रामेछाप । घर नजिकैको वनमा लागेको आगो बस्तीमा पस्दा रामेछाप नगरपालिका–५ को ठिङग्रे, चुकिया र स्वाङग्रा गाउँमा दुुई वटा घर र तीनवटा गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन् ।
मंगलबार दिउँसो बस्ती नजिकै जंगलमा लागेको आगो बढ्दै जाँदा मानव बस्तीमा पसेको थियो । हावासँगै सल्किएको आगो एकाएक घरमा लागेपछि स्थानीयहरुको भागाभाग भएको थियो । मानवीय क्षती नभए पनि घरमा भएको अन्नपात, लत्ताकपडा र भाँडावर्तन सबै जलेर नष्ट भएको रामेछाप नगरपालिका– ५ रामपुरका वडाअध्यक्ष हरिशचन्द्र श्रेष्ठले जानकारी दिए ।
आगलागीबाट गोठमा बाँधिराखेका पाँचवटा खसीबाख्रा समेत जलेर नष्ट भएका बताइएको छ । उक्त क्षेत्रमा लागेको आगो निभाउन स्थानीय नागरिक, प्रहरीलगायतको टोली लागिपरे पनि हावाको वेग तिव्र भएकाले आगो नियन्त्रण भन्दा वाहिर छ । आगलागी भइरहेको स्थान नजिकै पाँच घर रहेका र ती घरसमेत जोखिममा परेका वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
चैत्र महिनाको पहिलो सातादेखी नै रामेछापका विभिन्न स्थानमा आगलागीका घटनाहरु बढ्दै गएका छन् । विभिन्न सामुदायिक वनमा आगो लगाउँदै गरेको अवस्थामा प्रहरीले दोरम्वा र रामेछापवाट गरी ३ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाएको छ ।
प्रतिकृया लेख्नुहोस्: