Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

ठेकी बनाएर दैनिकी चलाउनै कठिन

खबरडबली संवाददाता

भोजपुर । काठको ठेकी बनाउने चुँदाराले श्रमअनुसारको ज्याला पाउन सकेका छैनन । लामो समयदेखि यो पेसा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ ।

विगत वर्षमा धेरैले यो पेसा गर्दै आए पनि पछिल्लो समयमा भने घट्दै गएको छ । न्यून ज्याला, संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेसा सङ्कटमा पर्दै गएको चुँदाराको भनाइ छ । यहाँ ठाउँअनुसार गाउँघरमा पाइने पँयले, दार, मौवा, कटहरलगायतका काठबाट स–साना आकारका गोलियालाई कुँदेर चुँदाराले काठका ठेकीसँगै भाँडाकुँडा बनाउने गर्दछन् । जसका लागि उनीहरुलाई निकै मेहनत पर्ने गर्दछ ।

दूध जमाउने ठेकीबाहेक मोही पार्ने ठेकी, कोसी, आरी खुर्पेटा कुँदेर चुँदाराले आफ्नो जीविका चलाउँदै आएका छन् । ठेकी बनाउनका लागि फलामबाट बनाइएका बाँक, रुखान, सादनलगायतका औजारको प्रयोग हुने गर्दछ । नयाँ पुस्तामा ध्यान नजाँदा तथा व्यावसायिक हुन नसक्दा यहाँ अहिले पनि परम्परागतरूपमा नै ठेकी बनाउने चलन छ । काम गर्ने प्रविधिले आधुनिकता नपाउँदा श्रम धेरै गर्नुपर्ने भएकाले जीविका चलाउन समस्या हुने चुँदारा बताउँछन् ।

धेरै मेहनतले खोलाखोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिक उपार्जन नहुने भएपछि यो पेसा छाड्दै गएको ५१ वर्ष बढी समयबाट चुँदारा पेसा गर्दै आएका टेम्केमैयुङ गाउँपालिका–८ गोगनेका रत्नबहादुर विश्वकर्माले बताए । ‘न्यून ज्यालालगायत कारणले यो हाम्रो पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको छ’, विश्वकर्माले भने, ‘मेहनत धेरै गर्नुपर्छ । मेहनतअनुसारको आम्दानी हुँदैन, धेरै दुःख गर्नुपर्ने भएकाले नयाँ पुस्ताले चासो दिँदैनन् ।’

काठको सामग्री बनाउनका लागि दार, पँयले, लोडसल्ला, मौवा, कटहरलगायत रुखको काठ उपयोगी हुने विश्वकर्माले बताए । तर पछिल्लो समय त्यस्ता काठसमेत अभाव हुँदै गएको उनको भनाइ छ । ‘काममा त दुःख छँदैछ । अझ काठको पनि अभाव छ । गाउँले आफैँले काठ खोजेर ल्याए भने हामी बनाइदिन्छौँ । हामीले ज्याला लिने हो’, विश्वकर्माले भने, ‘एक पाथी जाने ठेकी बनाएको दुई सय ५० देखि रु तीन सयसम्म ज्याला लिने गरेका छौँ । दुई जनाले दिनभर काम गरेको रु एक हजार पाँच सयसम्म हुन्छ ।’

आफूले पाउँदै आएको ज्याला समय सुहाउँदो नभएको विश्वकर्माको भनाइ छ । मेहनतका आधारमा प्रतिफल नहुने भएकाले नयाँ पुस्ताले चासो नदिँदा पेसा लोप हुने अवस्थामा पुगेको उनले बताए । विश्वकर्माले भने, ‘यो काम गरेर हामीले जीवन गुजरा गर्न सकिएको छैन । हिउँदको समयमा खोलामा पानी कम हुने भएकाले निरन्तर काम हुँदैन । वर्षातको समयमा मात्र सञ्चालन हुन्छ । काम गर्न झन्झट हुने भएकाले धेरैले यो पेसा नै गर्न छाडे । नयाँ पुस्ताले चासो दिँदैनन् । पेसा जोगाउन नै समस्या छ ।’

खोलाबाट भिरालो ठाउँमा पानी ल्याएर डुँढबाट पङ्खामा खसाइ काठलाई घुमाएर फलामको सानो धारिलो हतियार ९बाँक०को सहायताले काठलाई कोपेर विभिन्न आकारको सामग्री बनाउने गरिन्छ । त्यसको अलावा हातले यन्त्र घुमाएर पनि काठका सामग्री बनाउने चलन छ । चुँदाराले कलात्मकरूपमा काठबाट ठेकी, हर्पे, तोङ्बाको भाडो, गम्बुलगायत विभिन्न सामग्री बनाउँदै आएका छन् ।

हालसम्म परम्परागत शैलीमा हुँदै आएकाले यसलाई आधुनिक उपकरण प्रयोग गरेर सञ्चालन ल्याउन सके काम गर्न सहज हुने चुँदाराको काम गर्दै आएका अर्का स्थानीय जङ्गबहादुर विकले बताए । विकले भने, ‘हामीले बलको भरमा परम्परागतरूपमा काम गरिरहेका छौँ । बाउबाजेले जसरी गरे हामीले पनि त्यही विधिअनुसारको काम गर्दै आएका छौँ । आधुनिक उपकरण खरिद गर्नका लागि स्थानीय सरकार तथा सरोकारवाला पक्षबाट सहयोग गरे हुने । तर यो पेसाको संरक्षणमा खास कसैको सहयोग छैन ।’

पेसालाई जोगाउन नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने विकको भनाइ छ । तालिमको व्यवस्था गरेर सीपलाई सबैमा विस्तार गर्नुपर्ने विकले बताए । ‘यो सीपलाई विस्तार गर्न आवश्यक छ’, विकले भने, ‘विस्तार गर्न सकिएन भने यो काम गर्ने मानिस पाउन मुस्किल छ । राज्यको तर्फबाट जीवन गुजारा गर्न सक्नेसम्मको वातावरण निर्माण भयो भने पेसालाई बचाइराख्न सकिन्थ्योजस्तो लाग्छ । अहिले पनि हामीले काम गर्न आवश्यक सामग्री जुटाउन नै समस्या छ ।’

पराम्परागतरूपमा सञ्चालन हुँदै आएका यस्ता पेसाको संरक्षणमा सरोकारवाला पक्षले ध्यान दिनुपर्ने स्थानीय गोरखबहादुर विष्टले बताए । राज्यको तहबाट यस्ता पेसालाई प्राथमिकता नदिने हो भने नयाँ पुस्ताका लागि इतिहास हुने विष्टको भनाइ छ । रैथाने पराम्परागत पेसाको संरक्षण गर्न ठोस योजना बनाउन आवश्यक रहेको उनले बताए । विष्टले भने, ‘यो पेसालाई जोगाउनुपर्ने अवस्था छ । धेरैले पेसा छाड्दै जाँदा यस्तो काम गर्ने मानिस पाउन नै मुश्किल छ ।’

स्वास्थ्यका लागि पनि काठका भाँडा फाइदाजनक मानिन्छ । आधुनिक औजार र प्रविधिको प्रयोगका कारण यस्ता काठका भाँडा विस्तारै हराउन थालेका हुन् । गाउँमा पशुपालन गर्ने व्यवसाय घटेपछि काठका ठेकीको प्रयोगमा पनि कमी आएको देखिन्छ । अझै पनि जिल्लाका केही ग्रामीण स्थानमा कुँदेरै ठेकी बनाउने चलन छ ।

परम्परागत रूपमा गाई–भैँसीको दूध जमाउन प्रयोग गरिने काठका ठेकीको चलन पछिल्लो समय हराउँदै गएको छ । बजारमा आधुनिक स्टिललगायत प्लाष्टिकका सामग्री पाइन थालेपछि काठको ठेकीको प्रयोग हराउँदै गएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन र जेन–जी अगुवाहरुबीच भेटवार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...

रवि, बालेन र कुलमानबीच आज साँझ फेरि भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

काम गर्दा गर्दैपनि दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

रवि लामिछाने र बालेन शाहबीच फेरि छलफल हुने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...

रवि लामिछानेलाई प्रश्न: लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending