Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

भक्तपुरमा गठामुंगः पर्व मनाईँदै

रासस

भक्तपुर । साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीका अवसरमा आज नेवार समुदायले घरमा शान्तिको कामना गर्दै  गठामुंगः पर्व मनाउँदैछन । 

सो समुदायले हर्षोल्लासका साथ घण्टाकर्ण राक्षसको पूजा गर्दै मनाउने सो पर्व मौलिक पर्वमध्येको एक हो । 

वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको हो ।

आज उनीहरुले आफ्नो घरगृहमा शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर राक्षसको पूजा आज गर्दछन् । सो समुदायमा एकाबिहानै उठेर घरलाई लिपपोत गरी सफा पार्ने र घरका सबै जनाले नुहाएपछि महादेव र नायरायणको मन्दिर पुगेर जल ल्याई आफ्नो घरको सम्पूर्ण भागमा जलले छर्केर चोखो बनाउने प्रचलन छ । 

घर चोखो बनाउने क्रममा दैनिक जीवनमा प्रयोग भइरहेका सम्पूर्ण भाँडाकुँडासमेत धोएर चोखो बनाउनु पर्दछ । जल नछर्केसम्म कसैले खान नहुने धार्मिक मान्यता रहेको छ । 

घरलाई चोखो बनाएपछि बौ वाय् ज्या (भुत मन्छाउने कार्य) गर्दछ । काँचो माटोको सानो दहीको कटारो वा सलीचा (एक प्रकारको माटोको भाँडा)मा चिउराको ढुटो, जाँडको कट, लसुन, रगत, रातो खुर्सानी, कालो भटमास, रङ्गीविरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने प्रचलनलाई बौ वाय् ज्या अर्थात् भूत पन्छाउने कार्य भनिन्छ । बौ वाय् ज्या गर्ने क्रममा कसै कसैले कुखुराको बलि पनि दिने चलन रहेको छ । 

बौ वाय् ज्यासँगसँगै घरघरको मूल ढोका र मुख्य निदालमा पञ्चरङ्गी मयुरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ । 

घरका साना केटाकेटीलाई फलाम कली (खुट्टामा लगाउने गोलाकार) वा तामाको औँठी लगाइदिने चलन पनि छ । वयस्क युवतीले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने, हातमा मेहेन्दी लगाउने प्रचलन पनि रहेको छ ।

त्यसैगरी साँझपख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा फाल्ने कार्य) सम्पन्न गरिन्छ । छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूलसमेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म परिक्रमा गराई छ्वास (नेवार समुदायको मानिस मर्दा उसको लुगा फाल्ने ठाउँ)मा लगेर सेलाउने गरिन्छ । 

यसअघि घरका सम्पूर्ण झ्याल ढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वालमा जौँ, तोरीको गेडालगायतका वस्तु राखेर गोवरले लिप्ने प्रचलनसमेत रहेको छ । 

घण्टाकर्ण चतुर्दशी दिन बच्चा भूतदेखि नडराउन्, रुन्चे नलागोस् भनी टोलटोलमा रहेको छवासमा गथामुंगःलाई आगो तपाउन सकेपछि घुमाइघुमाई आगो तपाउने प्रचलन छ । आजको दिन गथामुगः दहनसँगै लामखुट्टेको एउटा दाँत भाँचिन्छ भन्ने मान्यता रहेको छ ।

गथामुंगःको दिन सिनाज्या मनाउन घरआँगन सबै सफा गर्ने भएको हुँदा लामखुट्टेको सङ्ख्या पनि कम हुने र लामखुट्टेको टोकाइसमेत कम हुने भएकाले लामखुट्टेको एउटा दाँत भाँचिने मान्यता विकसित भएको संस्कृतिकर्मीहरूको भनाइ छ ।

लोककथन अनुसार घण्टाकर्ण भगवान् विष्णुका भक्त थिए । उनी केवल भगवान् विष्णुको मात्र पूजा गर्दथे । एकदिन भगवान् विष्णुले शिव र आफू एउटै भएकाले शिवको पनि पूजा गर्नुभन्दा घण्टाकर्ण मानेनन्, तब विष्णुले ‘हरि र शङ्कर’ एउटै हो भनेर देखाउन ‘हरिहर’को दर्शन दिए, यसमा आधा विष्णु  र आधा शिव । तैपनि घण्टाकर्ण सन्तुष्त हुन सकेनन् । 

उनी बाहिर निस्केका बेला मानिसहरूले शिवशिव भनेर जिस्काउँथे, सो सुन्नु पर्ला भनेर उनले आफ्नो कानमा ठूला–ठूला घण्ट झुण्ड्याएर हिँड्थे । कसैले शिवको नाम लिनेबित्तिकै कानको घण्टा जोड जोडले बजाउँथ्ये । त्यसैले पनि यसलाई घण्टाकर्ण भनिएको किवंदन्तीमा उल्लेख छ ।

घण्टाकर्ण पर्वकै अवसरमा टोलबासीले नर्कट र छ््रवालीको  मानवाकृतयुक्त राक्षसको प्रतिक बनाई चोकचोकमा ठड्याएर राखिन्छ । सँगसँगै एक व्यक्तिलाई पनि राक्षसको प्रतीक बनाई जगात अर्थात् पैसा उठाउन लगाइन्छ । 

साँझपख सो बाजागाजाका साथ राक्षसको प्रतीक स्वरुपको नर्कट र छ्वालीको मानवाकृतलाई नजिकको खोला, दोबाटो, चौबाटो र नगर बाहिर लगेर जलाइन्छ । जलाएर र्फकेपछि घिनताङघिसी तालमा नाचेर आउने परम्परा छ । 

आजको पर्वलाई किसानहरूको ‘सिनाज्या ब्यंकेगु’ (रोपाइँ कार्य सम्पन्न भएको) र वर्ष दिनको चाडपर्वको सुरुआत भएको सङ्केत पर्वको रुपमा पनि लिने गरेको छ । नेवार समुदायमा घण्टाकर्ण चतुर्दशीको अवसरमा रोपाइँ सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रुपमा सिनाज्या ब्यंकेगु पर्व मनाउने गर्दछन् । 

नेवार समुदायमा घण्टाकर्ण पर्व प्राचीन इतिहासकालदेखि प्रचलनमा रहेको इतिहासविद् एवं संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए। 

काठमाडौं उपत्यकामा करिव दुई हजार वर्ष अघिदेखी यो पर्व मनाउँदै आएको उनले बताए। यो पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वको रुपमा समेत लिने गरेको संस्कृतिविद् डा श्रेष्ठ बताए। 

कानमा घण्टा झुण्ड्याएर हिँड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतीकका रूपमा पनि लिइन्छ । 

आजकै दिनबाट नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन थालनी गरिन्छ । गाईजात्राका बेला आठ दिन प्रदर्शन गरिने विभिन्न बाजागाजा, भैरव नाच, माक प्याखं, देवी प्याखं, भालुचा प्याखं, नागाचा प्याखं, मयुर प्याखं, खिचा प्याखं, रामायणलगायत व्यंग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत घण्टाकर्ण पर्वपछि सुरुआत गरिन्छ । भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका लागि आजकै दिनबाट मुखुण्डो बनाउन शुभारम्भ गरिन्छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...

इरानमाथि अमेरिका र इजरायलको आक्रमण कति लम्बिन सक्छ ?

काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...

मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE