उपलब्ध छैन ।
झा भन्छिन्, ‘सुत्केरी भएका वेला तागतिलो खाना चाहिने हो । यहाँको क्यान्टिनमा खाना खासै राम्रो छैन । सबैले खान मिल्दैन ।’ कोही आफन्त राजधानी काठमाडौंमा नभएकाले पोषिलो खानेकुरा बुहारीलाई दिन नसकेको उनी बताउँछिन् । झन् भुइँमा सुत्दा चिसोले समात्ने हो कि भन्ने डर उनमा छ ।
झाको कुरामा सही थप्दै न्यासुर भन्छिन्, ‘म र नन्द क्यान्टिनकै सय रुपैयाँको खाना आधा खान्छौँ । पैसाले भ्याएसम्म त खाने हो ।’ मलेसिया रहेका उनका श्रीमान् लकडाउनपछि आफैँ बेरोजगार छन् ।
यता, बच्चाको उपचारमा अढाई लाख खर्च भइसकेको उनले बताइन् । दूध खुवाइरहेकी आमालाई पोषिलो खानेकुरा नहुँदा दूध नआउने, शरीर कमजोर हुने हुन्छ । तर, राजधानीमा घर नभएका सुत्केरीहरू क्यान्टिनकै भर पर्नुपरेको छ ।
कोरोनाको डरले चिसो भुइँमै सुत्न बाध्य
अस्पतालमा भेन्टिलेटरमा राखिएको बच्चालाई आमाको दूध बोतलमा राखेर खुवाइन्छ । त्यसैले आमासँगै औषधि, रिपोर्ट ल्याउन र बाहिरका काम गर्न थप एकजना आवश्यक पर्छ नै । आइसियूमा भर्ना भएका बच्चाहरूको आमाका लागि झन्डै ३२ बेडसहितको कोठा छ । तर, सुत्केरीको हेरचाहका लागि थप एक महिला पनि उनीहरूसँग हुन्छन् ।
प्रायः एक शिशुका लागि तीन जना कुरुवा हुन्छन् । सुत्केरीका लागि बेडको व्यवस्था भए पनि अन्यको हकमा हुन्न । तर, टाँसिएरै रहेका खाटका कारण अहिले यहाँ हत्तपत्त सुत्केरी पनि बस्न मान्दैनन् । ‘धेरै जना छन् । नजिकै बसेका हुन्छन् । कोरोना सर्छ कि भन्ने डरले भित्र बस्दैनौँ,’ निरौलाले भनिन् ।
सर्लाहीकी झा पनि सकभर भिडबाट टाढा बस्ने गरेको बताउँछिन् । ‘हामी दिनभर यहीँ बस्छौँ । सुत्ने वेला पनि सुत्केरीका लागि दिएको कोठामा जाँदैनौँ । प्यासेजमै झुल टाँगेर बस्छौैँ,’ उनले भनिन् ।
महोत्तरीको गौशालाबाट भाउजूसँगै कान्ति पुगेका रमेशकुमार साह एक महिनाभन्दा बढी समयदेखि अस्पतालमै बसेका छन् । ६ वर्षीया भतिजीलाई ब्लड क्यान्सर लागेको पुष्टि भएपछि उनी भाउजूसँगै काठमाडौं आएका हुन् ।
‘भाउजू यहीँ सुत्केरीका लागि बनाइएको बेडमा सुत्नु हुन्छ । म भुइँमै सुत्छु । कहिलेकाहीं बाहिर प्यासेजमा सुत्ने ठाउँ हुन्न । अनि भित्रै भुइँमा सुत्छु,’ उनले भने । उनकी भतिजीलाई पिआइसियूमा राखिएको छ । उनी कुरुवा घरमा पकाएर खान्छन् । कहिलेकाहीं बाहिरबाट ल्याएर खाने गरेको उनले बताए ।
सवारीसाधन नचल्दा एम्बुलेन्सकै भर
लकडाउनले गर्दा एम्बुलेन्सबाहेक अन्य यातायातका साधन चल्न सकेका छैनन् । सवारी पास बनाउने प्रक्रिया लामो र झन्झटिलो भएकाले बिरामीको अवस्था सामान्य भए पनि चर्को भाडा तिरेर एम्बुलेन्समै ल्याउनुपर्ने बाध्यता छ ।
‘औषधि उपचारमा जति लाग्छ, त्यो त छँदै छ । नजिकै जानुपर्दा पनि बच्चा बोकेर जान सकिन्न । न त कुनै सवारीसाधनमा लान सकिन्छ,’ सर्लाहीदेखि उपचारार्थ कान्ति पुगेका १७ दिने शिशुका बाबु विकासकुमार झाले भने । मलंगबारदेखि जनकपुर, त्यहाँबाट फेरि काठमाडौंका दुई अस्पताल लाँदा १६ हजार रुपैयाँ भाडाबापत तिर्नुपरेको उनले सुनाए । उनी आफैँ गाडी चलाउँछन् ।
कुरुवा घर छुट्टै छ, तर वार्डमै भिडभाड बढी छ स् कृष्ण पौडेल, निर्देशक कान्ति बाल अस्पताल
हाम्रो यहाँका भवन पुराना हुन् । समयानुकूल हुन नसकेको आफ्नो ठाउँमा होला । तर, महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय छन् ।
यो सुत्केरी गराउने अस्पताल नभएकाले सुत्केरीलाई ती शौचालय प्रयोग गर्न गाह्रो भएको हुन सक्छ । यहाँ सबै किसिमका बेड गरेर जम्मा ५२ बेड छन् बच्चाका लागि । नियमअनुसार दूध खुवाइरहनुपर्ने भएकाले सुत्केरी आमाबाहेकका भिजिटर आइसियूतिर बस्न नमिल्ने हो ।
तर, प्रायः तीन–चार जनासम्म आइरहेका हुन्छन् । कुरुवा घर अर्को बिल्डिङमा थोरै टाढा छ, तर पनि मान्छे यहीं बसिरहेका हुन्छन् ।
प्रतिकृया लेख्नुहोस्: