काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तय भइरहेका बेला महासचिव पद भने अझै निश्चित हुन सकेको छैन ।
पार्टीभित्रका दुवै मुख्य समूह– संस्थापन र विद्या–ईश्वर लाइन–का तीन–तीन शीर्ष नेताहरू महासचिवका आकांक्षीका रूपमा चर्चामा छन् ।
संस्थापन पक्षबाट वर्तमान महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ प्रतिस्पर्धामा छन् । उता विद्या–ईश्वर समूहबाट उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव गोकर्ण विष्ट र सचिव योगेश भट्टराई सम्भावित उम्मेदवारका रूपमा देखिएका छन् । संस्थापनकै केही नेताले पाण्डेलाई आफ्नो पक्षमा तानेर महासचिव बनाउने प्रयास समेत गर्दै आएका छन् ।
अध्यक्षपछि सबैभन्दा शक्तिशाली मानिने महासचिव पदका लागि दुवै समूहले दुई हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि लक्षित गर्दै आन्तरिक समीकरण मिलाउने प्रयास तीव्र पारेका छन् । तर विधान संशोधन लगायत पद व्यवस्थापनका विकल्पमा पनि ओली सक्रिय रहेकाले अन्तिम प्यानल कस्तो बन्ने हो, अझै स्पष्ट छैन ।
सुरेन्द्र पाण्डे संस्थापनसँग समझदारी बनेमा मात्र महासचिवमा उठ्ने तयारीमा छन् । विद्यादेवी भण्डारी पक्षको सहारा पाएमा उनलाई महासचिवमा उठाउने सम्भावना बढेको बताइन्छ । पाण्डे पार्टीभित्र लोकप्रिय मानिए पनि विगतमा संस्थापन लाइनमा नपरेका कारण महत्वपूर्ण भूमिकाबाट बञ्चित हुँदै आएका थिए ।
संस्थापनभित्र भने शंकर पोखरेल, ज्ञवाली र गुरुङबीच कडा प्रतिस्पर्धा देखिएको छ । ओलीका लागि पोखरेललाई दोहोर्याउने कि उपमहासचिवहरूमध्येबाट नयाँ अनुहार अगाडि सार्ने भन्ने दुविधा प्रमुख चुनौती बनेको छ । पोखरेलले पुनः महासचिव बन्ने इच्छा प्रकट गरिसकेका छन् तर टिमभित्रै उनलाई संगठनात्मक कमजोरी र समूह निर्माणमा सक्रियता देखाएको आरोप लाग्दै आएको छ ।
उपाध्यक्ष विष्णु पौडेल गुरुङलाई महासचिवमा उठाउनेमा बढी इच्छुक छन् । स्वयं पौडेल विधान संशोधनमार्फत वरिष्ठ उपाध्यक्षमा जान चाहने भएकाले उनले गुरुङ पक्षमा लबिङ गर्दै आएका छन् । गुरुङलाई सचिव पद्मा अर्याल, रघुवीर महासेठ तथा छविलाल विश्वकर्माको आन्तरिक समर्थन रहेको स्रोत बताउँछ । संगठन निर्माण र कार्यान्वयनमा सक्षम मानिने गुरुङले आवश्यक परे ओलीसँग प्रत्यक्ष बहस गर्ने स्वभाव भने उनलाई महासचिवका लागि प्रतिकूल बन्न सक्ने अनुमान गरिएको छ ।
उता ज्ञवाली विचार, संगठन तथा पार्टी स्कुल विभागमार्फत कार्यकर्तामा बलियो पकड बनाउँदै महासचिव दौडमा अगाडि देखिएका छन् । तर निर्णायक क्षणमा ढिलाइ गर्ने र कहिलेकाहीँ यथार्थताबाट टाढिने स्वभाव रहेको भन्दै ओली स्वयंले समेत उनीप्रति आलोचना गरेको बताइन्छ ।
ओली निकट स्रोतका अनुसार ज्ञवाली र गुरुङमध्ये एकलाई उपाध्यक्ष तथा एकलाई महासचिव बनाउँदै पोखरेललाई उपाध्यक्षमा व्यवस्थापन गर्ने सम्भावना पनि खुला छ । तर पोखरेलले अन्य पद स्वीकार्न तयार नभएको संकेत गरिसकेकाले ओलीको गणित अझै जटिल बनेको छ । उपमहासचिव विष्णु रिमाललाई पनि उपाध्यक्षमा उठाइने चर्चा छ ।
विद्या–ईश्वर समूहमा भने गुरुङले महासचिव नपाए योगेश भट्टराई ‘दोस्रो रोजाइ’ को उम्मेदवार बन्न सक्ने आन्तरिक संकेत देखिएको छ । त्यस्तो अवस्थामा गोकर्ण विष्टलाई उपाध्यक्ष वा उपमहासचिवमध्ये कुनै शक्तिशाली पदमा लैजाने तयारी भइरहेको बताइन्छ । लुम्बिनी र गण्डकीमा प्रभाव भएका कारण विष्टलाई नै महासचिव उठाउने सम्भावना पनि खुला रहेको छ ।
भट्टराई र विष्ट दुवै संगठन निर्माण र जनपरिचालनमा सक्षम मानिन्छन् । भट्टराईले भने पदभन्दा बढी सामूहिक नेतृत्व र नयाँ पुस्ताको उदयलाई प्राथमिकता दिएको बताएका छन् ।
अघिल्लो महाधिवेशनमा जस्तै यसपटक पनि उद्घाटन सत्र सकिएपछि मात्र टिम निर्माणबारे घनीभूत छलफल हुने सचिव पद्मा अर्याल बताउँछिन् । उनका अनुसार कार्यकर्ता–समर्थकको भावना, मनोविज्ञान र पार्टीको समग्र आवश्यकताअनुसार मात्रै पदाधिकारी टुंग्याइनेछ ।
महाधिवेशन नजिकिँदै जाँदा दुवै समूहभित्र भेटघाट, लबिङ र समीकरण मिलाउने दौड तीव्र बनेको छ ।
प्रतिकृया लेख्नुहोस्: