Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

बालमन्दिरमा फितलो अभियोजन : उपप्रधानमन्त्री सिंहकी दिदी रिताको बयान नै नलिई ‘फरार’ बनाएर मुद्दा

खबरडबली संवाददाता

काठमाडौं । नेपाल बाल संगठन (बालमन्दिर)को जग्गा हिनामिना प्रकरणमा फितलो अनुसन्धान गरी मुद्दा दर्ता गरिएको छ । प्रहरीले मुख्य अभियुक्त रिता सिंह वैद्यको बयानसमेत नलिई अदालतमा मुद्दा लगेको हो । रिता उपप्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी हुन् । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार रितासहित १७ विरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दर्ता गरेको छ । सबैलाई फरार बनाएर मुद्दा दायर गरिएको छ । उनीहरूमध्ये १६ जनाको बयान लिइएकोमा रिताको बयान लिइएको छैन । एक वर्ष लगाएर प्रहरीले यो मुद्दाको अनुसन्धान गरेको थियो । १६ आरोपीको बयान मात्र अभियोगपत्रमा समावेश गरिएको छ । आरोपीहरू शक्तिशाली भएकाले मिलेमतोमै मुद्दालाई फितलो बनाइएको स्रोत बताउँछ ।

अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारी भन्छन्, ‘अनुसन्धानका क्रममा प्रसस्तै प्रमाण संकलन गरिएको थियो, तर मुद्दा दर्ता गर्दा बयानबाहेक अभियोगपत्रमा केही राखिएको देखिएन ।’ कतिसम्म भने बाल संगठनका पदाधिकारीलाई साक्षीसमेत बनाइएको छैन । जबकि यस्ता मुद्दामा साक्षी राख्नु अनुसन्धानको आधारभूत प्रक्रिया हो । त्यस्तै, बालमन्दिरको सरकारी जग्गा बैंकमा धितो राखेर कर्जा लिएको विषयमा पनि अभियोगपत्रमा केही उल्लेख छैन । 

घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले १४ वैशाख ०८१ देखि सुरु गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत १४ माघमा मात्रै उक्त प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेको थियो । चौतर्फी दबाबपछि २२ वैशाखमा महान्यायाधिवक्ता कार्यालयले घटनामा संलग्नविरुद्ध ठगी मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो । सोही मुद्दा बुधबार अदालतमा दर्ता भएको हो । 

सिआइबीका एसपी युवराज खड्काले घटनाको वस्तुपरक अनुसन्धान भएको र प्रतिवादीसँग बयान नलिँदैमा मुद्दा कमजोर नहुने दाबी गरे । उनले भने, ‘बालमन्दिरको जग्गा हिनामिनाको अनुसन्धान सिआइबीले गरेको हो । घटनामा वस्तुपरक अनुसन्धान भएको छ । कुनै अभियुक्तविरुद्ध बयान नलिँदैमा मुद्दा कमजोर हुँदैन ।’ 

बालमन्दिरको नक्सालस्थित २८ रोपनी ५ आना जग्गा विनाप्रतिस्पर्धा वृहस्पति विद्या सदनलाई दिँदा ठगी भएको हो । २७ माघ ०४९, ४ चैत ०५२, ८ जेठ ०५८, ११ भदौ ०५९, २१ जेठ ०७२ र ३ साउन ०७२ गरी बालमन्दिरको जग्गा २८ रोपनी ५ आना १ पैसा जग्गा विनाप्रतिस्पर्धा आगामी वि.सं. २१३२ सालसम्मका लागि वृहस्पति विद्यालय व्यवस्थापन प्रालिलाई भाडामा दिइएको थियो । जसको भाडा दर प्रतिवर्गफिट प्रतिमहिना ६ रुपैयाँ १० पैसा मात्र कायम गरिएको थियो । सम्झौतापत्रमा बालमन्दिरको तर्फबाट तत्कालीन अध्यक्ष रिता र वृहस्पतिको तर्फबाट संस्थापक अध्यक्ष पुरुषोत्तमराज जोशीले हस्ताक्षर गरेका थिए । रिता तीन दशकसम्म संगठनको अध्यक्ष रहँदा सबै हिनामिना भएको थियो । सिआइबीले जोशीसँग भने बयान लिएको छ । 

अधिवक्ता ओमप्रकाश आर्यालले घटनाको मुख्य अभियुक्त रितासँग प्रहरीले बयान नलिएर अनुसन्धानमाथि प्रश्नचिह्न खडा हुने काम गरेको बताए । तर, सोही कारण मुद्दा कमजोर नहुने उनको दाबी छ । उनले भने, ‘घटनामा जोडिएकी रितासँग अनुसन्धानका क्रममा प्रहरीले बयान लिनुपथ्र्यो । उनीसँग बयान नलिँदा प्रश्नचिह्न खडा हुने कामचाहिँ भएको छ । यसो भन्दैमा मुद्दा कमजोर हुनेचाहिँ होइन । किनकि अभियुक्तसँग बयान लिने भनेको घटनाका सम्बन्धमा सफाइ दिने मौका दिनु हो ।’

बालमन्दिरले २७ माघ ०४९ र ४ चैत ०५२ मा वृहस्पतिलाई अनौपचारिक सम्झौता गरी जग्गा भाडामा दिएको थियो । ८ जेठ ०५८ मा बालमन्दिरको १४ रोपनी ९ आना जग्गा वार्षिक ३० लाख रुपैयाँ (प्रतिरोपनी प्रतिमहिना १६ हजार ७७८) भाडा कायम गरी ८ जेठ ०८८ सम्मका लागि भाडामा दिइएको थियो । ३० वर्षको यस अवधिमा सुरुको पाँच वर्ष र अन्तिमको पाँच वर्ष गरी जम्मा १० वर्ष भाडामा कुनै वृद्धि नहुने भनिएको थियो । बाँकी २० वर्षको भाडामा भने प्रत्येक दुई वर्षमा पाँच प्रतिशतका दरले वृद्धि हुने भनिएको थियो । जबकि ०५८ पूर्व गरिएको सम्झौतामा नै भाडा प्रतिवर्ष १० प्रतिशतका दरले वृद्धि हुने भनिएको थियो । 

३ साउन ०७३ मा बालमन्दिर र वृहस्पति सदनबिच पुनः अर्काे सम्झौता गरियो । यसवेला बालमन्दिरको थप १३ रोपनी १२ आना १ पैसा जग्गा भाडा दिने भनियो । जसको अवधि ४३ वर्ष र भाडादर प्रतिवर्गफिट मासिक ६ रुपैयाँ १० पैसा कायम गरियो । जसमा बालमन्दिरको तर्फबाट हस्ताक्षरकर्ता रिता थिइन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending