काठमाडाैं । नेपाली तथा चिनियाँ अधिकारी एवं उद्यमीहरूले दुई मुलुकहरूबिच सूचना प्रविधिको क्षेत्रमा आपसी सहकार्य अरू बढाउन आह्वान गरेका छन् ।
चीनको ग्वाङ्ग्जाओस्थित नेपाली महावाणिज्यदूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरूले स्टार्टअपहरु लाई सहयोग गर्न र लगानी अभिवृद्धि गर्न आह्वान गरेका हुन् । "नेपाल–चीन प्रविधि सम्बन्ध सुदृढ गर्न नवप्रवर्तन र लगानी प्रवर्द्धन" विषयक कार्यक्रमलाई सम्बोधन गर्दै ग्वाङ्ग्जाओस्थित नेपाली महावाणिज्यदूत भरत खनालले नेपालमा डिजिटल रूपान्तरण भइरहेको उल्लेख गर्दै कृषि, पर्यटन, उत्पादन र वित्तीय सेवाजस्ता विविध क्षेत्रमा प्रविधिको माग बढ्दो क्रममा रहेको बताए ।
“सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष प्रवेश गर्दै छ । आज यो सम्बन्ध व्यापार, पूर्वाधार तथा प्रविधि क्षेत्रमा गतिशील साझेदारीमा रूपान्तरण हुँदै छ । चीनले कृत्रिम बुद्धिमत्ता (एआई), फाइभजी र डिजिटल अर्थतन्त्रमा हासिल गरेका उपलब्धिहरू प्रेरणादायी छन् । हामी नेपालको उदाउँदो प्रविधि क्षेत्रलाई तपाईँहरूको दक्षतासँग जोडेर दुवै देशलाई फाइदा हुने समन्वय सिर्जना गर्न चाहन्छौँ,” उनले भने ।
महावाणिज्यदूत खनालले हालै नेपालको सङ्घीय सांसदबाट सूचना प्रविधि (आइटी) क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य र लगानी प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ कानुनहरू पारित भएको जानकारी दिँदै सरकारले प्रविधिको सम्भावनालाई उपयोग गर्न रूपान्तरणकारी पहलहरू अघि सारेको बताए ।
उनले चिनियाँ लगानीकर्ता र प्रविधि विज्ञहरूलाई नेपालको उच्च वृद्धिदर भएका क्षेत्रहरू—जस्तै सफ्टवेयर विकास, सूचना प्रविधि सेवा र कृत्रिम बुद्धिमत्ता (एआई)—मा लगानी गर्न, अनुसन्धान र विकासका लागि प्रविधि केन्द्रहरूसँग सहकार्य गर्न तथा शैक्षिक तथा औद्योगिक कार्यक्रमहरूमार्फत ज्ञान आदानप्रदान गर्न पनि आह्वान गरे ।
“आउनुहोस्, प्रविधिबाट हाम्रो सम्बन्धलाई अझ बलियो बनाऔँ । नेपाल सरकार नीतिगत सुधार, लगानी सुरक्षाको प्रत्याभूति र सहकार्यको वातावरण बनाउन प्रतिबद्ध छ । हामी प्रविधिको क्षेत्रमा ज्ञान र अभ्यास साझा गर्न अनुकूल वातावरण बनाउने लक्ष्य राख्छौँ । डिजिटल युगमा नवप्रवर्तन नै आर्थिक विकास र सामाजिक रूपान्तरणको मूल चाबी हो। हामी एक अर्काबाट सिक्ने, सँगै नवप्रवर्तन गर्ने र नेपाल–चीन मित्रता तथा सहकार्यलाई सुदृढ बनाउने यो अवसरको उपयोग गरौँ,” खनालले भने ।
प्रतिकृया लेख्नुहोस्: