Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

हुलाकी सडकले फेरिँदै जनजीवन, दुर्गम गाउँ सुगम बन्दै

हुलाकी सडकले गाउँबस्तीको मुहार फेर्दै

खबरडबली संवाददाता

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ गोरदोई गाउँ निवासी ७१ वर्षीय तोमान वली घरै अगाडि फराकिलो हुलाकी पक्की सडक बनेपछि खुसी हुनुहुन्छ । 

“घरै अगाडि यस्तो पक्की सडक बन्ला भन्ने सोचेको थिएनौँ, अहिले त हामीलाई जता जान पनि सजिलो भएको छ”, सडक नै नहुँदा बसेको बस्तीमा खेती किसानी गर्दै आएका वलीले भने, “हुलाकी सडक बनेपछि अब बजारमा किनमेल गर्न जान, बिरामी हुँदा अस्पताल जान धेरै सजिलो भएको छ, सडक बन्दा दुई कट्ठा जमिन खेर गयो तर अहिले सडकले जग्गाको भाउ पनि बढाएको छ ।”

राप्ती सोनारी गाउँपालिका–५ बिनौनास्थित भुवरभवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक चेतबहादुर बिष्ट नेपालगञ्जबाट दैनिक मोटरसाइकलमा विद्यालय जाने आउने गर्छन् । दुई वर्ष अघिसम्म बिनौना गाउँमै डेरा खोजेर बस्दै आएका बिष्ट फत्तेपुरदेखि नारायणपुर हुलाकी सडक पक्की बनेपछि अहिले नेपालगञ्जबाटै आवत जावत गर्न थालेका हुन् । सडक बनेपछि घरदेखि आधाघण्टामै पुगिने भएपछि अहिले घरबाटै आउन जान सम्भव भएको उनले बताए । “हुलाकी सडक बनेपछि सर्वसाधारण जनताको जीवनयापनमा ठूलो प्रभाव परेको छ, अब सहरमा काम गरेर साँझ घर फर्किन सक्ने स्थिति बनेको छ”, प्रधानाध्यापक विष्टले भने, “रोजगारीको लागि पनि नेपालगञ्ज गएर आउनसक्ने अवस्था भयो । यतै पनि रोजगारी खुलेका छन् ।”

नेपालगञ्ज–बघौडा ४४ किलोमिटर र फत्तेपुर–नारायणपुर २१ किलोमिटर हुलाकी सडकले स्थानीयको जीवनमा परिवर्तन ल्याएको छ । बिनौना र बैजापुर चोक अहिले बजारको रुपमा विकसित हुँदै गएका छन् । पहिला फाट्टफुट्ट झुप्रोमा पसल हुने बिनौनामा अहिले ठूला पसल, होटल र मेडिकल खुलेपछि स्थानीय खुसी छन् । राप्ती सोनारी ४ बैजापुरका अगुवा तुलसी थारुले हुलाकी सडक बैजापुर र बिनौनावासीको लागि वरदानै सावित भएको बताए । बैजापुरमा मेडिकल समेत सञ्चालन गर्दै आएका थारुले विगत स्मरण गर्दै भने, “कच्ची बाटो थियो । एम्बुलेन्स ल्याउनसक्ने अवस्था थिएन । अहिले आँगनमै एम्बुलेन्स छ । खोलामा डुब्दै जानुपर्ने अवस्था थियो । अहिले त जीवनयापनै परिवर्तन भयो ।”

हुलाकी सडक बनेपछि अब गाउँको उत्पादन सहज तरिकाले आधा घण्टामै नेपालगञ्ज पुगेर बिक्रीवितरण गर्नसक्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले मौसम अनुसारको तरकारी उत्पादन गरेर बजार पु¥याउँदा किसानकोे आम्दानीको स्तर बढेको बताए । अब स्थानीय सरकारले बिनौना, बैजापुर र फत्तेपुरमा कृषिमा लगानी गरी तरकारी खेतीमा प्रोत्साहन गर्नसके कृषि उपजबाटै आर्थिक अवस्थामा सुधार आउने उनको भनाई छ । 

दुर्गम गाउँ सुगम बन्दै

बाँके जिल्लाका ग्रामीण क्षेत्र हुलाकी सडक निर्माणसँगै अहिले सुगम बन्दै गएका छन् । हुलाकी सडक निर्माणले राप्ती सोनारीको बैजापुर देखि नरैनापुरको सुइया बघौडालाई सदरमुकाम नेपालगञ्जसँग सीधा सम्पर्क गराएको छ । विगतमा दुर्गम क्षेत्रका रुपमा मानिने नरैनापुरबाट अहिले आधा घण्टामै नेपालगञ्ज पुग्ने गरिएको नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले बताए । “पहिले भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपथ्र्यो, अहिले आधाघण्टामै पुगिन्छ”, यादवले भने, “हुलाकी सडक नरैनापुरबासीको लागि ‘लाइफलाइन’ बन्न पुगेको छ ।”

नेपालगञ्जदेखि नरैनापुरको सुइया बघौडासम्म हुलाकी सडक पुगेपछि स्वास्थ्य र शिक्षामा पनि उल्लेख्य प्रगति भइरहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले बताए । उनले नेपालगन्ज–बघौडा ४४ किलोमिटर हुलाकी सडकको निर्माण र कोहलपुर–धामपुर–सुईया बघौडा विद्युतीकरणको काम पूरा भएपछि नरैनापुरवासीको मुहार उज्यालो हुँदै गएको उल्लेख गरे ।  

यातायातका साधन सञ्चालन भएपछि भारतमा निर्भर रहँदै आएका गाउँको सम्बन्ध सिधा नेपालगन्ज सहरसँग जोडिएको छ । नरैनापुर गाउँपालिकाका स्थानीय अगुवा बिक्रम यादवले हुलाकी सडक कालोपत्र भएसँगै अहिले दैनिकरूपमा क्षेत्रमा बस, जीप, बोलेरो, ट्याक्टर, मोटरसाइकल आवतजावत गर्न थालेको बताए । उनका अनुसार, सडक पुगेपछि स्थानीय उत्पादनको बजारीकरणमा पनि सहज हुँदै गएको छ । बघौडामा उत्पादित वस्तुहरु सिधै सदरमुकाम पुग्न थालेका छन् । शिक्षा, स्वास्थ्य, यातायातलगायत विकासको पूर्वाधारले गति लिन थालेपछि सो क्षेत्रको महत्व पनि बढ्दै गएको छ । गाउँमा सडक नपुग्दा सीमापारी भारतमा दैनिक उपभोग्य सामान किनबेच गर्नुपर्ने बाध्यता पनि अहिले समाप्त भएको छ । हुलाकी सडकले सो क्षेत्रको मुहार नै फेरिदिएको यादवको भनाइ छ ।

हुलाकी सडकले गाउँबस्तीको मुहार फेर्दै 

नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारको काम धमाधम अघि बढेपछि स्थानीयवासी उत्साहित देखिएका छन् । हुलाकी सडक अन्तर्गत अहिले बाँकेको जानकी र खजुरा गाउँपालिका क्षेत्रमा नाली निर्माण र ग्रावेल गर्ने कार्य भईरहेको छ । एक वर्षको अवधिमानै सडकको मुहारै फेरिने गरी काम भएको जानकी–४ नहरचोकका दिनेश बर्माले बताए । “यही गतिमा काम भए हाम्रो घरै अगाडि छिटै चारलेन सडक बन्ने छ”, बर्माले खुशी हुँदै भने,“यति छिटो काम भएकोमा स्थानीयवासिन्दा सबै खुशी भएका छन् ।”

गत वर्षको भदौ अन्त्यमा बोलपत्र तथा शिलान्यास भएको यो सडक ठेक्कासम्बन्धी कानुनी प्रक्रिया पूरा गरी निर्माण कार्य सुरु भएको हो । यो सडक निर्माण भएपछि बाँकेको खजुरा क्षेत्रसहित कैलाली र बर्दियाका बासिन्दालाई नेपालगञ्ज पुग्न सहज हुने भएकाले यसलाई गौरवको योजनाका रूपमा लिइएको  छ ।

खजुरामा निर्माणाधिन चारलेन सडक निर्माण लामो समयसम्म अलपत्र हुँदा निराश बनेका स्थानीयवासीमा अहिले सडक विस्तारको काम धमाधम हुँदा उत्साह थपेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले बताए । उनले नेपालगञ्ज–गुलरिया सडक विस्तारको काम अहिले उत्साहजनकरुपमा भईरहेको उल्लेख गर्दै यहि गतिमा काम सम्पन्न गर्न गराउन आफूले आवश्यक पहल गरिरहेको सुनाए । निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी शर्मा एण्ड कम्पनीका प्रतिनिधि नवीन शर्माले सम्झौता अवधिभन्दाअगावै सकिने गरी काम गरिरहेको बताए । 

बाँकेमा अहिले राप्ती सोनारीको फत्तेपुरस्थित कुण्डादेखि वैजापुरको नारायणपुरसम्म २१ किलोमिटर, नेपालगञ्ज–गुलरिया सडकखण्डको २८ किलोमिटर र नेपालगञ्जको पुष्पलाल चोकदेखि पूर्व १० किलोमिटर क्षेत्रको हुलाकी सडक निर्माण कार्य भईरहेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, नेपालगञ्जका सूचना अधिकारी इन्जिनियर कृष्ण पाण्डेले बताए । उनका अनुसार, राप्ती सोनारीको फत्तेपुरस्थित कुण्डादेखि बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर कालोपत्रे काम एपिक्स कन्काई खड्का जेभीले ७६ करोडको लागतमा गरिरहेको छ भने नेपालगञ्ज–गुलरिया सडकखण्डको २८ किलोमिटर मध्ये ११ दशमलव छ किलोमिटर चारलेन र बाँकी दुईलेनको काम रु दुई अर्ब ७८ करोडमा शर्मा एण्ड कम्पनीले गरिरहेको छ ।

यसैगरी नेपालगञ्जको पुष्पलाल चोकदेखि पूर्व १० किलोमिटर क्षेत्रको हुलाकी सडक विस्तारको काम ज्ञानिस शारदा जेभिले रु १२ करोडमा विस्तारको काम गरिरहेको छ । फत्तेपुरस्थित कुण्डादेखि बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर कालोपत्रे सडक निर्माण सकिएर रङरोगनको काम भइरहेको छ भने अन्य दुईवटै हुलाकी सडकको काम तीव्र गतिमा भइरहेको इञ्जिनियर पाण्डेले जानकारी दिए । 

हुलाकी सडक अगैयासम्म विस्तार गरिँदै 

बाँकेको राप्तीसोनारी गाउँपालिका हुँदै दाङ जोड्ने हुलाकी राजमार्गसँग जोडिएको राप्तीसोनारी–३ नारायणपुरबाट पूर्व–पश्चिम राजमार्गअन्तर्गत रहेको अगैयासम्म विस्तार गरिने भएको छ । नेपालगञ्जबाट राप्तीसोनारीको नारायणपुर हुँदै दाङ जोड्ने हुलाकी राजमार्गबाट अगैयासम्म जाने एक हजार छ सय मिटर सडकको चौडा र कालोपत्रे गरी विस्तार गर्ने योजना अगाडि बढेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, नेपालगञ्जका सूचना अधिकारी इन्जिनियर कृष्ण पाण्डेले बताए ।

केही दिनअघि बाँके आउनुभएका सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पनि उक्त सडकको स्तरोन्नति गर्नका लागि निर्देशन पनि दिनुभएको उनले जानकारी दिए  । नारायणपुरदेखि अगैयासम्मको एक हजार छ सय मिटर सडकखण्डको राप्ती नदीस्थित सिक्टाको बाँधसम्म र बाँधलाई छाडेर पारी अगैया बजारसम्मको सडकको स्तरोन्नति गरिने उनले बताए  ।

नेपालगञ्जदेखि राप्ती नदी तरेर राप्तीसोनारीको फत्तेपुर, विनौना बैजापुर हुँदै अगैयासम्मको हुलाकी सडकको दुरी छोटो भएका कारण नेपालगन्जबाट पूर्व–पश्चिम राजमार्गको कोहलपुर हुँदै अगैयासम्म जाने सवारी साधनहरूले उक्त सडक प्रयोग गर्दै आएका छन् । नेपालगञ्जदेखि राप्तीपारी हुँदै अगैयासम्मको सडकको दुरी करिब ३५ किलोमिटर छ भने कोहलपुरबाट पूर्व–पश्चिम राजमार्गको बाँके राष्ट्रिय निकुञ्ज हुँदै अगैया पुग्नका लागि करिब ६१ किलोमिटरको दुरी छ । दुरी छोटो पने भएकोले सवारी साधनहरूले अगैयासम्म पुग्नका लागि राप्तीपारीकै सडक रोज्ने गरेका छन् ।

हुलाकी सडकको नियमित अनुगमन गर्दै आउनुभएका बाँके क्षेत्र नं १ का सांसद सूर्य ढकाललले काम तीव्र गतिमा सञ्चालनमा रहे पनि निर्माण कम्पनीको मागबमोजिम भुक्तानी, मुआब्जाको समस्या र विद्युत पोलको चुनौती रहेको बताउँदै देखिएका समस्या र चुनौती नीतिगत तहमा उठाउने आश्वासन दिए । उनले हुलाकी सडक निर्माण कार्य समयमै सम्पन्न गर्न आफुले आवश्यक समन्वय र चासो देखाएको बताउँदै हुलाकी सडकले बाँकेवासी जनतालाई विकासको अनुभूति गराएको उल्लेख गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकामा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुने

काठमााडौं । अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन् । संयुक्त राष्ट्र सङ्घको कार...

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको ...

खाली भयो नुवाकोट जिल्ला कारागार

नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पमा केन्द्रीय कारागार भवन निर्माण गरेर भदौ १५ देखि कैदीबन्दी स्थान्तरण गरेपश्चात खाली भएको विदुर–१ ढुं...

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढ...

गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य

काठमाडौँ । भारतले बंगलादेशलाई जारी पहिलो टेस्ट खेलमा ५१५ रनको लक्ष्य दिएको छ ।  जारी टेस्टको दोस्रो इनिंगमा भारतले ४ विकेट गुमाउदै २८७ रन बनाएर आफ्...

हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली

रौतहट । हैजा प्रभावित क्षेत्र रौतहटको राजपुरमा  प्रादेशिक अस्पताल गौरको  मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा एक आवश्यक औषधि सहित पुगे...

चट्याङ लागेर एकजनाको मृत्यु

  ढोरपाटन । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा ...

नौ लाख बराबरका भन्सार छलीका सामान बरामद

काठमाडौं ।  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु नौ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले आज जिल्लाका विभि...

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै सम्झना चौधरी

 दाङ  । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर ...

चितवन–२ का मतदाता भन्छन्ः रविलाई भोट दिएकोमा पछुतो छ

काठमाडौं । सहकारी छानविन प्रकरणमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडियाका सञ्चालकहरुले सहकारीको रकम अपचलन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy