काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल-भारतबिच सम्बन्ध सुदृढ बनाउनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गरेका छन् ।
गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको नेपाल-भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पुर्याएकाे योगदान विषयक अन्तरक्रियामा उनले चन्द्रशेखरको भूमिकाको प्रशंसा गरेका हुन् । “चन्द्रशेखर र गणेशमानबीच निकै घनिष्ठ सम्बन्ध थियो । उनिहरूले नेताको रूपमा राजनीतिक परिवर्तनमा खेल्नुभएको भूमिका महत्त्वपूर्ण छ,” उनले भने, “०४६ सालको जनआन्दोलनलाई सफल बनाउन चन्द्रशेखरज्यूले खेल्नुभएको भूमिका स्मरणीय छ ।”
उनले चन्द्रशेखरको प्रेरणाले नेपाल-भारतको सम्बन्ध झन् बलियो बनाएको बताए । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पनि नेपालमा २०४६ मा भएको जनआन्दोलनलाई सफल बनाउनमा चन्द्रशेखरको भूमिकाको स्मरण गरे । “भारतमा प्रधानमन्त्री हुँदा नेपाललाई निकै सहयोग गर्नुभयो उनले । विपी कोइरालासँगको सम्बन्ध पनि राम्रो थियो”, उनले भने, “२०४६ सालको आन्दोलनमा उहाँ नेपालमै आएर गणेशमान सिंहको घरमा भाषण गरेर महत्त्वपूर्ण योगदान गर्नुभएको थियो ।”
प्रतिकृया लेख्नुहोस्: