काठमाडौं। देशको संघीय राजधानी काठमाडौंमा बुधबार मात्रै २ सय ३० जना कोरोना संक्रमित थपिएका छन् । केही सातायता औसतमा सयभन्दा माथि संक्रमित थपिने क्रम जारी छ । यहाँ संक्रमितको संख्या ३ हजार १ सय ८५ पुगेको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - ११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिका, कीर्तिपुर, चन्द्रागिरि नगरपालिका बढी प्रभावित देखिएका छन् । अन्य तहमा पनि कोरोना भने फैलिएकै अवस्था छ । सरकार र नागरिक दुवैका कमजोरीले काठमाडौं संक्रमणको उच्च जोखिममा गएको विज्ञ बताउँछन् ।
शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालका डा. शेरबहादुर पुनले लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट आउने व्यक्तिको परीक्षण र व्यवस्थापन गर्न नसक्नु मुख्य कारण भएको बताए । ‘लकडाउन खुसेसँगै बाहिरी जिल्लाबाट काठमाडौं आउने बढे’, डा. पुनले भने, ‘जुन बेला ९९ प्रतिशतमा लक्षण देखिएको थिएन । लक्षण नभएकाहरू गाइडलाइनअनुसार क्वारेन्टाइनमा बसेनन् । उनीहरू समुदायमा काम गर्ने व्यक्ति थिए । बिना परीक्षण काममा गए । यसबाट पनि एक प्रकार जोखिम बढ्यो ।’
बाहिरी देशबाट आएकालाई सरकारले क्वारेन्टाइनमा राख्यो। परीक्षण गर्यो । तर, बाहिरी जिल्लाबाट आउनेलाई भने काठमाडौंमा क्वारेन्टाइनमा राखिएन। उनीहरूको परीक्षण पनि गरिएन । सरकारले लकडाउनको समयको सदुपयोग गर्न नसक्नु अर्को समस्या भएको उनले बताए । ‘लकडाउनको समयमा आवश्यक तयारी गर्नुपथ्र्यो’, उनले भने, ‘सरकारले रणनीति बनाउनुपथ्र्यो त्यो काम भएन । पुरानै तरिकामा चल्यो ।’
लकडाउन खुलेसँगै काठमाडौं उपत्यकामा सार्वजनिक सवारी चले। व्यापार व्यवसाय पनि चलाउन थालियो। मजदुरहरू काममा लागे । तर कोरोनाका लागि अपनाउनुपर्ने सुरक्षाका उपाय अपनाइएन । जुन संक्रमण फैलिनुको अर्को कारण बन्यो ।
मास्क नलगाउनु र भीडभाडमा जानु संक्रमण फैलनुको अर्को कारण भएको संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले बताए । ‘काठमाडौंको जनघनत्व एकदमै धेरै छ’, डा. सुवेदीले भने, ‘गल्लीहरू एकदमै साँघुरा छन्, जहाँ नगई हुँदैन। तरकारी किन्न वा अन्य काममा जानुपर्यो । यस्तो अवस्थामा स्थानीयले हेलचेक्र्याइँ गरे । सुरक्षामा ध्यान दिएनन । यसले संक्रमण फैलियो ।’
उनले सरकारले परीक्षणको दायरा फराकिलो नबनाउनु पनि संक्रमण फैलनुको अर्को कारण भएको बताए । ‘परीक्षणको दायरा साँघुरो भयो’, उनले भने, ‘बिरामीहरू सहज परीक्षण नभएकाले रोग लिएर बसिरहेको अवस्था छ । कन्ट्याक ट्रेसिङ भएको छैन । संक्रमितका परिवारलाई ट्रेसिङ गरिएको छैन ।’
यहाँका स्थानीय तहरूले पनि कोरोना नियन्त्रणमा राम्रो भूमिका निभाउन सकेका छैनन् । उपत्यकाका एकाध स्थानीय तहबाहेक अन्यले क्वारेन्टाइनै व्यवस्थापन गर्न सकेका छैनन् । सबैभन्दा ठूलो काठमाडौं महानगरले क्वारेन्टाइन बनाएको छैन । बल्ल उपत्यकामा एकीकृत क्वारेन्टाइनमा जुटेको काठमाडौंका मेयर विद्यासुन्दर शाक्य बताउँदैछन् । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले स्थानीय तहहरूबाट कमजोरी भएको स्विकार गरे । बाहिरबाट आउनेलाई व्यवस्थित गर्न नसकेकाले संक्रमण फैलिएको उनको भनाइ छ ।
‘हाम्रो नगरपािलकामा ३७ जनामा कोरोना देखिएको छ’, उनले भने, ‘ती सबै बाहिरी जिल्लाबाट आउने र उनीहरूका परिवारका सदस्य मात्रै छन् । बाहिरबाट आउनेलाई व्यवस्थित गरेर क्वारेन्टाइनमा राख्न सकेको भए अहिलेको अवस्था आउने थिएन ।’
अब के गर्ने ?
डा. सुवेदीले महामारी नियन्त्रण गर्न परीक्षण, ट्रेसिङ र आइसोलेसन तीन मात्रै विकल्प रहेको बताए । सरकारले बढीभन्दा बढी परीक्षण गरेर आइसोलेसनमा राख्नुपर्ने उनको भनाइ छ । ‘हामीसँग तीनवटा मात्रै विकल्प छन्’, उनले भने, ‘परीक्षण बढी हुनुपर्यो । संक्रमितसँग सम्पर्कमा रहेकाको ट्रेसिङ र आइसोलेसनको पूरा व्यवस्था गर्नुपर्यो ।’ घरधनीको डरका साथै महँगो भएकाले परीक्षण नगरेको उनले बताए । निर्धक्क परीक्षणको वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
काठमाडौंमा समुदायस्तरमा संक्रमण फैलिएको हो होइन भनेर बहस चलिरहेको छ । अवस्था हेर्दा समुदायमा गइसकेको विज्ञहरूको भनाइ छ । सरकारी पक्षको दाबी भने समुदायमा फैलिएको छैन भन्ने हो । यस्तो अवस्थामा पहिला समुदायस्तरमा कोरोना संक्रमण फैलिएको वा नफैलिएको सरकारले स्पष्ट पारे मात्र महामारी नियन्त्रण गर्न सकिने डा. पुनको भनाइ छ । ‘अहिलेको अवस्थामा समुदायमा संक्रमण फैलिएको छ कि छैन भन्नेमा विवाद छ’, उनले भने, ‘यो कुरा सरकारले स्पष्ट पार्नुप¥यो अनि मात्र आगामी दिनको रणनीति तयारी गर्नुपर्छ ।’
उनका अनुसार समुदायमा फैलिएको भए त्यस क्षेत्रमा आवतजावत बन्द गर्नुपर्छ । नफैलिएको भए सुरक्षा उपाय अपनाउनुपर्छ । समुदायमा परीक्षणलगायत काम गर्नुपर्ने उनले बताए । सरकारले उपत्यकामा लगाइएको निषेधाज्ञा अवधिमा आवश्यक तयारीका काम गर्नुपर्ने उनको भनाइ छ ।
‘निषेधाज्ञामा सरकारले समुदायमा परीक्षण गर्ने, आइसोलेसन बनाउने काम गर्नुप¥यो,’ उनले भने, ‘सुतेर बस्नु भएन । निषेधाज्ञाको फाइदा लिएर काम गर्नुपर्छ ।’
प्रतिकृया लेख्नुहोस्: