Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

साउनको चौँथो सोमबार : पशुपति क्षेत्रमा टन्टलापुर घाममा हजारौँ भक्तजन

खबरडबली संवाददाता

काठमाडौँ । साउनको टन्टलापुर घाममा घण्टौँ लाममा बसेका भक्तजनको धोको पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेर पूजा, आराधना एवं दर्शन गर्नमा केन्द्रित छ । साउनको चौँथो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड छ । 

विगतका तीन वटा सोमबारभन्दा आज धेरै भक्तजन पशुपतिनाथको दर्शनका लागि टन्टलापुर घाममा घण्टौँ लामबद्ध भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 
 विगतका तीन सोमबार बिहानैदेखि वर्षा हुने गरेको थियो । आज भने बिहानैदेखि काठमाडौँ उपत्यकामा घाम लागिरहेको छ । भक्तजनलाई विगतका सोमबार साउने झरिले पनि लाम लाग्न रोकेको थिएन ।

यसैगरी आज भने टन्टलापुर घाम लाग्दा पनि भक्तजन डगमगाएका छैनन् । छाता ओढेर भए पनि भगवानलाई शुद्ध जलसहित पूजाआराधना गर्ने धोकोले लाममा बसेका छन् । साउनको सोमबार पशुपति क्षेत्रमा दर्शन एवं पूजा, आराधनाका लागि लाम लाग्ने भक्तजनमा दुई तिहाई भन्दा धेरै महिला छन् । साउनको सोमबार अधिकांश महिला पारिवारिक सुख, शान्तिको कामनाले व्रत बस्ने गर्छन् । यसैकारण पशुपति क्षेत्रमा जम्मा हुने अधिकांश भक्तजन महिला भएको कोषको संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए । 

साउनको सोमबार विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् ।  साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा विवाहित महिलाको मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

यसैगरी अविवाहित महिलाले सुयोग्य वर प्राप्त गर्ने विश्वास रहिआएको छ । यसै विश्वासका आधारमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड लागेको छ । दक्षिणकाली नगरपालिकाबाट पशुपतिनाथमा दर्शनका लागि आउनुभएकी सविता न्यौपाने बिहान नौ बजे आएर तीन घण्टा लाम बसेर मन्दिरभित्र प्रवेश गर्न सफल भएको बताउनुहुन्छ । विगतका सोमबार घर नजिकैका अन्य शिवालयमा पूजाआराधना एवं दर्शन गरेपनि कम्तीमा एउटा सोमबार भने पशुपतिनाथको दर्शन गर्ने चाहनाले पशुपति क्षेत्रमा आएको उहाँले सुनाउनुभयो ।

 राजधानीका सबै शिवालयमा भक्तजनको भीड

 राजधानीका अन्य शिवालयमा भने रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले भरिभराउ देखिन्छन् । राजधानीका भित्री सहर एवं वरिपरिका नगरपालिकाका साना, ठूला शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । ती शिवालयमा विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै पूजाआराधना गरिरहेका छन् । साउने सोमबारको व्रत बस्नेले कुनै न कुनै शिवालयमा गएर पूजा, आराधना र दर्शन गर्ने गरेका छन् ।
  
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम भने सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउनुहुन्छ । महिलाले मात्र साउनको सोमबारको व्रत गर्ने भन्ने चर्चा शास्त्रीय नभएको उहाँले सुनाउनुभयो । घर घरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजाआजा गर्छन् । यसवर्ष साउनमा पाँच वटा सोमबार परेको छ । साउन २, ९, १६, २३ र ३० गते सोमबार परेको छ । पहिलो पटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । 

विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेहरुले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् ।
 
गोकर्णेश्वरमा बालयन्त्रको दर्शन गर्ने पुगे भक्तजन

 राजधानीको उत्तर–पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि साउने सोमबारका अवसरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ ।  पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजाआराधना गर्ने प्राचीनकालेखिको परम्परा रहेकाले एउटा मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजन अर्को मन्दिरमा पनि जानुपर्ने मान्यतासमेत छ ।
  
यही मान्यताका आधारमा पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गरी गोकर्णेश्वरमा भक्तजनको भीड लाग्ने गर्छ । वाग्मतीको किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिरको दर्शनका लागि राजधानीका साथै विभिन्न जिल्ला एवं भारतबाटसमेत भक्तजन आउने गरेका छन् । धार्मिक मान्यता अनुसार श्रीयन्त्रको पूजा आराधना गरेपछि बालयन्त्रको पनि पूजाआराधना गर्नुपर्ने मान्यताका आधारमा गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको हो । 
 
सुन्दरीजल–पशुपतिनाथ बोल बम यात्रीको लर्को
 वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लागेको छ ।   आइतबार राति नै सुन्दरीजल गई बसेका भक्तजन बिहानै स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथमा चढाउने परम्परा छ । साउनको चौँथो सोमबार आज पशुपतिनाथ काँवरिया समितिको आयोजनामा सुन्दरीजलबाट पशुपतिनाथ जल ल्याएर चढाउने भक्तजनको भीड लागेको छ ।
 
यसरी जल चढाउने परम्परालाई भक्तजनले ‘बोल बम’ भन्छन् । पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोल बम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन् । यसरी बोल बम यात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरलगायत बीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउने परम्परा छ । 
 
भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महिनामा नदीबाट शुद्ध जल, गाईको दूधलगायत अर्पण गर्ने परम्परा छ । वर्षमा एक पटक साउन महिनामा घर घरमा वैदिक रुद्राभिषेक गर्ने परम्परासमेत नेपाली समाजमा चल्दै आएको छ । यसरी रुद्राभिषेक गरेमा घरमा नराम्रो शक्तिको प्रवेश नहुने सुख शान्ति एवं ऐश्वर्य प्राप्ति हुने शास्त्रीय मान्यता छ ।
  
नागेश्वरमा ४ बजेदेखि भक्तजनको लाम
 
पेप्सीकोलास्थित नागेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । कोरोनाका बिरामी बढ्न थालेकाले दर्शनार्थी भक्तजनलाई सुविधा होस् भनी मास्क, स्यानिटाइजर वितरण गरी सक्दो दूरी कायम गरेर दर्शनको व्यवस्था मिलाइएकोे नागेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले राससलाई जानकारी दिनुभयो । 

कोरोनाअघि मन्दिरमा दर्शनका लागि भारतीय भक्तजनको पनि भीड लाग्ने गर्दथ्यो । साउन महिनाको सोमबार पारेर नागेश्वर महादेव मन्दिरमा दर्शन गरेमा मनोकांक्षा पूरा हुने, मुद्दामामिलाको झन्झटबाट मुक्ति पाइने र कालसर्प योगको दोष जन्मकुण्डीमा भए त्यसबाटसमेत राहत मिल्ने धार्मिक विश्वास छ । यसैगरी काठमाडौँ उपत्यकाका अन्य शिवालय भक्तपुरको डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथलगायत शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । 

यसैगरी देशभरका अन्य शिवालयमा पनि साउनको चौँथो सोमबार भक्तजनको भीड लागेको छ । चान्द्रमास अनुसार भने आज साउन महिनाको अन्तिम सोमबार हो । सौरमास अनुसार भने साउन ३० गते अन्तिम सोमबार रहेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसद राईको असंसदीय अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईले बुधबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको असंसदीय अभिव्यक्ति संसद्को अभिलेख (र...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?

काठमाडौं। प्रधानमन्त्रीले आज बुधबार दिउँसो ३:३० बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारमा बस्न...

प्रशासकीय भवनबाट खसेका मजदुरको मृत्यु

बिर्तामोड। झापाको बाह्रदशी गाउँपालिकाको नयाँ प्रशासकीय भवनबाट लडेर घाइते भएका कामदारको उपचारको क्रममा  मृत्यु भएको छ ।  मंगलवार बिहान ९:४० बजे बाह्...

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ। प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । एमालेका सांसद राजेन्द्रकुमार राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न ? भनि आफ्नो अभिव्य...

नियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

रुपन्देही । विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक भवन, चम्किला काउन्टर, एक्स–रे मेसिन, अध्यागमन डेस्क, प्रस्थान कक्ष र धावनम...

अर्थतन्त्रलाई चलायमान बनाउन प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन उद्योगी तथा व्यवसायीहरूसँग बुधबार विशेष स...

व्यवस्थापनबिनै विस्थापन गरेको भन्दै सुकुमवासीको मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमवासीहरूले आफ्नो मानव अधिकार उल्लंघन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। राष्ट्रि...

ठूला विद्युतीय सवारीमा कर्जा–मूल्य अनुपात बढाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...

राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदै: आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...

संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending