काठमाडौँ । बिस्तारका क्रममा रहेको जोरपाटी सुन्दरीजल सडकमा थोरै जनशक्तिले पनि गर्नसक्ने खालका काम शुरु भएको छ ।
निषेधाज्ञाका समयमा पैदलयात्रु मार्ग, हिमपाइपलगायतका संरचना निर्माणको काम भइरहेको हो । कोभिड–१९ को त्रासका कारण सडक निर्माणका धेरै काम गर्न नसकिने भएकाले सकिने काम गर्न थालिएको काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ । बिस्तारित सडकमा थोरै जनशक्तिले पनि गर्नसक्ने काम भइरहेको आयोजना प्रमुख गुरु अधिकारीले बताए ।
उनले भने, “सरकारले निषेधाज्ञा खुला गरेपछि मात्रै थप काम अघि बढाउन सकिनेछ ।” आयोजनाले बन्दाबन्दीको अवधिमा पनि सडक निर्माणका लागि आवश्यक तयारी अघि बढाएको थियो । सो अवधिमा सडकका दुवैतर्फका रुख हटाएको थियो । सरकारले अनुमति दिएपछि अहिले पनि स्वास्थ्य सावधानी अपनाएर निर्माण अघि बढाउने योजना बनाइएको छ ।
बिस्तारका क्रममा रहेका उपत्यकाका अरु सडकजस्तै यो सडक पनि कति चौडाइमा बिस्तार गर्ने भन्ने विवादकै कारण लामो समयसम्म निर्माण हुन सकेको थिएन । पहिले चौडाइको समस्या भए पनि गत वर्ष मन्त्रिपरिषद्ले बिस्तारित सबै सडकमा उपलब्ध चौडाइमा कालोपत्र गर्ने भनी निर्णय गरेकाले अहिले त्यो समस्या नभएको आयोजना प्रमुख अधिकारीले बताए । सो सडकको मापदण्ड २२ मिटर भए पनि त्योभन्दा कम मात्रै उपलब्ध रहेको छ । स्थानीयवासीको घर नभत्काउँदा सातदेखि २० मिटर उपलब्ध हुनेछ । उनले भने, “सरकारको निर्णयानुसार नै जहाँ जति चौडाइ उपलब्ध छ, त्यतिमा नै निर्माण हुनेछ ।”
सडकमा रहेका संरचना हटाउन र त्यसको व्यवस्थापन गर्न पनि लामो समय लागेको आयोजनाले जनाएको छ । सुन्दरीजलबाट काठमाडौँ उपत्यकामा खानेपानी आउने मुख्य पाइप यही सडकमा भएकाले त्यसलाई व्यवस्थापन गर्न कठीन काम भएको आयोजना प्रमुख अधिकारीको भनाइ छ । जमिनमुनिका खानेपानी र ढललगायतका संरचना नबिग्रने गरी निर्माण गर्नु चुनौती हुने उनले बताए । त्यससँगै सडकमा रहेका टेलिफोन, विद्युत्लगायतका संरचना हटाउन पनि सजिलो छैन । उनले भने, “हामीले कुनै पनि संरचना सकेसम्म नबिग्रने र बिग्रिहालेमा तुरुन्त मर्मत गर्ने गरी काम गरिरहेका छौँ ।”
सो सडकमा रहेका पोल सार्ने प्रक्रिया नेपाल विद्युत् प्राधिकरणले अघि बढाएको थियो । बन्दाबन्दी पहिले नै प्राधिकरणले ठेक्का प्रक्रिया अघि बढाएको थियो । अहिलेको अवस्थाका कारण काम अघि भने बढिरहेको छैन । आयोजनाले यो सडकको कालोपत्र चाँडो सक्ने लक्ष्य लिएको छ । उपलब्ध चौडाइमा निर्माण गर्ने भएकाले सडकका संरचना हटाएपछि समय नलाग्ने उनको भनाइ छ । “सरकारले निर्माणको कामका लागि अनुमति दिएमा आगामी पुससम्ममा सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ”, उनले भने, “कोभिडकै कारण काम गर्न नसकिए मात्रै हो, काम गर्न पाइएमा पुससम्म सकिनेछ ।”
उपलब्ध चौडाइमा सडक कालोपत्र गर्ने भएपछि सो सडकको चौडाई फरकफरक हुनेछ । उपलब्ध भएका स्थानमा २० मिटरसम्म नै हुनेछ भने अरु स्थानमा सात, १४, १६ गरी फरक फरक चौडाइ हुनेछ । सात मिटर हुँदा दुई लेनमा सवारीसाधन गुड्न सक्नेछ । सो सडकको ठेक्का सम्झौता गर्दा नै सडकको दुवैतर्फ पैदलयात्रु मार्ग निर्माण गरिने उल्लेख थियो । अहिले मापदण्डानुसारमा चौडाइ भएका स्थानमा मात्रै पैदलयात्रु मार्ग निर्माण भइरहेको छ । उनले भने, “कम चौडाइ भएका स्थानमा भविष्यमा स्थान उपलब्ध भएमा मात्रै फुटपाथ बन्न सक्छ ।”
त्यस्तै सडकको ठेक्का सम्झौतामा नै सडकको दुवैतर्फ हिमपाइप राख्ने उल्लेख भए पनि कम चौडाई उपलब्ध भएका स्थानमा एक स्थानमा मात्रै हिमपाइप राखिएको छ । कम चौडाइ भएका स्थानमा सडकको मध्य भागमा हिमपाइप राखिएको छ । मापदण्डानुसारको सडकमा दुवैतर्फ ६०÷६० डायमिटरको पाइप हुन्छ भने मापदण्डभन्दा कम चौडाइ भएका स्थानमा ९० डायमिटरको हिमपाइप राखिएको छ । निर्माण शुरु भएको लामो समयसम्म पनि सडक सम्पन्न नहुँदा स्थानीयवासी हिलो र धुलोले हैरान छन् । सडकमा खाल्डाखुल्डीका कारण सडक दुर्घटना्समेत हुने गरेको छ ।
आयोजनाले जोरपाटी–सुन्दरीजल सडकजस्तै उपत्यकामा विसं २०७१ मा ठेक्का सम्झौता भएका १० सडक चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य लिएको छ । त्यतिबेला निर्माण शुरु भएका सडकमध्ये अहिलेसम्म कुनै पनि सडक डिभिजन सडक कार्यालयमा हस्तान्तरण भएको छैन । त्रिपुरेश्वबाट कलङ्की हुँदै नागढुङ्गा र चाबहिल–साँखु सडक मात्रै निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न सडकमा अहिले मर्मत अवधिमा छन् । निर्माण सम्पन्न भएको १३ महिनासम्म पनि कुनै समस्या नआएपछि मात्रै आयोजनाले सडक डिभिजनलाई हस्तान्तरण गर्छ । सो अवधिमा कुनै पनि किसिमका त्रुटि आएमा त्यसलाई सच्चाउने जिम्मेवारी सम्बन्धित निर्माण व्यवसायीकै हुन्छ ।
प्रतिकृया लेख्नुहोस्: