Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

मनसुन सुखद रहँदा धान रोपाइँमा वृद्धि, शतप्रतिशत रोपाइँ हुने अपेक्षा

खबरडबली संवाददाता

काठमाडौँ । सुखद मनसुन रहँदा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान  रोपाइँ विस्तार भएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार हालसम्म मुलुकभर ९२ दशमलव ४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । 

जबकि गत वर्ष यही अवधिसम्म जम्मा ७८ दशमलव १ प्रतिशत रोपाइँसम्म भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका अनुसार यस वर्ष १२ लाख ९२ हजार दुई सय २१ दशमलव ६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । मुलुकभर धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ९८ हजार दुई सय ७३ रहेको छ । 

यस वर्ष कोशी प्रदेशमा ९० दशमलव ७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कोशीमा दुई लाख ५० हजार ६ सय २४ दशमलव ७७ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । कोशी प्रदेशमा दुई लाख ७६ हजार ३ सय ८६ दशमलव ७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने मन्त्रालयको तथ्याङ्क रहेको छ । यस प्रदेशमा गत वर्ष ८३ दशमलव ३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको थियो । 

मधेस प्रदेशमा गत वर्ष ५८ दशमलव ८ प्रतिशत मात्रै रोपाइँ भएकामा यस वर्ष हालसम्म ९२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । बागमती प्रदेशमा पनि रोपाइँको अवस्था बढेको तथ्याङ्कले देखाएको छ । यस प्रदेशमा अघिल्लो वर्ष ८० दशमलव १ प्रतिशत रोपाइँ भएकामा यस वर्ष बढेर ९० दशमलव ८ प्रतिशत पुगेको छ । गण्डकी प्रदेशमा गत वर्ष ८२ दशमलव ३ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९१ दशमलव ९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । लुम्बिनी प्रदेशमा गत वर्ष ८० दशमलव ९ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९१ दशमलव ३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । 

यसैगरी कर्णाली प्रदेशमा गत वर्ष ८५ प्रतिशत मात्रै रोपाइँ भएकामा यस वर्ष ९६ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सुदूरपश्चिममा गत वर्ष यही अवधिमा ९९ दशमलव २ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९९ दशमलव ३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

असार मसान्तसम्मको तथ्याङ्क हेर्दा ६८ दशमलव ६ प्रतिशतमा रोपाइँ भएको थियो । यो भनेको जम्मा नौ लाख ५९ हजार ७४६ दशमलव ०२ हेक्टरमा रोपाइँ सम्पन्न भएको थियो । तर रोपाइँको अवस्था बढेर आजसम्म १२ लाख ९२ हजार दुई सय २१ दशमलव ६ हेक्टर क्षेत्रफलमा रोपाइ सम्पन्न भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदिश्वर कर्माचार्यले मनसुन यता अहिलेसम्म औसतभन्दा बढी पानी परेको जानकारी दिए । “आजिसम्म ५८ दशमलव ६ प्रतिशत अर्थात् देशभर औसतमा आठ सय ६७ मिलिमिटर पानी परेको छ”, उनले भने, “कतिपय स्थानमा कम पानी र कतै बढी पानी परेको छ । उदाहरणका लागि विराटनगरमा झन्डै शतप्रतिशत पानी परेको छ भने दिपायल र डोटीमा ९० प्रतिशत वर्षा भएको छ । यसैगरी सिमरामा भने जम्मा ३३ प्रतिशत वर्षा भएको छ ।”

कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकैभरमा सम्पन्न हुने गरेका छन् । सबै क्षेत्रमा सिँचाइको पहुँच पुग्न नसक्दा ५० प्रतिशतभन्दा बढी रोपाइँ आकाशबाट पर्ने पानीकै भरमा सम्पन्न हुने गरेको छ । जसले गर्दा अधिकांश किसानले आकाशबाट कहिले पानी पर्ला भनेर कुर्नुपर्ने अवस्था रहेको छ ।

कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष राम्रो वर्षा हुँदा गत वर्षको तुलनामा धान रोपाइँ राम्रो भएको जानकारी दिए । “गत वर्षको तुलनामा यस वर्ष राम्रो वर्षा भएकाले रोपाइँ विस्तार भएको छ, यस वर्ष शतप्रतिशत नै रोपाइँ हुने अपेक्षा छ”, उनले भने, “समयमा नै रोपाइँ हुँदा यस वर्ष धान उत्पादनमा पनि वृद्धि हुनेछ ।”

अधिकांश स्थानमा रोपाइँ गर्न आकाशे पानीकै भरपर्नुपर्ने अवस्था रहेको र वर्षा राम्रो भए रोपाइँ पनि समयमा नै सकिने जोशीले जानकारी दिए । “अधिकांश सिँचाइ सुविधा पुगेका क्षेत्रमा मात्रै धान रोपाइँ समय नै हुने गर्छ, नत्र आकाशे पानीकै भर पर्नुपर्छ”, उनले भने । 

सूचना अधिकारी जोशीका अनुसार तथ्याङ्कअनुसार सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिममा भएको छ भने कम रोपाइँ मधेस प्रदेशमा भएको देखिन्छ । पूर्वक्षेत्रमा ढिलोगरी धान राप्ने भएकाले पनि रोपाइँ कम भएको देखिन्छ । सबै प्रदेशमा नै अघिल्लो वर्षको तुलनामा यो वर्ष बढी रोपाइँ भएको छ । सुदूरपश्चिममा सबैभन्दा चाँडो रोपाइँ सुरु गर्ने भएर पनि अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा बढी रोपाइँ भएको जोशीको भनाइ छ । 

“मुलुकको सबै क्षेत्रमा सिँचाइ सुविधा नै पुग्न सकिरहेको छैन तसर्थ कृषि मन्त्रालयले सिँचाइ कुलो विस्तार गरेर धान रोपाइँलाई प्रवर्द्धन गरिने योजना छ”, जोशीले भने, “कहिले खडेरीले धानको बीउ सुक्ने, कहिले पानी नपर्दा धानले सिँचाइ नपाउनेजस्ता समस्याका कारण धान उत्पादन वृद्धिमा समस्या आउने गर्छ ।”

राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा मथुरा यादवले राम्रो वर्षा हुँदा र समयमा नै धान रोपाइँ सम्पन्न भएमा धानको उत्पादनमा पनि वृद्धि हुने बताए । “धान उत्पादन बढाउन समयमा नै रोपाइँ सम्पन्न गर्नुपर्छ, रोपाइँ सम्पन्न भएपछि पनि समयसमयमा धानले सिँचाइ पाउनुपर्छ”, उनले भने, “तर नेपालको अधिकांश स्थानमा आकाशकै पानीको भरमा सिञ्चित गर्नुपर्ने अवस्था छ, आवश्यक परेका बेलामा वर्षा भएन भने त धानको उत्पादन पनि त बढ्दैन ।”

डा यादवले धानको आयात प्रतिस्थापन गरेर कृषिबाटै मुलुकको समृद्धि हासिल गर्न सम्भव रहेकोसमेत बताए । “हामी धान चामल आयात गरिरहेका छाँै, तर अब कसरी आयात प्रतिस्थापन गर्ने भन्नेतर्फ ध्यान जान जरुरी छ”, उनले भने, “यसका लागि सिँचाइ सुविधामा वृद्धि हुनुपर्छ, किसानलाई प्रशिक्षण, गुणस्तरीय बीउ उत्पादन तथा किसानले समयमा नै मल पाउनुपर्छ ।”

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा ८८ करोड ६५ लाख मूल्य बराबरको धानको बीउ आयात भएको छ । यसैगरी करिब ११ अर्ब ५५ करोड मूल्य बराबरको धान आयात भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस अवधिमा ८ अर्ब ६९ करोड मूल्य बराबरको चामल आयात भएको छ । करिब ९ लाख २० हजार मूल्य बराबरको कनिका आयात भएको छ ।  

जलस्रोत तथा सिँचाइ विभागको तथ्याङ्कअनुसार करिब २५ लाख ३० हजार हेक्टर सिँचाइयोग्य जमिनमध्ये हालसम्म करिब १५ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने गरी सिँचाइको संरचना निर्माण गरिएको छ । तर  करिब एक तिहाइ भूमिमा मात्र वर्षेभरि सिँचाइ सुविधा उपलब्ध हुन सकेको विभाद्वारा चैत २०८० मा प्रकाशित जलस्रोत तथा सिँचाइ वार्षिक पुस्तिकामा उल्लेख छ । 

“हाल ठुला बहुउद्देश्यीय अन्तर–जलाधार जल–पथान्तरणका केही आयोजना निर्माणका क्रममा रहेका छन् भने केही निर्माणको तयारीका क्रममा रहेका छन् । करिब ५० प्रतिशत सिञ्चित कृषिक्षेत्र किसानद्वारा व्यवस्थित सिँचाइ प्रणालीमा रहेका छन्”, पुस्तकमा उल्लेख छ, “निर्माण सम्पन्न भइसकेका साना आयोजना जलउपभोक्तालाई हस्तान्तरण गर्ने नीतिबमोजिम सम्बन्धित जनउपभोक्तालाई हस्तान्तरण गरिसकिएका छन् र सम्बद्ध संस्थाबाट सञ्चालन भइरहेका  छन् । मझौला तथा ठुला सिँचाइ आयोजना भने सरकार तथा जलउपभोक्ता संस्थाहरूको संयुक्त संयुक्त व्यवस्थापनको अवधारणाअनुरूप सञ्चालनमा रहेका छन् ।”

धान उत्पादनको अवस्था 

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार गत आवमा धानको कूल उत्पादन गत आबभन्दा चार दशमलव ३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन पुगेको  थियो । जुन विगत चार वर्षको औसत उत्पादनको तुलनामा पाँच दशमलव ०८ प्रतिशतले बढी हो । 

कूल धानबाली भित्र्याइएको क्षेत्रफल आव २०७९/८० को तुलनामा शून्य दशमलव ६१ अर्थात् आठ हजार आठ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार ९ सय ८९ हेक्टर कायम हुन पुगेको छ । यो क्षेत्रफल अघिल्लो चार आव को औसत क्षेत्रफलको तुलनामा एक दशमलव ७३ प्रतिशतले कम हो । धानबालीको औसत उत्पादकत्व गत आवको तुलनामा चार दशमलव ९७ प्रतिशतले वृद्धि भई तीन दशमलव ९८ मेट्रिकटन प्रतिहेक्टर पुगेको छ जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा छ दशमलव ९२ प्रतिशतले बढी हो ।

गत आवमा धानको उत्पादन कोशी प्रदेशमा उच्च रहेको छ भने कर्णाली प्रदेशमा न्यून रहेको छ । गत आवमा उत्पादकत्वतर्फ कोशी प्रदेश चार दशमलव ४३ मे टनप्रति हेक्टरसहित अग्र स्थानमा रहेको छ भने मधेस प्रदेश तीन दशमलव ४९ मेट्रिक प्रतिहेक्टर सीमित भई न्यून स्थानमा रहन पुग्यो । मुख्य धानको तुलनामा विगतका आवमा जस्तै चैते धानको उत्पादकत्व उच्च कायम रहेको छ । 

गत आवमा धान उत्पादन वृद्धि हुनुमा बीउको उपलब्धता र प्रयोग रोग कीराको प्रकोपमा कमी बाढीपहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरमा कमी मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकूलतालाई लिइएको छ । मधेस प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएका कारणले समग्र मधेस प्रदेशको उत्पादन र उत्पादकत्वमा गत आवको तुलनामा ह्रास आएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

म्याग्दी ।  यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीब...

बीमा बोर्ड भन्यो- बीमा सेवा दिन आनाकानी गरिए कारबाही हुन्छ

काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर...

अध्यक्ष ओली पक्राउको विरोध प्रदर्शनमा न्यून सहभागिता भएपछि एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको हो । बैठकमा अध्यक्ष केपी...

पूर्णबहादुरको आह्वानमा देउवा समूहको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । निवर्तमान कार्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending