कार्तिक २५ गते, २०७८ बिहिवार 11th November, 2021 Thu०८:५९:५४ मा प्रकाशित
खबरडबली संवाददाता
काठमाडौं । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व सोमबारदेखि शुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । कार्तिक शुक्ल सप्तमीका दिन अर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अघ्र्य दिएपछि यो पर्व सम्पन्न भएको हो ।
मनोकाङ्क्षा पूरा हुने विश्वासमा विशेष गरी महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलागायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो । भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनःनिर्माणपछि भने यहाँ छठ मनाउन रोक लगाइएको छ ।
बेहुलीझैँ सिँगारी राजधानीका गौरीघाट गुह्येश्वरी क्षेत्र, कमलपोखरीलगायत स्थानमा छठ मनाइएको छ । यी स्थानमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ सम्पन्न भयो । बर्तालुले जलाशयमा डुबी सूर्यदेवसहित नदीको पूजा आराधना गरी उदाउँदो सूर्यलाई अघ्र्य दिइएको हो । बुधबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिन पनि हजारौँ व्रतालुको भीड लागेको थियो ।
कमलपोखरीमा भने यस वर्ष काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा छठ पर्व सम्पन्न गरिएको छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगा सहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ ।
पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वासको चर्चा शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ््ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । सूर्यषष्ठीसमेत भनिने कार्तिक शुक्ल षष्ठीमा सूर्यको पूजा आराधना गर्ने निर्देश शास्त्रमा गरिएको उहाँले जानकारी दिनुभयो ।
सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वरबधु प्राप्तिको कामनाका लागि गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डव अज्ञातवासमा रह“दा सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डव मिथिलाको विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको भन्ने भनाई छ ।
सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको विश्वास समेत गरिन्छ । गुह्येश्वरी गौरीघाट क्षेत्रमा ६७५ वटा छठ घाटअर्थात् पूजास्थल निर्माण गरिएको थियो । तीमध्ये ३० वटा विपन्न वर्गलाई पर्व मनाउन निःशुल्क दिइएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सदस्य अनिल सिंहले जानकारी दिए । अरु पूजास्थल रु एक हजार १०० शुल्क लिई व्रतालुलाई दिइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...
काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...
मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...
प्रतिकृया लेख्नुहोस्: