Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

मेषी दण्ड- मातृभाषामाथि दमनको एक इतिहास

खबरडबली संवाददाता

काठमाडौँ । सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला ? आजका दिनमा सायद यो एउटा स्वैरकल्पना मात्र हुनसक्छ । मानव सृष्टिका चरणसँगै आवश्यकताका आधारमा विभिन्न समुदायमा आआफ्नै ढङ्गले भाषाको विकास भएको पाइन्छ । तर यहाँ भाषाको इतिहास र विकासबारे चर्चा गर्न खोजिएको होइन ।

यहाँ त मण्डला नाटकघरमा शनिबारदेखि मञ्चन सुरु भएको नाटक ‘मेषी दण्ड’ (मेखी दण्ड)बारेमा चर्चा गर्न खोजिएको हो । आफूइतरको भाषा नजान्दा समुदायले भागेको समस्या नाटकमार्फत देखाउने प्रयास गरिएको छ ।

किराँत राई समुदायअन्तर्गतको खालिङ राई भाषीमाथि करिब एक सय ५० देखि दुई सय वर्षअघि तत्कालीन शासकहरुले कसरी निर्मम दमन गरे भन्ने नाटकमा देख्न सकिन्छ ।

नेपाली भाषा नजान्दाको घटनालाई मूल विषयवस्तु बनाएर निर्माण गरिएको नाटक हो ‘मेषी दण्ड’ । सोलुखुम्बुको सुदूरउत्तरी गाउँ हालको माप्य दूधकोशी गाउँपालिकाको राप्छा गाउँको कथा हो यो । नाटक सोही गाउँका कवि तथा नाटककार गिलु रातोसले लेख्नुभएको हो । जसलाई कलात्मक ढङ्गबाट निर्देशन गर्नुभएको छ अनिल सुब्बाले ।

लेख्य इतिहास नभए पनि किराँत समुदायको मौखिक इतिहास अर्थात् मिथक जीवित पाइन्छ । पुर्खाहरुका अनुसार सम्भवतः नेपाल–तिब्बत युद्धका बेला हुनुपर्दछ, तत्कालीन श्री ३ सरकारका फौजहरु सोलुखुम्बुको नाङपाला नाका जाने आउने क्रममा राप्छा गाउँमा आइपुगेका थिए ।

खालिङ भाषी समुदायले भरिएको राप्छामा उनीहरुले राज्यको नीति निर्देशनहरु उर्दी गरे । तर, त्यहाँ कोही पनि नेपाली भाषा जान्दैनथे । शासकहरुले जे भने पनि उनीहरुले ‘मेषी माका’ अर्थात् ‘त्यही त हजुर’ भनेर जवाफ फर्काए ।

राणा शासकहरुले मेषी माकाको अर्थ बुझेनन् । नेपाली भाषा बोल्न नजानेको भन्दै उनीहरु रुष्ट भए । त्यसपछि त्यहाँ बसोबास गर्ने खालिङहरुलाई बर्सेनि मेषी दण्ड तिर्नुपर्ने आदेश गरे । सोही समयदेखि राप्छाका खालिङ समुदायले राणाशासन अन्त्य नभएसम्म मेषी दण्डबापत श्री ३ सरकारलाई जरिवाना बुझाइरहे ।

यसरी एउटा आदिवासी जनजाति समुदायमाथि तत्कालीन शासकहरुले भाषाकै कारण कसरी दमन गरे भन्ने विषयलाई करिब डेढ घण्टा लामो नाटकबाट बुझ्न सकिन्छ । नाटक यही साउन २७ गतेसम्म सोमबारबाहेक नियमित मञ्चन हुने मण्डला नाटकघरले जनाएको छ ।

नाटकका मुख्य पात्रका रुपमा खालिङ समुदायका तालुकदार सुजम्बर र उनैले नेपाली भाषा सिक्न अन्यत्रबाट राप्छा ल्याएका सिंहवीर कार्की छन् । नेपाली भाषा बोल्न जाने मेषी दण्ड तिर्नुनपर्ने आशामा भाषा सिक्नकै लागि आफूले आवाद गरेको भूमि सिंहवीर कार्कीलाई सुम्पिएर गाउँको प्रमुख बनाउछन् । कार्की गाउँ प्रमुख भएपछिका सामाजिक द्वन्द्व नाटकमा प्रस्तुत गरिएको छ ।

सिंहवीरले आफूमात्र नभई आफ्ना पण्डित, कपडा सिलाउने दमार्इं, फलाम पिट्ने विश्वकर्मासहित राप्छा पुगेपछि खालिङ राईहरुमा कसरी धार्मिक, सांस्कृतिक हस्तक्षेप र प्रभाव पर्‍यो ? खालिङ समुदायभित्रको एकता कसरी खल्बलियो र सामाजिक विभेदका कस्ता रङहरु देखा परे ? शान्त तलाउ जस्तो आफ्नै लयमा बाँचिरहेको राप्छामा सिंहवीरको प्रवेशसँगै कसरी उथलपुथल सुरु भयो ? भन्ने विषय नाटकमा देख्न सकिन्छ ।

राई समुदायमा पनि फलामको काम गर्ने, कपडा सिउने व्यक्ति हुन्थे । तर, उनीहरुमा कुनै विभेद वा छुवाछुत हुन्न थियो । कतिपयका लागि यस्ता नयाँ जानकारी मेषी दण्डले दिएको छ । नाटकमा कलाकारद्वारा प्रस्तुत खालिङ भाषा र लवज, वेषभूषा, शैलीले नाटकलाई जीवन्त बनाएको छ ।

मुन्दुमी परम्परा, उधौली उभौलीमा नाचिने नृत्य, सङ्गीत र रैथाने जीवनशैलीले जोकोहीलाई स्थानीय परिवेशमा पुर्‍याउँछ । नाटकमा प्रस्तुत कतिपय नृत्य र कथाको संयोजन सामान्य दर्शकले सजिलै बुझ्न सक्दैनन् । साकेला सिलीमा राई मात्र नभएर अन्य खस जातिजस्ता देखिने अनुहार भएकाले दर्शकलाई थोरै अस्वाभाविक लाग्नसक्छ । सिंहवीर कार्कीका नाति र शिरिषलालका नातिनीबीचको प्रेम सम्बन्ध अचानक देखाइँदा कथाको सिलसिला थोरै नमिले जस्तो अनुभव दर्शकले गर्न सक्छन् ।

पात्रका रुपमा सुजम्बरको श्रीमतीको अभिनय गर्नुभएकी जुनमफूल (प्रतिना राई)ले दर्शकको ध्यान खिच्न सफल हुनुभएको छ । प्रयुक्त रङ, प्रकाश, स्थान, तत्कालिक समुदायको भावभङ्गिमाले नाटकको मूल कथालाई न्याय गरेको छ । लेखक गिलु रातोसको पहिलो नाटक लेखन भए पनि नाटककारका रुपमा रातोस् परिपक्व देखिनुभएको छ । नाटकको वास्तविक स्वाद लिन एकपटक मण्डला पुग्नैपर्ने हुन्छ ।

त्यसो त इतिहासमा संसारभर आदिवासी समुदायमाथि अनेकन् दमन भएका छन् । दमनका विविध रुप छन् । आदिवासीमाथि शासकहरुले भाषा, संस्कृति, धर्म, जात, वर्णमाथि प्रहार गर्दा आदिवासीको अस्तित्व क्षत्विक्षत हुँदै आएको छ ।

नेपालमा विसं १९१० को मुलुकी ऐनमा तामाङ जातिलाई मासिन्याको रुपमा उल्लेख गर्नु नेपालका लागि एउटा जबर्जस्त उदाहरण छँदैछ । सोही ऐनले गाईगोरु बधलाई निषेध गर्नु आदिवासीका प्राचीन धर्ममाथिको प्रहार थियो ।

भाषामाथिको दमनविरुद्ध काठमाडौँ उपत्यकाका नेवार समुदायहरुले लामो समयदेखि विद्रोह गर्दै आएको इतिहास छ । शाहवंशको आगमनपछि काठमाडौँ उपत्यकामा गोर्खाली भाषा अदालतको भाषा बन्यो । नेपाल भाषा (नेवारी)लाई प्रशासनको भाषाका रूपमा प्रतिस्थापित गरियो । शाह वंशीय राजाले दमनकारी नीति अवलम्बन गरे ।

नेपाल भाषीले राणा वंश (१८४६-१९५१ इस्वी) को दमनकारी नीतिअन्तर्गत भारी पीडा भोगे । सन् १९०६ मा नेपाल भाषामा लेखिएका कानूनी कागजातहरू लागू गर्न नसकिने घोषित गरियो । यो भाषामा कुनै पनि प्रमाण अवैध घोषित गरियो । शासकहरूले नेवारी साहित्य प्रतिबन्ध लगाए र लेखकहरूलाई जेल पठाइयो । सन् १९४४ मा नेपाल भाषामा लेख्ने लेखकहरुलाई देशबाट निष्कासित गरियो ।

मातृभाषामाथिको दमनको एउटा उदाहरण हो यो । विसं २००७ सालमा प्रजातन्त्र स्थापनापछि रेडियो नेपालमा नेपाल भाषाको समाचार र कार्यक्रम प्रसारण हुन्थ्यो । पञ्चायतसँगै रेडियो नेपालबाट उक्त भाषाको समाचार र कार्यक्रम दुवै हटाइयो ।

उपत्यकाका नेपाल भाषीहरुले विभिन्न चरणमा आन्दोलन गरे । सोही आक्रोशले विसं २०४६ सालको जनआन्दोलन सफलता प्राप्तिमा नेवार समुदायको भूमिका अह्म रह्यो । यसरी भाषाकै कारण भएका दमनहरुको शृङ्खलामा खालिङहरुमाथि भएको दमनलाई मेषी दण्डले नाटकका माध्यमबाट अभिलेखित गरेको छ ।

पछिल्ला वर्षमा आदिवासी तथा पिछडिएका समुदायको पहिचानसँग जोडिएका विविध आन्दोलन राजनीतिकभन्दा बढी कलाका माध्यमबाट तुलनात्मक रुपमा सशक्त देखिएका छन् । मण्डलामै मञ्चन भएका पछिल्ला नाटकहरु बाखाम्मा, खुवालुङ त्यसका उदाहरण हुन् । मेषी दण्ड त्यही आन्दोलनको एउटा निरन्तरता हो ।

यस नाटकमा रमिता राई, सौजन लिम्बू, प्रतिना राई, मणि के राई, अरुण पौडेल, पूर्णबहादुर गन्दर्भ, जय ढकाल, प्रशंसा गुरुङ, सलिना भुजेल, शायोक मुकारुङ, संजिप योगी, अमर बुढाथोकी, रमिता राई, सञ्जय विश्वकर्मा, लहना राई, जंजीत थुलुङ राई, अजय लामा, प्रविण मगरलगायतले अभिनय गरेका छन् ।

नाटकको अन्त्यमा कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको आफ्नै स्वरमा वाचित कविताले नाटक‍लाई थप सशक्त बनाएको छ । राईको कविताको एउटा अंशले भन्छ..

ओ आगन्तुक
युगौँदेखि बोकिरहेछु
मैले आफ्नो शरीरमाथि
तिम्रो जुत्ताको डाम
भोगिरहेछु तिम्रो दण्ड विधान
लामो निन्द्रापछि बल्ल म ब्युँतिएको छु
सम्झ अब म ब्युँतिएपछि
सुरु हुनेछ अर्को कथा….

रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस विशेष महाधिवेशनः प्रतिवेदनमाथि छलफल जारी, नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...

कांग्रेसमा सहमतिको प्रयास- संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच वार्ता जारी

विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने

नेकपाका केन्द्रीय सदस्यहरूको शपथ आज, परिचयपत्र लिन एक हजार बुझाउनुपर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...

तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बन्यो वीरेन्द्रको व्यवसाय

बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...

कांग्रेस विभाजन रोक्ने प्रयास- संस्थापन र शेखरले पनि बनाए वार्ता समिति, आजै निर्णायक छलफल हुँदै

काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...

कांग्रेस जोगाउने मध्यमार्गी प्रस्ताव: नीति गगन–विश्वप्रकाशको, नेतृत्व देउवानिकटको

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...

झापा–५ मा बालेन्द्र शाहको सम्भावित उम्मेदवारीबारे स्थानीय युवा नेताहरू के भन्छन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...

विशेष महाधिवेशन पक्षधरले अडान नछाडेपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

 काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending