जाजरकोट । गैरदलित युवतीलाई भगाएर बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँ पुगेका जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकसहित ६ युवकको ज्यान जाने गरी भएको घटनामा चार गाउँका बासिन्दा संलग्न रहेको पाइएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - प्रहरीको अनुसन्धान तथा स्थानीय बासिन्दाका अनुसार सोतीलगायत चार गाउँका बासिन्दाले नवराजसहितका युवालाई लखेटेका थिए ।
१० जेठ साँझ जाजरकोटको खलंगाबाट छिमेकी साथीहरू सञ्जु विक र गणेश बुढामगरसहित १० जनालाई लिएर नवराज गएका थिए । १० किलोमिटर टाढा भेरी नदीको धल्ला पुल पुगेपछि नवराजकै आग्रहमा भेरी नगरपालिका–११ मटेलाका लोकेन्द्र सुनार र उनका साथी गोविन्द शाहीसहित नौजना थपिएका थिए । भेरीको धल्ला पुलमा जम्मा भएका उनीहरू डेढ घन्टा उकालो हिंडेर युवतीको गाउँमा पुगेका थिए ।
युवतीको घरनजिक पुगेपछि त्यहाँका बासिन्दाले चिन्छन् भन्दै ज्याकेट फेरेर पछाडि लागेको घाइते सुदीप खड्काले बताए । तर, उनीहरू युवतीको घर नपुग्दै उनकी आमाले ‘तँ फेरि आइस्, पहिले कुटेकाले पुगेन, अब त मरेर जान्छस्’ भन्दै गाली गरेको सुदीपले बताए । गाली गर्न थालेपछि आमाले थाहा पाएको भन्दै त्यहाँबाट फर्किएको उनको भनाइ छ । त्यसपछि उनीहरू पहिलेको बाटो छोडेर अर्को बाटो फर्किन ओरालो झरेका थिए ।
त्यहाँबाट करिब एक किलोमिटर तल झरेर उनीहरूले नाउलो ९कुवा० मा पानी खाएका थिए । त्यहीं घर भएका विनोद मल्लबारे सोधिखोजी गर्दै मोबाइल नम्बरसमेत मागेका थिए । त्यहाँबाट पनि हिँडेपछि ‘पानी खाएर जाऊ’ भन्दै वडाध्यक्ष डम्बरबहादुर मल्लले अलमल्याएको सुदीपले बताए । घटनाको अनुसन्धानमा खटिएका प्रहरीका अनुसार उनीहरूलाई युवतीको घरबाट त्यहाँसम्म पुग्न ४५ मिनेट लागेको थियो । त्यसपछि चार गाउँका बासिन्दा आएर लखेट्न सुरु गरेको प्रहरीले जनाएको छ ।
गाउँ नै फर्किएपछि उनीहरू त्यहाँबाट भागे । सोती गाउँबाट करिब तीन किलोटिमर तल गैरीज्युला गाउँको सिरानको सडकमा पुगेका थिए । त्यहाँ पनि स्थानीय बासिन्दा आएपछि करिब पाँच सय मिटर परको झोलुंगे पुल तर्न खोजेको थिए । त्यही पुल भएर जाजरकोटकै कालेगाउँ पुगिन्छ ।
तर, पुलतर्फबाट पनि गाउँले नै आएपछि उनीहरू घेराबन्दीमा परेका प्रहरी अनुसन्धानमा देखिएको छ । घटनामा घाइते भएका गोविन्द सुनारले भने, ‘सडकको दुवैतर्फबाट ढुंगा प्रहार हुन थाल्यो । ज्यान जोगाउन भागाभाग भयो । को कता गयो रु कसले कति कुटे रु केही थाहै भएन ।’
ढुंगामुढाले आक्रमण हुन थालेपछि सडकमुनिको मकैबारीतिर भागेको उनले बताए । केही स्थानीय बासिन्दाका अनुसार नवराज र उनका केही साथीहरू त्यहीँ समातिएका थिए ।
त्यहाँबाट पनि भागेका युवकहरू करिब ५० मिटर तलको भेरी नदी तरेर पारि जान खोजेका थिए । भँगालो कटेर बीच बगर र पारि पुगेकालाई पनि कुटपिट गरिएको पाइएको छ । प्रहरीका अनुसार पौडी खेल्न नजान्ने महेश कार्की र डिल्ली विक नदी किनारमै रोकिएका थिए । १० जना नदीमा पसेका थिए ।
उनीहरूमध्ये मदन शाही, भोला बिसी, लालबहादुर खड्का, सरोज भडेल र विभाष पुन पौडिएर भेरी नदीपारि पुगेका थिए । त्यस्तै, आशिष विक, सुनील सुनार, इन्द्रजंग सुनार, गोविन्द सुनार र सुदीप खड्काले भँगालो तरे पनि पारि जान आँट गरेनन् । त्यतिवेला नवराजसहित मृत्यु भएका ६ जनाको अवस्था कस्तो थियो भन्ने अहिलेसम्म प्रहरी अनुसन्धानमा पनि खुलेको छैन ।
गाउँलेले त्यहाँसम्म पुगेर पनि कुटपिट गरेका छन् । ‘म पनि भेरी तर्न जाँदै थिएँ, तानेर ल्याएर उल्टो हँसियाले हानेँ,’ गोविन्दले भने । भेरी तर्दै गरेका दुई जनालाई स्थानीय बासिन्दाले ढुंगा हानेपछि नदीमा बगेको उनको भनाइ छ । भेरीपारि पुगेपछि पनि त्यहाँ फुटबल खेलिरहेका स्थानीय युवाले कुटपिट गरेको घाइतेहरूले बताएका छन् ।
रुकुम पश्चिमका डिएसपी ठगबहादुर केसीले साढे ५ बजेदेखि घटना सुरु भएको बताए । ‘घटना साढे ५ बजेबाटै सुरु भएको छ, तर प्रहरीलाई ६ः१५ बजे लकडाउन उल्लंघन गरेर आएका मान्छेलाई नियन्त्रणमा लिएका छौँ भनेर फोन आएको छ ।
साढे ६ बजे दुईवटा बाइकमा चार जना प्रहरी पुग्दा पनि कुटपिट भइरहेको थियो,’ डिएसपी केसीले भने । भेरी पूर्वतिर वडाध्यक्ष मल्लसहित करिब ६० जनाले कुटपिट गरिरहेको देखेपछि प्रहरीले सिठी फुकेको उनले बताए । तैपनि कुटपिट नरोकिएको जनाएको छ ।
घटनास्थल पुगेका प्रहरीलाई पनि वडाध्यक्ष मल्लले केही बताएनन् । कुटपिटमा परेका १२ मध्ये सुदीपलाई चोट लागेर रगत बगिरहेको थियो । बाँकीलाई भने ठूलो चोट थिएन । काँप्दै गरेको अवस्थामा समातिएका उनीहरूले पनि घटनाको यथार्थ तत्कालै बताउन नसकेको डिएसपी केसीले बताए । राति ९ बजे प्रहरी कार्यालयमा पुर्याएर सोधपुछ गर्दा मात्रै घटनाको रहस्य खुलेको उनको भनाइ छ । पीडित पक्षले भने घटनामा प्रहरीको प्रत्यक्ष मिलेमतो देखिएको आरोप लगाएको छ ।
चौरजहारी नगरपालिका–८ सोतीमाथि गुरताल र तल गैरीज्युला गाउँ छ । सोतीकै वरिपरि गोहिरी र गेस्मागाउँ छन् । सोती गाउँमा रहेको युवतीको घरनजिक नवराजसहितका युवा पुगेको हल्ला चलेपछि चारै गाउँका बासिन्दा आएको पाइएको प्रहरीले जनाएको छ । चारै गाउँमा करिब ६० घर परिवार छन् । ‘पहिले माथिबाट तर्साएका छन्, तर सडकमा उत्रिएपछि आक्रमण भएको छ, त्यसपछि के भयो भनेर घाइतेहरू नै बताउन सक्दैनन्,’ डिएसपी केसीले भने ।
यो घटनामा सबै गाउँ एकत्रित छन् । सबै गाउँका युवा संलग्न भएकाले प्रत्यक्षदर्शीले समेत घटनाको विवरण भन्न आनाकानी गरिरहेको प्रहरीले जनाएको छ । उनीहरू सबैले ‘लकडाउन उल्लंघन गरेर आएका युवाहरूलाई खेदाउँदा खोलामा डुबेर मरेको’ भन्ने गरेका छन् । गाउँको छेउछाउमा बस्नेहरू अहिले डराएर हिँड्ने गरेका छन् ।
सिआइबीको सहयोगमा अनुसन्धान भइरहेको संघीय प्रहरी एकाइ कार्यालय, नेपालगन्जबाट खटिएका एसएसपी पोषराज पोखरेलले बताए । ‘प्राप्त तथ्य–प्रमाणको विश्लेषण, घटनाका प्रत्यक्षदर्शी, स्थानीय, घाइते, पीडित, प्रहरीलगायतको सोधपुछ र बयान लिइएको छ, केही मोबाइल फरेन्सिक परीक्षणका लागि पठाइएको छ । कल ट्रेसिङ गर्ने काम पनि भइरहेको छ,’ उनले भने । छोटो समयमै घटना भएको र विस्तृत अनुसन्धान भइरहेको उनको भनाइ छ ।
घाइते गोविन्द सुनार भन्छन्, ‘प्रहरी नआएको भए हामीलाई पनि मार्थे होलान्’
आमैले गाली गरेपछि हामी त्यहाँबाट फर्कियौँ । अलि तल आइपुग्दा माथिबाट एक्कासी ढुंगामुढा सुरु भयो । चारैतिरबाट घेरा हाले । हामीले भेरीमा हामफाल्नेबाहेक कुनै विकल्प नै पाएनौँ । १८ जनामध्ये को कता गए, केही थाहै भएन ।
म भँगालो तरेर नदी तर्न लागेको थिएँ, तर तानेर कुटे । हँसिया, दाउरा र ढुंगाले हाने । हाम्रो गल्ती छैन भनेर बिन्ती गर्दा पनि उनीहरूले कुटिरहे । त्यतिवेला धन्न प्रहरी आइपुग्यो । नत्र हामी सबैलाई तिनीहरूले मार्थे । हामी त रातभरि डरले काँप्यौँ । अहिले पनि कतिवेला के हुने हो रु डर लाग्छ ।
सबैले सोध्छन्, घरमा पनि गाली गर्छन् । अहिले त झन् गाह्रो भएको छ । कहिलेकाहीं त घरबाटै भागौँ जस्तो लाग्छ ।
भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती भन्छन्, ‘घाइतेको आफ्नै खर्चमा उपचार गरें’
यो अत्यन्तै बर्बरतापूर्ण हत्या भएको छ । अन्तर्जातीय प्रेमकै कारण ६ जनाको हत्या हुनु मानव जातिकै कलंकका रूपमा मैले यसलाई लिएको छु । पीडितले जसरी पनि न्याय पाउनुपर्छ । पीडितहरू मेरा नगर क्षेत्रका भएकाले मैले मृतकका परिवारलाई काजकिरिया खर्च समेत उपलब्ध गराएको छु ।
घाइतेहरूले समेत उपचार नपाएपछि मैले व्यक्तिगत खर्च गरेर उपचार सुरु गरेको छु । अहिले जाजरकोट अस्पतालमा प्राथमिक उपचार गरिएको छ । एक्स–रेलगायत जिल्लामा उपलब्ध सबै उपचार गरिरहेका छौँ । थप आवश्यक उपचार गराउँछु । र, पीडितले न्याय पाउनुपर्ने कुरामा कुनै दुईमत नै छैन ।
कसैको दबाब छैन, दोषी छिटै पत्ता लाग्छ : पोषराज पोखरेल, एसएसपी
घटना हुँदै गर्दा पुगेको प्रहरीले कुट्ने मान्छेलाई किन पक्राउ गरेन ?
वडाध्यक्षले खबर गरेलगत्तै प्रहरी घटनास्थल पुगेको छ । प्रहरीले माथिबाटै सिठी फुकेर र तल गएपछि क्रमशः घटनालाई नियन्त्रणमा लिएको छ । वडाध्यक्षसहित गाउँले र नियन्त्रणमा लिइएका युवाले समेत घटनाको यकिन विवरण नभनेपछि तत्काल प्रहरी अलमलिएको हो ।
उनीहरूलाई काम्दै गरेको अवस्थामा प्रहरीले उद्धार गरेको छ । त्यसैले यसमा शंका गर्नुपर्ने ठाउँ छैन । फेरि मृतकहरू ६ जना नै पौडी खेल्न जान्ने भएकाले उनीहरू पौडिएर कतै गए होलान् भन्ने अनुमान गरियो । त्यसैले शव नभेटुन्जेलसम्म प्रहरीलाई पनि त्यसबारे यकिन गर्न गाह्रो भयो ।
शव खोज्न र मुचुल्का उठाउँदा पनि प्रहरीले सहयोग गरेन भन्ने गुनासो छ ?
प्रहरीले घटनाको प्रकृतिअनुसार काम गर्छ । यहाँ नदीमा शव बगेको हुनाले निकालिएपछि प्रहरीले जे देखेको छ, त्यही मुचुल्का उठाएको हो । सहयोग त प्रहरीले आफ्नो क्षमताअनुसार गर्ने हो । अहिले धेरै जनशक्ति कोभिडको पूर्वतयारीमा खटिएका छन् । त्यसैले यो समस्या आएको हो । फेरि कोही चौकी रुङ्ने र अरू प्रशासनिक काम पनि गर्नैपर्छ । प्रहरीसँग शव खोज्न सक्ने दक्ष जनशक्ति छैन । जनशक्ति नभएकाले नै हामीले गोताखोर मगाएका हौँ । शव खोज्न नसघाउने भन्ने प्रहरीको नियत छैन ।
सुरुवातमा प्रहरीले मुद्दा दर्ता गर्न मानेन भन्ने आरोप छ नि ?
त्यस्तो छैन, कुरा नबुझेर हो । खासमा शव भेटिएपछि हामीले जाहेरी माग गरेका हौँ । तर, उहाँहरूले समयमा उजुरी नै दिनुभएन । बरु हामीले जाहेरी नै नलिई सम्भावित पीडकहरूलाई २४ घन्टाभित्रै पक्राउ गरेका थियौँ । उहाँहरू शव भेटिएपछि शोकका कारण अलि आक्रोशित हुनुभयो ।
आन्दोलनतिर लाग्नुभयो । जसकारण उजुरीमा ढिला भएको हो । प्रहरीले त पूरक निवेदनका आधारमा म्याद थप गरेर अनुसन्धान थालेको थियो । प्रहरीले उजुरी नलिने भन्ने कुरै हँुदैन । पीडितको सहजताका लागि जाजरकोटबाटै जाहेरी लिएर यता ल्याएका छौँ ।
समयमा प्रहरीले प्रमाण संकलन गरेनन् भन्ने छ ?
सुरुवातमा त घटनाबारे प्रहरीलाई थाहै भएन । वडाध्यक्षले लकडाउन उल्लंघन गरेर आएका युवालाई लैजान भनेपछि प्रहरीले ल्याएर घाइतेको उपचार र स्वास्थ्य परीक्षण गरेको छ । जतिवेला घटना भयो, त्यसको साँझ हावाहुरीसहित ठूलो पानी परेको छ । शव भेटिएपछि घटनास्थलमा पुग्दा रगत लागेका ढुंगा, काठलगायत प्रमाण भेटिएनन् ।
सुरुमा पीडित र पीडक दुवैले घटनाको यकिन विवरण बताएनन् । अभिभावकले पनि उजुरी गरेनन्, प्रहरीलाई तत्कालै यति ठूलो घटना भएको छ भन्ने नै प्रस्ट भएन । भोलिपल्ट सबै ठाउँमा प्रहरीले सर्च गरेको छ । भेटिएका प्रमाणलाई संकलन पनि गरेको छ । घटनास्थलमा प्रहरीले एउटा भाँचिएको र अर्को एउटा लाठी भेटेको छ । त्यसलाई सुरक्षित गरेका छौँ ।
राजनीतिक प्रभावले गर्दा प्रहरी अनुसन्धान फितलो भइरहेको छ भन्ने आरोप छ ?
हामीलाई कसैले प्रभावित पारेको छैन । बाहिर चर्चा भए जस्तो राजनीतिक या पीडक वा पीडित कसैको तर्फबाट पनि दबाब छैन । दबाब झेल्नुपर्ने अवस्था अहिलेसम्म छैन । प्रहरी जनशक्ति केही कम हुँदा र सूचना पाउन अन्योल हुँदा घटनाको सुरुमा केही आरोप प्रहरीमाथि लागेका छन् । तर, अब त्यस्तो छैन ।
अनुसन्धानमा खुलेका विषय र जोडिएका मान्छेहरूलाई धमाधम पक्राउ गरिरहेका छौँ । आवश्यकताअनुसार थप मान्छेहरूलाई पनि पक्राउ गर्ने र अनुसन्धान गर्नेक्रम अझै जारी छ । बिल्कुल निष्पक्ष अनुसन्धान भइरहेको छ । अब छिटै दोषी पत्ता लाग्छ । हामी पीडितलाई न्याय दिलाउन केन्द्रित छौँ । हाम्रो टोलीले १८ घन्टा खटेर काम गरिरहेको छ । घटनाको तथ्य बाहिर ल्याउने र पीडितलाई न्याय दिलाउन प्रहरी आफ्नो क्षमताले भ्याएसम्म प्रतिबद्ध छ ।
प्रतिकृया लेख्नुहोस्: