काठमाडौं । लक्ष्मी पूजाका दिन काेशी प्रदेशकाे केन्द्र रहेकाे मोरङ, सुनसरी तथा पहाडी जिल्ला संखुवासभा र भाेजपुरमा भएका आगलागीमा लाखौंको क्षति भएको छ ।
मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा भएको आगलागीमा परी ४ प्रहरी र २४ जना सर्वसाधारणसहित २८ जना घाइते भएका छन् । प्रहरीतर्फ एकजना असई, एक जना हबल्दार र दुई जना जवान घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको झापाको बीएण्डसी, विराट नर्सिङ होम, आर्या, रेडप्लस, लाइफलाइन लगायतका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जन दाहालका अनुसार स्थानीय दीपक कार्कीको घरमा आगो लागेपछि ग्यास सिलिण्डर विष्फोट भएको थियो । त्यसबाट बाटोमा हिँडिरहेकाहरु समेत घाइते भएको दाहालले बताए । घाइतेहरुमध्ये कसै–कसैको ५० प्रतिशतसम्म शरीर जलेको दाहालले बताए ।
आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
इनरुवामा पटाका पड्काउँदा घर जल्यो
गएराति सुनसरी सदरमुकाम इनरुवा-१ को मुख्य बजारमा वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी हुँदा ५० लाख मूल्य बराबरको क्षति भएको छ ।
सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पटाका जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब ५० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको उनले बताए ।
इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज, रामधुनीलगायतका स्थानबाट आएका बारुणयन्त्र सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगर प्रहरीलगायतका सहयोगमा आगो निभाइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
संखुवासभा र भाेजपुरमा दियोबाट सल्कियो आगो
यसैगरी संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका-१ हिमावी टोलस्थित लिला राईको घरमा लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्किँदा घर पूर्णरुपमा क्षति भएको छ ।
संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले दिएको जानकारी आगलागीबाट राईको घरमा राखेका लत्ताकपडा, खाद्यान्न, नगद ३१ हजार र घर परिसरमा पार्किङ गरी राखिएको एक अटो जलेका छन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन । आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले एक घण्टापछि नियन्त्रण लिएका थिए ।
यस्तै गरी लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगलागी हुँदा भोजपुरमा २६ लाखभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका–८ पोखरे बरबोट स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा रु २६ लाख ५८ हजार बराबरको क्षति भएको जानकारी दिए ।
आगोलागीबाट दुई तले घर जलेको र घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन,सुनका गरगहना, र नगद १५ हजारसमेत नष्ट भएको उनले बताए। जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, स्थानीयवासी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीका कारण विष्ट परिवार विचल्लीमा परेको छ ।
प्रतिकृया लेख्नुहोस्: