काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
आजको बैठकको अध्यक्षता भने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्नेछन्। त्यसअघि बिहान ९ बजे कार्यसम्पादन समितिको अनौपचारिक बैठक बस्नेछ।
केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा भने अझै टुंगिएका छैनन्। जेनजी आन्दोलनपछि पहिलोपटक असोज २८ गते कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको थियो।
त्यही दिन सभापति शेरबहादुर देउवा र देउवापत्नी आरजु ३४ दिनपछि सार्वजनिक भएका थिए। त्यस दिन सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व छाड्ने घोषणा गर्दै खड्कालाई कार्यवाहक तोकेका थिए।
केन्द्रीय कार्य समिति बैठकले १५ औँ महाधिवशनबारे निर्णय गर्नेछ। कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधर नेताहरुले विशेष महाधिवेशनको माग गर्दै हिजो मात्रै कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका छन्।
विशेष महाधिवेशनको माग गर्दै बहुमत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएकै दिन कांग्रेस संस्थापन पक्षले सभापति देउवाले कार्यवाहक तोकेपछि विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकालेको छ ।
बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएकै दिन संस्थापनको बैठकले उक्त माग अस्वीकार गरेको हो ।
ललितपुरमा बुधबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको संस्थापन पक्षको बैठकले नियमित महाधिवेशनबाटै अघि बढ्नुपर्नेमा जोड दिएको छ । सभापति देउवाले जिम्मेवारी दिँदा नियमित महाधिवेशन निर्धारित समयमै गर्न निर्देशन दिएका थिए ।
१४औँ महाधिवेशनपछि सभापति देउवाले गुटगत बैठक राखेका थिएनन् । तर, कार्यवाहकको जिम्मेवारी पाएपछि खड्काले भोलिपल्टै गुटगत बैठक गरेका हुन् ।
पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा। शशांक कोइराला, सहमहामन्त्री उमाकान्त चौधरी र महालक्ष्मी उपाध्यक्षलगायत बैठकमा सहभागी थिए ।
इतर पक्षले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेपछि त्यसको प्रतिवाद रणनीति बनाउन संस्थापन पक्षको बैठक बसेको हो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन माग्दै महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षर कार्यवाहक सभापति खड्काले बुझेका छन् । कार्यवाहक सभापतिलाई बुधबार दिउँसो हस्ताक्षर हस्तान्तरण गरिएको हो ।
युवा नेता गुरुराज घिमिरेले हस्ताक्षर अभियानको संयोजन गरेका थिए । उनका अनुसार दुई हजार ४८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् । कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि थिए ।
तीमध्ये केहीले पार्टी परित्याग गरेका र केहीको मृत्यु भएको छ । त्यस्तो संख्या करिब दुई सयको हाराहारीमा रहेको नेताहरू बताउँछन् ।
‘अहिलेको विषम परिस्थितिमा पार्टीलाई नयाँ गति र नयाँ दिशा दिन विशेष महाधिवेशन आह्वान गर्दै निवेदन दिएका छौँ । कार्यवाहक सभापतिले बुझ्नुभएको छ । मंसिरमै महाधिवेशन हुनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने ।
प्रतिकृया लेख्नुहोस्: