कालीकोट । साबिको कर्णालीका जिल्लामा विद्युत आपुर्ति गर्न समस्या भएको छ । सदुरपश्चिमबाट कर्णालीका कालीकोट, जुम्ला मुगुका लागि आपुर्ति गर्ने भनेको विद्युत लाइन विस्तारमा स्थानीयले अवरोध गरेपछि समस्या भएको हो ।
अछामको कमलबजारदेखि दैलेखको साइखोलासम्म ९ किलोमिटर दूरीको ३३ केभी प्रसारण लाइन विस्तारमा स्थानीयले अवरोध गर्दा कर्णालीका तीन जिल्लाको विद्युत विस्तार योजना केही ढिलो हुने भएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका ४ टोड्केसालका स्थानीयले आफ्नो खेतमा पोल गाडेर बिजुलीको लाइन तान्ने हो भने आफूहरूलाई बिजुली उपलब्ध गराउनुपर्ने माग राख्दै अवरोध गरेको बताएका छन् । आफ्नो घर खेत हुँदै लाइन लैजाँदा पनि बत्ती बाल्न नपाउने भएपछि काममा अवरोध गरिएको स्थानीय छत्रबहादुर विष्टले बताए।
'खेतबाट पोल गाडेर बिजुली लाइन लैजाने तर हामी नै अँध्यारोमा बस्नुपर्ने यस्तो अन्याय सहन सकिँदैनू, बिस्टले भने, ूहाम्रो गाउँलाई बत्ती नदिएसम्म लाइन तान्न दिँदैनौं ।' पञ्चदेवल विनायक नगरपालिका वडा नं ३ बेल्खेत सयन गाउँका ५३ र वडा नं ४ टोड्केसालका ९३ गरी १ सय ४६ घरधुरी अँध्यारोमा छन् ।
कमलबजार प्रसारण लाइनबाट बिजुली उपलब्ध गराउने आश्वासन एक वर्षदेखि पूरा नगरेकाले बाध्य भएर आफ्नो खेतबारीबाट कालीकोट जुम्ला जाने विद्युत् लाइन रोकेको स्थानीयको भनाइ छ । स्थानीयको अवरोधपछि विद्युत् वितरण केन्द्र कालीकोट, अछाम र दैलेखका प्रमुखसहितले टोड्केसाल र सयन गाउँलाई विद्युत् दिने प्रतिबद्धता भने गरेका छन् । कोहलपुर–सुर्खेत–दैलेख हुँदै कालीकोट, जुम्ला र मुगुसम्म पुगेको राष्ट्रिय प्रसारण लाइनको भोल्टेज नपुगेर विद्युतीकरण भएका कालीकोट, जुम्ला र मुगुका १९ हजार घरधुरी अँध्यारोमा बस्न बाध्य छन् ।
'बिजुली जडान भएको छ भन्ने मात्र छ । चाहिएका बेला बत्ती नै हुँदैनू, कालीकोटको खाँडाचक्र नगरपालिका वडा नं ३ का तुलाराज पाण्डेले गुनासो गर्नुभयो । बेलुकी बिजुली आवश्यक पर्ने बेलामा भोल्टेज नपुगेर अँध्यारो हुने गरेको छ ।
बाँकेको कोहलपुरबाट सुर्खेत हुँदै दैलेखबाट आएको राष्ट्रिय प्रसारण लाइनको भोल्टेज कम भएकाले जाडो सिजनमा बत्ती नपुग्ने समस्या समाधान गर्न गत असार १२ मा कालीकोट वितरण केन्द्रले कमलबजार–साइखोला ९ किलोमिटरमा ३३ केभी प्रसारण लाइन विस्तारका लागि पुस १२ मा काम सक्ने गरी १ करोड ८८ लाखको टेन्डर गरी काम थालेको थियो ।
कालीकोट वितरण केन्द्र प्रमुख हरेन्द्रराय यादवले कमलबजारबाट साइखोलासम्मको ९ किमिमध्ये कर्णाली नदीपारिबाट करिब १ सय मिटर मात्र तार तान्न बाँकी रहेको अवस्थामा काममा स्थानीयले अवरोध गरेको जानकारी दिए।'त्यहाँका स्थानीयको पनि माग त जाहेज नै हो । केही समय पर्खिनुभन्दा पनि मान्नु भएन त्यसैले तत्कालन समस्या समाधान गर्न विद्युत आपुर्ति गरिदिने योजनामा छ', उनले भने।
टोड्केसाल र बेल्खेतका बासिन्दालाई कालीकोट वितरण केन्द्रले बिजुली दिन नमिल्ने भएकाले अछामबाटै लाइन विस्तारको काम भइरहेको छ । उक्त गाउँमा विद्युतीकरण गर्न आफ्नातर्फबाट २५ वटा पोल पनि दिएको कालीकोट वितरण केन्द्रको भनाइ छ ।
कर्णालीको सुर्खेतमा बढी विद्युत् खपत हुने भएकाले हालको प्रसारण लाइनबाट भोल्टेज नपुगेर कालीकोट वितरण केन्द्रले डडेलधुराबाट अत्तरिया हुँदै कमलबजार आएको ३३ केभी लाइनबाट कालीकोट, जुम्ला हुँदै मुगुसम्म लाइन जानेछ । डडेलधुरा–अत्तरिया हुँदै चमेलिया जलविद्युत्को १९ मेगावाट, बझाङ कलंगा खोलाको ६५ मेगावाट र अपी हाइड्रोको ५ मेगावाट लगायत करिब १०० मेगावाट विद्युत् आयात हुने गरेको छ ।
प्रतिकृया लेख्नुहोस्: