Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

भूकम्पको १० वर्ष: अझै पाल र टेकोको भरमा कुमारी घर

खबरडबली संवाददाता

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घर पाल र टेकोको भरमा अड्याइएको छ । यस वर्षको वर्षात् सुरू हुन लागेसँगै कुमारी घरभित्र पानी छिर्न थालेपछि पुरातत्व विभागले नै पालले कुमारी घरमा ओत लगाएको हो। 

पानी चुहिन थालेपछि त्रिपालको ओत लगाइएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। गत आर्थिक वर्षमै कुमारी घरमा पानी चुहिन थाले पनि यो आर्थिक वर्षमा पनि बजेट नभएकाले अर्को वर्ष बजेट राखेर मर्मत गरिने उनले बताए। 

इन्द्रजात्रा व्यवस्थापन समितिका पदाधिकारी र वसन्तपुर दरबार क्षेत्रका स्थानीयवासी भने एक दशकअघिको भूकम्पदेखि नै कुमारी घर टेकोका भरमा राखिए पनि सरोकार भएका निकायले ध्यान नदिएको गुनासो गर्छन्।

कुमारी घरमा दश वर्षअघिको भूकम्पले क्षति पुर्यायो । भूकम्पको केही दिनमै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले कुमारी घरको निरीक्षण गरे।

पश्चिमतिरको भाग जीर्ण बनिसकेको देखेर उहाँले कुमारी घरलाई पुनर्निर्माणको सूचीमा राख्न निर्देशन दिएको अहिले पनि इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यको स्मरणमा ताजै छ । देशका कार्यकारी प्रमुखले दिएको निर्देशन पनि कार्यान्यवयन नहुँदा अहिले कुमारी घर पालको ओतमा जोगाउनुपर्ने अवस्थामा पुगेको हो।

कुमारी घरमा भूकम्पले गरेको क्षतिका बारेमा गुठी संस्थान, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाले छुट्टाछुट्टै प्राविधिक अध्ययन गरे।

तीनवटै निकायले एक–एक महिना लगाएर भवनको प्राविधिक अध्ययन गरेको १० वर्ष बितिसक्दा पनि भवन भने टेको र पालको भरमा अडिएको देख्न सकिन्छ । कुनै पनि निकायले पुननिर्माणमा चासो देखाएका छैनन्।

सनातनदेखि चलिआएको इन्द्रजात्रामा जीवित देवी कुमारीको पनि रथयात्रा गराउने चलनको सुरूआत मल्लकालमा भयो। कुमारीको रथयात्रा चलाउन कुमारी राख्ने घर जयप्रकाश मल्लका पालामा बनेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष शाक्य बताउछन्। 

त्यसपछि बेलाबेलामा भवनको मर्मतसम्भार गरिए पनि पुनर्निर्माण भएको छैन । करिब तीन दशकअघि चार इञ्चको चिल्लो इँटाको गारो बाहिरबाट थपिएकाले भवन नयाँ नै हो कि भन्ने लाग्छ। 

मल्लकालीन भवन भएकाले भूकम्पले भित्रभित्र जीर्ण बनेको छ। जीर्ण भवनको छानोमा पनि समस्या भएकाले पानी भित्र छिर्न थालेकाले विभागलगायत निकायलाई खबर गरेपछि पालको ओत हालिएको उनले सुनाए। 

भित्री गारो जीर्ण भएकाले भवन जोखिममा परेको समितिले जनाएको छ। कुमारी घरको पश्चिमी भागमा भित्रबाट टेको लगाएर राखिएको छ । इन्द्रजात्रामा गुठी संस्थानले प्रयोग गर्ने कोठासमेत रहेको पश्चिमी भाग धेरै जीर्ण भएकाले नै तालाबन्दी गरी राखिएको छ। वसन्तपुर डबलीको भागमा भने बाहिरपट्टिबाटै टेकोका भरमा कुमारी घरलाई अड्याइएको छ।  

“भवनको भित्री भाग चर्किएको छ, दलिन कुहिएको छ, वरिपरि टेकोका भरमा भवन अडिएको छ, भित्री चोकको टेको भने तीन वर्षअघि इन्द्रजात्राका बेला निकालियो, भर्याङ जीर्ण भएर हनुमानढोका दरबार हेरचाह अड्डाले बनाइदिएको छ, मूल भवन भने अझै बनाउने अत्तोपत्तो छैन”, उनले भने।

जीवित देवीका रूपमा पुजिने कुमारी घर बनाउन तीन वर्षअघि नै काठमाडौँ महानगरपालिकाले रु ५० लाख बजेट विनियोजन गरे पनि काम भने सुरू गरेन । त्यसबेला महानगरपालिका–२३ का अध्यक्षको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर काम अघि बढाउन खोजे पनि बजेट अपुग भएर काम सुरू हुन नसकेको हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ।

महानगरपालिकाले दुई वर्षअघि कुमारी घर पुनर्निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको थियो। पुनर्निर्माणका लागि रु तीन करोड बजेट लाग्ने अनुमानित लागत यसअघि नै तयार गरिएको भन्दै त्यसबेला पनि काम सुरु हुन सकेन। 

पुनर्निर्माणको लागत एकैपटक जुटाउन नसक्दा काम हुन नसकेको दरबार संरक्षण कार्यक्रमले जनाएको छ। दरबार क्षेत्रका सम्पदा हेर्न महानगर र पुरातत्व विभागले फरकफरक निकायको स्थापना गरे पनि संरक्षणमा ध्यान नदिएको स्थानीयवासी सन्तबहादुर श्रेष्ठ बताउछन्।

घरबाट वर्षमा १३ पटक निकालिन्छ कुमारीलाई

कुमारी घरबाट वर्षमा १३ पटक विभिन्न सांस्कृतिक गतिविधिका लागि कुमारीलाई निकाल्ने गरिन्छ। इन्द्रजात्राकै क्रममा तीनपटक कुमारीलाई घरबाट बाहिर निकालिन्छ। 

बडादसैँमा हनुमानढोका दरबारमा कुमारीको पूजाआजा गरिन्छ । रामनवमीका दिन कुमारीलाई तलेजु भवानीको दर्शन गर्न लगिन्छ। 

चैते दसैँकै बेला हुने सेतो मच्छेन्द्रनाथको रथयात्राका क्रममा कुमारीलाई लगनटोल लगिन्छ । माघ महिनामा हुने सेतो मच्छेन्द्रनाथको स्नानका क्रममा पनि कुमारीलाई मच्छेन्द्रबहाल लैजाने परम्परा छ। 

गाईजात्राको भोलिपल्ट ठमेलस्थित भगवानबहालमा लगिन्छ। गाईजात्राको भोलिपल्ट ठमेलमा बौद्धमार्गीका बहिल देवताको प्रदर्शनी गरिएको हुन्छ। 

माघमै चाँगुनारायणलाई हनुमानढोका दरबार ल्याउने क्रममा पनि कुमारीलाई घरबाट निकालेर दर्शनका लागि लगिन्छ। गाईजात्राको चार दिनअघि पनि चाँगुनारायणलाई हनुमानढोका दरबारमा ल्याउँदासमेत कुमारीलाई घरबाट निकालेर लैजाने गरिएको छ।

आश्विन शुक्ल पञ्चमीमा पचलीभैरव जात्रा हनुमानढोका दरबार लैजाँदा पनि कुमारीलाई घरबाट निकालेर लैजाने गरिएको छ। यसैगरी घोडेजात्राका क्रममा कुमारीलाई नेपाल वायु सेवा निगम भवनको तेस्रो तलामा लगेर राखी जात्रा देखाउने परम्परा रहिआएको छ। 

विसं २०६५ मा कुमारी परम्परा सुरू भएको दुई सय ५० वर्षको विशेष कार्यक्रम गरी मनाइएको थियो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ । भौतिक पूर्वाधार कार्यालयले ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत भएको रु ६६ करोड ...

रवि-बालेन एकैठाउँमा आउँदा कुलमान पनि जोडिन्छन् ?

प्रधानमन्त्रीको उम्मेदवारबारे असिम शाह भन्छन्- कानुनी रूपमा मिलुन्जेलसम्म रवि दाइ, नभए बालेन

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका ल...

निर्वाचनलाई कम्तीमा २७ अर्ब बजेट, आयोगलाई ७ अर्ब, सुरक्षामा २० अर्ब माग

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा ...

कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिका हेरफेर गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। पुस अन्तिम साताका लागि तोकिएको महाधिवेशन कार्यतालिकामा हेरफेर गर्न कांग्रेसल...

भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी

तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । ...

पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आया...

फुङलिङमा भालु नियन्त्रणमा लिन फलामको खोर राखियो, सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै...

अब दुई कार्य दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौँ । राहदानी विभागले अब दुई कार्य दिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै ...

तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन कायम रहने

काठमाडौँ । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending