काठमाडौं । सन् १९४३ एप्रिलको एक दिन पूर्वी तराईको नेपाल-भारत सीमामा दक्षिणतर्फबाट एउटा हात्ती उत्तरतर्फ लम्किँदै थियो। हात्तीमा एक सेठ चढेको र पछिपछि पालकीमा उनकी पत्नी आउँदै गरेको देखिन्थ्यो। पछिपछि बयलगाडामा सामान राखेर उनीहरूका सहयोगी आइरहेका थिए।
त्यो समूह भारतीय भूमिबाट नेपाल प्रवेश गर्न लागेको थियो। सीमाचौकीमा भएका नेपाली सुरक्षाकर्मीले रोकेर सोधखोज गर्दा सेठ र उनकी पत्नी बोलेनन्।
सहयोगीले सेठको बिहे भएको र उनी बनरझुला (सप्तरी) जान लागेको बताए। मास्थित नेपाली सुरक्षाकर्मीलाई झुक्याएर भारतीय समाजवादी नेता जयप्रकाश नारायण र विजया पटवर्धन सन् १९४३ एप्रिल ३ का दिन सप्तरीको बर्साइन (हालको तिलाठी कोईलाडी गाउँपालिका) आइपुगे।
जयप्रकाश नारायणसँग सम्बन्धित पुस्तक र लेखहरूमा उनी छद्मभेषमा नेपाल प्रवेश गरेको विवरण कतै छोटकरीमा त कतै विस्तारमा पाइन्छ। कतिले जयप्रकाश पिता र विजया पुत्री बनेको लेखेका छन् भने कतिले चाहिँ उनीहरू वरबधूको भेषमा थिए भनेका छन्।
जे भए पनि यो घटनाको तन्तु भारतीय स्वतन्त्रता सङ्ग्राममा नेपालको एउटा 'महत्त्वपूर्ण' भूमिकासँग जोडिन्छ।
नेपालका लागि भूतपूर्व भारतीय राजदूत मञ्जीवसिंह पुरीका शब्दमा त्यो प्रकरण "औपनिवेशिक शासनबाट आफूलाई मुक्त गर्न भारतले गरेको सङ्घर्षमा नेपालले गर्व गर्ने एउटा उत्कृष्ट क्षण" थियो।
भारतीय स्वतन्त्रता दिवसका दिन हिन्दूस्तान टाइम्समा एउटा लेख लेख्दै तीन वर्षअघि पुरीले उक्त घटनाको सङ्क्षिप्त विवरण दिएका थिए। "उक्त घटना 'भारत छोडो' आन्दोलनका बेला भएको थियो," पुरीले त्यसमा लेखेका छन्।
जयप्रकाश नारायण नेपाल आउनुको कारण
स्वतन्त्रता आन्दोलनमा लागेका भारतीय नेता र कार्यकर्तालाई अङ्ग्रेज सरकारले दमनको नीति लिएपछि समाजवादी नेता जयप्रकाश नारायण पनि पक्राउ परे। उनलाई भारतका विभिन्न जेलमा सार्दै राखियो।
वर्गीस के. जोर्ज आफ्नो पुस्तक 'जयप्रकाश नारायण: द इटर्नल रेबल'मा लेख्छन्, "जेपी हजारीबाग (हाल झारखण्ड) को जेलबाट भागेका थिए। त्यहाँ उनलाई देवली (राजस्थान) बाट सारिएको थियो।"
"देवली कारागारको अवस्था अमानवीय बन्दै गएपछि जेपीले अन्य कैदीबन्दीसहित विरोध जनाए, ३१ दिनसम्म अनशनमा बसे। उक्त मुद्दा ठूलो बनेपछि औपनिवेशिक सरकारले त्यो जेल बन्द गर्यो।"
सन् १९४२ अगस्ट ८ मा अखिल भारतीय कङ्ग्रेस समितिले "भारत छोडो" आन्दोलन घोषणा गर्यो। जयप्रकाश नारायण हजारीबाग जेलमा सारिए।
मिति थियो- सन् १९४२ नोभेम्बर ९ तारिख।
दीपावली भएकाले हजारीबाग जेलको रेखदेखमा खटिने अधिकांश हिन्दू कर्मचारी बिदामा थिए।
जोर्ज लेख्छन्, "जेल आफैँ उत्सवको ध्याउन्नमा थियो। जेपी र उनको समूहका एकजना साथीले कैदीलाई कथा सुनाएर मनोरञ्जन गराए। जेपी र अन्य छ जनाले आफ्नो आधारभूत काम गरिसकेका थिए- सन्तरी (सेन्ट्री) प्रत्येक आठ मिनेटको फरकमा एउटा बिन्दुमा फर्किन्छ भन्ने उनीहरूले पत्ता लगाए।"
"त्यसको अर्थ थियो - आठ मिनेटभित्र 'जेलबाट भाग्ने काम' सक्नुपर्नेछ। उनीहरूले सन्तरीले कुनै एउटा बिन्दु पार गर्नेबित्तिकै धोती बाँधेर बनाइएको लठारो फालेर अङ्कुश लगाए, अनि त्यसमा झुन्डिए।"
जोर्जले लेखेअनुसार उनीहरूले छ मिनेटभित्र काम फत्ते गरिसकेका थिए। यद्यपि आफ्नो अधिकांश सामान र पैसा जेलभित्रै रहेकाले उनीहरूले भाग्ने क्रममा सास्ती खेप्नुपर्यो।
जुत्ता जेलभित्रै छुटेकाले बिनाजुत्ता जङ्गलको बाटो कुद्न जयप्रकाशको टोलीलाई सकस परेको थियो। अङ्ग्रेज सरकारले जेलबाट भागेका जयप्रकाश नारायणको टाउकाको मूल्य तोक्यो। सुरुमा ५,००० भारु इनाम तोकिएकोमा केही महिनापछि त्यसलाई दोबर बनाइयो।
"त्यस बेला त्यत्रो रकम कमाउन कुनै पनि मजदुरले ३० वर्ष लगातार काम गर्नुपर्थ्यो," जोर्ज लेख्छन्।
टाउकाको मोल तोकिएपछि जयप्रकाश नारायणलाई भूमिगत हुनुपर्ने बाध्यता आइलाग्यो। भारतभित्रै बस्दा जुनसुकै बेला जहाँबाट पनि पक्राउ पर्न सक्ने र मारिन पनि सक्ने खतरा बढ्यो।
त्यसैलाई दृष्टिगत गर्दै उनले सीमाका सुरक्षाकर्मीलाई झुक्याएर नेपाल प्रवेश गर्ने निधो गरे।
नेपाल आउने योजना
हजारीबाग जेलबाट भाग्नेबित्तिकै जयप्रकाश नारायण नेपाल आएनन्। तर उनीसँगै भागेका सुरजनारायण सिंह नेपाल प्रवेश गरे।
त्यसअघि सन् १९४२ अगस्टमा "भारत छोडो" आन्दोलन सुरु भएसँगै बिहार क्षेत्रबाट भारतीय कङ्ग्रेस र समाजवादी कार्यकर्ताहरू नेपाली भूमिमा प्रवेश गर्न थालिसकेका थिए।
उनीहरूमध्ये अधिकांशलाई सप्तरीको बनरझुलामा शरण दिएका थिए नेपालका एक जमिनदार रामेश्वर सिंह र उनका आफन्तले।
सिंह पछि नेपाली कांग्रेसमा आबद्ध भए र केन्द्रीय सदस्यसम्म बने।
'भारत छोडो' आन्दोलन सुरु भएपछि भारतीय क्रान्तिकारीहरू नेपाल आउन थालेको विवरण दिँदै रामेश्वर सिंहले आफ्नो संस्मरणमा लेखेका छन्, "अगस्ट समाप्त हुँदै गर्दा ४०/५० जना आइसकेका थिए।"
त्यसबीच सुरजनारायण सिंहको प्रस्तावमा राजविराजभन्दा ५ माइल पश्चिमस्थित राजपुर गाउँमा भारतीय क्रान्तिकारीहरूको एउटा सम्मेलन समेत भयो।
त्यसमा करिब १०० कार्यकर्ता सहभागी बने।
"कुराकानीका क्रममा सुरज बाबुले 'जयप्रकाशजी भारतमा रहँदा पक्राउ पर्ने खतरा छ, यदि उनलाई यहाँ (नेपाल) ल्याएर राख्न पाइयो भने निश्चिन्त रूपमा सोच्न पाइन्थ्यो' भन्नुभयो," सुरजनारायण सिंहलाई उद्धृत गर्दै रामेश्वर सिंहले लेखेका छन्।
सुरजनारायण सिंहबाट जयप्रकाश नारायणले गुरिल्ला युद्धका लागि एउटा सशस्त्र समूह तयार पार्ने विचार गरेको पनि रामेश्वरले जानकारी पाए।
त्यो गुप्त योजनाअनुरुप नै जयप्रकाश नारायण र विजया पटवर्धन बेहुलाबेहुलीको भेषमा नेपाल प्रवेश गर्न सफल भए।
उनीहरूले सुरुमा सप्तरीको बर्साइनस्थित आनन्दी प्रसादको घरमा आश्रय लिएर बसे।
यद्यपि नेपालमा आइसकेका कङ्ग्रेस कार्यकर्ताहरूलाई पनि जयप्रकाश नारायण नेपालमा छन् भन्ने जानकारी नदिने भद्र सहमति बनेको रामेश्वरले लेखेका छन्।
बनरझुलामा सन् १९४३ एप्रिलको १२ देखि १४ तारिखसम्म भारतीय क्रान्तिकारीहरूको महासमितिस्तरको बैठक सम्पन्न भएको र त्यसबाट जयप्रकाश नारायण समेत प्रसन्न भएको रामेश्वरले आफ्नो संस्मरणमा उल्लेख गरेका छन्।
अनि राममनोहर लोहिया नेपाल आए…
भारतीय स्वतन्त्रता सङ्ग्रामबारे अङ्ग्रेजी र हिन्दी भाषामा लेखिएका कतिपय पुस्तक र लेखहरूमा जयप्रकाश नारायणसँगै अर्का समाजवादी नेता राममनोहर लोहिया पनि नेपाल आएको विवरण पाइन्छ।
यद्यपि रामेश्वरले आफ्नो संस्मरणमा जयप्रकाश आएको एक महिना १० दिनपछि मात्र लोहिया नेपाल आइपुगेको विवरण दिएका छन्।
त्यसअघि नै जयप्रकाश नारायण बनरझुलाबाट हनुमाननगर हुँदै कोशीपारि पुगिसकेका थिए।
त्यस बेला सप्तकोशीमा पुल थिएन। उनी डुङ्गा चढेर रामेश्वरको सुनसरी कुशाहा लक्ष्मीनियास्थित 'कामत घर'मा पुगे र त्यही गोप्य रूपमा बस्न थाले। त्यो घर खेतीपातीको काम गर्न र अन्न भण्डार गर्न बनाइएको थियो।
जयप्रकाशका लागि खरले छाएको बाँसको छुट्टै घर बनाइएको रामेश्वरले लेखेका छन्। जयप्रकाश कोशीपारि पुगेपछि अर्का समाजवादी नेता राममनोहर लोहियालाई पनि नेपाल ल्याउने चर्चा भयो।
त्यसको जिम्मा श्यामनन्दन नामक व्यक्तिले लिए। श्यामनन्दनको सहयोगमा फारबिसगन्ज-कटिहारको बाटो हुँदै सन् १९४३ मे १४ तारिखमा लोहिया कुशाहा आइपुगे।
रामेश्वरले आफ्नो संस्मरणमा त्यसको विस्तृत विवरण दिएका छन्।
नेपालमा रेडिओ स्टेशन!
कन्हैया त्रिपाठीद्वारा सम्पादित हिन्दी भाषाको पुस्तक 'डा. राममनोहर लोहिया और सतत समाजवाद'मा प्रदीप त्रिपाठीले भारतको कङ्ग्रेस रेडिओसँग आबद्ध भएका लोहिया नेपाल आएर जयप्रकाश नारायणसँग बसेको उल्लेख गरेका छन्।
उनी लेख्छन्, "उनी सन् १९४३ मा नेपालमा कङ्ग्रेस रेडिओ स्थापनाका लागि सक्रिय थिए। त्यसै बेला उनी बसेको भूमिगत स्थलमा प्रहरीले छापा मारेर उनलाई जयप्रकाश नारायणका साथमा पक्राउ गर्यो।"
भारतीय संसद्को तल्लो सदनले प्रकाशित गरेको प्रख्यात संसद् सदस्यहरूको 'मोनोग्राफ' शृङ्खलामा लोहियाले नेपाल-भारत सीमानजिकै भूमिगत कङ्ग्रेस रेडिओ सञ्चालन गरेको उल्लेख छ।
लोकसभा सचिवालयले सन् १९९० मा प्रकाशित गरेको लोहियाको 'मोनोग्राफ'मा हगारीबाग जेलबाट भागेपछि जयप्रकाश नारायणले नेपालमा 'आजाद दस्ता' बनाउने निर्णय गरेको उल्लेख छ।
त्यसमा लेखिएको छ, "उक्त आजाद दस्ताका दुई नेता थिए- श्री जयप्रकाश नारायण र डा. राममनोहर लोहिया।"
"बिहारसँग जोडिएको नेपालमा एउटा रेडिओ स्टेशन स्थापना गरियो। डा. लोहियाले आफूसँगै ट्रान्समिटर लिएर आए र रेडियो प्रचार विभागका निर्देशक बने। उनका वक्तव्यले हिन्दीभाषी क्षेत्रमा क्रान्तिको ज्वाला दन्कियो।"
तर उषा ठक्कर आफ्नो पुस्तक 'कङ्ग्रेस रेडिओ: उषा मेहता एन्ड द अन्डरग्राउन्ड रेडियो स्टेशन अफ १९४२' मा लोहियाले नेपालमा स्थापना गरेको रेडिओले काम गर्न नसकेको उल्लेख गर्छिन्।
उनी लेख्छिन्, "बम्बईमा भूमिगत रेडिओको सफलताबाट उत्प्रेरित राममनोहर लोहियाले कलकत्तामा रेडिओ स्टेशन स्थापना गर्ने प्रयास गरेका थिए, पछि लोहिया र जयप्रकाश नारायणले नेपालमा पनि कङ्ग्रेस रेडिओ स्थापना गर्ने अर्को प्रयास गरे। तर यी प्रयासहरू सफल हुन सकेनन्।"
"लोहियाले... कलकत्तामा जोडेको ट्रान्समिटिङ सेट बम्बईबाट लगेका थिए, तर ब्याटरी नहुँदा उनको सबै श्रम व्यर्थ भयो।"
नेपालभित्र 'आजाद दस्ता'को तालिम
स्वतन्त्रता सङ्ग्रामका क्रममा जयप्रकाश नारायण तथा लोहियाजस्ता नेताहरूले गान्धीको अहिंसात्मक आन्दोलनविपरीत सशस्त्र सङ्घर्षको बाटो अपनाएका थिए।
हजारीबागबाट भागेपछि जयप्रकाश नारायणले बिहारमा 'आजाद दस्ता' गठन गर्न आह्वान गरे।
बिहारमा गठन भएको सशस्त्र समूहले नेपाली भूमिमा पनि तालिम गर्न थालेको जयप्रकाश नारायणसँगै नेपाल आएका कतिपय नेताहरूले पछि आफ्नो संस्मरणमा उल्लेख गरेका छन्।
जयप्रकाश नारायण नेपाल आएपछि उनले नेपालमै 'आजाद दस्ता'का लागि तालिम सञ्चालन गर्ने निर्णय गरेको विवरण उनीसँग सम्बन्धित पुस्तकहरूमा पाइन्छ।
त्यस्तो तालिमका लागि सुरुमा १८ जना व्यक्तिहरू चयन गरिएको र उनीहरूलाई अहिलेको सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकास्थित सुरुङ्गा पहाडमा पठाइएको थियो।
उक्त क्षेत्रमा विष्णुभक्त प्रधान वनरक्षक थिए। उनले पनि 'आजाद दस्ता'को तालिमका लागि सहयोग गरेका थिए भन्ने विभिन्न विवरणहरूले पुष्टि गर्छन्।
सुरुङ्गा पहाडमा 'आजाद दस्ता'को तालिम चलिरहेका बेला नेपालका राणा शासकलाई अङ्ग्रेजहरूले भारतीय क्रान्तिकारीहरू तराईमा भूमिगत रूपमा बसेको सूचना दिए।
अङ्ग्रेजले भारतीय क्रान्तिकारी नेताहरूलाई पक्राउ गरेर आफूलाई बुझाउन आग्रह गरेपछि सुनसरीको कुशाहाबाटै जयप्रकाश नारायण र लोहियासहित अरू नेता र कार्यकर्तालाई नेपाली सुरक्षाकर्मीले घेराउ गरेर पक्राउ गरे।
यद्यपि विजया पटवर्धनलाई जयप्रकाश नारायणले एक दिनअघि नै कोलकाता पठाएकाले उनी जोगिन्छिन्।
जयप्रकाश नारायण र लोहियासहित अन्य व्यक्तिहरूलाई सन् १९४३ मे २० तारिखमा पक्राउ गरी २१ तारिखमा सप्तरीको हनुमाननगर पुर्याएर त्यहाँस्थित बडाहाकिम कार्यालय भवन हाताभित्रैको हिरासतमा राखिएको थियो।
हनुमाननगरमा आक्रमण
उक्त कुरा सुरुङ्गा पहाडमा तालिम गरिरहेका 'आजाद दस्ता'सम्म कुनै माध्यमबाट पुगेपछि उक्त समूहमा संलग्न व्यक्तिहरूले दुवै नेतासहित पक्राउ परेका अन्यलाई छुटाउने उपाय खोजी गर्न थाले।
त्यसका लागि हनुमाननगरमै आक्रमण गर्नुपर्ने योजना बन्यो। हनुमाननगर आक्रमणमा संलग्न सीताराम सिंह र अवधि सिंहजस्ता भारतीय नेताहरूले आफ्ना संस्मरणमा उक्त कुरा उल्लेख गरेका छन्।
हिन्दी भाषामा प्रकाशित समतावादी मासिक 'नयाँ संघर्ष'को सन् १९९२ को अगस्ट-सेप्टेम्बर-अक्टोबर अङ्कमा हनुमाननगरमा भएको आक्रमणबारे विभिन्न व्यक्तिका संस्मरणसहित विस्तृत विवरण दिइएको छ।
त्यसमा प्रकाशित संस्मरणमा अवध सिंहले राणा शासकका प्रहरीले कुशाहाबाट जयप्रकाश नारायण र लोहियासहित सात जनालाई पक्राउ गरेर हनुमाननगर लगेको उल्लेख गरेका छन्।
पक्राउ पर्नेमा कार्तिकप्रसाद सिंह पनि थिए। अवध सिंहले लेखेका छन्, "कार्तिक बाबुका सहयोगी शशिले जेपी गिरफ्तार भएको खबर सुरुमा सखडा र त्यसपछि सुरुङ्गा पुर्याए। त्यसदिन शशिले जे काम गरे त्यो अत्यन्त साहसिक थियो।"
त्यसपछि आफूहरू बनरझुलास्थित रामेश्वरको घर पुगेर सल्लाह गरेको उनले लेखेका छन्।
रामेश्वरकी छोरीको बिहे भोलिपल्ट थियो। उनी त्यसको तयारीमा थिए।
तर जयप्रकाश नारायणसहित नेताहरू पक्राउ परेको र उनीहरूलाई छुटाउन हनुमाननगरमा आक्रमण गर्नुपर्ने योजना सुनाउँदा रामेश्वरले साथ दिए।
"हामीले त्यसपछि (आक्रमणपछि) दमन हुन्छ भन्यौँ। रामेश्वर बाबुले 'जे होला भोगौँला' भन्ने जबाफ दिए," अवध सिंह लेख्छन्।
'आजाद दस्ता'मा सामेल भारतीय र नेपालीसमेत मिलेर मे २३ तारिख राति हनुमाननगरस्थित बडा हाकिम कार्यालयमा आक्रमण गरे।
उनीहरूले जयप्रकाश नारायण र लोहियासहित सात बन्दीलाई छुटाए। हनुमाननगरबाट छुटेपछि जयप्रकाश नारायण र लोहिया कोलकातातर्फ गएको विभिन्न विवरणले पुष्टि गर्छन्।
उक्त घटनामा हनुमाननगर गारदका एक सन्तरीको ज्यान गएको थियो भने अर्का एक जना घाइते भएका थिए।
त्यसैका आधारमा नेपालमा ज्यान मारेको अभियोगमा ४८ नेपाली र ११ भारतीय नागरिकविरुद्ध मुद्दा चलाइयो।
त्यस क्रममा करिब डेढ सय नेपाली नागरिकहरू पक्राउ परेका थिए। नेपाली भूमिका कुनै पनि भारतीय नागरिक भने पक्राउ परेनन्।
मुद्दा चलाइएकामा रामेश्वर सिंह पनि थिए। आफू सहित २२ जनालाई काठमाण्डू लगिएको उनले आफ्नो संस्मरणमा लेखेका छन्।
काठमाण्डूमा मुद्दा चल्दै गर्दा हनुमाननगर काण्डमा पक्राउ परेका कृष्णवीर कामी र अब्दुल मियाँको जेलमै निधन भयो।
भारतमा अङ्ग्रेज शासनको पतनसँगै त्यहाँको अन्तरिम सरकारको आग्रहमा अन्य सबैजसो अभियुक्त रिहा भएका विभिन्न विवरणले देखाउँछन्।
जब जयप्रकाश नारायणले विजयालाई बन्दुक चलाउन सिकाए...
जयप्रकाश नारायणसँगै नेपाल आएकी विजया भारतीय समाजवादी नेता अच्युत पटवर्धनकी बहिनी थिइन्।
जयप्रकाश नारायण अच्युत पटवर्धनलाई भेट्न बम्बई गएका बेला उनको विजयासँग चिनजान भएको थियो।
विमल प्रसाद र सुजाता प्रसादद्वारा लिखित 'द ड्रीम अफ रिभलूशन: अ बायोग्राफी अफ जयप्रकाश नारायण'मा पनि त्यसबारे चर्चा पाइन्छ।
उक्त पुस्तककी सहलेखिका सुजाता प्रसादले गत ज्यानुअरीमा बीबीसी हिन्दीसँग भनेकी थिइन्, "विजयाले लन्डनमा अध्ययन गरेकी थिइन्। उनको जेपीसँग उनी भूमिगत भएका बेला आफ्ना दाजुकहाँ भेट भएको थियो।"
त्यसपछि उनी जयप्रकाश नारायणको आन्दोलनमा सहभागी बन्न आकर्षित भएको सुजाताले बीबीसी हिन्दीलाई बताएकी छन्।
त्यही आकर्षणका कारण विजया सन् १९४३ मार्च १३ तारिखदेखि जयप्रकाश नारायणसँगै रहन थालेको विवरणहरूले देखाउने सुजाताले बताएकी छन्।
उनका अनुसार भारतको इन्टलिजन्स ब्यूरोका प्रतिवेदनहरूमा पनि विजय र जयप्रकाश नारायणबारेका विवरणहरू पाइएका छन्।
सुजाताले दिएको विवरणमा नेपालमा भूमिगत हुँदा जयप्रकाश नारायण र विजया एउटै झुप्रोमा बस्ने गर्थे र विजया जयप्रकाश नारायणको सचिवको भूमिका निर्वाह गर्थिन्।
'नयाँ संघर्ष'को सन् १९९२ को अगस्ट-सेप्टेम्बर-अक्टोबर अङ्कमा त्यसै वर्षको जुलाई १३ तारिखमा प्राध्यापक विनोदप्रसाद सिंहले महाराष्ट्रको पूणेस्थित उनकै निवासमा लिएको विजयाको अन्तर्वार्ता प्रकाशित छ।
त्यसमा उनले जयप्रकाशसङ्गसँगै आफू नेपालमा बसेको बताएकी छन्। उनले कुशाहाको भूमिगत कालको विवरण दिँदै आफूले जयप्रकाश नारायणसँग बन्दुक चलाउन सिक्न खोजेको बताएकी छन्।
उक्त अन्तर्वार्तामा विजयाले भनेकी छन्, "…. मैले शूटिङ (बन्दुक चलाउन) सिक्न मन छ भनेँ। जयप्रकाशले भने - हिँड, सिकाइदिन्छु। शनिवारको दिन थियो। सायद एप्रिल २४ होला। याद छैन।"
"म घुँडा टेकेर बसेँ। उनले निकै गह्रौँ राइफल मेरो काँधमा राखिदिए। मैले त्यसलाई थाम्न सकिरहेकी थिइनँ। जब मैले त्यसको घोडा दबाएँ- ठाँऽऽऽ गरेर आवाज आयो। राइफलको कुन्दाले मेरो गालामा लाग्यो। रगत बग्यो, चस्मा फुट्यो।"
"तर मेरो आँखाबाट आँसु आएन किनकि मनमा देशलाई स्वतन्त्र बनाउने भावना थियो। औषधि थिएन, त्यसैले कपास लगाइयो। त्यहाँबाट गाउँ निकै टाढा थियो। एक जनालाई घोडामा डाक्टर लिन पठाइयो। दुई दिनपछि मात्र डाक्टर आइपुगे।"
उक्त घटना भएको रात जयप्रकाश नारायणले आफूसँग माफी मागेको विजयाले उल्लेख गरेकी छन्।
"जुन दिन यो घटना भयो त्यस रात जयप्रकाश मेरो गोडाछेउ चुपचाप बसे। उनले आफ्नो गल्तीका कारण तिमीलाई चोट लाग्यो भन्दै माफी मागे," विजयाले भनेकी छन्।
जयप्रकाश नारायणले विजयालाई बन्दुक चलाउन सिकाएर उनी घाइते भएको कुरा जयप्रकाशसँगै नेपालमा भूमिगत रूपमा बसेका डा. वैद्यनाथ झाले पनि उल्लेख गरेका छन्।
भारतमा पक्राउ परेपछि हनुमाननगर काण्डका आरोपी बनाइएका झाले भारतीय सुरक्षाकर्मीलाई दिएको बयानमा पनि त्यो कुरा उल्लेख छ।
यद्यपि त्यहाँ जयप्रकाशले विजयालाई आफूसँग 'मिस सिंह'का रूपमा चिनाएको झाले उल्लेख गरेका छन्। उनले बयानमा पनि विजयाको नाम नलिफकन 'मिस सिंह' भनेका छन्।
नेपालमा रामेश्वर-जयप्रकाश-लोहिया विरासत
भारतीय स्वतन्त्रता सङ्ग्राममा नेपालीको सहभागिता हनुमाननगर काण्डमा मात्र सीमित नरहेको बताउँछन् जयप्रकाश नारायण र लोहियासहित भारतीय समाजवादीहरूलाई नेपालमा आश्रय दिने रामेश्वर सिंहका पुत्र हिम्मत सिंह।
उमेरले आठ दशक नाघिसकेका उनी नेपाली र भारतीयबीच रहेको पारिवारिक सम्बन्धका कारण पनि जयप्रकाश नारायण र लोहियाजस्ता नेताहरू नेपालमा आश्रय लिन आएको ठान्छन्।
"हजारीबाग जेलबाट भाग्ने सुरजनारायण सिंह नाताले मेरो मामा पर्नुहुन्छ। त्यसैले गर्दा उहाँ बर्साइन आउनुभयो। अनि उहाँकै सल्लाहमा जयप्रकाश नारायण पनि नेपाल आउनुभयो," उनी भन्छन्।
सुरजनारायणले सुरुमा आएर आफ्ना पितालाई "तपाईँहरू पनि सुरक्षित हुनुहुन्न" भन्ने सम्झाएको भए पनि आफ्ना पिताले भारतीय क्रान्तिकारीहरूलाई आश्रय दिएको उनको दाबी छ।
आफूले पनि पिता जीवित रहँदा र पछि पनि जयप्रकाश नारायणसहित हनुमाननगर काण्डमा सामेल कैयौँ भारतीय नेताहरूलाई भेटेको उनी स्मरण गर्छन्।
त्यस्तै २००७ सालको राणाविरोधी प्रजातान्त्रिक क्रान्तिका क्रममा नेपालमा पनि लोहिया र जयप्रकाशले भूमिका खेलेको कुरा आफ्ना पिताबाट आफूले सुनेको हिम्मतले बताए।
हिम्मतका भनाइमा नेपाली कांग्रेसका नेताहरूमा समाजवादी प्रभाव जयप्रकाश नारायण र लोहियाबाट धेरै परेको हो।
आफू पनि कांग्रेसमा आबद्ध उनी अहिले नेपाली कांग्रेसले समाजवादी चिन्तनलाई छाड्दै गएको भन्दै त्यसप्रित चिन्तित देखिन्छन्।
रामेश्वरका पुत्र हिम्मतले अहिले पनि सप्तरीमा जेपी लोहिया रामेश्वर मेमोरियल ट्रस्ट चलाइरहेका छन्।
उनी कम्तीमा वर्षको एक पटक जयप्रकाश नारायण, लोहिया र रामेश्वरका साथै हनुमाननगर काण्डमा सहभागी भएका तथा त्यस क्रममा मृत्यु भएका व्यक्तिहरूको स्मरणमा कार्यक्रम गर्ने गर्छन्।
"हिजो बीपी कोइराला, किसुनजीहरूलगायतलाई पनि प्रभावित गर्ने जयप्रकाश नारायण र लोहियाजस्ता नेताहरूलाई अहिलेका कांग्रेसीले नसम्झलान् तर नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवाद अपनाउनुमा उनीहरूको कुनै न कुनै प्रभाव थियो," हिम्मत सिंह भन्छन्।
"त्यसैले नेपाल र भारतलाई समेत जोड्ने नेताका रूपमा हामीले जेपी र लोहियालाई सम्झनुपर्छ।"
कोइराला र जयप्रकाश नारायाणबीच निकै घनिष्ठ सम्बन्ध थियो। बीपी कोइरालाले आफू जयप्रकाश नारायणसँग निकै प्रभावित भएको लेखेका छन्।
राणा शासनका बेला कृष्णप्रसाद कोइराला निर्वासित भएर सपरिवार भारतमा बस्न गएका थिए। भारतमै जन्मिएका उनका छोरा बीपी कोइराला पनि 'भारत छोडो' आन्दोलनमा सहभागी भएका थिए।
हजारीबाग जेलमा जयप्रकाश नारायण, राममनोहर लोहिया र राजेन्द्र प्रसादसँगै बीपी कोइराला पनि बसेका थिए।
नेपालमा प्रजातन्त्र स्थापना भएपछि नेपाली कांग्रेस विभाजनको सँघारमा पुग्दा जयप्रकाश नारायणले बीपी कोइराला र उनका दाजु मातृकाप्रसाद कोइरालाबीच मेलमिलाप गराउन खोजेको विवरण इतिहासकारहरूले लेखेका छन्। बीबीसी
प्रतिकृया लेख्नुहोस्: