Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

चिन्ता नगर्ने चिन्तन गर्ने जिज्ञासु स्वभावका थिए शताब्दी पुरुष जोशी

पुरा हुन नसकेको त्यो अन्तिम इच्छा

खबरडबली संवाददाता

काठमाडौं । नामसित थुप्रै विशेषण जोडिएर दशकौँसम्म सम्मानित रहेका संस्कृतिविद् सत्यमोहन जोशीको आइतवार बिहान १०३ वर्षको दीर्घ उमेरमा निधन भएको छ। 

लोक साहित्य, संस्कृति, कलालगायत नेपालको पहिचानसँग जोडिएका विभिन्न क्षेत्रमा जिज्ञासु रहेर दशकौँसम्म योगदान पुर्‍याएका जोशीले स्वास्थ्य समस्याका कारण प्राण त्याग गरेका छन्।

खानामा अरुचि भएका कारण शिथिल बनेका उनलाई पछिल्लो समय डेंगी सङ्क्रमण भएपछि अस्पतालसमेत भर्ना गरिएको थियो।

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले असोज ३० गते आइतवार बिहान उनको निधन भएको पुष्टि गरेको हो।

सानोमा बिफरदेखि, औलो, हैजा अहिले कोरोनाभाइरसको विश्वव्यापी महामारीसमेत देखेका उनी खानपानमा ध्यान दिनु, सकारात्मक सोच राख्नु र धेरै महत्त्वाकाङ्क्षी नहुनुलाई आफ्नो दीर्घ जीवनको रहस्य मान्थे।

आफ्नो १०० वर्षको जन्मोत्सव मनाउने बेला उनले सार्वजनिक कार्यक्रममा संस्कार र संस्कृतिले जीवनमा रस भरिदिने र त्यही क्षेत्रमा लामो समय काम गरेकाले दीर्घ जीवनको कारण त्यो पनि भएको हुनसक्ने बताएका थिए। 

अनेक चिनारी

कुनै एक चिनारी मात्रैले जोशीलाई चिनाउन सम्भव छैन।

संस्कृतिदेखि साहित्य, साहित्यदेखि कला, कलादेखि सिक्का र हुलाक टिकटको सङ्ग्रहलगायत विभिन्न विषयमा उनले उल्लेखनीय योगदान पुर्‍याएका छन्।

त्यसैले त उनले अन्य कुनै नेपालीले नपाएका सम्मान र पदवी पाए। नाम र इज्जत कमाए।

उनी त्यस्ता एक मात्रै नेपाली हुन् जो जीवित रहँदै आफ्नो तस्बिर अङ्कित चाँदीको सिक्का निष्कासन गरिएको थियो।

१००, १००० र २५०० का सिक्काको एउटा पाटोमा जोशीको तस्बिर छ भने अर्कोमा सगरमाथाको तस्बिर छ।

८ दशकभन्दा लामो कालखण्डमा विभिन्न विषयको खोजीमै सक्रिय रहेका जोशीले जीवनका आखिरी वर्षमा पनि विश्राम नलिएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन्।

१०२ वर्षको उमेर पुग्दा प्रकाशित उनको आत्मकथा विमोचन हुँदा उनी आफैँ उपस्थित भए। केही बेर मन्तव्य पनि दिए।

जोशीको सक्रिय जीवनको मूल मन्त्र नै आफूलाई जिज्ञासु राख्नु रहेको पत्रकार गिरीश गिरी बताउँछन्।

"उहाँलाई केही न केही गरिरहनुपर्थ्यो। जीवनको अन्तिम अवस्थासम्म पनि उहाँ विषयप्रति जिज्ञासा रहिरहनु भएको देखिन्थ्यो," जोशीको आत्मकथा लेखेका पत्रकार गिरीले बीबीसीसँग भने।  

अन्तिम समयका इच्छा

१०० वर्ष उमेर नाघिसकेपछि पत्रकार र लेखकको एक टोलीलाई उनले अन्तिम इच्छा "आफ्नोबारे एउटा किताब लेखियोस्" भन्ने रहेको बताएका थिए।

त्यो इच्छा पूरा भयो। तर त्यो किताब सार्वजनिक हुँदा नहुँदै उनले अर्को इच्छामा काम गर्न थालिहाले। त्यो थियो- चक्र सम्भरको पौभा चित्र।

जोशीकै परिकल्पनामा र प्रसिद्ध पौभा चित्रकार लोक चित्रकारको नेतृत्वमा अहिले उक्त चित्र बनाउने काम अन्तिम चरणमा पुगेको छ।

जोशीको पुरानो घरमा बनेको 'लोक साहित्य परिषद्'को दोस्रो तल्लामा कलाकारहरू दिनरात खटिएर उक्त चित्र तयार पारिरहेका छन्।

२४ वर्षकै उमेरमा महामृत्युञ्जय पाठ

शताब्दी लामो जीवनकालमा बिरलै अस्पताल गएका उनी कोरोनाभाइरस महामारीको समयपछि भने बेलाबेला बिरामी पर्ने गरेका थिए।

त्यो पनि बुढ्यौलीका कारण देखिने सामान्य स्वास्थ्य समस्या रहेको चिकित्सकहरूले बताउने गरेका थिए।

तर मृत्युशय्यामा भने ७८ वर्षअघि नै छटपटाएका थिए भन्ने प्रसङ्ग उनको पुस्तकमा उल्लेख छ।

२००१ सालमा स्नातक तह अध्ययन गरिरहँदा पहिलो जागिर अन्तर्गत सर्वेक्षणका लागि तनहुँमा जाँदा उनलाई औलो भएको थियो।

बाँच्ने अवस्था नदेखेपछि घरबेटीले उनलाई महामृत्युञ्जय पाठ गराउन सुझाएको उनले पुस्तकमा लेखेका छन्।

"आफूसँग भएको पैसा दिएर आफ्नै मृत्यु रोक्नका लागि चलिरहेको महामृत्युञ्जय पाठ मैले सुनिरहेको थिएँ," पुस्तकमा लेखिएको छ।

त्यो मृत्यु जितेर उठेपछि चैतको उराठ लाग्दो मौसममा तनहुँमा जुरेली चरी देखेर आफूले प्रेरणा पाएको उनले बताएका छन्।

जुरेली चरीको जे जस्तो भए पनि आफ्नो कर्तव्य गर्न नछोड्ने र जे छ त्यसमै रमाउने बानीबाट आफू प्रभावित भएको उनले लेखेका छन्।

जुरेली चरीलाई देखेर पाएको जीवनको त्यही चिन्तनसँगै उनी निरस लागेको तनहुँमा फेरि रमाउन थाले।

तनहुँ र लमजुङबाट ल्याएका लोकगीतको सङ्ग्रह 'हाम्रो लोक संस्कृति' नामक पुस्तकबाट उनले २०१३ सालको मदन पुरस्कार पाए।

त्यो नै पहिलो मदन पुरस्कार थियो। तनहुँ र लमजुङबाट लोक साहित्य र संस्कृतिमा टस बसालेका उनी निरन्तर यसकै सेरोफेरोमा रहँदा विभिन्न क्षेत्रमा हात हाले।

त्यति बेला भिर पाखामा गाउँलेले गाउने गरेका गीत केवल सङ्कलन मात्रै आफूले गरेको बताउने उनले सङ्ग्रह गर्ने आफ्नो बानीलाई बिस्तारै परिष्कृत गर्दै लगे।

भाषा, संस्कृति, संस्कारका विषयमा जिज्ञासा राख्दै, खोजी गर्दै र सङ्ग्रह गर्दै जाने उनको बानीले नै उनलाई संस्कृतिविद् बनायो।

कमै महत्त्व दिइने विषयबारे उनमा सधैँ कौतुहलता रह्यो, उनले नसोचेका जिम्मेवारी पनि सरकारी स्तरबाटै पाए।

जोशीलाई २०१५ सालमा पुरातत्त्व तथा संस्कृति विभागको निर्देशक बनाइएको थियो जुन उनका अनुसार उनी आफैँलाई पत्याउन गाह्रो थियो।

उनी त्यति बेला नन् गजेटेड डिट्ठा अर्थात् खरदार सरहको पदमा जागिर खाँदै थिए।

आफ्नै नाम गरेको कसलाई निर्देशकमा नियुक्त गरिएको रहेछ भनेर खोजी गर्दा आफैँ भन्ने थाहा पाएर आश्चर्यचकित परेको उनले बताएका छन्। 

त्यसरी अनपेक्षित रूपमा पाएको जागिरका बेला विभिन्न क्षेत्रमा काम गरे। 

विभागमा रहँदा नै २०१६ सालबाट लुम्बिनी क्षेत्रको संरक्षणको काम सुरु भएको उनले दाबी गरेका छन्।

"२०१९ सालमा पुरातत्त्व विभागले लोरीकुदान र तिलौराकोट क्षेत्रमा प्रयोगात्मक हिसाबले पुरातात्त्विक उत्खनन कार्य सुरु गरेको थियो," पुस्तकमा उनले लेखेका छन्।

उनी निर्देशक रहँदा नै भक्तपुरमा राष्ट्रिय कला सङ्ग्रहालयको स्थापना पनि भएको थियो।

काठमान्डुको लाजिम्पाटस्थित धोवीचौरमा अलपत्र अवस्थामा रहेको विष्णु विक्रान्तको मूर्तिलाई उनकै शब्दमा 'अपहरण' गरेर छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा राखिएको थियो। 

२०२७ सालमा कर्णाली अध्ययन
जोशीले नेपालमा लिच्छविकालदेखि आधुनिक नेपालसम्म प्रयोग भएका मुद्राहरूको खोजी गरे र त्यसैबारे लेखिएको "नेपाल राष्ट्रिय मुद्रा" नामक पुस्तकका लागि उनले दोस्रो पटक २०१७ सालमा मदन पुरस्कार पाए।

त्यसपछि उनले संयुक्त रूपमा पाएको तेस्रो मदन पुरस्कार भनेको 'कर्णाली लोक संस्कृति' पुस्तकका लागि थियो।

यसरी अहिलेसम्म तीन पटक मदन पुरस्कार पाउने उनी एक मात्रै व्यक्ति हुन्।

कर्णालीलाई अहिले पनि सहज पहुँच नभएको क्षेत्र मानिन्छ।

५२ वर्षअघि कर्णालीमा खस सभ्यताको अन्वेषण गर्न सत्यमोहन जोशीको नेतृत्वमा एउटा टोली पुगेको थियो।

जुम्लाको सिन्जा पुगेर अध्ययन अनुसन्धान गर्ने भन्ने कल्पना पनि गर्न नसकिने बेला मानवशास्त्री विहारीकृष्ण श्रेष्ठ, भूगोलविद् स्थिरजङ्गबहादुर सिंह, भाषाशास्त्री चूडामणि बन्धु, र संस्कृतिविद् प्रदीप रिमालसहित जोशीको टोलीले गरेको अध्ययनका आधारमा नै 'कर्णाली लोक संस्कृति' नामक पुस्तक तयार भएको हो।

कर्णाली क्षेत्रमा योजना बनाउनका लागि त्यति बेला गरिएको अध्ययनलाई अत्यन्तै महत्त्वपूर्ण मानिन्छ।

त्यसअघि कर्णालीका विविध पक्षमा त्यो स्तरको अध्ययन नै नभएको बताइन्छ।

कलाकार अरनिकोबारे नेपालमा कमै जानकारी थियो।

चाइनिज बुद्धिस्ट एशोसियसनको निम्तोमा बेइजिङ पुग्दा नेपाली कलाकार अरनिकोले बनाएको ह्वाइट ड्यागोवा (सेतो चैत्याकार स्तूप) देख्दा आफू चकित परेको उनले बताउने गर्थे।

उनै अरनिकोबारे आफू २०२२ सालमा चीनमा नेपाली भाषा पढाउन अर्को पटक गएका बेला गरेको अध्ययन अनुसन्धानमा आधारित भएर उनले 'कलाकार अरनिको' पुस्तक समेत लेखे।

चीन नै गएका बेला जोशी कमै नेपाली पुग्ने उत्तर कोरियामा पनि पुगेका थिए।

विदेश भ्रमणमध्ये उनको निकै रोचक प्रसङ्ग भने न्यूजिल्याण्ड जाँदाको छ। उक्त देश पुग्ने पहिलो नेपाली नै जोशी थिए।

न्यूजिल्याण्डका एडमण्ड हिलरी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथा टेकेको केही दिन मात्रै हुँदा जोशी त्यहाँ पुगेका थिए।

त्यहाँ तेन्जिङको गाउँका भनेर आफूलाई निकै सत्कार गरिएको र महत्त्वपूर्ण पत्रिकाहरूको अग्रपृष्ठमा आफ्नो अन्तर्वार्ता छापेको जोशीको किताबमा उल्लेख छ।

लामो समय लयबद्ध जीवनको पर्याय बनेका जोशी आफ्ना थुप्रै साथीसंगातीको निधनको साक्षी बने।

मृत्युलाई सत्य मानेर यससँग डराउन नहुने बताउने गरेका उनले जीवनको आखिरी समयसम्म पनि आफूलाई सक्रिय राखिरहेका थिए।

परम्पराविपरित शरीर दान गर्ने निर्णय अनुसार उनको शरीर अस्पताललाई बुझाइएको छ। 

धेरैले हात नहालेका थुप्रै विषयमा जोशीले हात हाले र थुप्रै सम्मान पाए।

उनको पुरानो घरमा निर्मित लोक साहित्य परिषद्को भवनमा उनले पाएका अनगिन्ती सम्मानहरू सजाएर राखिएका छन्।

त्यहाँ उनले सङ्कलन गरेका हुलाक टिकट र सिक्का र पुस्तकहरू पनि सजाएर राखिएका छन्।

जोशीभन्दा पहिला राजपरिवारबाहेक कुनै पनि व्यक्तिको जीवित हुँदै हुलाक टिकटमा तस्बिर छापिएको थिएन।

२०७७ सालमा सत्यमोहन जोशीको तस्बिर रहेको हुलाक टिकट भने राष्ट्रपतिबाट जारी भएको थियो।

यो वर्ष संविधान दिवसका दिन जोशीलाई राष्ट्र गौरव सम्मान दिने घोषणा गरिएको छ।

यसअघि पनि उनलाई सुप्रबल गोरखा दक्षिणबाहु, उज्जवल कीर्तिमान राष्ट्रदीप, अनि २०६९ सालमा उनलाई पद्मश्री साधना सम्मान पुरस्कारलगायत सम्मान दिइएका छन्।

लेखक खगेन्द्र सङ्ग्रौला इतिहास र संस्कृतिका अनुसन्धानकर्ता जोशीको विशेषता विषयगत सूक्ष्मता र गहनताभन्दा पनि साधनाको अथक निरन्तरता मान्छन्।

"दीर्घ जीवनमा सबै प्रकृतिका सत्ता र सरकारहरूको निकट हुनु, तिनबाट पुरस्कृत र प्रशंसित हुनु जोशीको बिछट्टको अनुकूलन कौशलको द्योतक पनि हो," सङ्ग्रौलाले बीबीसीसँग भने।

"जोशी आफ्नो आत्मकथामा निरङ्कुश राजतन्त्रको अवसानप्रति विषाद प्रकट गर्छन् र केही समयपछि नयाँ गणतान्त्रिक व्यवस्थाको राष्ट्रिय गान चयन समितिका संयोजक बन्छन्।"

जुरेली दर्शन

युवावयमै मृत्यु जितेका उनी आफ्नो जीवनमा जुरेली चरीको विशेष प्रभाव रहेको बताउँथे।

उनले लेखेका छन्, "मैले बाँच्नका लागि एउटा चरीबाट प्रेरणा पाएँ। त्यो प्रेरणा थियो, सादा जीवन उच्च विचार। चिन्ता नगर्ने, बरू चिन्तन गर्ने र सन्तोषी भएर बाँच्ने।"

हुन पनि चाहे उनको अन्तिम इच्छा भनिएका आत्मकथा होऊन् वा चक्रसम्भरको पौभा चित्र, चिन्ता नगर्ने र चिन्तन गर्ने उनको जुरेली दर्शन १०३ वर्षमा प्राण त्याग्दा पनि जारी राखेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन्।  बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जापानी विदेशमन्त्रीको नेपाल भ्रमणमा ‘इन्डो प्यासिफिक’ प्राथमिकताको मुद्दा बन्ला ?

काठमाडौं । जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी आइतवार गर्ने नेपाल भ्रमणमा जापानबाट नेपालमा लगानी भित्र्याउने विषयलाई प्रमुखताका साथ उठाइने अधिक...

खडेरीले भएन चैतेधान रोपाइँ

बारा । चैतभित्रै किसानले चैतेधान रोपाइँ सम्पन्न गरिसक्नुपर्नेमा लामो समयदेखिको खडेरीले गर्दा जिल्लामा करिब ६० प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्...

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरेका छन् । करिब...

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा किन हुँदैछन् भेला ?

दोलखा । नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता तथा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि आज दोलखामा भेला हुँदै छन्। ...

नेकपा एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको १०औँ जिल्ला अधिवेशनले नरेन्द्रकुमार कन्दङ्गवाको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन: मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस स्वतन्त्रत...

एमाले पश्चिम नवलपरासीको अधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशन उद्घाटनका लागि पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली बिहानै जाँ...

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन, डिसी । यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गर्नुभएको ती...

उपनिर्वाचनमा जमानत जफत भएपछि समीक्षा गर्न रास्वपाको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे बैठक बस्न ला...

कोशीमा कोर्स करेक्सन गर्नेबारे ओली र शेखरबीच नयाँ समझदारी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ।  कोशी प्रदेशमा नयाँ सरकार गठनमा देखिएको अवरोध हटाउने ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies