Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

बाँके कारागारका कैदीबन्दी जोखिममा

खबरडबली संवाददाता

बाँके ।  “हामी अहिले जुन ठाउँमा टेकेर उभिएका छौँ, राति हाम्रो सुताई यही ठाउँमा हुने गर्दछ । दिन बिताउन यहाँ जति कष्टकर छ, रात त्योभन्दा बढी भयावह हुन्छ ।” बाँके कारागारका एक कैदीबन्दीले अनुगमनमा आएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष आफ्ना पीडा सुनाए ।     

उनले कारागार जीर्ण रहेको बताउँदै पानी पर्दा आफूहरु सुत्ने बिस्तारा समेत भिज्ने गरेको गुनासो पनि सुनाउन भ्याए । छ सय चार कैदीबन्दीमध्येबाट उनले हात उठाएर प्रजिअको ध्यान आफूतिर केन्द्रित गर्दै भने, “सर, पानी पर्दा टिनमाथि राखिएको बिस्तारा उठाउन हामीलाई भ्याइनभ्याई हुन्छ ।”     

तीन सय १६ कैदीबन्दी रहेको दोस्रो ब्लकबाट एक कैदीबन्दीले आफूहरुलाई पढ्ने वातावरणको व्यवस्था नभएको भन्दै प्रजिअ समक्ष आफ्नो एघार–बाह्र कक्षाको परीक्षा नै छुटेको गुनासो गरे । “यहाँ पढ्ने वातावरण नहुँदा मैले आफ्नो परीक्षा नै छोड्नुपर्यो”, उनले भने, “सामान्य अध्ययनका लागि पनि पुस्तकालय छैन । हामी बिहान उठेर खाना खाने र दिनभरि गफिँदै साँझको खाना खाएर सुत्ने गर्दछौँ ।”     

अनुगमनमा आउनुभएका प्रजिअसमक्ष कैदीबन्दीहरुले कारागारभित्र आफूहरुले पाएको पीडासहित आ–आफ्ना गुनासा र कैदीबन्दीले पाउनुपर्ने मानव अधिकारका माग गरेका थिए । दिउँसोको समयमा उभिनलाई ठाउँ नभएको उक्त कारागारमा रात कसरी बिताइरहेका छन् होला कैदीबन्दीहरुले रु हामीले कल्पनासम्म पनि गर्न सक्दैनौँ । झण्डै एक बिघा क्षेत्रफलमा निर्मित उक्त पुरानो कारागारको मुख्यद्वारबाट प्रवेश गर्ने बित्तिकै प्रत्यक्षरुपमा देखिन्छन् कैदी बन्दीहरु । झण्डै आठ दशकअघि राणाकालीन समयमा निर्मित उक्त कारागारका पर्खालहरु टाढाबाट नै जीर्ण भएको देख्न सकिन्छ । तीन सय ५० जना कैदीबन्दीको क्षमता भएको यस कारागारमा हाल नौ सय ५० जना कैदीबन्दी बस्दै आएका छन् । कारागारमा कैदीबन्दीको सङ्ख्या थपिने र घट्नेक्रम जारी रहन्छ । भूकम्पीय र सुरक्षाको दृष्टिकोणले बढी नै जोखिम रहेकोले आफूहरुलाई जतिसक्दो छिटो नौबस्ता कारागारमा सार्न उनीहरुले माग गरेका छन् ।     
     
 दुई वटा ब्लकमा निर्मित उक्त कारागारको सानो ब्लकमा एउटा मेस सञ्चालित छ भने ठूलो ब्लगमा तीन वटा मेस चल्ने गर्दछ । अनुगमनका क्रममा कारागारभित्र दाउराका खालिया र ठूलाठूला कराईमा कैदीबन्दीका लागि पाक्दै गरेको खाना देख्न सकिन्छ । आन्तरिक रुपमा कैदीबन्दीबीच कुनै वादविवाद भइहालेमा तुरुन्त उद्धार गर्न पनि अप्ठ्यारो हुने सजिलै अनुमान गर्न सकिन्छ ।     

कारागारका जेलर अर्जुनजङ्ग शाहका अनुसार सरुवा भई आउने प्रत्येक प्रजिअलाई नवनिर्मित कारागारमा कैदीबन्दीलाई सार्ने विषयमा लिखित प्रतिवेदन बुझाउँदा पनि अझै कैदीबन्दीलाई सार्ने काम भएको छैन । ‘‘कारागार निमार्णसँगै कैदीबन्दी सार्ने विषयमा अहिलेसम्म तीनवटा लिखित प्रतिवेदन बुझाइसकेका छौँ’’ उनले भने ।     

बाँके कारागार जीर्ण भएको भन्दै बाँकेस्थित नौबस्ता कारागार निर्माण गरिएको छ । एउटै जिल्लामा सुविधायुक्त कारागारको संरचना बनिसकेको अवस्थामा पनि पुरानै जीर्ण कारागारमा कैदीबन्दी राख्नलाई बाध्य हुनु परेको उनको भनाइ छ । सबै कैदीबन्दीहरु नयाँ कारागारमा सर्नलाई आतुर छन् ।     

बाँके जिल्लाका प्रहरी प्रमुख सुवासचन्द्र बोहराले सुरक्षाको दृष्टिले नौबस्तामा निर्मित कारागारमा कैदी बन्दीलाई जतिसक्दो छिटो सार्दा राम्रो हुने बताए । उनले भने, ‘‘कारागार भनेको एउटा विश्वविद्यालय नै हो । तर बाँके कारागारमा कैदीबन्दीका लागि ज्ञानगुनका कुरा सिक्नलाई पुस्तकालय नभएको मात्र होइन, जीर्ण भवनमा हिँडडुल गर्नलाई ठाउँ समेत साँधुरो छ । सुरक्षाको दृष्टिले उनीहरुलाई सार्नु आवश्यक छ ।’’     

बाँकेका मानव अधिकारकर्मी बसन्त गौतमले बाँके कारागारको सुरक्षा व्यवस्था प्रहरी प्रशासनको तर्फबाट बाहीरी रुपमा बलियो भए पनि आन्तरिक रुपमा भने सुरक्षा सतर्कताको उचित व्यवस्थापन हुन नसकेको बताए । “ठाउँ साँघुरो भएकाले हिँड्दा पनि एक अर्कासँग ठोकिन्छन् कैदीबन्दीहरु । उनीहरुले त्यहाँ स्वस्थरुपले श्वासप्रश्वाससमेत गर्न पाउँदैनन्”, उनले भने ।     

अधिवक्ता समेत रहेका गौतमले बाँके कारागारमा कैदीबन्दीहरुको मानवअधिकार हनन् भएको बताउए । उनले भने, “बाँकेका कैदीबन्दीले आधारभूत मानवअधिकार समेत उपभोग गर्न पाएका छैनन् । उनीहरुलाई खुलेर श्वास फेर्ने स्वच्छ वातावरण समेत छैन । सुत्नलाई बिस्तारा छैन । कपडा धोएर सुकाउने र राख्ने उचित ठाउँको व्यवस्था छैन ।” नौबस्तास्थित क्षेत्रीय कारागारको भौतिक संरचना त्यसै खेर जानु दुर्भाग्य भएको मानव अधिकारकर्मी गौतमको भनाइ छ ।     

यस विषयमा बाँकेका प्रजिअ पोखरेलले कैदीबन्दीलाई नौबस्ता क्षेत्रीय कारागारमा सार्न सक्दो पहल गरेको बताए । उनले कारागार व्यवस्था विभाग र अर्थमन्त्रालयलाई पत्राचार गरेको जानकारी दिए । तर बजेट र कर्मचारीको दरबन्दी स्वीकृत नहुँदा कारागार सञ्चालन गर्न नसकिएको उहाँको भनाइ थियो । ‘‘हामीले नयाँ कारागार सञ्चालनका लागि चाहिने बजेट माग गर्दै पत्राचार गरेका छौं । मन्त्रालयले कुनै जवाफ दिएको छैन’’, उनले भने । 

नवनिर्मित नौबस्ता कारागारको लागत र संरचना     

बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भइरहेको क्षेत्रीय कारागार करिब नौ बिघा क्षेत्रफलमा बन्दैछ । कारागारको निर्माण प्रकृयालाई तीन चरणमा विभाजित गरिएको छ । सङ्घीय आयोजना कार्यान्वयन इकाई बाँकेका आयोजना प्रमुख विजयकेशर खनालका अनुसार पहिलो चरणमा कारागार विभागले नै कारागारमा काँडेतार लगाएको छ ।

दोस्रो चरणमा सहरी विकास तथा भवन निर्माण विभागबाट १२ सय कैदीबन्दी अट्ने क्षमताको ब्लक निर्माण कार्य सम्पन्न गरिएको छ । सशस्त्र प्रहरीको एउटा ब्यारेक, नेपाल प्रहरीको एउटा ब्यारेक र प्रशासनिक भवन निर्माण सम्पन्न गरिएको छ । आयोजना प्रमुख खनालले दोस्रो चरणमा नै कैदीबन्दीका लागि चारवटा ब्लक बनिसकेको बताए ।  

खनालका अनुसार तेस्रो चरणमा निर्माण हुने सम्पूर्ण कामको शुरुआत अर्थमन्त्रालयद्वारा बजेटको स्रोत सुनिश्चित नभएको हुनाले हुन सकिरहेको छैन । तेस्रो चरणमा बन्ने भनिएको भौतिक संरचनाअन्तर्गत सशस्त्र प्रहरी र नेपाल प्रहरीको अन्य भवन बन्न बाँकी छन् भने कारागार कम्पाउण्डको बाहिरी पर्खाल पनि बनाउन बाँकी नै छ । त्यसैगरी १५ शय्याको अस्पताल, विद्यालय, किरियापुत्रीलगायत अन्य संरचना बन्न बाँकी रहेको खनालले जानकारी दिए ।   

मूल्य अभिवृद्धि करबाहेक रु ४६ करोड ४४ लाख ७० हजार सात सय ९५ को लागतमा सम्झौता भएकामा कुल रु ४६ करोड २२ लाख सात हजार छ सय ७६ मा निर्माण सम्पन्न भएको भवन डिभिजन कार्यालय नेपालगन्जका प्रमुख विजयकेशर खनालले जानकारी दिए । कारागारमा रहेको बाल सुधार गृहको सुरक्षा व्यवस्थाका लागि लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर हाल खजुरा गणबाट तैनाथ २० जना प्रहरी, सशस्त्र प्रहरीबल ३० नं. गणबाट खटिएका ३० जना सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय बाँकेबाट चार गरी ५४ सुरक्षाकर्मीको मातहतमा सुरक्षा व्यवस्था मिलाइएको छ ।     

विसं २०७३ कात्तिक ८ गते सम्झौता भई २३ कात्तिक २०७९ मा निर्माण सम्पन्न भएको उक्त कारागारमा कैदीबन्दीका लागि चारवटा ब्लक निर्माण गरिएको छ । त्यसैगरी, कैदीबन्दीका लागि चारवटा वर्कशप, चार वटा भान्छा, चार शौचालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि एक–एकवटा भवन, १० वटा सेन्ट्री पोस्ट, चार वटा आगन्तुक ब्लक र एउटा भेटघाट भवन निर्माण गरिएको छ ।     

नयाँ निर्माण भएको नौबस्ता कारागार मानवोचित व्यवहार र आधारभूत मानवअधिकार उपभोग गर्न पाउने व्यवस्थासहित निर्माण गरिएको छ । आर्थिक उपार्जन गर्ने खालका सीपको व्यवस्था, मनोरञ्जन, खेलकुद, शिक्षा, स्वास्थ्य, खानपानलगायत आधारभूत मापदण्ड पूरा गरिएको छ । कारागारका वार्डेन शाहले भने, ‘‘कारागारलाई सुधार केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले नयाँ संरचना निर्माण गरिएको हो । यो कारागारमा कैदीबन्दीले तालिम लिन सक्नेछन् । तालिमका लागि ठूला हलको व्यवस्था गरिएको छ ।’’     

मुद्दा फैसला भइसकेका कैदीलाई नौबस्ता कारागार र अपराधको प्रकृतिअनुसार खुला कारागारमा राखिने नीतिअनुसार निर्माण भएको छ । नौबस्ताको कारागार सञ्चालनमा आएपछि पनि मुद्दा फैसला नभएका, मुद्दा सुनुवाइका लागि अदालत लैजानुपर्ने थुनुवा, उपचार गराउनुपर्ने बिरामी, ज्येष्ठ नागरिक थुनुवालाई नेपालग१जस्थित पुरानै कारागारमा राखिने भएको छ ।     

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धविराममै लेबनानमा इजरायलको भीषण हमला : ३१ को मृत्यु, मध्यपूर्व फेरि युद्धको डिलमा

एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...

नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रभातफेरी , विधान महाधिवेशन पनि हुँदै

काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...

महँगो पर्‍यो सुनकोशी मरिणमा ठेकेदारको ‘खेल’ : रमण–पटेल जेभी तीन वर्षका लागि कालोसूचीमा

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी अन्ततः सरकारको कारबाहीमा परेको छ।...

​ तनहुँमा धानमा मरुवा रोगदेखि लहरे बालीमा डाउनी मिल्डयु पहिचान

तनहुँ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार...

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्...

चन्द्रमामा मानव बस्ती बसाल्ने नासाको महत्त्वाकाङ्क्षी योजना

  वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर,...

जुत्ता राख्ने र्‍याकले चेपिएर बालकको मृत्यु, विदेशमा भएकी आमा बेहोस्

काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्‍याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending