Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

समस्याग्रस्त १९ बाघलाई पुनः जङ्गलमा छाड्दा खतरा कायमै, विज्ञको सुझाव- ‘टाइगर जु’ बनाउनुपर्छ

खबरडबली संवाददाता

काठमाडौँ । पछिल्लो समयमा नेपालमा पाटे बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढेको छ । खासगरी बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका बाघलाई उद्धार गरेर खोरमा राख्ने गरिएको छ ।

हाल मुलुकभर यस्ता समस्याग्रस्त बाघको सङ्ख्या १९ रहेको छ । तीमध्ये ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना तथा चितवन राष्ट्रिय निकुञ्जमा छ÷छ, बर्दिया राष्ट्रिय निकुञ्जमा पाँच, बाँके र पर्सा राष्ट्रिय निकुञ्जमा एक÷एक बाघ खोरमा राखिएका छन् । बर्दिया र पर्सामा यस्ता दुई बाघ केही समय अघि मात्रै खोरमै मरेका थिए ।

यस्ता बाघको दैनिक आहारा, हेरचाह, उपचार र अन्य व्यवस्थापनमा बर्सेनि सरकारको ठुलो रकम खर्च हुँदै आएको छ । विगत दश वर्षमा नेपालमा बाघको सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएको छ । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या तीन सय ५५ पुगेको छ ।

बाघलाई मार्न र बेचबिखन गर्न नपाइने कानुनी प्रावधान छ । तसर्थ समस्याग्रस्त बाघको व्यवस्थापनका लागि ‘टाइगर जु’ स्थापना गर्नुपर्ने, मित्रराष्ट्रलाई उपहारस्वरुप प्रदान गर्नुपर्ने, प्रदेशमा रहेका प्राणीउद्यानमा राख्नुपर्ने, केही उपाय नलागे मार्नुपर्र्नेलगायत विकल्पमाथि बहस सुरु भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाले वातावरणीय क्षमताका हिसाबले नेपालमा समग्रमा बाघको सङ्ख्या बढी भएको आङ्कलन गर्दै अटाउने निश्चित क्षेत्रभन्दा बढी भएपछि बाघ आहाराको खोजीमा जङ्गलबाहिर आउने गरेको बताए । जङ्गलबाहिर निस्केको र मानव तथा वन्यजन्तुलाई आक्रमण गरेको बाघलाई पुनः जङ्गलमा फर्काउँदा खतरा कायमै रहने उल्लेख गर्दै उनले भने, “समस्याग्रस्त बाघलाई ठुलो खोर बनाएर ‘टाइगर सेन्चुरी’ अवधारणामा वरपर जालीबाट मानिसले हेर्न सक्ने गरी राख्ने कि भन्ने योजनामा छौँ, तर यसका लागि नियमितभन्दा थप धेरै बजेट आवश्यक पर्छ ।”

यसबाहेक समस्याग्रस्त बाघको तत्काल व्यवस्थापनका लागि कोशी टप्पुतिर पनि खोर बनाएर सार्ने, प्राणी उद्यानमा उद्धार केन्द्र बनाएर राख्ने, मित्रराष्ट्रलाई उपहार दिनेलगायत विभिन्न विकल्पका बारेमा छलफल भइरहेको महानिर्देशक डा ढुङ्गानाको भनाइ छ । यसरी खोरमा राखेका प्रत्येक बाघलाई आहाराका रुपमा दैनिक पाँच किलो मासु दिने गरिएको छ । साथै व्यवस्थापन र घाइते बाघको उपचारका लागि थप जनशक्तिको समेत परिचालन हुँदै आएको छ ।  

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले बाघको सङ्ख्या बढेसँगै अब दायित्व पनि थपिएको बताए । मानव बस्तीबाट उद्धार गरेको बाघ स्वस्थ छभने तत्काल पुनः वन क्षेत्रमा नै पुनःस्थापना गर्नुपर्ने उनको भनाइ छ । यसबाहेक ‘टाइगर जु’ बनाएर व्यवस्थापन गर्नुपर्ने, प्रदेशका चिडियाखानामा व्यवस्थापन गर्नुपर्ने र मित्रराष्ट्रलाई उपहार दिनुपर्ने उनको सुझाव छ । “उपरोक्त कुनै पनि उपाय लागेन भने समस्याग्रस्त तथा घाइते बाघलाई मार्नुपर्ने अवस्था पनि हुनसक्छ, जुन अन्तर्राष्ट्रिय अभ्यासमा पनि छ”, सहसचिव डा ढकालले भने ।

समस्याग्रस्त बाघलाई पुनः जङ्गलमा छाड्दा खतरा कायमै  

यस्तै बर्दिया राष्ट्रिय निकुञ्जका चिफ वार्डेन डा अशोक राम मानिस र घरपालुवा जनावरलाई आक्रमण गरिसकेका तथा खोरमा तयारी आहारा खाने बानीले अल्छी भइसकेको हुँदा त्यस्ता बाघलाई खुला वनक्षेत्रमा पुनः छाड्न नसकिने तर्क गर्छन् । उनले प्राकृतिक रुपमा बाघको धान्ने क्षमता, मानव–बाघ द्वन्द्वका बारेमा यकिन गर्न गहिरो अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकतासमेत औँल्याए ।  

चिफ वार्डेन डा रामले भने, “सङ्ख्या बढ्नु भनेको समस्या त होइन, तर सङ्ख्या बढेसँगै समस्याग्रस्त बाघ चुनौतीका रुपमा देखिएका छन्, यीलगायत बुढा र घाइते बाघलाई बाचुन्जेल खोरमै राख्नुपर्ने बाध्यता छ ।”

चितवन राष्ट्रिय निकुञ्जका चिफ वार्डेन दिलबहादुर पुनले खोरमा रहेका बाघको आहार तथा व्यवस्थापन खर्चिलो भएको बताए । बाघको वासस्थानमा मानिस प्रवेश गर्दा र बाघ वासस्थान बाहिर निस्कँदा मानवीय र अन्य क्षति हुने गरेको जानकारी दिँदै उनले भने, “हामी त्यस्ता वन्यजन्तुलाई ‘डार्ट’ गरेर उद्धार गरी खोरमा राख्छौँ ।”

सदर चिडियाखानाको व्यवस्थापन गर्दै आएको राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)का निर्देशक नरेश सुवेदीले बाघलाई साँघुरो खोरमा राख्दा उसको जीवन कठिन भएको बताए । समस्याग्रस्त बाघलाई अलि ठुलो स्थानमा ‘बाघ पार्क’ जस्तो बनाएर प्रदर्शनमा राख्न सके बाघका लागि पनि राम्रो हुने र आय पनि हुने उनले सुझाए ।

समस्याग्रस्त बाघलाई खोरमा राख्दा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको आहारा र हेरचाह गर्न नसकिएको उनको भनाइ छ । मानव–बाघ द्वन्द्व बढेको भन्ने सन्दर्भमा निर्देशक सुवेदीले भने, “बाघको सङ्ख्या बढेर द्वन्द्व बढेको होइन, त्यसबाहेक अन्य विभिन्न कारण पनि छन्, ९८ प्रतिशत मानव आक्रमणका घटना जङ्गल क्षेत्रमा भएका छन्, बाघले वासस्थान बाहिर आएर आक्रमण गरेका घटना ज्यादै न्यून छन्, केही घटना राति खोलामा माछा मार्न गएका बेला भएका उदाहरण छन् भने कुनै त क्षतिपूर्ति रकम पाइन्छ भनेर भारतमा भएका घटना पनि नेपालमा दाबी गर्ने गरिएको छ ।”

बाघमै विद्यावारिधि गरेका एनटिएनसीका अर्का निर्देशक डा चिरिञ्जीवीप्रसाद पोखरेलले पनि समस्याग्रस्त बाघलाई निश्चित ठुलो क्षेत्रफलमा प्राकृतिक खोर बनाई ‘टाइगर सेन्चुरी एप्रोच’को अवधारणामा लैजानुपर्नेमा जोड दिए । “त्यसमा बाघ बाहिर निस्कन पनि नमिल्ने र पर्यटन प्रवर्द्धन हुने गरी व्यवस्था गर्नुपर्छ, यसको लाभ भनेको समस्याग्रस्त बाघ स्वस्थ पनि हुने र व्यवस्थापन गर्न सहज भई द्वन्द्व न्यूनीकरण पनि हुन्छ”, उनले भने ।

बाघ निश्चित क्षेत्रफल ओगटेर बस्ने भएको र अर्को भालेसँगको जुधाइ, आहाराको खोजी, जङ्गलभित्रका खोला पोखरी सुक्दा खानेपानीको खोजीलगायत कारण वासस्थानबाट बाघ बाहिर आउने गरेका छन् । बाघले आफ्नो आनीबानी परिवर्तन गर्न नसक्ने भएकाले मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि मानिसले नै संरक्षित क्षेत्रमा जानेलगायत आनीबानी परिवर्तन गर्नुपर्ने निर्देशक डा पोखरेलको सुझाव छ ।

सङ्ख्यामा वृद्धिसँगै मानव–बाघ द्वन्द्व बढ्दै

पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । बाघ पाइने मुलुकका सरकार तथा राष्ट्रप्रमुखको सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या एक सय २१ लाई बढाएर दोब्बर पु¥याउने प्रतिबद्धता जनाएको थियो । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा बाघको संख्या तीन सय ५५ पुगेको छ ।

उक्त गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ र बर्दियामा एक सय २५ छन् । त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ बाघ पाइएको विभागको तथ्याङ्क छ । नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणना गर्दै आएको छ । 

नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा एक सय नौ, सन् २००५ मा एक सय २६, सन् २००९ मा एक सय २१, सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा दुई सय ३५ रहेको विभागको तथ्याङ्क छ । नेपालबाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन् । सन् २०१६ को तथ्याङ्कअनुसार विश्वमा सबैभन्दा धेरै भारतमा दुई हजार दुई सय २६ र सबैभन्दा कम लाओसमा दुई बाघ थिए ।

बाघ आक्रमणका ९८ प्रतिशत घटना संरक्षण क्षेत्रमा

नेपालमा बाघको सङ्ख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका छन् । मध्यवर्ती क्षेत्रका मानिस घाँस दाउरा, निगुरो टिप्न र गाईभैँसी चराउन जङ्गल जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् । उनीहरुलाई जङ्गल नजाने वातावरण बनाउन नेपाल सरकारले वैकल्पिक जीविकोपार्जनको उपायको व्यवस्था मिलाउने किसिमका कार्यक्रम पनि गर्दै आए पनि त्यो पर्याप्त छैन ।

वन्यजन्तुले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्ने, बालीनाली, घर, गोठको क्षतिलगायत घटना बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षमा बाघबाट मात्र ५८ जनाको मृत्यु भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७९/८० मा बाघको आक्रमणबाट १२, आव २०७८/७९ मा २१, आव २०७७/७८ मा १३, आव २०७६/७७ मा आठ र आव २०७५/७६ मा चार जनाको मृत्यु भएको थियो ।

विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले मानव–वन्यजन्तु द्वन्द्व रोकथामका लागि जङ्गल वरपरका समुदायलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने बताए । साथै उनले वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्नसके वन्यजन्तु बाहिर ननिस्कने र स्थानीय बासिन्दालाई पनि वैकल्पिक आयको व्यवस्था गर्न सके जीविकोपार्जनका लागि जङ्गल जान बाध्य नहुने अवस्था बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

जिओलोजीकल सोसाइटी अफ लन्डन (जेडएसएल)का राष्ट्रिय प्रतिनिधि डा भगवानराज दाहालले समस्याग्रस्त बाघलाई खोरमा राख्नुमात्र दिगो समाधान नभएको बताए । त्यसको कारणबारे गहिरो अध्ययन गरेर स्वास्थ्य बाघलाई पुनःस्थापना गर्न सकिने बारेमा सोच्नुपर्ने उनको भनाइ छ । उनले बाघलाई आफ्नो बासस्थानमै अडिनका लागि गुणस्तरीय आहारा वृद्धि गर्न पानीका स्रोत र घाँसेमैदान बढाउन लाग्नुपर्नेमा जोड दिए ।

जेडएसएलका राष्ट्रिय प्रतिनिधि डा दाहालले बाघको सङ्ख्याको अनुपातमा हाल संरक्षणको क्षेत्रफल कम नभएको तर्क गर्र्दै बासस्थानको गुणस्तरीयता बढाउनुपर्ने र बाघको सङ्ख्या बढेसँगै निकुञ्ज आसपास क्षेत्रमा प्राकृतिक खोर तथा होल्डिङ सेन्टर बनाएर समस्याग्रस्त बाघको व्यवस्थापन गर्नुपर्ने सुझाए । साथै उनले जङ्गल बाहिर आएका बुढा, रोगी र घाइते बाघको निर्क्योल गरेर मात्रै निगरानी गरेर खोरमा राख्नुपर्ने बताए ।  

प्राकृतिक सम्पदाका रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ । जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्‍याउँछ । खाद्य श्रङ्खलामा बाघ मुख्य सिकारी वन्यजन्तु भएका कारणले अन्य जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान हुन्छ । बाघ स्वास्थ्य र सफा पारिस्थितिकीय प्रणालीको सूचक प्रजाति हो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending