Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

यो वर्ष मनसुनमा धेरै पानी पर्ने प्रक्षेपण, यी हुन् आधार

खबरडबली संवाददाता

काठमाडौं । अबको झन्डै डेढ महिनामा सुरु हुने मनसुनी वर्षा यस वर्ष नेपालसहित दक्षिण एसियाका अधिकांश भागमा औसतभन्दा बढी हुने प्रक्षेपण साउथ एशियन क्लाइमेट आउटलुक फोरमले गरेको छ।

एप्रिल अन्तिम साता भारतको पुणेमा सम्पन्न विभिन्न देशका मौसमविद्हरू सहभागी सत्रले दक्षिण एसियाका उत्तरी, दक्षिणी, पूर्वी र उत्तरपूर्वी भागका केही भागमा भने औसत वा त्यसभन्दा केही कम वर्षा हुन सक्ने जनाएको छ।

"लामो अवधिको प्रक्षेपण भएकाले यसमा मात्रा उल्लेख नगरीकनै सामान्य रूपमा कस्तो अवस्था रहनेछ भन्ने बताइने गरिन्छ," उक्त प्रक्षेपण गर्ने बैठकमा सहभागी जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईँ भन्छन्।

"एप्रिल महिनामा विभिन्न मोडलहरूले दिएका नतिजाका आधारमा यस्तो प्रक्षेपण गरिएको हो। मध्य मेपछि पुनः एकपटक पछिल्लो डेटालाई अद्यावधिक गरेर हामी हाम्रो पूर्वानुमान सुधार्छौँ। त्यसबेला सम्भावित परिस्थिति केही फरक पनि हुन सक्छ।"

यस क्षेत्रीय प्रक्षेपण दक्षिण एसिया भेगका सार्क सदस्य एवं म्यान्मारसहितका नौ देशका राष्ट्रिय जल तथा मौसम विज्ञान निकायहरूले अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोगमा तयार पारेका हुन्।

गत वर्षको १२५ दिन लामो मनसुनमा नेपालमा १२२ प्रतिशत अर्थात् १६७०.७ मिलिलिटर वर्षा भएको थियो। त्यो सामान्य अवस्थाको मनसुनभन्दा १३ दिनले बढी थियो।

राष्ट्रसङ्घीय मौसम निकाय डब्ल्यूएमओले विगत पाँच वर्षयता विश्वव्यापी रूपमा मौसम पूर्वानुमान गर्ने निकायका विवरणलाई क्षेत्रीय रूपमा विश्लेषण र विभाजन गर्दै सार्वजनिक गर्ने नीति अन्तर्गत यस्ता प्रक्षेपण हुने गरेका छन्।

एल निन्यो कि ला निन्या!

मौसमविद्हरूका अनुसार दक्षिण एशियामा मनसुनलाई मुख्यतया असर गर्ने प्रणाली प्रशान्त महासागरमा देखिने एल निन्यो र ला निन्या हो।

पुणेको उक्त बैठकमा सहभागी नेपालको तर्फबाट सहभागी मौसमविद् सुदर्शन हुमागाईँ भन्छन्: "यस्तो पूर्वानुमान गर्ने क्रममा प्रशान्त महासागरमा एल निन्योको अवस्था के हुन्छ भनेर हेर्ने गर्छौँ।"

हाल प्रशान्त महासागरमा तटस्थ खालको एल निन्यो सदर्न असिलेशन (ईएनएसओ) को अवस्था व्याप्त छ।

विश्वव्यापी जलवायु मोडल पूर्वानुमानको आधारमा मनसुनका बेला भूमध्यरेखीय प्रशान्त क्षेत्रमा प्रचलित यस्तो तटस्थ अवस्था नै रहिरहने सम्भावना रहेकोमा विज्ञहरूबीच बलियो सहमति रहेको उक्त फोरमले जनाएको छ।

समुद्री पानी सामान्यभन्दा बढी तात्ने अवस्थालाई एल निन्यो भनिन्छ भने समुद्री पानी औसतभन्दा चिसो हुने अवस्थालाई ला निन्या भनिन्छ।

एल निन्योका बेला दक्षिण एशियाली देशहरूमा कम र ला निन्याका बेला बढी वर्षा हुने गरेको मौसमविद्‌हरू बताउँछन्।

पुणेमा जुटेका मौसमविद्हरूले अहिलेको एल निन्यो थोरै ला निन्याको अवस्थाबाट तटस्थ अवस्थामा आइपुगेको देखिएको बताउँदै त्यो मनसुनमा मात्र नभएर हिउँद्सम्मै तटस्थ अवस्थामै रहने विश्लेषण गरेको हुमागाईँ बताउँछन्।

"एल निन्यो सदर्न असिलेशन तटस्थ छ अर्थात् त्यो एल निन्यो वा ला निन्यो केही होइन भन्नुको अर्थ प्रशान्त महासागरमा बलिया सङ्केतहरू देखिएनन् भन्ने हो," उनी भन्छन्।

"अघिल्लो वर्ष हामीले ला निन्या हुन्छ भन्ने अनुमान गरेको भए तापनि त्यो तटस्थ नै अवस्थामा बस्यो। तर त्यस अवस्थामा पनि नेपालमा सरदरभन्दा बढ्ता नै वर्षा भएको थियो।"

त्यसैले विगत चार-पाँच दशकको अनुभवका आधारमा तटस्थ नै हुने अवस्थाबीच कि सरदर वा सरदरभन्दा बढी वर्षा हुने प्रवृत्तिलाई पछ्याएर उक्त प्रक्षेपण गरिएको बताइएको छ।

अन्य कारण

दक्षिण एशियाको समग्र प्रक्षेपण गर्दा विभिन्न तीनवटा कारणलाई आधार मानिने भए तापनि नेपालको मनसुनी वर्षाका लागि एल निन्यो र ला निन्या अवस्थाको प्रभाव सबैभन्दा उच्च हुने मौसमविद्हरू बताउँछन्।

विश्वभर क्षेत्रीय प्रक्षेपणहरू प्रचलित विश्वव्यापी जलवायु अवस्था, राष्ट्रिय स्तरको पूर्वानुमान र विश्वभरका विभिन्न जलवायु पूर्वानुमान निकायहरूबाट भएका पूर्वानुमानको विज्ञहरूबीच  मूल्याङ्कन भएर सार्वजनिक गरिन्छन्।

यस पटक बर्खायाममा एल निन्योको अवस्था रहिरहँदा न्यूनतम तापक्रम सरदरभन्दा बढ्ने पूर्वानुमान समेत गरिएको हो।

त्यसैगरी हिन्द महासागरको डाइपोल (आईओडी) एवं उत्तरी गोलार्द्धमा जम्मा हुने हिउँजस्ता पक्षको सम्बन्ध समेत मनसुनसँग जोडिएको हुन्छ।

हिन्द महासागरमा तटस्थ आईओडी अवस्था कायम छ जुन मनसुनसम्मै कायम रहने विभिन्न मोडलहरूले देखाएका छन्।

"आईओडी भनेको हिन्द महासागरको दुई फरक बिन्दुमा हुने तापक्रमको अन्तर हो। तर यसमा समेत एल निन्यो सदर्न असिलेशन प्रणालीको असर रहने गर्दा यो एक्लैको असर नेपालमा धेरै पर्ने देखिँदैन। तर त्यो समेत तटस्थ अवस्थामै छ," हुमागाईँ भन्छन्।

"नेपालको जलवायुमा उत्तरी गोलार्द्धमा कति हिउँ पर्‍यो भन्ने कुराको प्रभाव समेत पर्छ। त्यसको उल्टो असर यहाँको मनसुनी प्रणालीमा हुने हुँदा यस पटक ती भेगमा कम हिउँ परेको छ जसको असर यस पटक मनसुनमा धेरै वर्षा हुने भन्ने हुन्छ।" बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending