जवानद्वय थुनामा, डिएसपीको सरुवा मात्रै
काठमाडौं । तीन जघन्य अपराधका घटनास्थल फरक छन् र अभियुक्त पनि फरक नै । तर, तीनै घटनामा संलग्न अभियुक्त प्रहरी छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - जो महानगरीय प्रहरी परिसर काठमाडौंमातहत कार्यरत थिए । यसमा अर्को एउटा समानता छ– जुनियर कारबाहीमा परेका छन् र सिनियर उम्किएका छन् । त्यसो त नेपाल प्रहरीको तथ्यांकमा देशभरमै माथिल्लो दर्जाका प्रहरीविरुद्ध कारबाहीका उदाहरण कम छन्न्।
तर, नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायत अपराधमा संलग्न जो–कोहीविरुद्ध पनि संगठनले कारबाही गरेको बताउँछन् । उनी भन्छन्, ‘अपराधमा संलग्न व्यक्ति कुन दर्जाका हुन् भनेर हेरिन्न । अपराधको भोल्युम कस्तो भन्ने कुरा संगठनले हेर्छ र सोहीअनुसार कारबाही गर्छ । नेपाल प्रहरीमा आइजिपी समेत कारबाहीमा परेका छन् । त्यस आधारमा अन्य दर्जाका प्रहरी कर्मचारी उम्कने भन्ने त सवालै हुँदैन ।’
तर, तथ्यांकले अर्कै भन्छ । तीन वर्षको तथ्यांक हेर्दा प्रहरी निरीक्षकभन्दा माथिल्लो दर्जाका जम्मा एक सय १२ जना मात्रै कारबाहीमा परेका छन् । जसमध्ये प्रहरी निरीक्षक ८१, डिएसपी १७, एसपी आठ र एसएसपी ६ छन् । यस अवधिमा डिआइजी र एआइजीविरुद्ध भने कारबाही भएको छैन ।
केन्द्रीय तथ्यांकअनुसार तीन वर्षको अवधिमा अधिकृतभन्दा तल्लो तहका ६ हजार ७१ प्रहरी कर्मचारीविरुद्ध कारबाही भएको छ । कारबाही पर्नेमा सबैभन्दा बढी जवान छन् । यस अवधिमा चार हजार एक सय ३५ जवानविरुद्ध कारबाही भएको छ । कारबाहीमा पर्नेमा त्यसपछि हवल्दारको संख्या धेरै छ । यस अवधिमा एक हजार एक सय ९९ हवल्दार कारबाहीमा परेका छन् । त्यस्तै, चार सय ६५ असइ र दुई सय ७२ सइ कारबाहीमा परेका छन् ।
तर, प्रहरी प्रवक्ता एसएसपी कडायत संगठनमा रहेको कुल संख्यामध्ये ८० प्रतिशत जवान र हवल्दारको संख्या भएका कारण कारबाहीको संख्या धेरै देखिएको बताउँछन् । ‘नेपाल प्रहरीमा सबैभन्दा धेरै जवान र हवल्दारको संख्या छ ।
त्यसपछि जुनियर अधिकृतहरूको हो । यस आधारमा कारबाहीको दर सोही दर्जाका कर्मचारीमा धेरै देखिनु स्वाभाविक हो । अधिकृतको संख्या कम छ । सोही कारण कारबाहीको दर सिपाही, हवल्दारको तुलनामा कम देखिन्छ,’ उनले भने ।
सीमित स्रोत–साधनले महत्वाकांक्षा धान्नै सक्दैन, अनि प्रहरी अपराधमा लाग्छन् : हेमन्त मल्ल ठकुरी, पूर्व डिआइजी
प्रहरी कर्मचारी आफै जघन्य अपराधमा संलग्न हुुनु गम्भीर हो । यसो हुनुमा दुई–तीनवटा कारण छन् । पहिलो कमान्डर यसको जिम्मेवार हो, जसले सही कर्मचारी पहिचान गर्न सक्दैन । अर्को मातहतका कर्मचारीलाई कमान्ड गर्न नसक्नु हो । यसबाहेक अर्को कारण राजनीतिक सोर्सका आधारमा सरुवा भएका प्रहरी कर्मचारी हुन् ।
विशेषगरी यस्ता समस्या नाका तथा सुविधायुक्त ठाउँमा धेरै देखिन्छन् । काठमाडौं प्रहरीमा देखिएको समस्या यस्तै मनोदशाबाट प्रेरित भएको हुन सक्छ । भौतिक सुविधालाई मात्रै प्रगतिको मानक ठान्ने सामाजिक मनोविज्ञानका कारण पनि तल्लो तहका प्रहरी कर्मचारी अपराधमा संलग्न हुने गर्छन् । तल्लो तहका प्रहरी कर्मचारीको सेवा–सुविधा सीमित छ । तर, उनीहरूमा महत्वाकांक्षा ठूलो छ ।
सामाजिक चेतकै कारण मानिसमा यस्तो मनोविज्ञान बन्ने हो । ती महत्वाकांक्षा सीमित स्रोत–साधनले धान्नै सक्दैन । त्यसो हुँदा उनीहरू अपराध कर्ममा लाग्छन् । यसको अर्थ माथिल्लो दर्जाकाबाट अपराध नै नहुने भन्ने होइन ।
ूला–ठूला भ्रष्टाचारका घटना त पढे–लेखेकाबाटै भएका उदाहरण हामीमाझ छ । कारबाहीमा जुनियर धेरै देखिनुको कारण संगठनमा रहेको संख्याको अनुपात हो । तर, दोषी पाइए सानो–ठूलो भन्न पाइँदैन, कारबाहीको दायरामा ल्याउनुपर्छ ।
प्रतिकृया लेख्नुहोस्: