Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

कस्तो हुन्छ, मुटु टुक्रिएको बेला संवेदनाको त्यो घडी ?

चुनु गुरुङ
चुनु गुरुङ

अखिल नेपाल जनसांस्कृतिक संघका केन्द्रीय सदस्य, सुमधुर स्वरकी धनी, चर्चित जनकलाकार एवं साहित्यकार सहिद क. चुनु गुरुङको जन्म पाल्पा जिल्लाको दोभानमा भएको थियो । उहाँले थुप्रै गीत, कविता, तथा गद्य साहित्य पनि रचना गर्नुभएको छ ।

नेपाली समाजको अग्रगामी रूपान्तरणका अभियानमा कला र साहित्य मार्फत्‌ जनसमुदायमाझ जनकलाकारको रूपमा स्थापित क. गुरुङले क्षितिज सांस्कृतिक परिवार र केन्द्रीय सामना परिवारका कालजयी गीतहरूमा स्वर दिनुभएको छ । २०५८ सालको माघमा तत्कालीन शाही सेनाले कास्की जिल्लाको भरतपोखरीबाट गिरफ्तार गरी पोखराको फूलबारी ब्यारेकमा लगी ५८ दिनसम्म चरम यातना दिएर उहाँलाई गोली हानी हत्या गरेको थियो ।

जीवनलाई सरल अनि सुन्दर तरिकाले ग्रहण गर्न सके बाँकी सबै गौण हुन्। जीवनको हरेक पक्ष रमाइलो लाग्छ। मलाई त्योभन्दा बेसी चुनौतीपूर्ण घडी । जीवनका प्रत्यक घटनाहरूले मलाई अत्यन्त संवेदनशील भएर सोच्न बाध्य बनाउँछन्। जब गहिरिएर ती सबैलाई केलाउने गर्छु, तिनै शिक्षाहरूबाट मलाई हरदम सचेत भएर अघिबढ्ने प्रेरणा मिलेको हुन्छ। यसरी सिङ्गो जीवनलाई क्रान्तिमा समर्पित गर्ने क्रममा आज मेरो जीवनसँग सम्बन्धित एउटा घटना घटेको छ ।

समाजमा घट्ने घटनाहरू अन्यको तुलनामा क्रान्तिकारीहरूको धेरै गुणा फरक हुन्छ। त्यसलाई आत्मसात् गर्नु अगावै हामीले त्यस्ता क्रान्तिकारी उपन्यासहरू अध्ययन गरिसकेका छौँ, जसको प्रेरणाले हामीलाई यहाँसम्म आइपुग्न मद्दत मिलेको छ। आज यी सबै घटनाहरू एकाएक आफैसँग यथार्थ रहेर घट्दा यसले छोडेको प्रभावलाई मैले सहजरूपमा लिने कोसिस गरेकी छु तर स्वाभाविकरूपमा गहिरो असर पर्दोरहेछ । क्रान्तिकारीहरू हरेक कुरामा सचेत हुन्छन् र हुनुपर्छ । प्रत्यक्ष हाम्रो अनुभूतिले हामीलाई यही सिकाएको छ।

यसरी नै सचेत भएर अघि बढ्दै जानेक्रममा मलाई पनि त्यो घडी आइपुग्यो, जहाँ मैले आफूलाई हरेक पक्ष, पाटाहरूलाई परिपक्व बनाउदै लग्नु थियो। त्यसैअनुरूप आवश्यक निर्णयअनुसार संवेदनशील र अनुशासित ढङ्गबाट आएको जीवनको प्रस्तावलाई मैले सहज ढङ्गले स्वीकार गरेँ । क्रान्तिको हितमा स्वीकार गरेको यो प्रस्तावमाथि हाम्रा आदरणीय अविभावक कमरेडहरू हामीप्रति अत्यन्तै खुसी हुनुहुन्थ्यो। यसरी हाम्रो औपचारिकरूपमा पहिलो भेट माछापुच्छ्रेको आँगनीमा भएको थियो।

आमूल परिवर्तनको निम्ति काम गर्ने दौरानमा हाम्रो कार्यक्षेत्र छुट्टाछुट्टै भए पनि उद्देश्य र लक्ष्यहरू एउटै थिए। साथै हामी एकअर्कामा आवश्यकभन्दा बढी प्रभावित रहेनौँ। त्यो हामी बिचको सचेतता थियो। हामीले विचारलाई अघि सारेर सम्झौता गरेका थियौँ। कति पवित्र थियो सम्झौता ? त्यो महान्‌ सम्झौताको घोषणा हामीले २०५६ साल बैसाख २ गतेका दिन मार्क्सवाद-लेनिनवाद-माओवादको सपथ खाएर दृढताका साथ दरिला हातहरू मिलाई आदरणीय अभिभावकहरूलाई साक्षी राखेर टुङ्ग्याएका थियौँ ।

प्रेमविवाह स्वाभाविक भएर पनि कता कता नौलो अनुभूति हुँदोरहेछ। विवाहको दोस्रो दिन म उहाँहरू रहनुभएको ठाउँमा पुगेँ। त्यसपछि उहाँले मलाई आफ्नो कार्यक्षेत्रतर्फ लैजानुभयो। धेरै वर्षपछि म ती ठाउँहरूमा जाँदैछु-जहाँ हामीले सांस्कृतिक यात्राको मिठो अतीत छोडेर फर्केका थियौँ। किनकिन मलाई त्यो दिनको यात्रा असाध्यै रमाइलो लागेको थियो। साँझको ६ बजिसकेको हुँदो हो, पुलस्थित प्रवेशद्वारले हाम्रो लालजोडीलाई स्वागत गरेको थियो । अग्ला पर्वतहरूसँग हिमचुचुराहरू लुकामारी खेल्दै थिए।

मैले झ्यालको सिसा हटाएर निश्चल बगिरहेको गण्डकीलाई हेरेँ। पाखा पखेरीहरूमा पक्षीहरू बास बस्ने तरखरमा थिए। रुखका हाँगाहरूमा प्रीति गाँसिरहेको जोडी पन्छीलाई हामीले देख्यौँ । थुप्रै खुसीहरू बटुलेर मिठो धुनमा गीत गुन्जाउदै रमाएर नाचिरहूँझैँ लाग्यो मलाई। पक्षीसँगै स्वतन्त्र उड्न मन लाग्यो। कस्तो थियो त्यो उमङ्ग ? थाहै नपाई गन्तव्य स्थान आएछ। लामो यात्राको थकाइ बिसाउने त्यो साँझ थुप्रै जिज्ञासाहरू सँगालेर हामीले इतिहास खोतल्न थाल्यौँ। रात अन्धकारतिर लम्किँदै थियो ।

हाम्रा नयनहरू अनिँदै हुन रुचाए । कतै जीवनका अत्यन्त पीडादायी व्यथा त, कतै मध्यरातको उर्लँदो भेलमा छप्की मारेको कथा, कहिले दुस्मनको किल्ला ध्वस्त पार्दा टाउको छलेर कानको नजिकैबाट सुइयँ-सुइयँ गोली उडेको कथा, कति भयङ्कर हुन्छ वीरहरूको कथा, निक्कै ठुलो साहस बटुलेर ती सबै मैले सुन्ने आँट गरेकी थिएँ। आँखा झिमिक्कै नगरी क्षितिजमा लालकिरण उदाएछन्, उज्ज्यालो भएपछि हामी त्यहाँबाट बिदा भयौँ । उहाँले सबै प्रायः ठाउँहरूमा घुमाउँदै आफ्ना सहयोद्धाहरूसँग भेट गराउनुभयो ।

ती दिनहरूमा हाम्रो जोडीलाई देखेर साथीहरूले मेरो परिचय माग्दा कुन्नि किन, उहाँलाई असाध्यै गौरव लाग्थ्यो रे । वास्तवमा हाम्रो विचार मात्र नभएर स्वभाव र रुचिहरू पनि उस्तै र एउटै थिए। त्यसैले पनि हुनसक्छ हामी एकआपसमा अति छिटो प्रभावित भयौँ । लाग्थ्यो धेरै पहिलेदेखि हामी बिच गहिरो प्रेम थियो। वास्तवमा नारीहरूको हृदयलाई बुझ्नसक्ने व्यक्तिहरू नै समाजका असल पुरुष बन्न सक्छन्। मिलनको अन्तिम साँझ हामीले गीत गाएका थियौः

आजको यो भेट हाम्रो अन्तिम भेट हुन सक्छ
आजको हाँसो खुसी पनि अन्तिम हुन सक्छ
पीडालाई आक्रोसमा बदलेर लड्नुपर्छ
अधुरा ती सपनालाई पूरा गर्न लड्नैपर्छ।
मुक्ति या मृत्युको सपथ खाएर
आजलाई लालसलाम बिदा लिँदैछौँ।

सहयोद्धा माइला लामाद्वारा रचित यो गीत अत्यन्त सान्दर्भिक रहेकोले यो गीत उहाँले आफ्नो डायरीमा लेखिदिन अनुरोध गर्नुभयो। एकान्त वातावरणमा मैले डायरीमा गीत लेख्दै थिएँ, झोलाहरूको चाङमा आफूलाई अड्याउँदै उहाँले मलाई हेरिरहनुभएको रहेछ। धेरै बेरपछि मुसुक्क हाँस्दै भन्नुभयो – “क्रान्तिको निम्ति सम्पूर्ण त्यागको बदला मैले आज चुनुलाई पाएको छु । कति खुसी छु म कमरेड।“ उहाँले मलाई आफ्नो साथमा लिनुभएको थियो।

त्यो विशाल छातीमा मैले आफूलाई सजाएकी थिएँ । कस्तो हुन्छ माया भन्ने चीज । दुई मुटुको एकता । यति छिट्टै यी सारा म कसरी भुल्न सक्छु ? त्यो क्षण मभित्र अविस्मरणीय भएर कुँदिएको छ। मात्र हामी ९ दिन एक साथ रहेका थियौँ । रातहरूमा पनि उहाँको साथमा मैले आफूलाई सुरक्षित महसुस गरेकी थिएँ। कति असल हुन्छन् क्रान्तिकारी योद्धाहरू ? त्यो इमान्दारीले मेरो मनको एक छेउमा आदर पाएको छ। यी सारा यथार्थ मैले क्रान्तिकारी इमान्दारीपूर्वक यो पानामा पोखेकी छु, यसमा मलाई खेद छैन। वैशाख ११ गते म आफ्नो कार्यक्षेत्रमा फर्कनुपर्ने थियो, बिहानै उठेर आफ्नो तयारीमा लागेँ ।

साथीहरू अघिल्लै दिन बिदा भएर आ-आफ्नो जिम्माको काममा लागिसक्नुभएको थियो। हामी समयको ख्याल राख्दै हिँड्ने तरखरमा थियौँ। उहाँले मलाई बोलाउनुभयो । मैले हाँसेर बिदाइका हातहरू अगाडि बढाए। अन्तिम पटक हामीले दरिला हात मिलायौँ । यो हाम्रो सम्झौताको गहिरो संवेदनशीलता थियो। मिर्मिरेको स्वच्छ बताससँगै हामी बाटो लाग्यौँ। त्यसपछि उहाँले मलाई उभिएर हेरिरहनुभएको थियो। मधुरो मुस्कानसँगै घुम्तीले नछेकुन्जेलसम्म अभिवादनका मुट्ठीहरू उठिरहे। जीवनको उमङ्ग लिएर म आफ्नो क्षेत्रमा फर्केकी थिएँ। आउँदा हरेक दिनको भेटघाटमा सबैबाट बधाईका थुप्राहरू आइरहेका थिए, जो आफ्नो रातो झण्डामा सम्हाल्न भ्याएकी थिइन। खुसीहरूमै हामीले आफ्ना कार्यक्रमहरू सफल पारेका थियौँ ।

कार्यक्रम समाप्तिपछि साथीहरूसँग बिदा भई हामीले फुर्सदिलो सोच बनाउँदै आफ्नो बाटो लाग्यौँ। हिँड्दाहिँड्दै अचानक मलाई एउटा खबर आइपुग्यो। मनमा अनेकन सोच बनाउँदै म त्यहाँबाट पुग्नुपर्ने ठाउँतिर लम्केँ । त्याहाँ पुगेपछि सदाझैँ म हाँस्दै भित्र पसेँ । तर सबै मलिन देखिनुहुन्थ्यो। मैले अन्य केही होला भन्ने सोचेँ । त्यसपछि हामी त्यहाँबाट फेरि अर्कै ठाउँतिर लाग्यौँ। त्यहाँ पुगेपछि हामी त्यहाँबाट अर्को ठाउँतिर लाग्यौँ। त्यहाँ पुगेपछि आदरणीय कमरेडले निकै संवेदनशील स्थितिमा क. विवेकले सहादत प्राप्त गर्नुभएको जानकारी गराउनुभयो। धेरैबेर कोठा स्तब्ध रह्यो । हामी मौन रह्यौँ ।

मुस्किलले आफूलाई सम्हाल्दा सम्हाल्दै मेरा आँखाबाट आँसु झर्न थाले। आदरणीय कमरेडले मेरा आँखाहरूबाट बगिरहेका आँसु पुछिदिँदै मलाई विचार दिनुभयो। मैले उहाँको आँखाबाट पनि आँसु झरेको देखेँ। एउटा असल अभिभावकको भूमिका मैले उहाँमा पाएकी छु। यसरी हरेक मान्छेहरूको हृदयमा उर्लने संवेदना, भावनालाई विचारमा र विचारलाई व्यवहारमा उतार्न सक्ने क्षमता भएका व्यक्तित्वहरू नै वास्तवमा कुशल नेतृत्व मान्न सकिन्छ। निर्विवाद हो, संसारको सिङ्गो पङ्क्ति आज हाम्रो पक्षमा उभिएको छ।

त्यसैले म यस घडीमा पनि दुनियाँको सामु एक्ली छैन। सय चुनौती र लाख सम्भावना मेरा आँखाअगाडि उभिएका छन् । ओजिलो पाइला चाल्दै म त्यहाँबाट बाहिर निस्केँ। हामी फेरि यहाँबाट टाढा पुग्नुपर्ने भएकोले आफ्नो तयारीमा लाग्यौँ ।

विवाह भएको मात्र ३१ दिन भएको थियो। आजै सदाका लागि उहाँ मबाट टाढा भइसक्नुभएको खबर पाएकी छु। मन छियाछिया परेको छ तर विवाहको शुभकामना दिने लहर अझै टुङ्गिएको छैन। साथीहरूलाई पहिलो भेटमै बधाई दिने आत्तुरी भइरहेछ । मैले मेरो योद्धालाई गुमाइसकेकी छु। कति दुर्भाग्य हो ? यो हर्ष र विस्मातको दोसाँधमा बधाई दिने प्रिय मित्रहरू त्यो बधाई म कसरी स्वीकार गरूँ ? हो, मैले मृत्युलाई चिनेकी छु तर यति चाँडै यी दिनहरू मेरा निम्ति अभिशाप बनिदेलान् भन्ने मलाई के थाहा ? अब म अतीत सम्झेर एकान्तमा रमाउन सक्दिन ।

मलाई सामूहिकता चाहिन्छ। मलाई कार्यक्रमको नयाँ योजना चाहिन्छ। विवाहको शुभकामना पाउने ती शुभदिनहरूको अन्त्य भइसकेको रहेछ। त्यसैले प्यारा मित्रहरू ! मलाई अब जिउनको निम्ति बधाई होइन, विचार दिनुहोस् ।

रातको ११ बजिसकेको थियो। हामी बसमा चढ्यौँ । हुरी र आँधीसँगै बस आफ्नो रफ्तारमा गुडिरहेको छ । अन्धकारमा चट्याङसँग बर्सिरहेको मुसलधारे वर्षासँगै मेरा आँखाबाट आँसु झरिहेको छ । साथमा आदरणीय कमरेड हुनुहुन्छ । रातभरि कति रोएँ, मलाई थाहा छैन । बिउँझिँदा मेरा आँखाहरू सुन्निएका थिए। हामीले भनेका थियौँ, बिछोडमा आँसु नझार भनेर। आखिर मान्छे न हौँ, भावना हुन्छ। फेरि क्रान्तिकारीहरू संवेदनाहीन पनि त हुँदैनन्। मानव हृदयमा संवेदना हुन्छ । साँच्चै म आज पल-पल रोएकी छु तर सधैँ रोएकी छैन । मैले हरेस खाएकी छैन, म कहिल्यै संवेदनामा बगेर आफूलाई विचलित पारेकी छैन। त्यो पहल मृत्युले मलाई जिउन सिकाएको छ ।

सिमसिम पानी पर्दै थियो । बिहानपख आमा अनि उनका छोराछोरीलाई देखेँ। मलाई एउटा कुराको ख्याल आयो । उहाँले भन्नुभएको थियो – “हाम्रो एउटा रित्तो घर छ, जहाँ दुबो र घाँसहरू पलाएका छन्। बाबा-आमा, दिदी-भाइ, बहिनी कोही छैनन्, एक्लै छु। घरबाट निस्केदेखि थुप्रै भयो, घर गएको छैन ।“ मुटु पिरो भएर आउँछ, असाध्यै नरमाइलो लाग्छ। दुस्मनले हाम्रो घरमा आगो लगाउने धम्की दिन्छ रे ।

मलाई भने तिनीहरूको मुख्यालयमा धाबा बोल्न र मृत्युसँग खेल्न मन लाग्छ। मैले उहाँको परिवारलाई एउटी असल बुहारीको परिचय दिन पाइन । म उहाँको साथमा थुप्रै उकाली-ओराली काटेर आफ्नो गाउँ जान चाहन्थेँ । बिडम्बना ! हाम्रो सुन्दर संसारलाई …….. भ्याइनँ । केही भन्नै पाइनँ, केही बोल्नेको सारा खुसीहरू म आफ्ना सङ्गी साथीसँग व्यक्त गर्नै पाइनँ। अहँ, केही पाइनँ।

बिहानको ६ बजेपछि हामी आफ्नो ठाउँमा आइपुग्यौँ । केही क्षणपछि अभिभावक कमरेडहरूसँग भेट गर्‍यौँ। यथार्थ खबर जानकारी भएपछि भोलिपल्ट हामी उहाँको कार्यक्षेत्रतर्फ लाग्यौँ। केही समयअघि पनि म त्यही बाटो भएर उहाँको साथमा आएकी थिएँ। जान पनि बसभित्र यात्रुका भीडमा मेरा आँखाहरूले उहाँलाई खोजिरहन्छन् । आँखाका डिलडिल आँसु टल्पलाउँछन् ।

मुस्किलले थाम्छु। ती सबै रमाइला क्षणहरू आज एकाएक कता हराए ? लाग्छ बसपार्कमा उहाँले मेरो प्रतीक्षा गरिरहनुभएको छ तर बसपार्कमा आज पराई मान्छेहरूको ओहोर दोहोर छ । ती पराई आँखाहरूले पीडाको घडीमा पनि चियाउने गर्छन्। कोही अघिपछि छन्, अप्ठेरो पार्छन् । एकदम परेसानीमा छु। यी सब सहँदै हामी बजारबाट माथि उक्लियौँ। साँझ परिसकेको थियो। मैले टाढैबाट त्यो घरको अड्कल काटेँ, जहाँ हामीले उठाएर तयार पारिएको गहुँको थुप्रो केलाएर परिवारलाई सहयोग पुर्‍याएका थियौँ।

एक दिउँसो मैले हामी बसेको कोठाको धेरै दिन बाँकी रहेको धुलोधाली बटुलेर फालेकी थिएँ। घरबेटी दाइ खुसी हुनुभएको थियो। हामी वारिपट्टिको घरमा पस्यौँ। एकछिनपछि उहाँको आत्मीय सहयोद्धा आएर हात मिलाउनुभयो। केहीबेर म फेरि रोएँ । ‘बैनी, हामीले नचाहेर पनि यस्तो हुँदोरहेछ। मन बलियो बनाउनुहोस्। हिम्मत हार्नुहुन्न, बरु अब त उहाँले छोडेको जिम्मा हामीले पूरा गर्नुपर्छ।‘ उहाँको जवान साथी पनि डाँको छोडेर रुँदा सम्हाल्नै मुस्किल भयो मलाई।भोलिपल्ट बिहानै हामी त्यहाँबाट लाग्यौँ।

हिजो हाँस्दै, रमाउदै सँगै हिँडेको गोरेटोमा आज साथमा उहाँका सहयोद्धा हुनुहुन्थ्यो। मौन रहेरै ती बाटाहरू पार गरियो। आफ्नो ठाउँमा पुगेपछि श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्नुभयो। सहिद परिवारका तर्फबाट उहाँको क्रान्तिकारी स्पिरिटलाई दह्रोसँग पक्डेर मैले आफ्नो विचार दिएँ। उहाँका सहयोद्धा कमरेडहरूले पनि त्यो भावनालाई आत्मसात्‌ गरेर अगाडि बढी उहाँको जिम्मेवारी पूरा गर्ने प्रण गर्नुभयो।

भोलिपल्ट दिउँसो मन्दमन्द हावा चलिरहेको थियो । आधा आकाश बादलले पुरिँदै थियो । वारिपारि डाँडाहरूमा कुहिरो दगुरिरहेको दृश्यसभित्र मैले मेरो प्रियलाई खोज्न थालेँ। ऊ त हिमाल भएर पो उभिएको रहेछ। हिमाललाई हेर्दै म परसम्म पुगेँ। बारीमा गाउँकी बैनीले मकै खन्दै हुनुहुन्थ्यो । कोदालो समातेर म पनि बारीमा पुगेँ । आधा मेलो खनेपछि आमाले अर्नी लिएर झर्नुभयो। अर्नी (खाजा) खाई मेलो सिध्याएर हामी उकालो लाग्यौँ। पिँडीमा खेलिरहेका कलिला मुनालाई, मुटुको टुक्रालाई उचालेर मैले आफ्नो काखमा समाएँ, खेलाएँ, नचाएँ, हसाएँ। म आफू रोएँ ।

भित्र अँगेनाको डिलमा बसेर ढिँडो ओडालिरहनुभएकी बुढी आमैको रेखा कोरिएको गालामा आँसु छल्केको थियो। पल्लो घरकी दिदी आएर पछेउरीले मुख छापी रुन थाल्नुभयो। अहिले पनि यो आँखाको वरिपरि घुमिरहनुभएझैँ लाग्छ बैनी – कीर्तिले हामीलाई छोडिजानु भएपछि । उहाँ त कस्तो पो हुनुहुन्थ्यो। यही मनलाई थाहा छ ….। किन यस्तो बिछट्टै माया लागेको होला, थुप्रै रातहरू रोएरै बिते । एक गास ढिँडो खुसी मनले घाँटीबाट छिर्दैन। अब ऊ फर्केर आउँदैन, राम्रा मान्छेहरू मात्रै मर्नुपर्ने त्यो कालो दिन किन आइरहन्छ ?

भोलिपल्ट हामी त्यहाँबाट बिदा भएर सल्लाघारीको उकालो हुँदै अर्को गाउँमा लाग्यौँ। साँझ तेस्रो श्रद्धाञ्जली सभा सुरु भयो । जताततै अन्धकारले छाएपछि आकाश रुन थाल्यो। आकाशले आफूमाथि असिनै वर्षाए पनि ती सबै सहन तयार थिए । आकाशतिर फर्केर ती सबै पानीका थोपाहरू निल्ने आँट गर्दै निथ्रुक्क भिजेर पनि शोकसभामा उपस्थित छन् जनसमुदायहरू । मृत्यु सहज हुन्छ भनेर देखाइदिने त्यो चम्किलो ताराको सुन्दर तस्विरमा म उहाँका सहयोद्धाहरूको कोमल नयनमा देख्दछु:

गाउँ बेसी, सहर घुम्दा लाग्छ तिमी हर घडी सँगसँगै छौ
बन्दुकको आवाज आउँदा लाग्छ फेरि मोर्चामा भिडिरहेछौ ।
साथमा तिमी छैनौँ तर लाग्छ सँगै छौ, जनताको हृदयमा अमर भएछौ।

योजनाभित्र परेका श्रद्धाञ्जली कार्यक्रमहरू सम्पन्न गरी म आफ्नो कार्यक्षेत्रमा फर्केर बाँकी जीवन सङ्घर्षमै बिताएकी छु। विप्लवसँगै रमाएकी छु म। हो, मैले नयाँ युगको कौशलतालाई तरङ्गमा खोज्न थालेकी छु। युद्धकला हो, आफ्ना सिप हामीले मैदानमै देखाउनुपर्छ। साहसीहरूले मात्र आफ्ना साहसहरू मैदानमा प्रस्तुत गर्न सक्छन् । युद्धकलामा भाग लिन नसक्नेहरू वास्तवमा सृजनाका जननी हुन सक्दैनन् ।

क्रान्ति नगरी परिवर्तन ल्याउन सकिँदैन, त्यसैले क्रान्तिका निम्ति, मुक्तिको खाँतिर हामी थुप्रै पटक मरेर पनि जिउनुपर्छ। यहाँ हरेकको जन्म र मृत्यु अपरिहार्य छ भन्ने नबुझ्नेहरू मूर्ख साबित हुनेछन्। प्रकृति र विज्ञानको द्वन्द्वात्मक भौतिकवादी नियमअनुरूप संसारको गति तीव्ररूपमा अघि बढ्छ। यही स्वच्छ प्रतिस्पर्धामा जो अघि बढ्छ, उही विजय हुन्छ।

वास्तवमा उहाँ को हुनुहुन्थ्यो ? यी सब गुण म गाउँदिन। मिलनको छोटै अवधिमा एउटा क्रान्तिकारी स्पिरिट बोकेको साहसी योद्धा हुनुहुन्थ्यो भनेर म उहाँलाई जान्दछु। यसको अलाबा उहाँको वीरतालाई हत्केलामा लिएर डुलाउन पनि चाहन्नँ। म एउटी क्रान्तिकारी नारी हुँ । आफ्नो गुण आफै गाउनु मेरो नैतिकता होइन । म कसैले गाइदिएर आफू प्रफुल्ल हुन रुचाउँछु।

आखिर एउटा नौजवान, क्रान्तिकारी योद्धा क्षणिक मेरो विपनाको नायक भएर आयो, सपना भएर बिलायो । व्यक्तिवादमा आधारित यो मात्र मेरो निजी व्यथा होइन, सिङ्गो संसारमा आधा हिस्सा ओगट्न सफल, हरेक क्रान्तिकारी नारीहरूको सामूहिक पीडा हो। यो क्रान्तिकारीहरूको साँचो कहानी हो। यही हो युवाहरूको गीत, यसका धुनहरू मेरो हृदयमा ज्वाला बनेर दन्किन सक्ने क्षमताको विकास ममा भइसकेको छ। म विचारले दृढ छु। मैले मेरो विवेकलाई गुमाएकी छैन। ऊ मेरो मस्तिष्कमा विचार भएर आइरहेछ।

यो संसार साहसीहरूको हो, कायरहरूको होइन । हाम्रो वीरताको यो नाताले मलाई यी विचारहरू पोख्ने अधिकार दिएको छ। कुरीतिले कलङ्क लगाउन सक्दैन मलाई । व्यभिचारी समाजको कुसंस्कारभित्र जकडिएकी असहाय विधवा होइन म । वीरत्व प्राप्त गर्ने गर्नैपर्छ कि आज साम्राज्यवाद तथा प्रतिक्रियावादीको राज्यसत्ता ध्वस्त पारेर देशमा जन्मेको जनवादी गणतन्त्रको भ्रूणलाई जोगाउँदै सिङ्गो देश परिवर्तनसँगै विश्व साम्यवादका लागि चुनौतीपूर्ण घडीमा दुस्मनको मुख्यालयमा धावा बोल्ने साहस गर्दा मृत्युसँग पौँठेजोरी खेल्दाखेल्दै मेरो योद्धाले सहादत प्राप्त गरेको छ । ऊ महान् सहिद भएको छ ।

उसको सहादतमा पोखिएको रगत म आफ्नो अन्जुलीभरी उठाएर तस्विर कोर्नेछु। त्यो वीरताको, सचेत मान्छेहरूको विचारमा जीवित रहनुहुने क. विवेक (कीर्ति तिवारी) निरन्तर क्रान्तिको बाटोमा अग्रसर भएर लागिरहने अठोटसँगै सबैखाले गलत तत्त्वहरूसँग सङ्घर्ष गर्दै समग्र युद्धको नेतृत्व विकासका लागि उहाँले दिनुभएका सुझावहरूलाई आत्मसात् गरी मैले आफूलाई वर्गसङ्घर्षको भट्टीमा खार्नेछु। आमूल परिवर्तन र विश्व सर्वहारा मुक्तिको निम्ति यी मेरा रक्तिम पाइला कहिल्यै पछि हट्ने छैनन् ।

(‘महिला ध्वनि‘मा प्रथमपटक प्रकाशित यस लेखलाई हामीले इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा प्रकाशित ‘जनयुद्धका संस्मरण‘ बाट साभार गरेका हौँ – सं.।)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending