Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

‘मधेशमा जताततै सपेताः पानी बेपत्ता’

खबरडबली संवाददाता

महोत्तरी । मधेसका धेरैजसो ठाउँमा घुर्‍यानदेखि खेतबारीका आलीमा इक्युलिप्टिस वनस्पति लगाइएका देखिन्छन् । करिब चार दशक पहिलेदेखि खोजीखोजी लगाइएको यो वनस्पतिले जग्गा रुखो बनाउने र आसपासमा पानीका स्रोत सुक्न थालेका भन्दै अहिले विरोध गर्न थालिएको छ । 

यो वनस्पतिलाई मधेशमा बोलीचालीमा सपेता, भिक्स र मसाला पनि भनिन्छ । पहिले खोजीखोजी यो वनस्पति लगाउनेहरूले नै अहिले पानीका स्रोत सुक्न थालेको भन्दै विरोध गर्न थालेका हुन् । “बौवा, अई ठाम कइटा भूल छल, जहिया स मसाला रोपाक हुर्कैत गेला एम्भर सब भूल सुखागेल (बाबु, यहाँ कति जरुवा पानीका मूल थिए, रोपिएका मसालाका रुख हुर्कदै गएपछि जरुवाका मूल सबै सुके)”, आफ्नो बस्तीको पुरानो बडहरी जलाधार भएको ठाउँ देखाउँदै महोत्तरीको भङ्गाहा–४  रामनगरका ७० वर्षीय शेष जव्वार भन्छन्, “आब जल्दी यी नइ हटाओल गेल त पियवाला पाइन आब नई भेटत (अब चाँडै यो हटाइएन भने केही दिनपछि खानेपानी भेटिने छैन) । ” जव्वारमात्र होइन यहाँका धेरैले मधेशमा पानीको सङ्कटका धेरै कारणमध्ये एक मसाला पनि रहेको बताउन थालेका छन् । आफ्ना बस्तीका जोकाहा, भुताहा, झिल, टोका, पलारसहितका कैयौँ जरुवा पानीका मूल देख्दादेख्दै सुकेका भङ्गाहा–४ कै ८० वर्षीय चौठी बाँतर बताउँछन् । “पानीका मूल सुक्ने अरु कारण पनि होलान्,  यो पढेलेखेकाहरूले बताउलान् तर एउटा कारणचाहिँ यो मसालाको रुख नै हो”, उनले भने । 

मधेसमा केही दशक पहिले स्थानीयलाई आयआर्जनमा प्रोत्साहित गर्न वनसम्बद्ध निकाय र विभिन्न सङ्घसंस्थाले ‘आइरआइरमें सपेता, गरिबी सब बेपत्ता’ (आलीआलीमा सपेताः गरिबी सबै बेपत्ता) भन्दै यो वनस्पति रोप्ने लहर नै चलेको थियो । सुरूमा विसं २०४० को दशकमा महोत्तरीसहितका चारकोसे झाडीभित्रको पूर्वपश्चिम राजमार्गदेखि दक्षिण भागमा सरकारी निकायले नै साल, कर्मासहितका रुख कटाएर मसाला रोपेपछि यो अमूल्य चिज नै हो भन्ने आममान्छेमा परेको थियो । 

“सरकार आफैँले साखुका रुख ढालेर भिक्स रोप्न लाग्यो, हामीलाई लाग्यो, यो खास चिज हो, देखासिकीले हामीले पनि बिरुवा मगाएर रोप्यौं, आज यही समस्याको कारण बन्यो”, बर्दिबास–१२ बिजलपुराका ७५ वर्षीय रामसुन्दर ठाकुरले भने, “चारैतिरका इनार, पोखरी र जरुवा पानीका मूल सुके । एक समयमा ‘आइरआइरमें सपेता, गरिबी सब बेपत्ता’ भन्ने नारा अब जहाँ सपेता, त्यहाँ पानी बेपता भनेजस्तै भएको छ ।”

चाँडै हलक्क बढ्ने हुँदा काठको माग आपूर्तिमा सहज हुने र त्यतिखेर विद्युत पोल (खाँबा) का लागि पनि उपयोगी हुने अभिप्रायसाथ विदेशबाट झिकाएर रोपण गरिएको थियो । रौतहट, सर्लाही र महोत्तरीसम्म फैलिएको सागरनाथ वन विकास परियोजनाको १३ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये अधिकांश भागमा २०३५ सालदेखि  सरकारले मसाला रोप्न थालेको थियो । त्यही सिको गरेर यसभेगका स्थानीयले घुर्‍यानदेखि खेतबारीसम्म मसाला लगाउन थालेका गौशाला–१० लक्ष्मीनियाँका ७० वर्षीय लक्ष्मीप्रसाद महतो बताउँछन् । कालान्तरमा मसाला वरदान नभएर जमिनमुनिको पानी सोसेर जग्गा मरुभूमि बनाउने अभिशाप बनेको उनको भनाइ छ । 

यस भेगमा अहिले सर्वसाधारणमात्र नभएर स्थानीय तह, सामाजिक सङ्घसंस्था र विज्ञहरू समेत मसालाविरुद्ध जनमत बनाउन र यी रुख हटाएर अन्य बिरुवा रोपण गर्नुपर्ने अभियानमा जोडिएका छन् । धनुषाको धनुषाधाम र मिथिला नगरपालिकाको नगरसभाले त मसाला मास्ने र खाली हुने ठाउँको माटो विज्ञबाट परीक्षण गराइ उपयुक्त बिरुवा रोपण गर्ने औपचारिक निर्णय नै गरिसकेका छन् । 

“जताततै पानीका मुहान सुक्नुमा मसालाको रुख पनि कारण रहेको विज्ञहरुले बताए, त्यसैले पानीको थप सङ्कट बढ्न नदिन मसालाका रुख उखेल्ने निर्णय गरिएको हो । अब माटो परीक्षण गरेरमात्र नयाँ बिरुवा रोपिनेछन्”, मिथिलाका उपप्रमुख सुनितासिंह बुढाथोकीले भनिन् ।

अब स्थानीयको मागअनुसार मसालाका रुख उखेल्न यान्त्रिक उपकरणको बन्दोबस्त गर्ने तयारी गरिएको बुढाथोकीले जानकारी दिइन । मधेसका खोल्साखोल्सी, इनार, पोखरी, तालतलैया र चापाकल सुक्दै गएर पानीको हाहाकार बढेसँगै यहाँ मसालाका रुखबारे बढेको आमधारणासँग विज्ञपनि सहमत छन् । चुरे तथा जलाधार विज्ञ  डा विजयकुमार सिंह दनुवार पानीका मुहान सुक्नुमा विश्वव्यापी जलवायु परिवर्तनलगायत यस्तै मानवसिर्जित समस्या रहेका बताउँछन् । “मानव सिर्जित समस्यामा वन विनास, चुरे क्षेत्रको अनियन्त्रित उत्खनन र जलाधारक्षेत्रको अतिक्रमण मुख्य कारण हुन् । मसाला रुख पनि पानीको स्रोतका मुहान सुक्ने कारण भएको बारे अहिले व्यापक अभिमत बढेको छ”, डा सिंहले भने । यसबारे थप अध्ययन गर्न आवश्यक रहेको डा सिंहको भनाइ छ । 

चुरे तथा जलाधार विज्ञ नागदेव यादवले पनि इक्युलिप्टिस पानीका स्रोत सुक्ने कारणमध्ये एक भएको बताए । एउटा वयस्क इक्युलिप्टिसको रुखले दैनिक ८७ लिटर पानी सोस्ने विज्ञबाट पुष्टि भएको उनले बताए । “पानीका स्रोत सुक्नुका धेरै कारण छन्, यसमध्ये मसालाका रुख मुख्य कारण हुन् । यी रुख जतिसक्यो चाँडो हटाउँदा राम्रै हुन्छ”, उनि भन्छन्,“ मसालाको रुखले जमिनमुनिको पानी निकै सोसेपछि पानीको सतह गहिरिँदै गएर सङ्कट बढेकामा धेरै सत्यता छ । यसले उर्वराशक्ति घट्दै गएर उब्जाउ जग्गा पनि वञ्जड बनेका छन् ।”

अमेरिकाको नेसनल लाइबे्ररी अफ मेडिसिनले मसालाका रुखका  पातमा एसिडको मात्रा हुने हुँदा माटोको उर्बराशक्ति ह्रास हुने र यसले जमिनमुनिको पानी धेरै सोस्ने  निष्कर्ष निकालेको पनि डा यादवले जानकारी दिए । परिस्थितिक तथा जैविक प्रणालीको दृष्टिले यो रुखले अरुको अस्तित्व स्वीकार नगरेको स्पष्ट देखिएको हुँदा  मधेसबाट यो रुखलाई तत्काल विस्थापित गरिनुपर्ने आवाज बलियो बन्दै गएको उनले बताए । “मसालाका रुखमा न चराचुरुङ्गीका गुँड देखिन्छन्, न किरा फट्याङ्ग्रा लाग्छन्”, यादव भन्छन्, “त्यसैले यो सन्तुलित पर्यावरणको बाधक छ ।”

सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घ (युएन) को फुड एण्ड एग्रीकल्चर अर्गनाइजेसनले गरेको अध्ययनमा चार सय मिलिलिटर (एमएल) देखि एक हजार दुई सय एमएलसम्म वार्षिक वर्षा नहुने ठाउँमा यो रुख लगाउन दिन नहुने सुझाव दिइएको यादवले उल्लेख गरे । 

मसालाको रुखले अक्सिजन प्रवाहमा पनि खासै योगदान नदिने विज्ञ बताउँछन् । अष्ट्रेलियाका जलवायु विज्ञ एलन रुटले पनि आफ्नो एक आलेखमा यो रुख पानीका स्रोतका लागि प्रतिकूल हुने उल्लेख गरे । अष्ट्रेलियाको सिमसार र भासिने हिलो भएको ठाँउलाई सुख्खा बनाउन यो रुख लगाइएको उक्त आलेखमा उल्लेख छ । इक्युलिप्टिस अष्ट्रेलियाकै तास्मिनिया टापुमा विकास भएको वनस्पति मानिन्छ । 

अष्ट्रेलिया, ब्राजिल हुँदै संसारका ५० भन्दा बढी देशमा यो रुख लगाइएको विज्ञले बताएका छन् । अष्ट्रेलिया र ब्राजिल दुवै देशका सिमसार क्षेत्रमा यो रुख लगाइएपछि ती ठाउँ सुक्खा भएका जानकारहरू बताउँछन् ।  

नेपाल सरकारका पूर्वसहसचिब रामबहादुर भुजेल विभिन्न अध्ययनले समेत लाभदायी नभएको निष्कर्ष निकालेका रुख मधेशमा ल्याउनु नै गलत भएको भज्न्दै अब यसको विकल्प खोज्न जरुरी रहेको बताउँछन् । “मधेशमा पानीका स्रोत सुकेर निकै समस्या आइसकेको छ । त्यसैमा यहाँ उपयुक्त नहुने रुख रोपेर पानी सङ्कटलाई थप योगदान गर्ने काम भएको छ । अब यसको साटो यहाँको माटो सुहाँदा अन्य वनस्पति र फलफूल रोपणमा जोड दिन आवश्यक छ”, भुजेलले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending