काठमाडौं । कोरोनाका कारण विदेशी भूमिमा १ सय ३० नेपालीले ज्यान गुमाएका छन् ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - नेपालमा मृत्यु हुने २९ जनाको तुलनामा यो झन्डै पाँच गुणा बढी हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १३ मुलुकमा रहेका नेपालीले कोरोनाका कारण ज्यान गुमाएको जनाएको छ ।
संघअन्तर्गतको स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६७ जनाको मृत्यु भएको छ । त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई) मा १९, अमेरिकामा १७, साउदीमा ९, कतारमा ७, बहराइनमा ३, टर्की, आयरल्यान्ड, जापान, नेदरल्यान्ड र स्विडेनमा १÷१ जना छन् । यस्तै अन्य मुुलुकमा तीन जनाको ज्यान गएको छ ।
यसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेकाको संख्या २३ छ। वैदेशिक रोजगार बोर्डले दुई साताअघि सार्वजनिक गरेको तथ्यांक हो यो । त्यसपछि बोर्डले नयाँ तथ्यांक निकालेको छैन ।
बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले कम्पनी र बासस्थानमा जनघनत्व बढी भएकाले नेपाली कामदार बढी प्रभावित रहेको बताए । कोरोनाबाट ज्यान गुमाउनेको तथ्यांक परराष्ट्र मन्त्रालयले अध्यावधिक नगरेकाले यो संख्या थपघट हुन सक्ने सूचना अधिकारी सुवेदीको भनाइ छ ।
उनले कोरोना विश्वव्यापी महामारी भएका कारण सावधानी अपनाउँदा पनि लाग्ने गरेको बताए । ‘कोरोनाबाट सुरक्षित रहँदारहँदै पनि वैदेशिक रोजगारीमा रहेका नेपाली संक्रमित भएका छन्’, उनले भने, ‘कोरोना लागेपछि आइसोलेसनमा बसेर घर फर्केका पनि छन् र केहीले ज्यान गुमाएका छन् ।’
डा. सापकोटाका अनुसार पछिल्लो साता विभिन्न मुलुकमा रहेका नेपालीमध्ये कसैले पनि ज्यान गुमाउनु परेको छैन । संक्रमणको त्रास कायमै रहेकाले सावधानीका उपाय अपनाउनुपर्नेमा सुझाव उनले दिए । ‘खतरा अझै टरेको छैन’, उनले भने, ‘सावधानीका लागि मास्क लगाउने, मुख छुनुभन्दा अघि हात साबुनपानीले धुने, अपरिचित व्यक्तिसँग टाढैबाट भलाकुसारी गर्नुपर्छ ।’
विदेशमा रहेका नेपालीमा कोरोना संक्रमण दर बढ्दो देखिएको छ । विभिन्न मुलुकमा गरी २६ हजार २ सय २७ जना नेपाली संक्रमित भएका छन् । यसमध्ये करिब ७० प्रतिशत अर्थात् १८ हजार ७ सयभन्दा बढी निको भएर घर फर्किएका छन् ।
कतारमा कोरोनाबाट ९२ हजार जना प्रभावित भएका छन् । त्यसमध्ये २० प्रतिशत नेपाली छन् । कतारमा १८ हजार ४ सय नेपाली संक्रमित भएको संघको दाबी छ ।
दक्षिण अफ्रिकामा यसै साता पहिलो पटक पाँच नेपालीमा कोरोना भेटिएको छ । यसअघि अफ्रिकी मुलुकमा १० जना नेपालीमा संक्रमण देखिएको संघले जनाएको छ । त्यस्तै, बंगलादेशमा १५ र भारतमा १ सय ५० जना संक्रमित रहेको पुष्टि भएको छ ।
संघका अनुसार अमेरिकामा १ हजार ६ सय, बेलायतमा १ हजार २ सय २१, साउदी अरबमा ६ सय ७४, बहराइनमा ३ सय ११, यूएईमा २ सय, कुवेतमा ८४ नेपाली संक्रमित छन् ।
यस्तै मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्यान्डमा २२, स्पेनमा १३, क्यानडामा १३, अस्टे«लियामा १२, जापानमा १०, माल्दिभ्समा १०, बेल्जियममा ६, स्विट्जरल्यान्डमा ५ जना संक्रमणको सिकार भएका छन् । जर्मनीमा ४, फिनल्यान्डमा ४, साइप्रसमा ३, न्युजिल्यान्डमा ३ नेपाली संक्रमित भएका छन् । माल्टा, हङकङ, पोल्यान्डमा २÷२, म्यानमार र फ्रान्समा १÷१ जना संक्रमित भएका छन् ।
पछिल्लो समय धेरै नेपाली कार्यरत कतार, साउदी अरब, बहराइन र यूएईमा महामारी फैलिएको छ । त्यहाँ रहेका नेपाली कामदारबीच झनै त्रासको वातावरण बनेको छ ।
चीनको वुहानमा सन् २०१९ डिसेम्बरमा देखिएको कोरोना भाइरस (कोभिड–१९) २ सय १० मुलुकमा फैलिएको छ । कोरोनाका कारण विश्वभर ५ लाख ५ हजार जनाले ज्यान गुमाएका छन् । १ करोड २ लाख ७५ हजारभन्दा बढी संक्रमणको चपेटामा छन् ।
वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया तथा खाडी मुलुकमा करिब १८ लाख नेपाली श्रमिक कार्यरत छन् । वैदेशिक रोजगार विभागका अनुसार ४३ लाखभन्दा बढी वैदेशिक रोजगारीमा पुगेको तथ्यांक छ ।
१ सय १० देशमा नेपालीको बसोबास भए पनि कतिपयमा कूटनीतिक नियोग र एनआरएनको राष्ट्रिय समन्वय समिति छैन । यसले गर्दा कोरोना प्रभावित नेपालीको यकिन विवरण आउन सकेको छैन । परराष्ट्र मन्त्रालयले कोरोनाका कारण मृत्यु हुने र संक्रमणमा पर्ने नेपालीको तथ्यांक राख्न नसकेको स्रोतले जनाएको छ ।
मन्त्रालय स्रोतका अनुसार कोरोनाको पूर्ण विवरण लिन सकिएको छैन। विदेशमा बस्ने नेपाली मूलका व्यक्तिको ज्यान गएको भए पनि तीमध्ये धेरै नेपाली नागरिक नभएको स्रोतले जनाएको छ । नेपालमा संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । निको भएर घर फर्किएका संख्या ३ हजार १ सय ३४ छ ।
प्रतिकृया लेख्नुहोस्: