ललितपुर । गत सोमबारदेखि आएको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका– २४ धापाखेलका सात घर जोखिममा परेका छन् । यीमध्ये पहिरोले दुई घर भत्किएका महानगरपालिकाले जनाएको छ ।
गत मङ्गलबार सो स्थानको जानकारी लिन जाँदा तीनदेखि चार तलाका घरमा समेत क्षति भएका पाइएको महानगरपालिकाका उपप्रमुख गीता सत्यालले बताइन् । उनले भनिन्, “वडा नं २३ धापाखेलको अर्को टोल पानीले डुबाउँदा यहाँका स्थानीयवासीलाई समस्या परिरहेको छ ।” महानगरपालिकाका अन्य वडामा पहिराले क्षति पुर्याए तापनि मानिसमा भने हालसम्म कुनै असर गरिनसकेको सत्यालले जानकारी गराइन् ।
जोखिममा परेका यी घरपरिवारलाई के गर्ने भन्ने विषयमा महानगरपालिकामा छलफल गरी त्यसैअनुसारको कदम अघि बढाइने सत्यालको भनाइ छ । महालक्ष्मी नगरपालिका– ८ शङ्खादेवीमा पहिरो गएर एकपरिवार बसेको टहरा भत्किएको, शान्त्ति निर्माण सेवाले तीन वर्षअघिदेखि काम थालेको गोदावरी खोलाको पुल समयमै निर्माण सम्पन्न नहुँदा कैयौँ खेतीबालीमा हानि पुर्याएको, लुभूको तल्लो खानेपानी दोभानमा पहिरो जाँदा लुभू बजार क्षेत्रका जनतालाई खानेपानीको समस्या भइरहेको र यहाँका ५० देखि ६० तरकारीका टनेल पनि बिग्रिएका वडाध्यक्ष विश्वराज श्रेष्ठले बताए ।
महालक्ष्मी– ९ डाँडाथोकमा बाढीले ढल थुनिएर पाँचदेखि सात घर जोखिममा पर्नुका साथै घिमिरे थोकका चार घर पनि जोखिममा परेका वडाध्यक्ष वासुदेव शर्मा गौतमले बताए । उनले भने, “यस वडाका सडक छेउमा रहेका अग्लो भागमा पानी पर्दा ठाउँठाउँमा भत्किएर खसेका र बाढीले जमिन कटान गरी बग्दा २० देखि २५ रोपनी धानखेत पुरिएका छन् ।” डाँडाथोकको एक घरमा पहिराले असर गर्दा हाल सो परिवार छिमेकीको घरमा बस्न बाध्य भएका गौतमले जानकारी दिए ।
यसैगरी वडा नं १० लाकुरी भञ्ज्याङको ९० प्रतिशत बस्ती भिरालो स्थानमा रहँदा वर्षैपिच्छेको अविरल वर्षात्को जोखिम मोल्न बाध्य भइरहेको वडाध्यक्ष बलराम लामाले बताए । सो वडाका दुई घरमाथिबाट पहिरो खसेर हालसमेत जोखिममा रहँदा ती परिवारलाई अन्यत्र सारिएको लामाले जानकारी गराए ।
महालक्ष्मीका यी तीन वडामा स्काभेटर लगाएर सडक पन्छाउने र तारजाली पठाउने काम भइरहेको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताए ।
उनले भने, “हनुमन्ते पुल आसपास रिटेनिङ वाल र किष्ट अस्पताल क्षेत्रमा ढल नमिलेर बस्तीमा पानी छिर्दा ढल खोल्ने काम पनि भइरहेको छ ।” नगरपालिकाको कृषि शाखाले हरेक वडागत क्षतिको तथ्याङ्क सङ्कलन गर्ने काम जारी रहेको श्रेष्ठले जानकारी गराए ।
गोदावरीमा यस वर्षको वर्षात्ले भित्री सडक अवरुद्ध, केही घरबस्तीमा जोखिम, धानबालीमा भेल पस्दा केही धानखेत नष्ट, ललित घुम्ती सडक ठाउँठाउँमा पहिरो, वडा नं ५ लेले थापागाउँका पाँच घरपरिवार विस्थापित र लेले भञ्ज्याङ छिर्ने मुख्य सडक अवरुद्ध, वडा नं ७ देवीचौरमा १२ घर चर्किएका, वडा नं ९ छम्पीका चारदेखि पाँच घरपहिराका कारण धरापमा रहेका सम्बन्धित वडाध्यक्षले बताए ।
वडा नं १२ थेचोको नख्खुखोला क्षेत्रका धानबाली नष्ट, वडा नं १३ झरुवारासीका १६ देखि १७ घर जोखिममा रहेका छन् । गोदावरीका हरेक वडामा भएका नोक्सानीबारे लगत सङ्कलनको काम जारी रहेको उपप्रमुख सत्यालले बताए ।
ललितपुरमा रहेका तीन वटा गाउँपालिकामध्ये वाग्मतीको वडा नं ४ प्युटार खयरघारीमा वाग्मती खोलाले हानेर केही जमिन बगाएको, गाउँपालिकाका मुख्यदेखि सहायक सडक अवरुद्ध हुँदा दूध र तरकारी बजारीकरण गर्न समस्या भइरहेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बताए ।
महाङ्कालमा बाढी र पहिराले बाटाघाटा बन्द भएका, विद्युत् भने आउने र जानेक्रम रहेको तथा लेले–चन्दनपुर–ठूलादुर्लुङ सडक अवरुद्ध भइरहेको नं ६ का वडाध्यक्ष रामकृष्ण आचार्यले बताए । महाङ्कालभित्र हाललाई सामग्री ढुवानी र गाउँपालिकामा कोही बिरामी पर्दा औषधि उपचारका लागि अस्पताल लानसक्ने वातावरण नभएको आचार्यले बताए ।
कोञ्ज्योसोममा यस वर्ष वर्षात्ले खासै असर नगरेको गाउँपालिकाका सूचना अधिकारी चित्रदेव दाहालले बताए । काठमाडौँ हेटौंडा जोड्ने छोटो दूरीको कान्ति लोकपथ भने पूर्णरुपमा बन्द भएको छ । ललितपुरमा रहेका छ स्थानीय तहमा यस वर्षको बाढीपहिरो र वर्षात्ले मानवीय हानि भने आजसम्म गराएको छैन ।
प्रतिकृया लेख्नुहोस्: