काठमाडौं । माओवादी केन्द्र पार्टीको नाम फेर्न तयार भएको छ । नेकपा एकीकृत समाजवादी (एस) सँगको एकता वार्तापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेर समाजवादी मोडलको नाम राख्न सहमति बनेको हो ।
‘नाममा समाजवादी केन्द्र विकल्पका रूपमा आएको छ,’ वार्तामा सहभागी एक नेताले बताए ।
नेकपा समाजवादी केन्द्र, नेकपा समाजवादी एकता केन्द्र, नेकपा वैज्ञानिक समाजवादीलगायत प्रस्तावित नाम छन् । एकतापछि पार्टीको चुनाव चिह्न भने कम्युनिस्टको प्रतीक झल्कने खोज्ने तयारी भइरहेको छ । एकतापछि निर्वाचन आयोगमा दर्ता नभएको नाम र चुनाव चिह्न राख्नुपर्नेछ ।
सहमतिअनुसार माओवादीले नाम र सिद्धान्त माओवाद छाड्ने भएको छ । माओवादीले २०७५ मा एमालेसँग एकता गर्दा नै माओवाद छाडेको थियो । विगतमा कम्युनिस्ट पार्टी एकता गर्दा वैचारिक र सैद्धान्तिक विषयमा लामो छलफल हुँदै आएकामा माओवादी र समाजवादीबीच सिद्धान्त र विचारका विषयमा भने छलफल नभएको स्रोतको भनाइ छ ।
‘मार्गदर्शक सिद्धान्त, मार्क्सवाद, लेनिनवाद हुनेछ । संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता (आन्तरिक लोकतन्त्र), रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुनेछ,’ वार्ता समितिका एक सदस्यले भने, ‘नयाँ पार्टीको समाजवादी कार्यक्रम र कार्यदिशामा हुने तय भएको छ ।’
दुई पार्टीले प्रधान अन्तरविरोधका रूपमा दलाल नोकरशाही हुने सैद्धान्तिक सहमति गरेका छन् । एकतापछि हुने महाधिवेशन आयोजक समितिको संयोजक पुष्पकमल दाहाल हुनेछन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कुन पद दिनेबारे भने टुंगो लागेको छैन । तर उनी दोस्रो वरीयतामा रहने सम्भावना छ ।
दुई पार्टीको सांगठनिक संरचना अहिलेकै जस्तो परम्परागत हुने कि चुस्त बनाउने विषयमा पनि छलफल सुरु भएको छ । एकताका विषयमा एसका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको ‘रिजर्भेसन’ भए पनि अध्यक्ष नेपाल बहुमत पदाधिकारीको समीकरणका आधारमा माओवादीसँग एकता गर्ने तयारीमा छन् । सचिवालय बैठकले माओवादीसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको थियो ।
एसका वरिष्ठ नेता एवं उपाध्यक्ष बेदुराम भुसालले एकताका लागि आवश्यक पर्ने राजनीतिक, वैचारिक र सांगठनिक विषयमा करिब सहमति भइसकेकाले अब सांगठनिक संरचनाबारे छलफल केन्द्रित भएको बताए ।
‘दुई पार्टीका बीचमा वैचारिक र सैद्धान्तिक रूपमा करिब सहमति भएको छ । अब पार्टीको सांगठनिक संरचना कस्तो हुनेमा छलफल केन्द्रित छ,’ उनले भने, ‘पार्टी नेतृत्वको संरचना बनाउने टुंगो भएको छ । पार्टीको कार्यकारी प्रमुख अध्यक्ष कि महासचिव भन्नेमा छलफल हुँदै छ ।’
माओवादी महासचिव देव गुरुङले दुई पार्टीबीच एकताका लागि टुंगो लागिनसकेको बताए । ‘सहमतिका लागि छलफल भइरहेको छ । जतिसक्यो छिटो सहमति हुन्छ, त्यति छिटो एकता हुन्छ’ उनले भने ।
माओवादी नेतृ एवं वार्ता समितिका संयोजक रेखा शर्माले सकेसम्म पार्टीको विशेष महाधिवेशनअघि एकताको प्रयास भइरहेको बताइन् । ‘विशेष महाधिवेशनको तयारी र पार्टी एकताको गृहकार्य सँगसँगै भइरहेको छ,’ उनले भनिन् ।
पार्टी एकताका लागि नेतृत्व रूपान्तरणको विषयलाई ध्यानमा राख्नुपर्ने उनको भनाइ छ । ‘कसरी राम्रो नेतृत्व गर्ने अहिलेको चर्चित विषय हो,’ उनले भनिन्, ‘पार्टी एकताका लागि नेतृत्व रूपान्तरणको विषय पनि महत्त्वपूर्ण छ ।’
एसका महासचिव घनश्याम भुसाल भने आ–आफ्नो पार्टी पुनर्गठन गरेर मात्र वामपन्थी ध्रुवीकरण गर्ने पक्षमा छन् । उनी माओवादी र समाजवादीको पुरानै नेतृत्वमा पार्टी एकता गर्नुको अर्थ नभएको निष्कर्षमा पुगेका छन् । माओवादीसँग हुने पार्टी एकता प्रक्रियामा उनी संलग्न छैनन् ।
‘यही नेतृत्व, यही पार्टी संरचना र यही विचारमा पार्टी एकता गरेर पनि केही हुँदैन,’ उनले भने, ‘पहिले आआफ्नो पार्टी र नेतृत्वको पुनर्गठन गरौं । त्यसपछि वामपन्थी ध्रुवीकरण गर्नुपर्छ ।’
उनले मुलुकमा सुशासन, वामपन्थी आन्दोलनका सबै इमानदार राजनीतिकर्मीहरूले दलहरूभित्र र समाजमा उत्पन्न गर्ने नयाँ आशा र विश्वासका साथ पार्टीहरूको पुनर्गठनलाई तीव्र पार्नुपर्ने प्रस्ताव अघि सारेका छन् । ‘सबै वामपन्थी पार्टीहरूमा विचार, राजनीति, संगठन र मुद्दाहरूको भ्रष्टीकरण भएको स्वीकार गर्दै ती सबै क्षेत्रको वामपन्थीकरण गर्नुपर्छ,’ उनको भनाइ छ, ‘पुनर्गठित वामपन्थी पार्टीहरूलाई बृहत् ध्रुवीकरण र एकतातर्फ लैजानुपर्छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।
प्रतिकृया लेख्नुहोस्: