जनकपुर । सुन्निएर उभिन सक्ने अवस्था थिएन । थलिएको शरीरलाई आमा–बुबाले काँधको सहारा त दिन्थे तर बोझिलो शरीर थाम्नै हम्मे पथ्र्यो । जीउ तलतिर तन्क्याउँदै उनी चिच्याउँथे, ‘आह !’ त्यो चिच्याहटले आमा–बुबाको आँखा रसाउँथ्यो ।
आजको कान्तिपुर दैनिकमा खबर छ - छटपटी बढेपछि धनुषाको सबैला नगरपालिका–२ का ३२ वर्षीय प्रमोद महतोलाई गत मंगलबार दिउँसो एम्बुलेन्समा जनकपुरस्थित प्रादेशिक अस्पतालमा डायलसिस गराउन ल्याइयो । दायाँतिर बुबा जोगेन्द्र र बायाँतिर आमा रामकुमारीको सहारामा उभिएका प्रमोदले निकैबेर डाक्टरको प्रतीक्षा गरिरहे । तर न कुनै स्वास्थ्यकर्मी आए, न त डाक्टर नै देखिए ।
‘डायलसिस गर्न आग्रह गर्दा स्वास्थ्यकर्मीहरू आफ्नो ड्युटी सकिन लागेको भन्दै तर्किए,’ बिरामीको उपचारमा सहयोग गर्न पुगेका बीपी साहले भने, ‘त्यसपछि अस्पतालका चिकित्सक जामुन सिंहलाई आग्रह गर्यौं । उनले पनि डायलसिस विभाग प्याक रहेको र थपको उपचार हुन नसक्ने बताए ।’
डायलसिसका लागि करिब ४ घण्टा अस्पतालको चक्कर काटिरहँदा प्रमोद भने आमाबुबाको काँधमै छटपटाउन थालिसकेका थिए । जनकपुरस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नागेन्द्र यादवसँग बुझ्दा उनले पनि डायलसिस विभागका स्टाफ र चिकित्सकले भनेझैं उपचारका लागि अन्तै लैजान सुझाए ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलसिसका लागि लैजाँदै गर्दा बुधबार दिउँसो सिरहाको गोलबजार पुग्दा छटपटीकै क्रममा प्रमोदले अन्तिम श्वास फेरे । उनका बुबाका अनुसार मंगलबार ३ बजे प्रादेशिक अस्पताल पुगेर साँझसम्म डायलसिसका लागि आग्रह गर्दा पनि कसैले वास्ता गरेनन ।
‘चिनेजानेका नेता, मेयर, ठूलाबडा आफन्त सबैलाई फोनमा गुहारें । सबैतिरबाट फोन आउँदा पनि अस्पतालले डायलसिस गर्न मानेन,’ उनले भने, ‘छोराको पीडा देखेर मन भक्कानिन्थ्यो । म रोएँ भने उसले हिम्मत हार्ला भनेर धैर्य गर सब ठीक हुन्छ भन्थें । डाक्टरको खुट्टा ढोगेर उपचार गरिदिन आग्रह गर्यौं । तर कसैको मन पग्लेन ।’
ललितपुरस्थित मेडिसिटी अस्पतालमा एक वर्षअघि उपचार गराउँदा प्रमोदको मिर्गौलामा समस्या देखिएको थियो । काठमाडौंमै एक निजी बैंकमा काम गर्ने उनले त्यसपछिको उपचार र डायलसिस काठमाडौंमै गराइरहेका थिए ।
त्रिवि शिक्षण अस्पतालमा साताअघि उपचार गराएर जनकपुरमा पनि डायलसिस हुन्छ भन्ने बुझेर उनी गाउँ फर्किए । ‘काठमाडौंमा डाक्टरले अझै केही दिन डायलसिस गर्नुपर्छ भनेका थिए,’ प्रमोदकी फुपू ललितादेवी महतोले भनिन्, ‘तर उसले घर जाने जिद्दी गरेपछि सबैला ल्याइयो ।’
बिरामकै तनावले प्रमोदले बैंकको जागिर पनि छाडिसकेका थिए । ‘तिघ्रासम्म सुन्नियो । पेट डम्म फुलेर खाना रुच्न छाड्यो,’ ललिताले भनिन्, ‘पछि हात पनि सुन्निएर स्थिति जटिल बन्यो । निषेधाज्ञाले बाहिर लैजान सम्भव थिएन । प्रादेशिक अस्पतालले पनि फर्काइ दिएपछि उपचारै नपाएरै बिचराले प्राण त्याग्यो ।’
मंगलबार करिब ४ घण्टा प्रादेशिक अस्पतालमा डायलसिसका लागि चक्कर काटेका प्रमोदका परिवारले उपचारैबिना घर फर्काउन पनि धेरै ठाउँमा हात जोड्नुपर्यो । प्रमोदलाई आमाको जिम्मा लगाएर बुबा जोगेन्द्र एम्बुलेन्स खोज्न हिंडे ।
अस्पताल वरिपरि एम्बुलेन्सको लाइन भए पनि कुनै चालक बोक्न तयार भएनन् । एम्बुलेन्सले नमानेपछि उनी भाडाका गाडी खोज्न थाले । भाडाका गाडीले पनि प्रमोदलाई जनकपुरभन्दा २१ किलोमिटर पूर्वको सबैलासम्म लैजान तयार भएनन् । बल्ल, एउटा सिटी रिक्सावाला तयार भए । गम्भीर अवस्थामा प्रमोदलाई त्यही रिक्सामा राखेर सबैला लगियो ।
घर लगेपछि उनको अवस्था झन् बिग्रियो । छिमेकीको सहयोगमा बुधबार दिउँसो २ बजेतिर एम्बुलेन्समा धरान लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भयो । प्रमोदका दुई भाइ वैदेशिक रोजगारीमा दुबई छन् । एक बहिनी घरमै बस्छिन् ।
प्रादेशिक अस्पताल जनकपुरको प्रशासन विभागले प्रमोदलाई डाइलसिस वार्डमा बलपूर्वक उपचार गराउन खोजेको आरोप लगाएको छ । बिरामीले उपचारसम्बन्धी कुनै कागजात नल्याएको र अस्पतालमा उनको डायलसिस समेत नभएको अस्पतालको भनाइ छ । उपचारका लागि जाँचको रिपोर्ट लिएर आउनु भन्दा जानकारी नदिई अन्यत्र लगेको अस्पतालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
‘मिर्गौलामा समस्या भएर प्रमोदलाई मंगलबार अस्पतालको इमर्जेन्सी वार्डमा ल्याइएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछि बलपूवर्क डायलसिस वार्डमा बिरामीलाई राखियो । डाक्टरले जाँच गरेर डायलसिस तथा उपचारका लागि आवश्यक जाँच ब्लड टेस्ट, सीबीसी, आरएफटी, चेस्ट एक्सरे, युरिन रे ल्याउन भन्दा जानकारी नदिई अन्यत्र लगियो ।’
डायलसिस वार्ड अत्यन्तै व्यस्त रहेको र बेडको सीमितताका कारण ४० जना बिरामी प्रतीक्षा सूचीमा रहेको समेत विज्ञप्तिमा उल्लेख छ । अस्पतालमा हाल ४ वटा मात्र डायलसिस शैंया चालु अवस्थामा छन् । यसअघि १० वटा डायलसिस शैंया रहेकामा ६ वटा बिग्रेका छन् ।
प्रतिकृया लेख्नुहोस्: