Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

तराईमा बढ्दैछ जाडोको कहरः गरिबको सहारा, पराल नै डस्ना, पराल नै सिरक

खबरडबली संवाददाता

महोत्तरी । जाडो छिप्पिदै गएपछि तराईमा बाक्लै प्रयोगमा आउने पुरानो उक्ति छ, ‘तर गोविन्द उपर नारायण १’ यो उक्तिको ठ्याक्कै अर्थ खोज्दा ‘तल गोविन्द, माथि नारायण’ बुझिन्छ । गोविन्द र नारायण दुवै हिन्दू परम्परामा भगवान् विष्णुका नाउँ हुँदा ओढ्ने, ओछ्याउने दुवै तिनै हुन् भन्ने उक्तिको भाव बन्छ । खासमा पराले झुप्राका गुजुमुज्ज गरिब बस्तीमा यो आहान (उक्ति) तराईमा चरितार्थ हुन्छ, जाडो याममा ।

बाँसको खाँबा र झिक्राझिक्रीको बार (बेराघेरा) का भित्ताको भरमा अडिएका पराले छानाका केही हात लम्बाइ/चौडाइका पराले झुप्रा गरिबको घर संसार हुन् । यी झुप्रामा जीवन गुजारा चलाउने गरिबका लागि जाडो छल्ने दुइटा तरिका देखिन्छन् । एउटा बाटोघाटोबाट सोहोरेर ल्याइएको पातपतिङ्र, मिल्किएका झुत्रा लुगा र प्लाष्टिक बटुलेर बालिने ‘घूर’ । जहाँ बस्तीभरिकै बूढाखाडा, बालवनिता (केटाकेटी) र महिला पचपची निस्कने ‘घूर’ को धुँवाबीच हात फैलाएर तातो लिएको अनुभूति गर्छन् । अर्को तल (भुइँ) मा पराल पसारेर घुँडा खुम्च्याएर सुत्ने, माथि (शरीरमाथि) पराले चटाइ (एकप्रकारको गुन्द्री) तेस्र्याउने । अर्थात्, पराल नै डस्ना, पराल नै सिरक । यसैलाई गरिबले जाडो छल्ने उपायमा ‘तर गोविन्द, उपर नारायण’को उक्ति सुनाउने गरेका हुन् ।

“हजुर, हाम्रो ठण्डी (चिसो, जाडो) छल्ने यै (यही) सहारा हो” झुरुमुट्ट बस्तीको झुप्रा अगाडि आँगनमा १०/१२ जना आफ्ना परिवारजन र छिमेकीसहित ‘घूर’ का चारैतिर हात फैलाएर बसेकी महोत्तरीकै भङ्गाहा नगरपालिका–३ सकरी मुसहरी बस्तीकी करिब ६० वर्षीया रामराजी सादा मुसहरले भन्नुहुन्छ, “रात कटाउन पराल छ, उज्यालो भएपछि घूर ।” लगातार बढ्दै गएको चिसोले सखारै बनीबुतो (मजदूरी) गर्न जान नपाएपछि उदरपूर्ति (खाने कुरा) को पनि समस्या बढेको रामराजीको थप पीडा छ । 

रामराजीजस्तै भङ्गाहा–८ धर्मपुरको अन्हारवन बस्तीकी सुथरी बाँतर पनि छिप्पिदो जाडोले यसपालि लाने होकी भन्ने ठान्नुहुन्छ । “न खायके कोनो ठिकान, न ओढ बैसके कोनो विस्तर” (न खाने कुरा यो भन्ने छ, न ओढ्ने, बस्ने लुगा) करिब ५० वर्षीया सुथरीले थुरथुरी जाडोमा ओठ कमाउँदै भन्नुभयो, “हम गरिबके देखवाला कोइ नई, बुझाइय जे अईबेर जाडमे नई जियब” (हामी गरिबलाई हेर्ने कोही छैनन्, लाग्छ, यसपालिको जाडोबाट बाँच्न सकिन्न) ।

चुुनावका  बेला थरिथरिका आश्वासन दिने नेता अर्को चुनाव नआएसम्म बस्तीमा नदेखिने गरिब बस्तीका पाका व्यक्ति बताउँछन् । विगतमा आफ्नो गरिबी, अभाव र पछौटेपनबारे कसैप्रति गुनासो नगर्ने मुसहर, बाँतर अब भने आफूलाई हेर्ने बुझ्ने कसैले नगरेको बताउन थालेका छन् । “हेर्नोस हजुर, तेसुर साल (परार) धुर्मुस सुन्तली र एकजना बाबाजी (सन्त, बौद्धभिक्षु) आएर केही दिन पुग्ने अन्नपात, ओढ्ने कम्बल र केही लुगा दिएर गएथे”, भङ्गाहा–४ पलारको बाँतर बस्तीकी ४० वर्षीया सियानकीदेवी बाँतर भन्नुहुन्छ, “त्यसयता यी कसरी बसेका छन् भनेर कोही फर्केर आ’का छैनन् ।”

तराईका मुसहर, बाँतर, डोम, हलखोर, मेस्तर, खत्बे, चमार र दुसाध जाति समुदायका बस्तीमा आमरुपमा छ्याङ्छ्याङ्ती गरिबी झल्कन्छ । यीमध्ये पनि मुसहर र बाँतर बस्ती चै पराले झुप्राका गुजुमुज्ज बस्तीले सजिलै चिनिन्छ । मुसहर, बाँतरको बारेमा सुनेकै भरमा पनि अपरिचित ठाउँमा पुग्ने जोसुकैले पराले झुप्रा देख्नासाथै यी त मुसहर, बाँतरका घर हुन् भनेर सजिलै लख काट्नसक्ने महोत्तरीको भङ्गाहा नगरपालिका–३ का बासिन्दा समाजशास्त्री ९समाज विज्ञ० शिवराज दाहाल बताउछन् ।

महोत्तरी जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीयतहमा मुसहर जातिको बसोबास छ । यीमध्ये  भङ्गाहा, गौशाला, औरही, बर्दिबास र लोहारपट्टि नगरपालिकामा अन्यभन्दा बढी मुसहर जातिको बसोबास छ । सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक सूचाङ्कका दृष्टिले अति नै पिछडिएका मुसहरजस्तै बाँतर पनि हुन् । दुवै जातिको रीतिथिति र बसउठ समान नै देखिने समाजशास्त्री दाहालको भनाइ छ ।

सम्पत्तिका नाउँमा पराले झुप्रामात्र हुने मुसहरमा छोराछोरी किशोरवयमा पुगेपछि एउटा नयाँ आशा पलाउँछ । छोराछोरी हुर्केपछि बनीबुतो गरेर अन्नपात ल्याउने हुनाले जीवन गुजारामा सहयोग पुग्ने औरही नगरपालिकाको टिम्किया बस्तीका पल्टा मुसहर बताउछन् । “जाडो छल्ने पोराल पनि गिरहत (मालिक, आफूले बनीबुतो गर्ने किसानलाई मुसहर गिरहत वा मालिकको सम्बोधन गर्छन्) को घरबाट मागी ल्याउन र गाई, बाख्रा चराउन सक्ने भएको छ”, करिब १३/१४ वर्षको छोरा सोमनातिर देखाउँदै पल्टा भन्छन्, “यिनै नानी हाम्रा धन हुन् ।”

मुुसहर, बाँतरमा छोराछोरीको नाउँ राख्ने चलन पनि मिल्दोजुल्दो छ । न पुरोहित चाहिने, न कुनै हेरकोर १ आइतबार (रविबार) जन्मने छोरो रेविया, छोरी अइती । त्यसैगरी सातवटै बारसँग मिल्ने नाउँ राखिन्छन, सोमना/ सोमनी, मङ्गला/मङ्गली, बुधना/बुधनी, विपना/विपनी, शुकना/शुकनी र शनिचरा/शनिचरी आदि । यीबाहेक बन्ठा, भुट्टा, कैला, नेङरा आदि मुसहर, बाँतर बस्तीमा बाक्लै सुनिने नाउँ हुन् । नाउँमा पनि बस्तीका गिरहतका छोराछोरीसँग मिल्ने हो कि भनेर नाउँ बिगारेर राख्छन् । रोहितभन्दा हुने ठाउँमा यी दलितका छोराको नाउँ ‘रोहिता’ हुन्छ । छोरीको पनि त्यस्तै स्त्रीवाचक मिलाएर नाउँ राखिन्छन् । 

मुसहर जिल्लाका सबै स्थानीयतहमा रहे पनि बाँतर बस्ती भने भङ्गाहा नगरक्षेत्रमा मात्र छन् । आफ्नो नगरक्षेत्रमा मुसहर र बाँतरको एक ठाउँ गणना हुँदा फरक÷फरक जाति समुदाय बसोबास तालिकाको अभिलेखमा मुख्य स्थान ओगट्ने भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साह स्वीकार गर्नुहुन्छ । जिल्लामा विसं २०६८ को पछिल्लो जनगणनाले मुसहरको २३ हजार ३६४ र बाँतरको दुई हजार ७९४ जनसङ्ख्या रहेको (यसपालि २०७८ को जनगणनाको तथ्याङ्क अझै सार्वजनिक भइसकेको छैन) देखाएको छ । त्यसयताका एकदशकमा यो सङ्ख्या बढेर दुवैको गरी ४० हजारको हाराहारी पुगेको तथ्याङ्क कार्यालय महोत्तरीका विज्ञको अड्कल छ ।

अहिले करिब ४० हजारको हाराहारी पुग्नै लागेको जनसङ्ख्याभित्रका मुसहर, बाँतर समुदायबाट प्रवेशिका उत्तीर्ण गर्ने सङ्ख्या १५ कटेको छैन । विद्यालयमा प्रत्येक वर्षजसो भर्ना अभियानका नाउँमा यी समुदायका नानीहरुको नाउँ विद्यालयमा लेखिए पनि गरिबी र अभावले टिक्न सक्दैनन् । जिल्लामा बर्सेनिजसो शीतलहरको प्रकोप हुँदै आएको छ तर, जनप्रतिनिधिमूलक निकाय होस् वा सेवाप्रदायक राज्यका निकाय हउन् , कसैले प्रकोपको पूर्वतयारी गरेका नदेखिने यहाँका आम बुद्धिजीवीको टिप्पणी छ । “सबै स्थानीयतहमा दैवीप्रकोप उद्धार कोष छ, प्रत्येक जिल्लामा सरकारका मुख्य प्रतिनिधि मानिने प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा दैवीप्रकोप जिल्लास्तरीय समिति छ”, नेपाल सरकारको सहसचिवबाट सेवानिवृत हुनु भएका भङ्गाहा–५ का रामबहादुर भुजेल भन्नुहुन्छ, “सेवानिवृत भएर घर बसेको १५ वर्ष हुनलाग्योे, कहिल्यै प्रकोपको पूर्वतयारी कसैले गरेका देखिँदैन ।” सेवाप्रदायक निकाय उत्तरदायी हुन नसक्दा बर्सेनि चिसोकै कारण ज्यान जाने र दीर्घरोगले ग्रसित हुने बढिरहेका भुजेलको थप भनाइ छ ।

यद्यपि जाडोमा ‘तर गोविन्द, उपर नारायण’ भन्दै परालको भरमा रहेका मुसहर, बाँतर समुदायको विभिन्न अवसरमा पहुँच बढाउन प्रयत्न भइरहेको यहाँका स्थानीयतहका प्रतिनिधि बताउँछन् । “हो, मुसहर , बाँतर जाति समुदाय सबै क्षेत्रमा धेरै पछि छन्”, भङ्गाहाका नगरप्रमुख साह भन्नुहुन्छ, “हामीले यो समुदायमा शैक्षिक जागरण र अन्य अवसर बढाउन निरन्तर प्रयत्न थालेका छौँ, सामाजिक चेतनाको पछौटेपनले अपेक्षित परिणाम देखिनभने ढिलो भएको छ ।” मुसहर, बाँतर समुदायका बालबालिका विद्यालय टिकाउने कुरा साँच्चै चुनौतीपूर्ण रहेको साह स्वीकार गर्छन् । यद्यपि जाडो याममा शीतलहर फैलँदा विभिन्न सङ्घ संस्थाको पहलकदमीमा राहत कार्यक्रम सञ्चालन गरिने गरिएको साहको भनाइ छ । यसपालि अहिले नै चिसो बढे पनि शीतलहरको प्रकोप नै भने नदेखिएको साह बताउछन्।

यसैबीच जिल्ला समन्वय समिति महोत्तरीले अहिले बढ्दो चिसोको प्रकोप छल्न ठोस योजना बनाउन सबै स्थानीयतहलाई आग्रह गरेको छ । “यो बर्सेनिको समस्या हो, यहाँका नगर र गाउँपालिकाले जाडो याम सुुरु हुनपूर्व नै पूर्वतयारी गर्न पर्ने हो”, जिल्ला समन्वय समितिका प्रमुख सुरेशप्रसाद सिंहले भने “यसमा ध्यान नपुगेको देखिन्छ, नियमित कामका रुपमा परिभाषित गरेर ठोस योजनासाथ काममा लाग्न सबैमा अनुरोध छ ।”

त्यसैगरि जिल्ला प्रशासन कार्यालयले पनि दैवी प्रकोप उद्धार समितिका बैठकबाट पूर्वतयारीका गतिविधि बढाउन पर्ने बुद्धिजीवी बताउँछन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

अछाम । अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित राहाबल्दे नजिक कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता भएका छन् । बिहीबार साँझ करिब ७ ब...

सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२० ले घटेको हो ।  नेपाल सुनचाँदी व्यव...

विशेष महाधिवेशन विवादमा आज सर्वोच्चमा विपक्षीको बहस, विश्वप्रकाशले पनि बहस गर्ने

काठमाडौं । नेपाली कांग्रेस भित्रको विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालत मा आज विपक्षी पक्षको बहस हुने भएको छ। पार्टीका उपसभापति विश्वप्रकाश...

ऊर्जा क्षेत्रको सुधारका लागि मन्त्री श्रेष्ठद्वारा ३२ बुँदे निर्देशन जारी

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि...

नयाँ शैक्षिक सत्रअगावै पाठ्यपुस्तक विद्यालयमा

सिन्धुलीमाढी। सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक...

कालीगण्डकीमा हस्तक्षेप रोक्न ब्यानर प्रदर्शन

बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मो...

मेसको छतबाट खसेर प्रहरी कार्यालय सहयोगीको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठे...

साहसिक फुटबल विजेता सूर्योदयले पायो ४० किलो घिउ

फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...

हुलाकलाई 'सरकारी कुरियर' बनाउँदै सरकार: म्याग्दी र मकवानपुरमा सेवा सुरु

काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्‍याउने कार्य प्रारम्भ...

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending