Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

कुन आधारमा बढाइयो पेट्रोलियम ढुवानी व्यवसायीको भाडा ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाल आयल निगमले पुस २ गतेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको भाडा बढायो । निगम व्यवस्थापनको उक्त निर्णयको अहिले चौतर्फी आलोचना भइरहेको छ । 

बढाइएको ढुवानी भाडाले उपभोक्तामाथि अतिरिक्त आर्थिक भार थपिने भएपछि सामाजिक सञ्जालमा निगमको विरोध भइरहेको छ । उपभोक्ता अधिकारकर्मी पनि निगमको यो निर्णय सही नभएको बनाइरहेका छन् ।

साविकको ढुवानी भाडादरमा औसत करिब आठ प्रतिशत बढाइएको छ । करारमा सञ्चालित पेट्रोलियम ढुवानी व्यवसायीको भाडादर वैज्ञानिक र समायानुकूल बनाउनका समायोजन गरिएको निगमको दाबी छ । 

अर्कोतर्फ ढुवानी व्यवसायी निगमले अहिले बढाएको भाडादर पनि कम रहेकाले अझै बढाउन दबाब दिइरहेका छन् । यसरी निगम, ढुवानी व्यवसायी र उपभोक्ताका आआफ्नै दाबी अहिले आइरहेका छन् । तर ढुवानी भाडा बढाउन माग गर्दै विगत लामो समयदेखि व्यवसायी बारम्बार आन्दोलित हुने गरेको पृष्ठभूमिमा निगम व्यवस्थापनले यस्तो निर्णय गरेको हो ।

विसं २०७५ यता ढुवानी भाडा समायोजन नभएको भन्दै व्यवसायी बेलाबेला आन्दोलित हुने गरेका थिए । पछिल्लोपटक गत भदौ अन्तिम सातादेखि उनीहरुले पेट्रोलियम ढुवानीमै अवरोध गरे । चाडबाड नजिकिएका बेला उनीहरु भारतमा ‘प्रोडक्ट डेलिभरी अर्डर’ (पिडीओ) उठाउन गएनन् । 

पेट्रोलियम पदार्थको आन्तरिक ढुवानीमा पनि अवरोध भयो । व्यवसायी आन्दोलित भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको रोहबरमा नेपाल आयल निगम र ढुवानी व्यवसायीबीच गत भदौ २९ गते तीन बुँदे सहमति भयो । जसमा ‘ढुवानी भाडा समायोजनसम्बन्धी प्रतिवेदन’ असोज ७ गतेभित्र लागू गर्ने र व्यवसायीले पेट्रोलियम पदार्थ आपूर्तिमा अवरोध नगर्ने गरी सहमति भयो ।

पेट्रोलियम व्यवसायीको ढुवानी भाडाबारे अध्ययन गर्न २०७८ मङ्सिर २४ गते गठन गरिएको समितिको प्रतिवेदन लागू गर्न निगम सञ्चालक समितिलाई व्यवसायीको चर्को दबाब थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव उर्मिला केसीको संयोजकत्वमा गठित ‘नेपाल आयल निगम लिमिटेडबाट करारमा सञ्चालित ट्याङ्कररट्रकको ढुवानी भाडा अध्ययन गर्न गठित कमिटी’को प्रतिवेदन लागू गरिनुपर्ने उनीहरुको माग थियो । 

यातायात व्यवस्था विभाग, काठमाडौँ विश्वविद्यालय, नेपाल आयल निगम र पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका प्रतिनिधिसमेत रहेको यो समितिको प्रतिवेदन आएपछि आयल निगमले त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट समीक्षा प्रतिवेदन तयार पारिएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए ।

“मन्त्रालयका उपसचिवको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनमाथि त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानबाट समीक्षा प्रतिवेदन तयार पारेर त्यसैका आधारमा निगम व्यवस्थापनले ढुवानी भाडा बढाउने निर्णय गरेको हो”, प्रवक्ता उपाध्यायले भने । ढुवानी भाडा बढाउन निर्णय सञ्चालक समितिबाट पहिल्यै भए पनि निर्वाचन आचारसंहिताका कारण पुस २ गतेदेखि लागू भएको पनि उनको भनाइ छ ।

त्यसो भए, निगमले कुनकुन विषयलाई हेरेर ढुवानी भाडा बढाएको हो त ? “ट्याङ्कर चालकको तलब, नेपाल र भारतमा तिर्नुपर्ने सवारी कर तथा सडक दस्तुरलगायत अन्य कर, ब्लुबुक नवीकरण, रुट पर्मिट, फिटनेस चार्जलगायत शुल्क हेरिएको छ । त्यस्तै क्यालिब्रेसन चार्ज, ह्रासकट्टी, बीमा, सवारी मर्मतसम्भार, इन्धन खपत, लगानीको प्रतिफललगायत शीर्षक पनि छन्”, प्रवक्ता उपाध्यायले भने । यी विभिन्न शीर्षकमा विगत पाँच वर्षयता भएको वृद्धिलाई हेरेर प्रतिवेदन तयार पारिएको र सोही प्रतिवेदनको सुझावका आधारमा ढुवानी भाडा वृद्धिको निर्णय निगम व्यवस्थापनबाट भएको उनको भनाइ छ ।

स्वतन्त्ररुपमा सम्बन्धित निकायबाट अध्ययन प्रतिवेदन तयार पारी सोही आधारमा ढुवानी भाडा बढाउने निर्णय भएको निगमको दाबी रहे पनि उपभोक्ता अधिकारकर्मी भने उक्त प्रतिवेदनको निष्पक्षतामाथि नै प्रश्न उठाइरहेका छन् । “ढुवानी व्यवसायीकै मान्छे राखेर बनाइएको प्रतिवेदनको आधिकारिकता कति भन्ने मुख्य प्रश्न हो । जुन प्रतिवेदनका आधारमा ढुवानी मूल्य बढाइयो त्यो नै हचुवा छ”, उपभोक्ताहित संरक्षण मञ्च, नेपालका अध्यक्ष ज्योति बानियाँले भने । 

दक्षिण एसियामै नेपालको पेट्रोलियम ढुवानी भाडादर सबैभन्दा उच्च बनाउनेगरी निगमले गरेको निर्णय अनुचित रहेको उनको भनाइ छ । यो निर्णयले उपभोक्तालाई मात्र नभई निगमलाईसमेत आर्थिक भार थपेको तर केहि सीमिति ढुवानी व्यवसायी लाभान्वित भएको पनि बानियाँको जिकिर छ ।

साविकको ढुवानी भाडादरमा अहिले औसत आठ प्रतिशतले बढाएर लागु गरिए पनि व्यवसायी भने बढेको भाडादर पनि अपुग रहेको बताइरहेका छन् । नेपाल पेट्रालियम ढुवानी व्यवसायी महासङ्घका महासचिव विश्व अर्यालले अहिले समायोजन गरिसके पछिको ढुवानी भाडादर पनि अवैज्ञानिक रहेको दाबी गरे । “अध्ययन प्रतिवेदनअनुसार ढुवानी भाडा लागू गरिएन । डेढ वर्ष पहिलेको प्रतिवेदन अहिले कार्यान्वयन ल्याइयो । त्यसमा पनि हुबहु नभई घटाएर भाडादर कायम गरियो”, अर्यालले भने । कर, श्रमिको ज्याला, सवारी साधनका पाटपुर्जा, इन्धन मूल्यलगायत विभिन्न शीर्षकमा मूल्य बढेको तुलनामा अहिले गरिरहेको भाडा समायोजन पनि न्यून रहेको उनको भनाइ छ ।

यसअघि निगमले रक्सोलदेखि सिनामङ्गलसम्मको रुटलाई आधार मानेर भाडा निर्धारण गरेकोमा अहिले विभिन्न ३६ वटा रुटका लागि फरकफरक भाडा तोकेर थप वैज्ञानिक बनाइएको निगमको भनाइ छ । हाल नेपाल आयल निगमसँग रहेका एक हजार आठ सय ६९ वटा ट्याङ्क तथा ट्रकमध्ये एक सय ८७ वटा १२ किलोलिटर, एक हजार छ सय ५० वटा २० किलोलिटर तथा ३२ वटा ट्याङ्क ट्रकहरु २० किलोलिटर क्षमताका रहेका छन् । भाडा निर्धारण गर्दा २० किलोलिटर क्षमता भएका ट्याङ्क तथा ट्रकलाई आधार लिइएको निगमले जनाएको छ ।

त्यसैगरी सार्वजनिक सवारीसाधनको भाडा निर्धारणसम्बन्धी यातायात व्यवस्था विभागको प्रावधान, सरकारले तोकेका सवारीसाधनको करको दर तथा अन्य दस्तुर, श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी सरकारी निर्णय र हाल कायम रहेका सबै रुटको दूरी यकिन गरी भारतको सडक खण्डमासमेत लाग्ने टोल ट्याक्सलगायत अन्य खर्चको विश्लेषण गरी भाडादर निर्धारण गरिएको निगमको तर्क छ ।

निगमले अहिले लागू गरेको पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्याङ्करको भाडादर प्रतिकिलोलिटर बरौनीदेखि जनकपुरसम्म रु तीन हजार दुई सय ५७, अमलेखगञ्जसम्म रु तीन हजार सात सय ७६, विराटनगरसम्म रु तीन हजार पाँच सय ५७, पोखरासम्म रु छ हजार ७४, थानकोटसम्म रु छ हजार छ सय ३० र सिनामङ्गलसम्म रु छ हजार छ सय ९० रहेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending