Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

खण्डहर तातोपानी : माथि भिर तल खोला, के गरेर खाने होला ?

खबरडबली संवाददाता

सिन्धुपाल्चोक ।  जर्जर सडक । सुनसान बजार । जीर्ण घर र शैवाल लागेका भित्ता । झुत्रिएर रङ खुइलिसकेका केही थान साइनबोर्ड‘ कुनै ‘हरर सिनेमा’मा देखाइने दृश्यको जस्तो नियतिबाट गुज्रिहेको छ नेपाल र चीन जोड्ने उत्तरी नाकास्थित तातोपानी बजार ।

विसं २०७२ वैशाखको भूकम्प अघिसम्म गुल्जार रहने तातोपानी क्षेत्र अब बजारको स्वरुपमा छैन । दुई देश जोड्ने मितेरी पुल काँडेतारले छेकिएको छ । चहलपहल शून्य जस्तै छ । कुनै समय निकै व्यस्त रहने यो नाकामा रहेका अध्यागमन कार्यालय, बैंक, उद्योग वाणिज्य सङ्घलगायत प्रशासनिक तथा संस्थाका झुत्रा साइनबोर्ड देखिने घर खाली अवस्थामा छन् । दैनिक केही थान कन्टेनर नेपाल छिर्छन् तर पहिलेको जस्तो मानिसको आउजाउ छैन । मितेरी पुलदेखि लिपिङसम्मका घरका सटर केही बन्द त केही आधाबन्द र असरल्ल छोडिएका छन् ।

भूकम्पले चर्किएका घरका भित्तामा झार पलाएको छ । सुनसान र खण्डहर बनिसकेको छ । मितेरी पुलसँगै जोडिएको लिपिङ विपद्पछि शोकमा डुबेजस्तो  भएको छ । एकनास सुसाएको भोटेकोशी र आकलझुकल चल्ने सवारी साधन बाहेकको आवाज त्यहाँ सुनिंदैन । पूर्वाधार संरचना कङ्काल बन्दैछन् । तिनको अस्तित्व मेटिँदैछ र पनि तातोपानी बजार आशाको त्यान्द्रो बोकेर बाँचेको छ । कुनै दिन फेरि पुरानो लयमा फर्किन सकिन्छ कि भन्ने आशामा ।

गोरखा भूकम्प र २०७३ सालको असार तेस्रो हप्ता आएको बाढीले लिपिङ बजार तहस–नहस भयो । यी विपद्ले केहीको ज्यान पनि गयो । ज्यान जोगाएकाहरु पनि अन्तै सरे । फेरि ठडिन नसकेका तर ठडिने आस बोकेका संरचनाका भग्नावशेष मात्रै अब त्यहाँ बाँकी छन् ।

राजधानी काठमाडौँका व्यस्त बजारको भन्दा महँगो भाडा तिरेर पनि सानो सटर पाउन पनि मुस्किल पर्ने लिपिङ बजारका व्यवसायी अहिले पलायन भइसके । बजार नजिकका घर मौजा पनि सक्नेले छोडे, नसक्नेहरू त्यहीँ अल्झिरहेका छन् । स्थानीयलाई पछिल्लो आठ वर्ष ऐँठनको थिचेको त्रासदीपूर्ण सपनाजस्तो लाग्छ ।

स्थानीय सोनाम शेर्पालाई जीवनको उत्तराद्र्धमा यति पट्यारलाग्दा दिनहरू देख्नुपर्ला भन्ने सायदै लागेको थियो । बिहीबार दिउँसो कोदारी बजारमा भेटिका शेर्पाका युवावयका दिन जति व्यस्त र रसिला थिए, अहिले त्यो भन्दा कैयौं गुणा निरस र उराठलाग्दा । तातोपानी क्षेत्र फेरि पहिलेजस्तै चम्किन्छ भन्ने आशा उनमा बाँकी छैन । उच्च पदस्थका भ्रमणबारे उहाँलाई अब चासो हुन छाडेको छ । ‘नेताहरु धेरैपटक आए । आउँछन् मात्रै, हुने केही होइन ।’ भाव शून्य भएका शेर्पा विस्तारै खोले, ‘हाम्रा दु:खकष्ट सुनाएर थाकियो । सबैले देखेकै छन्‘ माथि भिर तल खोला, के गरेर खानु ?’

त्यहाँका स्थानीयलाई सरकारसँग अब आशाभन्दा बढी आक्रोश छ । ‘सबैजना आउँछन्, हेर्छन् जान्छन् । गर्ने केही होइनन्’, स्थानीय गोमा खत्री आक्रोशित भावमा भने, ‘काम छैन । खाने बाटो छैन । बाहिरबाटै ल्याएर खानुपरेको छ ।’

तातोपानी नाकाबाट मान्छे आवतजावत गर्न चीनले रोक लगाएपछि त्यहाँबाट हुने व्यावसायिक गतिविधि पनि खुम्चिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) बताउँछन् । त्यसको प्रभाव स्थानीयमा बढी परेको उहाँको भनाइ छ । ‘स्थानीयको जनजीवन नराम्रोसँग थलिएको छ । त्यहाँ खेतीयोग्य जमिन छैन, भीरपाखा मात्रै छ । उनीहरुलाई व्यवसाय गरेर खान पाए मात्रै पनि खुसी हुन्थे’, उनले भने ।

भूकम्पपछि बन्द भएको तातोपानी नाका २०७५ जेठमा खोलिएको थियो । नाका खुलेपछि सामान बोकेका कन्टेनर आउजाउ गर्न दिइएपनि चीनले मान्छे आवतजावत गर्न दिएन । लगत्तै कोभिड १९ महामारी सुरू भयो । त्यसपछि नाका फेरि बन्द भयो । कोभिड अवधिमा नाका खुल्ने र बन्द हुने क्रम चलिरह्यो । गत वैशाखमा निर्यातसमेत खुलाउने गरी चीनले अनुमति दिए पनि अहिले फेरि नेपालबाट सामान जान छाडेको छ । चीनले नाकामा आउजाउ सहज बनाइदिए विस्तारै चहलपहल पनि बढ्ने स्थानीयको आशा छ ।

पहिलेको जस्तै चीनतर्फको बजारमा सहज पहुँच बनाउने हो भने फेरी त्यहाँ त्यहाँ चहलपहल बढ्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बस्नेत बताउँछन् ।  उनी भन्छन्, ‘मानिसलाई आवतजावतका लागि सहज बनाएर नाका चल्यो र चहलपहल बढ्यो भने बिग्रिएको संरचना पनि बन्थे होलान् । स्याहार–सम्भार हुन्थ्यो । सामान आयात गर्दा पनि व्यवसायीले सहज महसुस गरेका छैनन् । भनेको बेला सामान आइपुग्दैन ।’

चीनबाट सामान ल्याउन रसुवागढी नाकाभन्दा तातोपानी नाका भौगोलिक दूरीका हिसाबले नजिक रहेकाले छोटो समयमा सामान आयात गर्दा त्यसको लागत पनि कम पर्ने उनको भनाइ छ । ‘चीनका विभिन्न सहरबाट सामान ढुवानी गर्दा १५र२० दिनमा सामान काठमाडौँ आइपुग्थो । अहिले दुईरतीन महिनासम्म लाग्छ । कम समयमा सामान ढुवानी गर्न सके व्यवसायीको लागत कम हुने र उपभोक्ताले पनि सस्तोमा सामान पाउथे । स्थानीय व्यवसायीले रोजीरोटी पाउँथे’, बस्नेतले भने ।

तातोपानी नाका सञ्चालनमा हुँदा त्यहाँ पर्यटकीय गतिविधि पनि राम्रै थियो । तातोपानीमा नुहाउने र घरायसी सामान लिने भनेर गएकाहरु ठूलो सङ्ख्यामा हुन्थे । अहिले त्यो पनि गुमेको छ । व्यापार, होटल, पर्यटनलगायतको व्यवसाय ठप्प भएपछि व्यवसायी पलायन भएका छन् । ठूला व्यापारी मात्र नभई साना व्यापारी व्यवसायी, सवारी चालक, लोड अनलोड गर्नेहरु बेरोजगार भएका छन् भने कैलाश मानसरोवर जानका लागि त्यहाँ पुग्ने पर्यटकहरु पनि शून्य भएका छन् ।

मितेरी पुलबाट करिब छ किलोमिटर तल लार्चामा सुविधासम्पन सुख्खा बन्दरगाह बनाइएको छ । भव्य पूर्वाधारसहितको बन्दगरगाह पनि सुनसान छ । बिहीबार केही मजदुर बन्दरगाह प्राङ्गणभित्र जस्तापाताले छाएको विश्रामस्थलमा सुस्ताइरहेका थिए ।

भन्सार जाँचपासका लागि आउने दैनिक तीनचार कन्टेनर र जाँचपासपछि बाहिरिने ट्रकको सामान लोडअनलोड गर्नु उनीहरुको दैनिकी हो । चीनकै आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको यो बन्दरगाह २०७६ असारमा नेपाललाई हस्तान्तरण गरेको थियो । तर भव्य संरचनाले काम भएको छैन । गत मे १ मा नेपालबाट तीनवटा कन्टेर चीन गएका थिए । त्यसयता नेपालको निर्यात शून्य छ ।

तातोपानी नाकाबाट अहिले स्याउ, खुद्रा सामान, जलविद्युत् आयोजनाका मेसिनलगायत सामान फाट्टफुट्ट रुपमा मात्रै आइरहेको र नेपालबाट हुने निर्यात भने ठप्प रहेको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत उदयसिंह विष्ट बताउँछन् । ‘अहिले निर्यात भन्ने त छँदै छैन । शुरुको दिन तीन–चारवटा कन्टेनर गएको थियो ।

आयात पनि स्याउ, लसुनलगायतका वस्तु बोकेका दैनिक तीनरचार कन्टेनर जाँचपासका लागि आउँछन् । हामीले यसवर्षका लागि रू चार अर्ब ६२ करोडको राजस्व उठाउने लक्ष्य राखेका थियौं । तर लक्ष्यको ५० देखि ६० प्रतिशतको हाराहारी मात्रै हुने देखिएको छ । गतवर्ष भित्रिएका ७२ वटा विद्युतीय गाडीमध्ये केही गाडी अझै बन्दरगाहमा थन्किएका छन् ।

तातोपानी नाका खुलाउन कुटनीतिक पहल आवश्यक रहेको सिन्धुपाल्चोकबाट निर्वाचित सांसद तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत बताउँछन् । उनले उक्त नाका खुलाउन सरकारले चीनलाई आश्वस्त पार्न सक्नुपर्ने बताए । ‘हामीले लामो समयदेखि पहल गर्दा पनि तातोपानी नाका सहज रुपमा सञ्चालन हुन सकेको छैन ।

नाका खुलाउन सरकारले कूटनीतिक ढङ्गले चीन सरकारलाई विश्वस्त गर्न सक्नुपर्छ’, उनले भने, ‘राजनीतिक तहमा कुरा भैरहेको छ । तर सुरक्षाको विषयलाई लिएर रोकिएको हामीले बुझेका छौं ।’

नाका बन्द हुँदा स्थानीय बासिन्दाको जनजीवनमा नराम्ररी प्रभाव परेको बारेमा मन्त्री बस्नेत पूरापुर जानकार हुन् । ‘नाका सञ्चालन नहुँदा जनताले दु:ख पाएका छन् । बस्ती मसानजस्तो भएको छ । यहाँ वैकल्पिक उद्यम व्यवसायका लागि अरु विकल्प पनि छैनन्’, उनले भने, ‘हामीले पटक–पटक पहल गरेका छौं । तर सुरक्षालगायतका विषय पनि यहाँ जोडिएका छन् ।’

तातोपानी नाका मात्र होइन, नेपाल–चीनबीचको समग्र अन्तरदेशीय व्यापार अझै लयमा फर्किसकेको छैन । २०७२ को भूकम्प अघिको सामान्य अवस्थामा दुई देशबीच वार्षिक रू साढे दुई खर्बभन्दा बढीको वैदेशिक व्यापार हुने गरेको देखिन्छ । वार्षिक रू डेढ खर्ब बराबरको कारोवार तातोपानी भन्सारबाट मात्रै हुन्थ्यो भने सरकारले वार्षिक करिब रू छ अर्ब राजस्व उठाउँथ्यो ।

अहिले तातोपानी भन्सार कार्यालयका अनुसार त्यहाँ मासिक औसत रू २३ करोड बराबर राजस्व उठ्ने गरेको छ । कुनै समय तातोपानी भन्सार कार्यालय सञ्चालनका लागि ८० देखि ८५ जनासम्म कर्मचारी खटिने गरेकामा अहिले १४ जना कर्मचारी मात्रै छन् । नेपालका लागि चीनसँगको व्यापारमा रसुवागढी भन्सारभन्दा तातोपानीबाट सामान आयात गर्दा ढुवानी भाडा सस्तो हुने र पूर्वाधारका हिसाबले समेत त्यहाँ उपयुक्त भए पनि चीनको बेवास्ताका कारण त्यहाँबाट हुने व्यापार खुम्चिँदै गएको छ ।

भूूम्पका कारण तातोपानी नाकाको चीनतर्फको क्षेत्र खासा बजार पनि प्रभावित भएको थियो । अहिले उक्त बजार पूर्णरुपमा बन्द छ । चीनले त्यहाँबाट बस्तीसमेत हटाइसकेको छ । पहिलेको बजार सारिएको छ ।

भौगर्भिक अध्ययनपछि उक्त क्षेत्र मानव बसोबासका हिसाबले असुरक्षित देखिएको भन्दै चीनले बस्ती सारेको हो । अहिले त्यहाँ चिनीयाँ सुरक्षाकर्मीको क्याम्प मात्र रहेको छ । चीनतर्फको भन्सार कार्यालयसमेत हटिसकेको छ । खासा क्षेत्रमा बजार बसाउन भौतिक संरचना निर्माण र सडक सञ्जाल निर्माणमा चीनले चासो देखाएको छैन ।

अन्य नाका अध्ययनमा मात्रै सीमित

दुई देशबीच व्यापारका लागि सञ्चालनमा रहेका दुईवटा भन्सार नाका तातोपानी र रसुवागढी स्वभाविक अवस्थामा फर्किन सकेका छैनन् भने अन्य जिल्लामा खोल्न प्रस्ताव गरिएका नाकाको कार्यप्रगति नगण्य छ । तातोपानी र रसुवागढीबाहेक अन्य वैकल्पिक नाका खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न नेपाल र चीनबीच सात वर्षअघि सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ ।

नेपाल–चीन द्विपक्षीय व्यापारका लागि विभिन्न सात ठाउँमा नाका खुलाउन सम्भाव्यता अध्ययनका लागि २०७२ कात्तिक १९ गते दुई देशबीच सहमति भएको थियो । ताप्लेजुङको ओलाङचुङगोला, सङ्खुवासभाको किमाथाङ्का, मुस्ताङको कोरला, गोरखाको लार्के, दोलखाको लामाबगर, हुम्लाको यारी र मुगुमा नाका सञ्चालनमा ल्याउन सम्भाव्यता अध्ययन गर्ने सहमतिपत्रमा उल्लेख छ ।

सहमतिअनुसार नाका सञ्चालनका लागि सम्भाव्यता अध्ययन भने अझै हुन सकेको छैन । नाका सञ्चालनका लागि सडक सञ्जाल जोड्ने र भौतिक संरचना आवस्यक पर्ने भएकाले त्यस्ता संरचना निर्माणका लागि पनि पहल हुन सकेको छैन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विधि मिच्ने स्वार्थ प्रेरित कार्यले निरंकुशताको संकेत दिन्छ : सपना प्रधान मल्ल

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई कमजोर बनाउने स्वार्थ प्रेरित गतिविधिले निरंकुशताको संकेत दिने बताए...

नेकपा एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसद...

कांग्रेसका क्रियाशील सदस्यले अन्य चुनाव चिन्हमा मतदान गर्नु अनुशासनविपरीत : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...

ताप्लेजुङमा बेमौसमी हिमपात

ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो ।  हिमाली जिल्ला ताप्लेजु...

छ लाख रुपियाँ अवैध भारुसहित दुई जना पक्राउ

नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...

गगन थापासँग कमलबहादुर शाहको प्रश्न: देउवालाई टिकट नदिनुको कारण के ?

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश

काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकक...

रास्वपाको प्रशिक्षणमा न्युन उपस्थिति, दलका उपनेताले भने: सांसदले संसदीय भूमिकाबाट विमुख हुने सङ्केत गर्दैछन् ’

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ । रास्वपाले शनिवार राखेको स...

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ । ‘सहकारी ऐन २०७४’ तथा ‘प्र...

झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते

झापा । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending