काठमाडौं । बिहीवार राति बेइरुतमा इजरेली हमला हुँदा झन्डै १५ वर्षदेखि लेबननमा काम गरिरहेकी कास्कीकी सरु गुरुङलाई आफू बसेको घरमा बम खसेको जस्तो लाग्यो।
बेइरुतबाट उनले बीबीसीसँग कुरा गर्दै भनिन्, “एकदमै ठूलो आवाज आयो। मैले हामी बसेकै क्षेत्रमा, हाम्रो घरमा नै आक्रमण भएछ भन्ने ठानेँ। अब मर्ने नै भइयो भनेर हात खुट्टा लगलग काँपिरहेको थियो। पाँच सात मिनेटसम्म घर नै हल्लिरहेको जस्तो लाग्यो। मुटु पनि ढुकढुक भइरहेको थियो।”
मध्यरात आसपास बेइरुतको दक्षिणमा पर्ने दहिया क्षेत्रमा शृङ्खलाबद्ध विस्फोटन हुँदा उनी सुत्नलाग्दै थिइन्। विस्फोटन केही रोकिए लगत्तै समाचार हेरेको बताउने उनले त्यसपछि मात्रै केही राहतको सास फेरेकी थिइन्।
उनी भन्छिन्, “डर त्रास जति भए पनि केही भइहाल्यो भने मरिने नै हो। सास हुन्जेल आशा हुन्छ। कहाँ रहेछ, के रहेछ भनेर समाचार हेर्न थालेँ। केही भइहालेको रहेछ भने तुरुन्तै गाडी बोलाएर बाहिर गइहाल्नुपर्यो भन्ने पनि महसुस गरेँ। पहिलाकै ठाउँतिर पड्काएको रहेछ भन्ने समाचारमा देखाएपछि अलिकति ढुक्क भयो।”
खल्बलिएको दैनिकी
हिज्बुल्लाहका निशानाहरूलाई लक्षित गर्दै इजरेलले बेइरुतमाथि आक्रमण गरेपछि लेबननमा वैदेशिक रोजगारीमा गएका सिता गुरुङलगायत कैयौँको दैनिकी प्रत्यक्ष रूपमा नै खल्बलिएको छ।
अघिल्लो साता इजरेली सैन्य कारबाहीमा हिज्बुल्लाहका सैन्य कमान्डर हसन नस्रल्लाह मारिएका थिए।
उक्त आक्रमण गरिएको साँझ सरु बेरुतको उत्तर पूर्वमा पर्ने दोरा क्षेत्रमा रहेको आफ्नो कोठामा नै थिइन्।
उनी भन्छिन्, “त्यत्ति बेला शायद साढे ६ बजेतिर आक्रमण भयो। त्यो बेला म भान्सामा खाना बनाइरहेकी थिएँ। एकदमै ठूलो आवाज आयो। घर नै हल्लियो। के गर्ने कता जाने सोच्न पनि सकिएन।”
इजरेलले लेबननमा सिया मुलमानहरूको प्रभाव रहेको क्षेत्रमा जसमा हिज्बुल्लाहको प्रभाव रहेको ठानिन्छ त्यसलाई प्रमुख निशाना बनाइरहेको छ।
तर आफूजस्ता धेरै कामदारहरू इसाई बहुल क्षेत्रमा बस्ने गरेकाले ‘डर र त्रास’मा बसे पनि जोखिममा भने नपरेको गुरुङजस्ता कामदारहरू ठान्छन्।
उनले भनिन्, “हामी बसेको ठाउँबाट बम खसिरहेको ठाउँमा २०-२५ मिनेटमा पुग्न सकिन्छ। हाम्रोले थोरै उत्तर र थोरै दक्षिण क्षेत्र भेट्छ। इसाई क्षेत्र भएकाले सुरक्षित नै छ। तर पछि के हुन्छ थाहा छैन्।”
सरुका अनुसार उनी र उनकी अर्की एक साथी काममा जान छाडेको लगभग दुई हप्ता पुग्यो। कार्यालयहरू बन्द रहेका छन्। यो बीचमा सुरक्षाको कारण देखाउँदै अन्य चार जना साथीहरू पनि उनीहरूसँगै आएर बसेका छन्।
सरुले थपिन्, “कार्यालय बन्द भएकाले बाहिरफेर पनि निस्किरहेका छैनौँ। दिउसोचाहिँ एक दुई चोटि बम पड्केको आवाज सुनिन्छ। तर रात भर बम पडकिन्छ। सुत्नै पाइँदैन।”
नेपाली अधिकारीहरू के भन्छन्?
बेइरुतमा निरन्तर भएका हवाई आक्रमणपछि त्यहाँ सुरक्षा जोखिम बढेको छ र लेबननको यात्रा नगर्न संयुक्त राज्य अमेरिकासहित कयौँ देशहरूले ट्राभल एडभाइजरी जारी गरेका छन्। कतिपय पश्चिमा देशहरूले आफ्ना नागरिकहरूको उद्धार अघि बढाएका छन्।
लेबनन पनि हेर्ने इजिप्टस्थित नेपाली राजदूत सुशील लम्सालले लेबननमा रहेका धेरै नेपालीहरूले पछिल्लो द्वन्द्वले आफूहरूलाई खासै प्रभाव नपारिरहेको धारणा राख्ने गरेको बताउँछन्।
उनले भने, “इजरेली सेना र हिज्बुल्लाहबीचको द्वन्द्व सीया बहुल क्षेत्रमा दक्षिणी लेबननमा छ। बेइरुतमा पनि छ। नेपालीहरू इसाई र सुन्नी मुसलमानहरू भएको क्षेत्रमा बढी रहेकाले त्यत्ति धेरै असर परेको छैन भन्ने कुरा उहाँहरूको छ।”
तर आफूहरूले लेबननको अवस्थालाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै उनले केही नेपालीहरूले बेइरुतबाट फर्कन टिकट काटेको भएपनि विमानस्थलबाट उडान ज्यादै न्यून भइरहेको हुँदा उक्त योजना प्रभावित हुनसक्ने जनाए।
उनले अहिलेको अवस्था हेर्दा लेबननबाट नेपालीहरूको तत्कालै उद्धार गर्नुपर्ने अवस्था नदेखिएको जनाए। “तर आवश्यकता परेमा हामीले त्यो व्यवस्था गर्नुपर्छ। हामी गर्छौँ।”
इजिप्टस्थित नेपाली राजदूतावासका अनुसार लेबननमा झन्डै १२ सय नेपाली कार्यरत छन् जसमध्ये अधिकांश घरेलु कामदारका रूपमा काम गर्ने गर्छन्। अन्य कतिपय उद्योग, रेस्टुराँ लगायतका क्षेत्रमा पनि काम गर्छन्।
यसै हप्ता नेपालको परराष्ट्र मन्त्रालयले लेबननमा विकसित घटनाक्रमका कारण नेपाली नागरिकको सुरक्षा र हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्ण रूपमा सचेत रहेको भन्दै त्यहाँ रहेका सबै नेपाली सुरक्षित रहेको जनाएको थियो।
परराष्ट्र मन्त्रालयले मन्त्रालयले नेपालीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाउँदै अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरेको थियो।
मन्त्रालयले लेबननमा रहेका नेपाली र तीनका आफन्तका लागि सहयोग एवं जानकारी उपलब्ध गराउने उद्देश्यले टेलिफोन नम्बरहरू सार्वजनिक गरेपनि त्यसमा एकाध व्यक्तिहरूले मात्रै सम्पर्क गरेको अधिकारीहरू बताउँछन्।
राजदूत लम्सालले द्वन्द्वको पृष्ठभूमि र आफ्ना लागि उपयुक्त हुने कदमबारे केही व्यक्तिहरूले सोधपुछ गरेको जानकारी दिए।
नेपालीहरूका अपेक्षा के छन्?
सरुले नेपालस्थित परिवारका सदस्यहरूसँग निरन्तर कुरा गरिरहेको जनाउँदै आफन्तहरूले घर फर्कन भन्ने गरेको उल्लेख गरिन्।
त्यसको जबाफमा उनले चाहिँ काम राम्रो रहेको, फर्किएको अवस्थामा फेरि उक्त देश जान पाइने या नपाइने अन्योल रहेको र आफूहरू बसेको ठाउँ सुरक्षित नै रहेको जस्ता जबाफ दिने गरेकी छन्।
उनले भनिन्, “देशलाई होइन यहाँको एउटा समूहलाई निशाना बनाएको हो भनेर मानिसहरूले भनिरहेका छन्। सबै जना बस्नु भइरहेको छ। त्यही भएर बसौँ न त भन्ने पनि हुन्छ। तर अन्योल पनि भइरहेको छ। छाडेर गएपछि फेरि अर्को ठाउँमा जानु पर्यो, पैसा लाग्छ, समय लाग्छ। यस्तै कारणले हामीले यो ठाउँ छाड्न सकेका छैनौँ।”
उनले आफूहरू नेपाली सरकारी निकाय र आप्रवासीसम्बद्ध सङ्घ संस्थाहरूको पनि सम्पर्कमा रहेको जनाइन्।
उनका अनुसार आपत्कालीन उद्धार चाहिएको खण्डमा नेपाल सरकारले त्यसका लागि पहल गर्ने अपेक्षा आफूहरूले गरेको पनि सुनाइन्।
उनी भन्छिन्, “हामी एक दुई जनाले डरलाग्दो छैन भनेर हुँदैन। कतिपय साथीहरू डराइरहनुभएको होला। आज भोलि नै घर जान पाए हुन्थ्यो भएको होला, सरकारले त्यस्तो घर जान चाहनेहरूलाई उद्धार गरिदिए हुन्थ्यो।”
शान्ति सैनिकहरूको अवस्था के छ?
लेबननस्थित राष्ट्रसङ्घीय मिसनमा ८७७ नेपाली शान्ति सैनिक कार्यरत रहेका छन्। उनीहरूमध्ये धेरै जना बङ्करमा बस्न बाध्य भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बीबीसीलाई बताए।
उनले भने, “यूनिफिलतर्फका शान्ति सैनिकहरू हिजो (बिहीवार) झन्डै २१ घण्टासम्म निरन्तर बङ्करमा नै बस्नुपर्यो। संयुक्त राष्ट्रसङ्घले सुरक्षा जोखिमको तह ३ मा पुर्याएको थियो। त्यसपछि हिँडडुल लगायत सबै बाह्य गतिविधि बन्द रहेको छ।”
शान्ति सैनिकहरू तैनाथ रहेको क्षेत्रमा जोखिम बढेको खण्डमा उनीहरूलाई सुरक्षित तुल्याउन चाल्ने कदमबारे संयुक्त राष्ट्रसङ्घले निर्णय लिने नेपाली सेनाका प्रवक्ताले बताए।
उक्त क्षेत्र नजिकै सिरियासँगको सिमानामा पनि अनडोफ भनिने राष्ट्रसङ्घीय मिसन अन्तर्गत ४५० भन्दा बढी नेपाली शान्ति सैनिक कार्यरत छन्।
यूनिफिलका प्रवक्ता अन्ड्रेया टेनेन्टीले बीबीसीसँग कुरा गर्दै शान्ति सैनिकको सुरक्षा उच्च महत्वको विषय रहेको बताए।
उनी भन्छन्, “अहिलेको क्षणमा नेपाली शान्ति सैनिकहरू सुरक्षित छन्। उनीहरू ब्लू लाइन (इजरेल र लेबननलाई छुट्याउने काल्पनिक सीमा रेखा)मा तैनाथ छन्। दक्षिण लेबननको तनाव कम गर्न सघाउन उनीहरू अझै पनि प्रतिबद्ध रहेका छन्। उनीहरूको र अन्य सबै कन्टीन्जेन्टहरूको अनुगमन क्षमता ज्यादै सीमित भएको छ।”
उनले हाल शिविरभित्र रहेका शान्ति सैनिकको सुरक्षा उच्च महत्त्वको रहेको जनाए।
उनी थप्छन्, “यदि हिंसा चुलियो र मिसनलाई प्रस्ताव नम्बर १७०१ अनुसार आफ्नो म्यान्डेट पूरा गर्न सम्भव भएन भने के गर्ने भनेर सुरक्षा परिषद्ले छलफल गरेर निर्णय लिनुपर्ने हुन्छ।”
१२ महिनादेखि निरन्तर गोलाबारी भइरहेको क्षेत्रको अनुगमन गर्न र त्यहाँ अन्तर्राष्ट्रिय उपस्थिति जनाउन आफूहरूले बस्ने निर्णय लिएको उनले सुनाए।
उनी भन्छन्, “शान्ति सैनिकहरू त्यहाँबाट फिर्ता गर्ने कुरा सधैँ एउटा विकल्प रहने गर्छ। हामीसँग सबै आकस्मिक सुरक्षाका विकल्पहरू छन्। तर मैलै भनिसकेँ, मिसनले आफ्नो क्षेत्राधिकार भएको ठाउँमा काम गर्न सम्भव नै नहुने बिन्दुमा पुगेपछिको अवस्थामा त्यसबारे विचार गरिनेछ।"
इजरेलले दक्षिण लेबननका विभिन्न ठाउँमा आक्रमण गरिरहँदा हिज्बुल्लाह र इरानले पनि इजरेलमाथि हमलाहरू गरेका छन्।
यसै साता इरानले इजरेलतर्फ झन्डै १८० वटा क्षेप्यास्त्र प्रहार गरेको थियो जसमध्ये अधिकांशलाई इजरेली हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरिदिएको इजरेली अधिकारीहरूले बताएका थिए।
गएको अक्टोबरमा इजरेलमाथि हमास समूहले आक्रमण गरेयता उक्त मुलुक नेपाली कामदारका लागि सुरक्षित श्रम गन्तव्य नरहेको आवाज उठ्ने गरेको छ।
त्यसको ठ्याक्कै एक वर्ष पुग्न लाग्दा लेबननमा रहेका नेपालीहरूको सुरक्षाबारे पनि त्यस्तै चिन्ताहरू व्यक्त भइरहेका छन्।
तत्काल सुरक्षित रहेको भएपनि भविष्यलाई लिएर लेबननमा रहेका सरुजस्ता अन्य नेपाली श्रमिकहरू अन्योलमा रहेको बुझ्न सकिन्छ।
“हामी आफैँले तीजको अनि दशैँको कार्यक्रमहरू समेत गर्ने गर्थ्यौँ। तर अब यस्तो डर र त्रासको स्थितिमा नगर्ने भन्ने कुरा यो पाली छ। आआफ्नो घरमा बसेर नै हामीले आफ्नो महान् चाड यो पाली मनाउने कि भन्ने सोचिरहेका छौँ।” बीबीसी
प्रतिकृया लेख्नुहोस्: