रौतहट । तराई मधेशमा मिठाइ भनेपछि जुन प्रयोजनमा पनि प्रयोग हुने गर्दछ । कुनै विषयमा सफल हुँदा मिठाई खुवाउने चलन, पूजा, बिहे ब्रतबन्धमा भोजनपछि मिठाइ ख्वाइन्छ । कुनै आफन्तको घरमा जाँदा कोसेली स्वरूप मिठाइ लिएर जाने चलन रहिआएको छ । त्यतिमात्र नभई छोराछोरीको जन्मदेखि मानिसको मृत्यु भएपछि १३औं पुण्यतिथिको अवसरमा हुने भोजभतेरमा पनि मिठाइ खुवाउने चलन छ । त्यसमा पनि लालमोहन, बालुशाही र रसवरीको मिठाइमा आफ्नै स्थान छ । विगतमा सानो परिमाणमा मिठाइको आवश्यकता हुँदा स्थानीय होटलहरुबाट खरिद गर्ने, ठूलो परिमाणमा आवश्यक पर्दा जानकार मिस्त्री (कारिगर) बोलाई घरमै बनाउने चलन रहेको थियो । त्यसको अलावा केही मानिस सस्तोको लागि भारतीय ब्राण्डेड कम्पनीले बनाउने डब्बाको मिठाइ ल्याउने चलन थियो। जुन शुद्ध दूधले बनेको हुन्थ्यो। मिठाई (रसवरी, बालुशाही, लालमोहन) बनाउन मुख्य रूपमा दूधको आवश्यकता हुन्छ । शुद्ध गाईभैंसीको दूध चिनी प्रयोग गरेर बनाइने मिठाई कम्तीमा प्रतिकिलो ३५० देखि ४०० रुपैया पर्ने कटहरिया बजारका मिठाइ व्यवसायी सन्तोष कुशवाहाले बताए । मिठाइमा दूध र चिनीको प्रयोग गरेर बनाएमा त्यसभन्दा कमीमा बनाउनै नसकिने कुशवाहाको दाबी छ ।
कुशवाहाकै जस्तो अर्का मिठाइ व्यवसायी अनिल मिष्टान भंडार कटहरियाका सञ्चालक अनिल साहले जसरी बनाए पनि दूध र चिनी प्रयोग गरिएको मिठाइ ३५० भन्दा बढी प्रतिकिलो पर्ने दाबी गर्छन् । अहिले जिल्ला सदरमुकाम गौरदेखि गरुडा, चन्द्रनिगाहपुर, कटहरिया लगायतका मुख्य बजारका होटल तथा मिठाई पसलहरुमा रसवरी, लालमोहन, बालुशाही खुद्रामा प्रतिकिलो ५०० देखि ७०० रुपैयामा बिक्रि हुने गरेको उपभोक्ताहरुले बताएका छन। तर, भारतीयहरुले भारतबाट ल्याएको मिठाई बालुशाही प्रतिकिलो मात्र २०० रुपैयामा खुद्रा बिक्री गरिरहेको देखिएको छ। हाल सदरमुकाम गौर, गरुडा, चन्द्रनिगाहपुर, कटहरियादेखि ग्रामीण बजारहरुमा प्रत्येक दिन बिहानैदेखि भारतीय नागरिकहरूले साइकल मोटरसाइकलमा ल्याएर मिठाई बिक्री गरिरहेको देख्न सकिन्छ। कटहरिया बजारमा मिठाई बिक्रीगरी बसेका भारत बिहार सितामढीका छोटेलाल महतोले आफूहरुले उतैबाट किनेर ल्याएर यता बेच्ने गरेको बताउँछन्।
उनले भारतीय सहर सीतामढी छेउ भूतही गाउँबाट थोक मूल्य प्रतिकिलो १०० भारु अर्थात १६० मा खरीद गरेर ल्याउने र २०० नेपाली रुपैयामा प्रतिकिलो बालुशाही बिक्री गर्नेगरेको बताउँछन्। सीतामढी क्षेत्रका झण्डै ५० जना भन्दा बढी मानिसको दैनिकी मिठाई बेच्ने रहेको बताएका छन् । भारतीय गाउँ भुतहीमा घर घरै मिठाई बनाइन्छ। त्यहीँबाट साइकल मोटरसाइकलमा ल्याएर रौतहट, बारा, सर्लाही लगायत जिल्लाको बजार बजारमा घुमाएर बिक्रि गरिन्छ।
भुतही गाउँबाट साना नाका हुँदै भित्र्याएको मिठाई जिल्लाको बजारहरुमा कोठा लिएर स्टक गरिन्छ, पछि सुबिधाअनुसार बिक्रि गरिने भारतीय नागरिक महतोले बताए । कटहरिया ५ का समाजसेवी दीनानाथ साह कलवारले भारतको भुतहीबाट ल्याइने उक्त मिठाई बालुशाहीमा शुद्धको सट्टा चिउराको धूलो र चिनीको सट्टा गुलियो बनाउने केमिकल सेक्रीन प्रयोग गरिने बताए । अत्यन्तै गुणस्तरहीन उक्त मिठाई नेपालीहरुले सस्तो पाउने भएको कारण किन्ने गरेको कलवार बताउँछन् ।
हजारौं नेपाली नागरिकको स्वास्थसँग प्रत्यक्ष जोडिएको मिठाइको गुणस्तरबारे जाँचबुझ गर्न जरुरी छ । तर, त्यसबारे कसैले चासो नलिएको कारण तराई मधेशका हजारौं मानिसले दैनिक गुणस्तरहीन मिठाइको प्रयोग गरिरहेका छन्। भारतबाट एकपटक भित्र्याएको मिठाइ बाटो छेउ खुला फोहर नालासँगै झिँगा लाग्ने स्थानमा राखेर एक हप्तासम्म बिक्रि गर्छन् । तर, स्थानीय तहदेखि स्थानीय प्रशासन, गुणस्तर विभाग सबै मूकदर्शक बनेका छन् ।नेपाली नागरिकको स्वास्थको रक्षाको निमित्त अवैध र गुणस्तरीयहीन आयातित मिठाइको गुणस्तर जाँच गर्न तथा बिक्रीवितरणमाथि रोक लगाउन नियमनकारी निकायको ध्यानजानु जरुरी देखिन्छ।
प्रतिकृया लेख्नुहोस्: