कर्णाली । कणाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बालुवासङ«ग्रही–सल्यान खलङ्गा जोड सडकको शिलान्यास गरेका छन् । योजनामन्त्री ज्वालाले शनिबार रु २७ करोड ३५ लाख लागतमा स्तरवृद्धिका साथै कालोपत्रे गरिने सल्यान वनगाड नगरपालिकाको बालुवासङ्ग्रही–कुपिण्डेताल–जयतपानी–खलङ्गा जोड्ने सडक शिलान्यास गरेको हो ।
सो अवसरमा मन्त्री ज्वालाले कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि सल्यान खलङ्गा जोड्ने यो सडक सल्यानी जनताको जीवनरेखा भएको बताए । “पञ्चायकालीन सरकारले शिलान्यास गरेपनि यो सडक हालसम्म जहाँको त्यहीँ रह्यो,” उनले भने, “यद्यपि अहिले ट्र्याक खोलेर स्तरवृद्धिका साथै कालोपत्रे गर्दैछौँ । तसर्थ यो लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको उपहार हो ।” यसले यहाँका नागरिकको आर्थिक तथा सामाजिक रूपान्तरण गर्नुको साथै जीवनस्तर माथि उकास्न ठूलो सहयोग पुग्ने उनले जिकिर गरे।
कर्णाली प्रदेश सरकारले यो तीन वर्षमा रु ४० करोड बजेट लगानी गरेको यो सडक सङ्घीय सरकारको राष्ट्रिय राजमार्गमा पर्छ भन्दै मन्त्री ज्वालाले प्रदेश सरकारले मोटो रकम छुट्याउँदा सङ्घीय सरकारले रु चार करोड मात्र छुट्याएको टिप्पणी गरे। प्रदेश सरकारले बालुवासङ्ग्रही–कुपिण्डेताल–जयतपानी–खलङ्गा र सल्ली बजार हुँदै रुकुमपश्चिम चौरजहारी जोड्ने सडक निर्माण कार्यलाई प्राथमिकता राखेको उनको भनाइ थियो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले कर्णाली प्रदेशमा जोडिनुको लाभ सल्यान जिल्लाले राम्रोसँग लिएको प्रतिक्रिया दिए। “कर्णाली प्रदेश सरकारले सल्यानको विकासमा प्राथमिकता दिएको छ”, सल्लाहकार शर्माले भने, “अब सल्यानले गाडी गुडाउने मात्र नभई उत्पादन बढाएर सरकारलाई सहयोग पुर्याउनुपर्दछ ।”
वनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द पुनले प्रदेश सरकारले दिएको प्राथमिकताका आधारमा लागू भएका योजनाको कार्यान्वयनमा सम्बन्धित पक्षले विशेष ध्यान पुर्याउनुपर्नेमा जोड दिए । उनले विकासलाई संस्थागत गर्न सबै क्षेत्र र पक्षको उत्तिकै भूमिका रहेको औँल्याए ।
पूर्वाधार विकास कार्यालय सल्यानका कार्यालय प्रमुख विनोद पुनले रु २७ करोड बजेट छुट्याइए पनि बोलपत्र आह्वान गर्दा रु १८ करोड १८ लाख ३६ हजार ९९८ मा सडक निर्माण गर्ने सम्झौता गाल्वा धुलिखेल जेभीले गरेको बताए। उनका अनुसार ११ किलोमिटर सडक स्तरवृद्धिका साथै कालोपत्रे गर्ने जिम्मा लिएर कात्तिकमा सम्झौता गरेको कम्पनीले २४ महिनामा निर्माण कार्य सम्पन्न गर्नेछ ।
प्रतिकृया लेख्नुहोस्: