Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

कफीखेतीबाट १३ लाख आम्दानी, भन्छन्- कृषि कर्म गरेर मनग्य कमाउन सकिन्छ

खबरडबली संवाददाता

फिक्कल । इलामको माङसेबुङ गाउँपालिका- १ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बनेका छन्। उनी बिहानदेखि बेलुकासम्म नै कृषि काममा व्यस्त देखिन्छन्। उनले ६० रोपनी क्षेत्रमा कफीको बिरुवा लगाएका छन्।

विगत छ वर्षदेखि व्यावसायिक कफीखेती सुरु गरेका व्यवसायी कार्कीले सबै जग्गामा कफीखेती विस्तार गरेका छन्। उनको बगानमा अहिले छ हजार कफीका बोट छन्। कफीका अधिकांश बोटले आम्दानी दिन थालेको छ।

उनले कफीखेतीबाट वार्षिकरूपमा रु १३ लाखसम्म आम्दानी गर्दै आएका छन्। कफीको चेरी र बिरुवा बिक्रीबाट छुट्टाछुट्टैरूपमा आम्दानी लिँदै आएको उनको अनुभव छ।

विसं २०७४ देखि ‘इलाम एग्रो फार्म’ दर्ता गरी उहाँले व्यावसायिक कफीखेती गर्दै आएका छन्। ‘विगत छ वर्षदेखि मैले आफ्नै निजी जग्गामा व्यावसायिक कफीखेती गर्दै आएको छु, अहिले अधिकांश बोटले आम्दानीसमेत दिन थालिसकेको छ,’ उनले भने, ‘फ्रेस चेरी ए ग्रेड कफी प्रतिकिलो रु एक सय पाँचसम्ममा बिक्ने गरेको छ, सरदरमा वार्षिक रु सात लाखसम्म आम्दानी भइरहेको छ।’

‘अरविका’ नामक कफीखेती विस्तार गरेका व्यवसायी कार्कीले बिरुवाबाट समेत मनग्य आम्दानी गरिरहेका छन्। उनले याममा बिरुवा बिक्रीबाट रु छ लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए।

‘मेरो नर्सरीमा वर्षमा १५ देखि २० हजार बिरुवा उत्पादन हुन्छ, प्रतिबिरुवा रु ३० कार दरले नर्सरीबाटै बिक्री हुन्छ,’ उनले भने, ‘बिरुवाबाट मात्र करिब रु छ लाख हात पार्ने गरेको छु।’ बिरुवा विभिन्न पालिका, वडा कार्यालय एवं फार्मले खरिद गरी लैजाने गरेको उनले बताए।

कफीखेतीका लागि प्रशस्त जमिन र उपयुक्त वातावरण भएकाले यसतर्फ किसानको मोह बढेको उनले बताए।

‘वनजंगलको आडैमा प्रशस्त खाली जमिनमा लगाइएका कफीका बिरुवाले हरभरा देखिन थालेका छन्,’ उनले भने, ‘यसलाई हामी सामुदायिक अवधारणामा विभिन्न संघसंस्था र वडा कार्यालयसँग समन्वय गरी गाउँपालिकाभरि विस्तार गर्ने योजना छ।’

कफीको मूल्य राम्रो पाइने र बिक्रीका लागि समस्या पनि नभएकाले किसानले अन्य पेसा छाडेर कफीखेतीतर्फ लागेको उनले बताए। उनले कफीसँगै व्यावसायिकरूपमा बाख्रापालन पनि गर्दै आएका छन्। कफीखेतीका लागि चाहिने मल बाख्रापालनबाटै उपलब्ध हुने भएकाले दुवै व्यवसाय सँगसँगै लगेको उनको भनाइ छ।

माङसेबुङ गाउँपालिका–२ इभाङका किसान गणेश लिम्बूले पनि राम्रै अन्नबाली उत्पादन हुने जग्गामा व्यावसायिक कफीखेती विस्तार गरेका छन्। उनले २५ रोपनी जग्गामा दुई हजार पाँच सय बोट कफी लगाएका छन्। लगानी धेरै नपर्ने र मेहनत पनि खासै नपर्ने भएकाले चार वर्षदेखि व्यावसायिक कफीखेती सुरु गरेको उनले बताए।

‘चार वर्षदेखि कफीखेती सुरु गरेको मेरो बगानमा अहिले दुई हजार पाँच सय बोट पुगेको छ, यसलाई अझ विस्तार गरी १० हजार पुर्‍याउने लक्ष्य छ,’ उनले भने, ‘पहिलो लटको बिरुवाले उत्पादन सुरु गरेको छ, यो वर्ष चार क्विन्टल उत्पादन भयो, आउँदो सालदेखि आम्दानी राम्रै हुने आशा बढेको छ।’

केटाकेटीले समेत काम गर्न सक्ने तथा दक्ष कामदार नचाहिने भएकाले अन्य खेतीभन्दा कफीखेती गर्न सहज हुने उनको अनुभव छ।

माङसेबुङ गाउँपालिका–१ तोभाङका छत्र कार्कीले चार वर्षदेखि कफीखेती गर्दै आएका छन्। व्यावसायिकरूपमा आफ्नै पाखा पखेरामा करिब पाँच सय कफीका बिरुवा लगाएका उनले राम्रो आम्दानी गरेको बताए।

‘मलजल र स्याहारसुसार पुग्यो भने रोपेको दुई वर्षदेखि नै आम्दानी दिन थाल्दोरहेछ, यो वर्ष रु ७० हजारजति आम्दनी भयो,’ उनले भने, ‘यो सालदेखि अझ विस्तार गर्ने योजनामा छु।’ पहाडी क्षेत्रमा विगतमा भन्दा यो वर्ष कफीखेती राम्रो रहेको र किसान यस खेतीबाट सन्तुष्ट भएको उनको भनाइ छ ।

माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका पृथीमान जवेगूले पनि पाँच सय कफीका बिरुवा रोपेर व्यावसायिक कफीखेती सुरु गरेका छन्। पहाडी क्षेत्रको चिसो ठाउँमा कफी लगाउन सकिने र कफीबाट किसानले मनग्य आम्दानी लिन सफल भएपछि आगामी वर्ष आफूले कफीखेती विस्तार गर्ने योजना रहेको उ‍नको भनाइ छ।

माङसेबुङ गाउँपालिका–१ का गजुरमुखी, नाङरुङ, तोभाङ र वडा नं २ का इभाङ, डाँडागाउँ, काब्राबोटे गाउँका तीन सय ५० जना किसानले व्यावसायिक कफीखेती गर्दै आएका छन्। पहाडी भेगका गाउँमा कफीखेती गर्ने किसान बढ्दै गएका छन्।

उनीहरूले खेतबारीमा अन्नबाली लगाउन छाडेर कफी रोपेका छन्। सामान्य कफीखेतीबाट सुरु गरेका किसानले अहिले व्यावसायिक कफीखेती सुरु गर्न थालेका छन्। उत्पादन राम्रो हुँदै गएकाले किसान कफीखेतीतर्फ दिनप्रतिदिन आकर्षित बन्दै गएका हुन्। माङेबुङ गाउँपालिकाभर छ हजार क्षेत्रमा ६० हजार कफीको बिरुवा रोपिएको गाउँपालिकाको तथ्यांक छ।

कम मेहनत र थोरै लगानीमा नै मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक कफीखेतीमा आकर्षित भएका हुन्। खेतबारीमा अन्नबाली लगाउने जनशक्ति अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले अधिकांश किसानले व्यावसायिक कफीखेती सुरु गरेका छन्।

बाँझो पाखा पखेरामा समेत हुने भएपछि किसानले व्यावसायिक कफीखेती सुरु गरेका हुन्। उनीहरूले व्यावसायिक कफीखेती गरी लाखौं आम्दानी लिइरहेका छन्। उनीहरूले खेतीयोग्य जमिन मासेरसमेत व्यावसायिक कफीखेती गर्दै आएका हुन्। यहाँका किसानले ‘अरविका’ जातका कफीखेती गर्दै आएका छन्।

किसानलाई अहिले बजार र यातायातको पनि कुनै समस्या छैन। घरैबाट सहजैरूपमा बिक्री गर्न पाउँछन्। घरघरमा गएर व्यापारीले कफी किन्ने गरेका छन्। बगानमै मोलतोल गरेर व्यापारीले किन्ने गरेकाले किसानलाई उत्पादन बजारसम्म पुर्‍याउने झन्झट छैन।

स्थानीयस्तरमा नै कफी प्रशोधन उद्योग स्थापना भएपछि किसानले कफीको मूल्य राम्रै पाएका छन्। त्यस क्षेत्रका किसानले उत्पादन गरेको कफी व्यापारीमार्फत् काठमाडौंमा जाने गरेको छ।

कफी प्रशोधन उद्योगले बजारीकरणमा सहज

गाउँमा व्यावसायिक कफीखेती विस्तार भएसँगै माङसेबुङ गाउँपालिका- १ का किसान याम कार्कीले गाउँमै कफी प्रशोधन उद्योग स्थापना गरेका छन्। उनले ‘इलाम एग्रो फार्म’ उद्योग स्थापना गरेपछि किसानलाई सहज भएको छ। उत्पादित कफीको बजारीकरण उद्योगले नै गर्ने भएपछि किसानले बजारीकरणको समस्या भोग्नुपरेको छैन। स्थानीयस्तरमै प्रशोधन भएर बजारीकरण हुने भएकाले किसानले कफीको मूल्यसमेत राम्रो पाएका छन्।

बजारीकरणका लागि अन्तरराष्ट्रिय सञ्जालमा जोडिएकाले किसानको घरघरमा आउने र बजारीकरणको सुनिश्चित रहेको कार्कीले बताए। 

‘कफीको बिरुवाका लागि आफैं नर्सरी गरेर बिक्रीवितरण गर्ने गरेको छु, उत्पादित दाना संकलन गरेर बजारीकरणमा सहयोग गर्ने गरेको छु,’ उनले भने, ‘किसानले उत्पादन गरेको कफी नबिक्ने चिन्ता छैन, काठमाडौं र पोखरालगायत ठूला सहरबाट माग आउने गरेको छ, अहिले माग पनि पुर्‍याउन सकिएको छैन। जति उत्पादन भए पनि हामी उठाउँछौं।’ किसानलाई अनलाइनमार्फत नै भुक्तानीको व्यवस्था गरिएकाले थप सहज भएको उनको भनाइ छ।

उनको फार्ममा दुई स्थायी र छजना सिजनेबल कामदारले रोजगारी पाएका छन्। आफू र आफ्नो परिवारका सदस्यबाहेक आठजना कामदारलाई रोजगारी दिएको उनले बताए। ‘फार्ममा हामी आफैं पनि खट्ने गरेका छौं, त्यसबाहेक दुई स्थायी र छजनालाई सिजनेबल कामदारका रूपमा रोजगारी दिएको छु,’ उनले भने,  ‘आफू स्वरोजगार भई अरूलाई समेत रोजगारी दिन पाउँदा खुसी लागेको छ।’

बेरोजगार युवा विदेशिने क्रम रोक्न र गाउँघरमा नै बसेर भए पनि स्वरोजगार बन्न कृषि व्यवसाय प्रवर्द्धन गर्ने लक्ष्यका साथ कृषि व्यवसायमा लागेको उनको भनाइ छ।

जिल्लाका अधिकांश क्षेत्रमा ‘अरविका’ जातको कफी लगाइएको छ। कफीको पाकेको दाना (चेरी) किसानबाट प्रतिकिलो रु एक सय पाँच, प्रशोधन गरिएको (पार्चमेन) प्रतिकिलो रु पाँच सयदेखि रु छ सयसम्ममा करोबार हुने गरेको छ। 

पूर्ण प्रशोधन वा धुलो बनाउन बाँकी रहेको कफी प्रतिकिलो रु एक हजार आठ सयका दरले बिक्री हुने गरेको छ। धुलो बनाउँदा प्रतिकिलो रु दुई हजार दुई सय ५० का दरले कफी बिक्री हुने गरेको छ।

व्यावसायिक कफीखेती गर्ने किसानलाई प्रवर्द्धन गर्न माङसेबुङ गाउँपालिकाले अनुदान दिन थालेको छ । गाउँपालिकाले अनुदान दिन थालेपछि व्यावसायिक कफीखेती विस्तारमा किसान आकर्षित भएका छन्। 

कफी उत्पादनमा वृद्धि गराउने उद्देश्यले माङसेबुङले कफीखेती किसानलाई सोझै अनुदान रकम दिन थालेको हो। माङसेबुङ गाउँपालिकाले ५० किलो वा सोभन्दा धेरै कफीको पाकेको दाना (चेरी) उत्पादन गरेका किसानलाई प्रतिकिलो रु २० का दरले अनुदान उपलब्ध गराउँदै आएको छ।

किसानले जति धेरै उत्पादन गर्छ, त्यति नै धेरै प्रोत्साहन अनुदान पाउने व्यवस्था गरिएको माङेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए। माङसेबुङ गाउँपालिकाले गत वर्ष कफीमा ३४ जना किसानले रु एक लाख १६ हजार आठ सय ९० प्रोत्साहनबापत अनुदान पाएको गाउँपालिकाले जनाएको छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ अभाव

गण्डकी । पोखरा रङ्गशालामा गत माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालित २५औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता रात्रिकालीन समयमा खेलाउने ...

मस्र्याङ्दी जलविद्युत्को मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मतसम्भार कार्य सम्पन्न गरी पुनः विद्युत् उत्पादन कार्य स...

रवि लामिछाने र बालेन शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हा...

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौँ । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झ...

कस्तो होला रास्वपा सरकारको विदेश नीति ?

काठमाडौं । चुनावमा सानदार सफलता पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बाल...

काठमाडौंको वायु प्रदूषण अस्वस्थकर स्तरमा, विश्वका प्रदूषित सहरमध्ये चौथो स्थानमा

काठमाडौं । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थकर स्तरमा पुगेको छ। बिहीबार बिहान ७:२० बजे गरिएको मापनअनुसार उपत्यकाको एयर क्वालिटी इन्डेक्स ...

तेल संकटका कारण पाकिस्तानमा विद्यालय बन्द, पेट्रोलको मूल्य एकैपटक ५५ रुपैयाँले बढ्यो

काठमाडौं । इरानमाथि संयुक्त राज्य अमेरिका–इजरायलले आक्रमण गरेपछि सुरु भएको द्वन्द्वबाट सम्पूर्ण मध्यपूर्व प्रभावित हँुदा तेल र ग्यास आपूर्तिमा अवरोध आ...

मध्यपूर्व संकटका कारण देखिएको इन्धनको सम्भाव्य मूल्यवृद्धिसँग जुझ्ने सरकारको योजना कस्तो छ ?

काठमाडौं । सरकारले मध्यपूर्वमा झन्डै डेढ सातादेखि जारी तनावका कारण नेपालमा मूल्यवृद्धि हुन सक्ने भन्दै खाना पकाउने ग्यासलगायतको कालोबजारी रोक्न अनुगमन...

कम्युनिस्ट सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनबारे ...

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर । बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आएका छन् । शुक्लाफाँटा न...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE